18th February | 2019 | Monday | 3:59:45 PM

ध्यान, अध्यात्मज्ञान र मानव शरीर

अच्युतप्रसाद पौडेल, चिन्तन   POSTED ON : Saturday, 02 February, 2019 (3:00:57 PM)

ध्यान, अध्यात्मज्ञान र मानव शरीर

ध्यानले सदाचारी बनाउन प्रयत्न गर्छ । मानव शरीरले सर्दी, गर्मीसँग लड्ने क्षमता ध्यानबाट प्राप्त गर्न सक्छ । ध्यानले सिद्धि प्राप्त हुन्छ । ध्यानले सत्व गुणको चिन्तन गराउँछ । ध्यानले शरीरलाई शुद्ध बनाउँछ । अनेकौं आसक्तिबाट छुट्कारा मिल्छ । ध्यानले दृष्टिकोण फराकिलो बनाउँछ । ध्यान एक त्यस्तो अवस्था हो जसले भगवानसम्म सम्पर्क गर्न सहयोग गर्छ । योग साधनाका विभिन्न अवस्था र चरणहरू छन् । शारीरिक तन्दुरुस्ती र मानसिक, भनौँ आत्मबल ध्यानबाटै प्राप्त हुन्छ । शरीरमा पुनरऊर्जा मिल्छ । 

ध्यान गर्ने स्थान निश्चित हुन जरुरी छ । ध्यानविरोधी सामग्रीहरू भएका ठाउँमा ध्यान नगर्नु उत्तम हुन्छ । ध्यानमा एकाग्रता जरुरी छ । ध्यानमा रहँदा आफू निश्चल हुनुपर्छ । यन्त्र, उपकरण, साजसज्जा, ध्वनि, संगीत, सञ्चारका साधन ध्यान गर्दा साथमा नहुनु उत्तम मानिन्छ । इन्द्रियका विषयहरूलाई एकत्रित गरेर कुनै एक स्थानमा राखेर मन एकाग्र गराई भगवानसँगको सम्पर्क नै ध्यान हो । 

ध्यानमा एकाग्र हुँदा कानमा कुनै शब्द नपरोस्, छालामा बाहृय वस्तुको स्पर्श नहोस् । आँखामा अरू वस्तुको रूप दर्शन नहोस् । जिभ्रोले कुनै रसास्वादन गर्न नपाओस् । नाकले कुनै गन्ध पत्तो नपाओस् । पाँचै इन्द्रियहरूको कति पनि नियन्त्रण नहोस् । पाँचै इन्द्रिय आकर्षण नहोस् । इन्द्रियजन्य स्वभाव मनमा स्थित होस्, मन एकाग्रताले ध्यानमा केन्द्रित रहोस् । 

यसो गर्दा इन्द्रियसहित मन स्थिर हुन जान्छ, चित्त चञ्चल हुन पाउँदैन । बादलमा चम्किने बिजुलीझँै बारम्बार विषयप्रति मन चम्किन पाउँदैन । जसरी वनस्पतिका पातमा परेका पानीको थोपा पातमा खेलिरहन्छ ठीक त्यस्तै ध्यान मार्गमा केन्द्रित मन साधकको अन्तर हृदयमा मात्र खेलिरहन्छ, बाहिर भड्किन पाउँदैन, एकाग्रताको कारण । केही क्षण आफूलाई असजिलो महसुस भए पनि विस्तारै सहज हुन थाल्छ । सुरुमा केही असजिलो अनुभव भए पनि चिन्ता लिनु हुँदैन । 

आलस्य त्यागेर योग–ध्यानमा निरन्तर लाग्नु वेश हुन्छ । सुरुसुरुमा ध्यानमा केही बाधा पनि देखापर्न सक्छन् । मनमा क्लेश र शून्य हृदय, वितर्क पैदा हुन सक्छ तर आत्म कल्याणको पूर्व आधार मानेर स्थित चित्त हुनु उत्तम हुन्छ । मन र इन्द्रिय ध्यानस्थ भएपछि आफूभित्र आफैँमा शान्ति प्राप्ति हुन्छ । बजारमा किनमेलबाट प्राप्त नभएको सुख ध्यानबाट प्राप्त हुन थाल्छ । कुनै उद्यम, परिश्रम, कुनै लगानीविना नै सुखानुभूति हुन थाल्छ आफूलाई । कसैप्रति द्वेष, छिद्रान्वेषण, याचना वृत्ति, परनिन्दा सबै हटेर जान्छ । आफूभित्र सबैथरि प्राप्त गर्ने स्वयं ज्योति साथै रहेको अनुभूति हुन थाल्छ । 

मूलतः क्रोधमाथि विजयी बन्छ । क्रोध आवेग तनावबाट पैदा हुने मनको जलन र शारीरिक रोग विस्तारै हटेर जान्छन् । योगमा बस्नेहरूले र नित्य व्यायाम गर्नेहरूले रक्तचापजस्तो डरलाग्दो रोग र मधुमेहजस्तो रोगमाथि विजय प्राप्त गरेका छन् । आहार, बुद्धि, विचारशुद्धि निरन्तर शारीरिक व्यायाम एवं समय मिलाई ध्यानमा योगमा, रहँदा शरीरका दुर्बलता स्वतः हटेर जान्छन् । 

दुर्योधन सबै जीव र जगतलाई खराब दृष्टिले हेर्दथ्यो भने युधिष्ठिर सबै जीव र जगत्लाई राम्रो दृष्टिले हेर्थे । दृष्टिकोणमा फरकपना आउनु योगको उपादेयता हो । 

विषयबाट मनलाई हटाएर मूलाधार चक्रबाट कुण्डलिनी शक्ति उठाएर सर्वप्रथम प्राण, अपान, उदान, समान र व्यान पाँच वायुलाई हृदयमा स्थापित गर्नेको नाम योग हो । अनाहत चक्रमा पाँच वायु स्थापित गर्दा अर्थात् मनलाई प्राण र अपानवायुका साथ प्रविष्ठ गर्दा नाकको अग्रभागमा दृष्टि पर्न जाँदा त्यो भागमा स्वरूप देख्दा दुवै आँखीभौँका बीच आज्ञाचक्रमा आफूलाई स्थापित गर्दा योगको प्रक्रियागत अवस्थामा पुगिन्छ । मनलाई जितिएको अवस्थामा एकाग्रता आरम्भ हुन्छ । 

अब प्राणवायुसहित मनलाई मूर्धा भनौं शिर भागमा स्थापित गरे पनि जीव समाधिमा स्थित हुन्छ । यतिबेला शरीर हल्लिने, डुल्ने कुनै हुँदैन । अब शरीर जडझैं चेष्ठाविहीन अवस्थामा पुग्छ । समाधिस्थल यसरी अघि बढेका योगीजनहरू ब्रहृमरन्ध्रलाई भेदन गरी ज्योतिर्मय प्र्रकाश निकाली सिधा ब्रहृमको गन्तव्यतिर प्रस्थान गर्न सक्छन् । यो अवस्था साधारण गृहस्थीहरूका लागि होइन । दैनन्दिन कार्यकुशलताका लागि, शरीरको निरोगीपनको लागि, मनको स्वच्छताको लागि सामान्य योगाभ्यासबाट आफूलाई सरल र सहज बनाउन सकिन्छ । 

योगभाव पनि भक्तिभावझैँ दुई प्रकारको हुन्छ । एउटा सकामभाव अर्को निस्कामभाव । कर्मकाण्ड प्रायः सकामभावमा पर्छन् । कर्मकाण्डमा कर्म प्रधान्य हुन्छ । प्रक्रियाको प्राधान्य हुन्छ । भक्तिमा भावको प्राधान्य रहन्छ । समर्पण भाव भक्तिको उत्कृष्ट उदाहरण हो । मन र कर्मबाटै संसारको आरम्भ भएकाले यी दुवै बन्धनका कारण नै हुन् तर मन एवं मनुष्याणां कारणं बन्धमोक्षयो ः अर्थात् मनले बन्धनमा परिन्छ मनैले बन्धन तोड्न पनि सकिन्छ । मनले बन्धन तोड्ने भनेको निस्कामभावको भक्ति, सममेव भावको भक्ति र योगको उच्चतम प्रयोग नै हो । 

मनबाट फलको इच्छा त्यागको नाम मोक्ष हो । जसलाई मोक्षको क्षय भनेर बताइन्छ । रात बितेर, अन्धकार हटेपछि स्वतः प्रकाश प्राप्त भएझैँ मनको अज्ञानता हटेपछि स्वतः खालि ठाउँ भर्ने काम दिव्य ज्योतिबाटै हुन्छ । अन्धकारको आवरण हटाएपछि ज्योतिले प्रवेश पाउँछ तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय भनेकोे पनि यही नै हो । 

ध्यानमा रहने व्यक्तिले ईश्वरको विषयमा सामान्य जानकारी राख्नुपर्ने हुन्छ । ईश्वरबाट जीव जगतको सृष्टि भएको हो । जेनेरेटरको रूपमा जि, अपरेटरको रूपमा ओ र डिस्ट्रवायरको रूपमा डी अर्थात् जि.ओ.डि. (गड) भनौं, ईश्वर त्यही हो । रूप, रस, गन्ध स्पर्शभन्दा ईश्वर पृथक छ । मन र बुद्धिभन्दा फरक छ । गोचर भएर अगोचर र अगोचर भएर गोचरको रूपमा प्रतिविम्बित हुन्छ । साकार प्रतिविम्बित उसको संसार हो भने निराकारमा ऊ सबै जीवको चित् हो । 

परा र अपरा अर्थात् चित् एवं जड सत्ता सञ्चालन गर्दै ऊ सबैप्रति एकाकार भइरहेको हुन्छ । चित्त शक्ति अनाशक्त र निर्गुण छ । वर्फी उसको साक्षात् रूप हो, भनौँ स्वाद उसको निराकार हो । आपूm निराकार भएर पनि सगुण साकारको संसार रचना उसले गरेको छ । रूप, रसको पाँचै विषयको सृष्टि उसले गरेको छ । ऊ स्त्री होइन न ऊ पुरुष हो, ऊ नपुंसक होइन, उभयरूप पनि होइन, असत् होइन । ऊ सत् हो, चित् हो र आनन्द हो । ऊ आनन्दको अभव्यिक्ति हो । अक्षरब्रहृमको रूपमा उनलाई प्राप्त गर्न सकिन्छ । जुन कुरा कहिल्यै नाश हुन्न त्यो अक्षर हो, अभय हो । 

अक्षरब्रहृमबाट आकाश, आकाशबाट, जल र जलबाट पृथ्वी बनेको हो । पृथ्वीबाट पार्थिव शरीर बनेको हो । पृथ्वी नभए पार्थिव हुँदैन । पार्थिव शरीर जलमै लय हुन्छ । जलबाट यो अग्निसम्म पहुँच हुन्छ, अग्निबाट वायुसम्म र वायुबाट आकाशसम्म पहुँच हुन्छ । आकाशबाट परमात्मासम्म लीन हुन पुग्छ । अर्थात् जहाँबाट आएको त्यही फर्कन्छ । स्थायी घर त्यही हो । यहाँको घर अस्थायी हो, भनौँ जीव पाहुना हुन् । क्षणभरका, समय भरका, कालभरका लागि । परमात्मा प्राप्ति भइसकेपछि पुनर्जन्म हुँदैन ।

त्यो परमात्मा कस्तो होला फेरि एक पटक चिन्ता गरौँ । परमात्मा न ठण्डा छ न गरम । ऊ कठोर छैन, कोमल छ । तीतो, पिरो, टर्रो, नुनिलो ऊ केही होइन, माधुर्य उसको गुण हो । शब्द, गन्ध, रूपबाट पनि ऊ रचित छ । त्वचाले स्पर्शको, जिभ्रोले रसको, नाकले वास्नाको, कानले आवाजको, नेत्रले रूपको अनुभव गरेझंै परमात्माको अनुभव त्यसरी हुँदैन । जीव र शिवको भिन्नता नै त्यही हो । 

शरीरधारी देखिए पनि भगवानको शरीर हाम्रोजस्तो हुँदैन । दिव्य हुन्छ, लीला, दिव्य, धाम दिव्य, काम दिव्य भएझैँ ईश्वरको शरीर देहधारीझैं अवतार विशेषमा देखिए पनि त्यो दिव्य नै हुन्छ । अध्यात्मज्ञानविना परमात्माको ध्यानमा मन जाँदैन । अध्यात्मज्ञानबाट योगमा समाहित भएपछि परमात्माको दर्शन हुन्छ । परमात्मा ज्ञानको स्रोत हो, विज्ञानको स्रोत हो । मस्तिष्कको दाता ईश्वर हो, विज्ञानको स्रोत मानव हो भने ज्ञानको स्रोत भगवान हो । 

अन्तरमुखी बन्नलाई ध्यानले प्रसस्त मद्दत गर्छ । बर्हिमुखीमात्र हुँदा विज्ञानको स्रोत बुझ्न सकिन्न । बिजुली बन्न पानीको आवश्यकता छ, भनौँ आधुनिक विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्मज्ञानको आवश्यकता छ । अध्यात्मज्ञानको परिचय दिने धेरै मार्ग छन् । त्यसमध्ये एउटा मार्ग हो ध्यान मार्ग । 

ध्यान जहिले पनि एकान्त स्थानमा हुनु जरुरी छ । ध्यानमा रहने आसन स्थिर हुनु जरुरी छ । यसलाई देशयोग भन्ने गरिएको छ । आहार, विहार, चेष्टा, सुताइ, जगाइ सबै नियम अनुकूल हुनु जरुरी छ । यसलाई कर्मयोग भनिएको छ । आश्यक सर–समाग्री, खरखजाना, भनौँ साधनहरू जुन न्यून मात्रामा आफूलाई चाहिन्छ त्यसलाई अर्थयोग भनिएको छ । ध्यान गर्नलायक आसनमाथि रहनु उपाययोग हो । 

संसारप्रति आसक्ति एवं ममता हराउनुको नाम अध्यात्मयोग हो । श्रुति, स्मृति एवं गुरुप्रति विश्वास एवं श्रद्धाको नाम निश्चययोग हो । आँखा आदि इन्द्रियलाई आफ्नो वशमा राख्नु चक्षुयोग हो । शुद्ध र सात्विक आहारको नाम आहारयोग हो । विषयप्रति र भविष्यप्रतिको चिन्ताबाट अलग रहनुको नाम संहारयोग हो । मनले संकल्प, विकल्प नबनाउनुको नाम मनोयोग हो । जरा–जन्म–मृत्यु–रोगबाट दुखित नहुनु दर्शनयोग हो । 

योगीहरूले यी १२ प्रकारका योग साधना गरेका हुन्छन् । त्यसर्थ एक ठाउँमा बसेर केवल ध्यानकेन्द्रित गर्नुको नाममात्रै योग होइन । योग हाम्रो जीवनमा सर्वत्र र सबैबेला भइरहन सक्छ । 

शरीरभित्र पृथ्वी, जल, तेज, वायु, आकाश, अव्यक्त एवं अहंकार सात तŒव सदैव रहिरहन्छ । पाउदेखि घुँडासम्म पृथ्वीको स्थान हो । घुँडादेखि गुप्ताङ्गसम्म जलको स्थान हो, गुप्त अंगदेखि हृदयसम्म अग्निको स्थान हो । हृदयदेखि आँखीभौँसम्म वायुको स्थान हो । आँखीभाँैदेखि शिर भागसम्म आकाश भाग हो । 

जुन जुन स्थानभाग हो तत् स्थानको अधिपतिको विषय चिन्तन गर्नुपर्ने हुन्छ । जलस्थान वायुदेवताको ध्यान गरी चार भुजाधारी नारायणको ध्यान गर्ने, पीताम्वरले शोभित नारायणको चिन्तन गर्नाले व्यक्ति निरोगी हुन्छ र आफूमा भएको रोग बाहिर जान्छ । अग्निस्थानमा पनि वायु देवताको स्मरण गर्ने, मध्याहृनकालीन सूर्यसमान तेजस्वी त्रिनेत्रधारी शंकरको चिन्तन गर्ने, यसो गर्दा आगोसमान तापबाट मन शान्तिमय बन्छ । म नै सम्पूर्ण विश्व हुँ भनेर देवताहरूको परिकल्पना गर्नेले ध्यान समाधिमा परिणत हुन्छ र ऊ सिद्ध हुन्छ । 


Views: 56