19th October | 2019 | Saturday | 9:34:43 PM

किन उन्मूलन हुन सकेन बालश्रम ?

कृष्णप्रसाद सुवेदी   POSTED ON : माघ २, २०७५ (८:१५ AM)

किन उन्मूलन हुन सकेन बालश्रम ?

म एक बालक । मेरी दिदी एक बालिका । जब हामी एक गाँस जाउलोका लागि तड्पिएका थियौं, भोकै थियौं; तिमीले खाद्यान्न अधिकारको भाषण गर्यौ । जब विद्यालयमा शुल्क तिर्न नसकेर म र मेरी दिदी निकालियौं । तिमीले बालबालिकाको शिक्षाको अधिकारको बारेमा तारे होटलमा गोष्ठि गर्यौ । जब हामी बिरामी भयौं र जिवनजल नपाएर छट्पटिएको थियौं; तिमीले हाम्रो स्वास्थ्य अधिकारको सम्बन्धमा सेमिनार चलायौ । जब हामीलाई बचाउन बाबासँग कुनै विकल्प रहेन र अरब भूमिमा भाँसिनु भयो । तिमीले स्वदेशमा रोजगार पाउनु पर्दछ भनेर भाषण गर्याै । जब मेरो बाबा अत्याधिक श्रमका कारण अरबमा बित्नु भयो, आमाले दुःख सहन नसकेर आत्महत्या गर्नु भयो । तिमीले म र मेरी दिदीको हेरचाहको प्रत्याभूतिका लागि प्रशिक्षण चलायौ । जब हाम्रो झुपडीमा साहु लागे र म र मेरी दिदी निकालियौं । तिमीले हाम्रो बासको व्यवस्था गर भन्दै जुलुस निकाल्यौ ।  

जब मसँग बाँच्नको लागी कुनै विकल्प भएन र म सडकमा आउन बाध्य भएँ । मेरी दिदी घरेलु बालश्रमिक हुन बाध्य भइन् । तिमीले बालबालिकालाई श्रममा लगाउनु अपराध हो भन्दै छलफल चलायौ । जब म कुलतमा फसें र दुव्र्यसनी भएँ तिमीले मलाई मनोपरामर्श गर्याै । मेरो दिदीलाई साहुले गरेको यौन शोषण विरुद्धमा तिमीले आत्सम्मानको जीवन बाँच्न पाउनु पर्दछ भन्दै जनवकालत गर्याै । हो म र मेरो दिदीको बालापन बचाउन तिमीले धेरै प्रयत्न गर्याै । मेरो दिदीले नरकीय जीवन जिउनभन्दा मर्न वेस भनेर यो धर्ती छोडिसकिन् । म मर्नु र बाँच्नुको दोसाँधमा छु । अहिले म सोह« वर्षको भएँ । मेरो अवस्था झन् झनै बिगँ्रदै गयो । म एच.आइ.भी.ले ग्रसित भएको छु र अहिले  शास्वत तर असामयिक मृत्यूको पर्खाइमा छु । 

गतल कहाँ भयो ? को बाट भयो ? यसको जिम्मेबार को–को हुन् ? किन बालबालिकाको बाल–अधिकारको रक्षा हुन सकेन ? गम्भीर समीक्षा गर्न ढिला भएन र !

जुन देशमा बालबालिकाको वर्तमान उज्वल छैन भने त्यो देशको भविष्य समृद्ध हुन सक्दैन । मुलकको स्वर्णिम भविष्य बालबालिकामा निहीत हुन्छ । विश्वका सबै देश समुन्नत बन्न चाहन्छन् । सम्मुनत देशमा बालबालिका श्रममा होइन विद्यालयमा जानु पर्दछ । तर बालश्रमिक विश्वमा अझै किन समस्याको रुपमा रहेको छ । विशेषतः दक्षिण एसिया र अफ्रिकामा यो समस्या झनै गम्भीर छ । नेपाल पनि यस समस्यमा किन जकडिएको छ । बालश्रम मुक्त नगर र गाउँ बनाउन स्थानीयदेखि संघीय सरकार तथा स्थानीयदेखी विदेशी गैह्रसरकारी संस्था, संयुक्त राष्ट्र संघ वा नागरिक समाज सबै क्रियाशिल छन् । तर बालश्रमिक किन उन्मूलन हुन सकेको छैन ?

समस्याको जड के हो त ?

यस बारेमा चर्चा गर्नु अगावै बालश्रमिक र बालकार्य के हो? भन्ने बारेमा जानकार हुन आवश्यक पर्दछ । शारीरिक तथा मानसिक रुपमा गरिने कार्यलाई श्रम भनिन्छ । अठार बर्षभन्दा कम उमेरका बालबालिकाले विद्यालय जान वञ्चित भई आफ्नो घर भित्र वा बाहिर कसैकोमा सेवा सुविधा लिई या नलिई गरिने श्रमलाई बालश्रम भनिन्छ । बालश्रमले कुनै पनि बालबिलकाको शारीरिक तथा मानसिक विकासमा अवरोध पुर्याउँदछ । बालबालिकाको विकासको लागी आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, संरक्षण आदीको उपभोग गर्नबाट बालश्रमिक वञ्चित हुन्छन् । यस्तो परिवेशमा हुर्केका बालबालिका शारीरिक तथा बौद्धिक रुपमा बालबालिकाको उमेर बृद्धिसँगै हुनुपर्ने बहुआयमिक विकास हनु सक्दैन । फलतः अशिक्षित, अदक्ष, तथा अपरिपक्व वयस्क बन्न पुग्दछन् । तर बालबालिका आवश्यक सीप तथा ज्ञान हासिल गर्न गरिने काम जसले बालबालिकाको बहुआयामिक विकासमा मद्धत पुर्याउँदछ र यस्तो कार्यले शोषण गर्दैन या नीजको स्वास्थ्यमा असर पुराउँदैन र विद्यालय जानबाट बञ्चित गर्दैन भने यस्ता कार्यलाई बालकाम भनिन्छ । बालकामले बालबालिकाको सर्वोपरी हितलाई ध्यान दिन्छ भने बालश्रमले मालिकको हित गर्दछ । बालबालिकाको बालापन नष्ट गर्दछ । बालबालिकाको शोषण गर्दछ । त्यसैले बालश्रम समाजको कलंक हो भनिन्छ ।


के हो त बाल श्रमिकको कारण ?

गरीबिको कारण बालबालिका बालश्रमिक हुन्छन् ? बालश्रमिकले गरिबी ल्याउँदछ ? बालश्रमका कारणहरू मध्ये गरिबी एउटा प्रमुख कारण हो । यसको अर्थ अन्य कारण छैनन् भन्ने होइन । एउटा बालक जब ईंटा उद्योगमा मौसमी काम काम गरेर गाउँमा घर फर्कन्छन् । गाउँका बालसखाहरू ऊ सँग झुमिन्छन् । हातमा मोबाइल फोन खेलाउँदै गरेको देख्दछन् । सहरको रमझम ट्वाल्ल परेर सुन्दछन् । शहरको आकर्षणले मोहित हुन्छन् । विद्यालय करले गएका हुन्छन् । अधिकांस विद्यालय बालमैत्री छैनन् र सहरमा काम गर्न जान उत्साहित हुन्छन् । घरमा आमा बुबालाई विद्यालय जान्न बरु शहरमा काम गर्न जाने भन्दछन् । आमा बाबुको विवशता या अज्ञानताका कारण जान त जा काम गर्न भन्दछन् । कुनै आमाबाले कसैको साथ लगाएर काम गर्न सहर पनि पठाउँछन्  । 

कोही त भागेर सहरमा आईपुग्दछन् । बोकेको पैसा बाटोमै सिद्धिएको हुन्छ । भोक–भोकै, प्यासै, टिठ लाग्दो भएर, पसलमा सजाएर राखेको खानेकुरा हेर्दै टोलाउछ । पसलेले देख्छ । ओही ! के हेरेको भन्छ । लु भाँडा माझ तँलाई पेटभरी भात दिउँला भन्छ–साहुले । बालकले हुन्छ; भन्दै भाँडा मोल्न बाध्य हुन्छ अनि उसको नयाँ दिनचर्या सुरु हुन्छ । एक–दुई दिन हुँदै महिना बित्दछ । भाँडा मोल्दै गर्दा माइक्रो बस हानिएर उसैको अगाडि रोकिएको देख्दछ । यात्रु चढाउने तथा ओराल्ने काम ऊ जत्रै बालकले हातको औंलामा नोट च्याप्दै गरेको देख्दछ । ओ अंकल अलिक भित्र–भित्र सर्नु त भन्दै यात्रुलाई सानले ढकेल्दै गरेको देख्दछ । खुर्रर्रर कुद्दै चुरोट किन्दछ । एउटा चुरोट चालकलाई दिंदै एउटा आफूले सल्काएको देख्दछ । ल–ल गुरुजी जाँउ भनेको सुन्दछ । गाडी सरर कुदेको देख्दछ । यसरी भाँडा मोल्दै बस्नुभन्दा बरू गाडीमा खलासी हुने सोच्दछ । कुनै दिन अर्को माइक्रोको खलासी हातभरी पैसा बोकेर होटेलमा खाना खान आइपुग्दछ । चिनजान सम्पर्क हुन्छ । होटेलका काम छोडेर खलासी बन्न पुग्दछ । चुरोट सेवन गर्दागर्दै, पानपरागको राग बढ्दै जान्छ र हुँदा–हुँदै डेन्ड्राइड सुँध्ने अनी भित्तीको पुच्छर खाँदै दुव्र्यसनी हुन पुग्दछ । कुलतकै कारण खलासी छोडेर बालक ‘सडक बालक’ बन्दछ । 

बालबालिकालाई श्रममा लगाउने साहूको मुख्य उद्धेश्य भनेको बालकको श्रम शोषण गर्नु हो । थोरै ज्याला दिएर फाइदा बढी लिनु हो । बालबालिकालाई श्रममा कज्याउन सजिलो हुन्छ । वयस्कले जस्तो प्रतिरोध गर्न सक्दैनन् । किन बालकलाई श्रममा लगाएको भनेर सोधेमा साहूका आदर्शका पर्रा छुट्दछन् । घरेलु बालश्रमिक भएका घरकी साहुनीलाई सोध्ने हो भने उनी जति परोपकारी सायद उक्त टोलमा अरु कोही नभएको बखान गर्न पछि पर्दिनन् । ‘यो केटीलाई मैले घरमा राखेर उसको मात्रै होइन उसका बाआमा सबैको कल्याण गरेकी छु’ भन्छिन् । अझ यो केटी राखे बापत महिनाको १२÷१५ हजार खाना, लुगाफाटो, विद्यालयको फि कापी किताबमा खर्च गरेको औंला भाँच्दै स–गौरव बताउने गर्छिन् । तर, प्रत्यूत्तरमा तपाईंले राम्रो गर्नु भएको रहेछ । तपाईंले महिनाको ५०० सय मात्रै सहयोग गरे यिनी आफ्नै घरमा आमाबुबासँगै पढ्न पाउँथिन् । यिनका परिवार मात्रै होइन वरपरका छिमेकीले पनि तपाईंलाई इश्वर मानेर सम्मान गर्ने थिए भन्दै अनुरोध गरेमा के होला ? ओठ लेब्राउँदै त्यस्तो कहाँ हुन्छ ? भन्ने जवाफ आउँदछ ।  

हो, बालबालिका भौँतारिदै सडकमा आइपुग्दछन् । यो समस्या गरीब देशमा मात्रै हैन धनी देशमा पनि पाइन्छ । तर यी समस्यालाई सम्बोधन कसरी गर्ने ? यसको रोकथामका उपायमा बालमैत्री विद्यालय एउटा गतिले औजार हुन सक्दछ । बालबालिका करले हैन रहरले विद्यालय जाने वातावरण बनाउनु पर्दछ । यसको निगरानी गर्नका लागि नगर तथा पालिकाका प्रतिनिधि जागरुक भए धेरै समस्या गाउँमा नै समाधान हुन्छ । अत्यन्त विपन्न बाआमालाई आयमूखी व्यवसायका लागि सहयोग गर्न सकिन्छ । तर, यसको लागि बालबालिकालगायत परिवारको अभिलेखिकरण दुरुस्त राखिनु पर्दछ । सहयोगको सही सदुपयोग हुने अवस्था यकिन भएमा दातृ निकायको सहयोग जुट्न सक्दछ । 

बालबालिका श्रममा आउन नदिन पहल गर्नुपर्दछ । कथम कदाचित आइहाले सम्बन्धित निकायमा खबर गर्नुपर्दछ । जस्तै १०४ वा १०९८ मा फोन गर्न सकिन्छ । यसरी खबर गर्नु सबै नागरिकको कर्तव्य हो । नागरिकको कर्तव्य पूरा नगरी जुनसुकै बहानामा बालबालिकालाई श्रममा लगाउने सामाजिक अपराधी हुन् । कुनै मोलाहिजा नराखिकन यस्ता अपराधीलाई कानुनी कारवाही गरिनु पर्दछ । अख्तियार प्राप्त अधिकारीले बालबालिकालाई श्रममा लगाउनु अपराध हो भन्ने हेक्का राख्नु पर्दछ । अख्तियारको दुरुपयोग गर्ने अधिकार कसैलाई हुन्न । गर्नेलाई छोडिनु पनि हुन्न ।

 गैह्रसरकारी संस्थाले जिम्मेवारीका साथ काम गर्नुपर्दछ । एन.जि.ओ.लाई पसल बनाउनेहरुको सरकारसँग लेखाजोखा हुनुपर्दछ । यस्ता एन.जि.ओ.लाई कारबाहीको दायरामा ल्याउनु पर्दछ । पारदर्शिता हुनु पर्दछ । आवश्यकताको आधारमा कार्यक्रम बनाइनु पर्दछ । परियोजनाको रकम खर्च गर्ने होइन उपलब्धी ल्याउने हुनुपर्दछ । आज किन एन.जी.ओ बदनाम भएका छन् ! मनन गर्न ढिला भइसकेको छैन र ? बालबालिकासँग काम गर्ने स्वदेशी विदेशी गैह्रसरकारी संस्थाका जागिरे परिपक्व हुनु पर्दछ । कम्तिमा पनि बालबालिकासँग काम गर्दा कुराले भन्दा व्यवहारले प्रभाव पार्दछ भन्ने ज्ञान त हुनै प¥यो । चाइल्ड क्लबका बालबालिका बीच लभ अफियर्स अनि विद्यालय छोड्ने र भाग्ने घटना बिरलै भए पनि केही संस्थाको निद हराम गरेको नै होला । चाइल्ड क्लबबाट दिक्षान्त भएका केही बालक कती पय विदेशी संस्थाको लागि टाउको दुखाइ भएकै होला । किन यस्तो भइराखेको छ ? कतै अल्पविद्या भयङ्करी त भएको छैन ?  

स्वदेशी तथा विदेशी एन.जी.ओ.को काम गराईको एउटा सानो उदारहरण :–


एक कर्मचारी दुव्र्यसनीका बीचमा सिरिन्ज बाँड्ने काम गर्दा रहेछन् । एक वर्ष सिरिन्ज बाँडेछन् । परियोजना सकियो । उनको जागिर पनि सकियो । बीचका एक–दुइ महिना हराए । फेरी एका एक टोलमा देखा परे । काम सुरु गरे तिनै दुव्र्यसनीसँग । तर कामको प्रकृति थोरै फरक । वडा अध्यक्षले अचम्म मान्दै सोधे । हैन बाबु पहिले दुव्यसनीलाई सिरिन्ज बाँड्ने गरेको देखेको थिएँ अहिले त बटुल्न थाल्नु भएछ ! के हो यो ? युवाले भने– ‘अंकल पहिलेको एन.जि.ओ.को परियोजना सकियो । मेरो जागिर पनि सकियो । एक–दुई महिना खाली भएँ । अर्को एन.जि.ओ.मा जागिर खुलेछ । नयाँ परियोजनाको लक्षित समुदाय पनि दुव्र्यसनी नै । काम गरेको अनुभव थियो । जागिर पाएँ । तर काम अलिक फरक छ ।’ पहिले दुव्र्यसनीलाई सिरिन्ज बाँड्ने थियो । अहिले बटुल्ने । एन.जि.ओ.को पहल र खहरे खोलाको भल उस्तै हो भन्ने खालको हुनु भएन । एन.जि.ओ.ले नव धनाड्य जन्माउने होइन समाज सेवा गर्नुप¥यो । श्रीमान श्रीमती तथा भाइ बैनी साला–साली तथा भाञ्जा–भञ्जीको चौतारी हुनु भएन एन.जि.ओ । 

अपराधलाई दलगत राजनीतिकरण गरिनु भएन । राजनीतिक दलको खोल ओढाएर चोख्याउने काम गर्नु हुन्न । घरेलु श्रमिकलाई बर्षौ योन शोषण गर्ने साहुको पक्षमा बोल्न तथा कारबाही नचलाउन सबै दलका नेताको लर्को लाग्दछन् । भाषा एउटै हुन्छ, आरोपीले कसुर गरेको छैन । उजूरी गर्नुभएन, भन्छन् । यती ठूलो दवाब आउँछ कि त्यो पीडितका पक्षमा अरु त परै जाओस आफ्नै आमा–बाबु पनि बोल्न नसक्ने अवस्था बन्दछ, कोही बेला त; पीडक त्यती शक्तिशाली हुन्छ । यसको अर्थ यो हैन की पीडकलाई कानुनी दायरामा ल्याउन सकिँदैन । संयमता जरुरी छ । हिम्मत हार्नुहुन्न । त्यस्ता धेरै अपराधी अहिले जेलमा छन् । पीडित बालबालिका पुर्नस्थापित भएर आफ्नै बा–आमासँगै बस्न सफल पनि भएका छन् । 

बालश्रमिको अवस्थाको बारेमा अन्तराष्ट्रिय श्रम संगठन लगायतका संस्थाले के भन्दछ ? ‘सन् २००० मा  विश्वमा २४ करोड ६० लाख बाल श्रमिक थिए । सन् २०१२ मा यो संख्या घटेर १६ करोड ८० लाखमा झर्यो । सन् २०१८ मा १५ करोड २० लाख बालश्रमिक छन् । श्रम सर्वेक्षण २००८ मा नेपालमा १६ लाख बालबालिका श्रममा रहेको अनुमान गरेका थियो । दश बर्ष अगाडी यो संख्या २६ लाख रहेको अनुमान गरेको थियो । नेपालमा ५देखि १७ बर्ष उमेर समूहका बालबालिकामध्ये १७ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको पाइन्५ ।’ तर सन् २०१५ को भूकम्पका कारण बालश्रमिकको संख्यामा बृद्धि भएको हुन सक्दछ । 

के बालश्रमिक उन्मूलन हुँदैन त !

असम्भव छैन । बालश्रमको समस्या तर सहज पनि छैन । बालबालिका श्रमिक हुनुका पछाडि धेरै कारण छन् । बालबालिकालाई  के कारणले श्रम गर्न बाध्य छन् पहिचान हुनुपर्दछ । बालश्रमको जोखिममा रहेका बालबालिकाको पहिचान गर्नुपर्छ । बालश्रमिको ठूलो हिस्ता अनौपचारिक क्षेत्रमा छ, अनुगमन गर्न कठिन छ । जनप्रतिनिधि, अभिभावक र समाजलाई यसबारे सचेत गराउनुपर्छ । बालबालिकालाई श्रमबाट मुक्त गरेर विद्यालयमा भर्ना गर्ने, पठन–पाठनको वातावरण मिलाउनु पर्दछ । अटेर गरी बालबालिकालाई श्रममा लगाउनु सरासर कानुनको उल्लंघन हो । सामाजिक अपराध हो । यसो गर्ने जो कोहीलाई कानुनी कारबाही गरिनु पर्दछ । कुराले चिउरा भिज्दैन । काम हुनु पर्दछ । सबै इमान्दार बन्नु पर्दछ । परिपक्व सोच विचारका साथ काम गर्नु पर्दछ । यो सबै नागरिकको जिम्मेवारी हो । सरकारले नेतृत्व लिनुपर्दछ । सबै मिले बालश्रम उन्मूलन गर्न सकिन्छ । अवस्य सकिन्छ ।


Views: 11085

सम्बन्धित सामग्री:

कथा : त्रिवेणी

राजेश अधिकारी : कार्तिक २, २०७६ (१०:०४ AM)