25th April | 2019 | Thursday | 7:30:51 AM

कविता : शहरका मानिस रुँदैनन्

पुरुषोत्तम पोखरेल   POSTED ON : माघ १९, २०७५ (८:०० AM)

कविता : शहरका मानिस रुँदैनन्

शहरका मानिसहरू मात्रै होइनन्

उनीहरूका मन पनि दौडन्छन्,

सवारी साधन त दौडने नै भए,

सबैजना सपना 

प्राप्तिमा दौडन्छन्,

गन्तव्यलाई चुम्न दौडन्छन्

दौडदा दौडदै थकित हुन्छन्,

र पनि अनवरत दौडन्छन्

अविरल दौडन्छन्,

सूर्योदयदेखि मध्यरातसम्म

शरीरले केही समय विश्राम लिए पनि 

मनहरू त अविराम दौडन्छन

सपनामै भएपनि ।।

आफ्ना सपनाहरू मनमनमा 

सजाउँछन्,

शरीरका हरेक अवयवहरू 

तिनै सपनाहरू पूरा गर्न

तल्लीन हुन्छन्,

आँखामा,मनमा, हृदयमा 

सबैतिर सपनै सपना बोकेर,

यिनैको प्राप्तिमा ध्याउन्न हुन्छन्

तर कसैका सपना पूरा हुँदैनन् ।।

सपना पूरा गर्न

अहोरात्र लागिरहन्छन्,

सबैतिर सपना सजाउँछन्

मन मष्तिष्क, आँखा, मन, चौतर्फी

यसरी सपना सजाउने क्रममा

सपना देख्ने आँखा खुल्दा 

भित्री मनका आँखा पनि खुल्छन् ।।

आँखामा धेरै 

सपना सजाउँने मानिस

शहरका बढी हुन्छन्,

र त अहोरात्र दौडिरहन्छन्,

अनि शहरका मानिसहरू

 पीडामा पनि रुँदैनन्,

व्यथामा पनि रुँदैनन्,

रुन छाडेका छन्

बरु पीडा लुकाई हाँस्न खोज्छन् ।।


Views: 70