25th April | 2019 | Thursday | 7:29:40 AM

सन्तुलन र समृद्धि

उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’   POSTED ON : माघ २०, २०७५ (१०:४३ AM)

सन्तुलन र समृद्धि

नेपालको राजनीति जहिले पनि असन्तुलित ढंगले चल्दै आएको देखिन्छ । राजतन्त्रात्मक पद्धतिमा एकतन्त्रीय शासन भएका कारण सन्तुलन हुनै सकेन । बहुदल ल्याइयो, त्यसमा पनि पूर्ण लोकतन्त्र नहुँदा सन्तुलन कायम हुन सकेन । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा पनि द्वन्द्वात्मक परिवेश, विभाजित मनस्थिति, मनोमानी विचार, उर्लिदो आर्थिक भार र बढ्दो पक्षपातपूर्ण व्यवहारले राजनीति असन्तुलित हुँदै गएको छ । जबरजस्ती देश बन्ने भए राजतन्त्रले नै बनाउँथ्यो । अरू कुनै तन्त्रले बनाउँथ्यो होला । 

कुनै पनि कुरा जबरजस्त हुनै सक्दैन । सहज वातावरण, जागरुक परिस्थिति, सचेतनाको भावना नआएसम्म सफलता टाढै हुन्छ । लोभ, लालच र भोग प्रवृत्ति भएसम्म राजनीतिको रथ अगाडि बढ्दैन । हामी समयसँगै हिँड्न सकेका छैनौँ । हामीले समयको महŒव बुझ्न सकेका छैनौँ । कुनै पनि निर्माण कार्यमा समयको ख्याल गरेकै पाईंदैन । कुनै पनि कार्यक्रम निर्धारित समयमा सुरु हुँदैन । नेपाली समय भन्ने आहान नै बनेको छ । समयको बर्बादी जीवनको समाप्ति हो । समयभन्दा एक कदम अगाडि बढ््नसक्ने राजनेताले नै जनताको आकांक्षा पूरा गर्न सक्छ । अहिलेको सरकार यो स्थितिमा छैन न त यसभन्दा अगाडिका सरकारै थिए । यस्तो अवस्थामा देश बन्ला भनेर आशा गर्नु व्यर्थ हुन्छ । 

कुनै पार्टीले चुनावमा बहुमत ल्याउँँदैमा राजनीति सफल हुने होइन । सफलता त्याग, संघर्ष र परिश्रमको फल हो । आफू केही दिन र गर्न नसक्ने अनि अरूले चाहिँ गरिदिऊन् भन्ने चाहना राखेसम्म कुनै पनि क्षेत्र सफल हुँदैन । नेपालको राजनीति यस्तैमा अल्झेको छ । हामीले लोकतन्त्र ल्यायौं, अब हामीलाई तिमीहरूले सर्वस्व देऊ भन्ने भावना अहिलेका नेताहरूमा देखिन्छ । लोकतन्त्र ल्याउँदैैमा, गणतन्त्र आउँदैमा सबै कुरा जनताले पाए भन्ने होइन । जन्म दिँदैमा काम पूरा हुँदैन । जन्म दिनुभन्दा पालनपोषण गर्न गाह्रो, हुर्काउनु, शिक्षा दिनु र सक्षम बनाउनु अझै झन् गाह्रो । 

जति कठिन परिस्थिति अगाडि आउँदैछ त्यति नेताहरू सहजता खोज्दैछन् । अब झन् त्याग, तपस्या र धैर्यको समय आउँदैछ । यसबाट नेताहरू विचलित हुने हो भने गलत परिणाम निस्कन्छ । वर्तमान राजनीतिज्ञहरूले बुझ्नुपर्ने महŒवपूर्ण कुरो यही हो । उतार चढावको राजनीतिले उन्नति र प्रगतिको मार्ग खुल्दैन । जहाँ पक्ष र प्रतिपक्षबीच सन्तुलन छैन, जनता र सरकारबीच सन्तुलन छैन ।

चुनाव जितेर मात्रै जनताको मन जितेको हुँदैन । कर्म र व्यवहारले जनताको मन जित्ने हो । राजनीतिबाट जनताले पाउने सुविधामा पक्षपात देखिन्छ । झोला बोक्ने, स्वार्थमा हिँड्ने तथा चाप्लुसी र चाकरीपनले बढी सुविधा हत्याउनेहरू छन् । त्याग, समर्पण र सेवाभावले काम गर्नेहरू पाखा लगाइँदैछन् । स्वतन्त्र व्यक्तित्वलाई कुनै महŒव दिइँदैन । राजनीति त्याग, तपस्या र सेवाको मार्ग हुनुपर्नेमा यो स्वार्थप्रेरित छ । यहाँ कसैले कसैलाई स्वतन्त्र व्यक्ति पनि ठान्दैन । 

नेपालमा प्रायजसो राजनेताहरूले राजनीतिमा सेवा, समर्पण र त्यागको भावना देखाएजस्तो गरे पनि व्यवहारमा त्यस्तो चरित्र पाउँन सकिएको छैन । राजनीतिमा कुरा गर्दा युवा वर्गको अरुचि र नाक खुम्च्याइले यो प्रमाणित गर्छ । यसैले होला कतिपय बूढापाका तथा सज्जनहरू नेपालको राजनीतिका कुरा गर्दा उदेक मान्दछन् । राजनीतिले विद्वान्हरूलाई पनि घुँडा टेक्न बाध्य पारेको छ । धेरैजसो गुरुजन, साधु, सन्त र सन्यासी पनि राजनीतिको जञ्जालमा फसेका छन् । 

लोभी, लालची र सुविधाभोगीलाई आकर्षण हुने खालको राजनीतिक चरित्र मौलाउँदै गएको छ । स्वतन्त्र, सज्जन र चरित्रवान् व्यक्तिहरू राजनीतिबाट पाखा लागिरहेका छन्, राजनीतिमा उनीहरूलाई ठाउँ छैन । यसको अर्थ देशमा सज्जनताको मार्ग तिरस्कृत हुँदैछ । लोकतन्त्र, प्रजातन्त्र तथा स्वतन्त्रताको सिद्धान्त बोकेर हिँड्ने पार्टी काग्रेसभित्र नेतृत्वको खडेरी लाग्दैछ । किसान, श्रमिकलाई माथि उठाउनु र गरिबी घटाउनु नै प्रजातन्त्रको मुख्य काम मान्ने विपीको सिद्धान्त समाजवाद आज कतै हराइरहेको छ । 

अहिले नेपालमा नेकपाको बहुमतको सरकार छ । बहुमत भएर पनि केही नगर्ने र पूर्वजको योगदानलाई ढाल बनाएर अगाडि बढ्ने प्रवृत्तिले देश थला परिसक्यो । कांग्रेसले त गति छाडेको धेरै भइसक्यो । नारा एकातिर र काम अर्कै गर्ने प्रवृत्तिले लोकतान्त्रिक समाजवाद कमजोर बन्दैछ । पार्टीहरू सन्तुलनको राजनीतिबाट टाढिँदै गएका छन् । किनकि सन्तुलनमा नचल्नुको अर्थ समग्र जनताको भावना बुझ््न नसक्नु हो ।

सरकार भनेको पार्टी भन्दामाथि उठ्नु हो तर यहाँका पार्टीहरू सरकारमा गएपछि पनि पार्टीकै सिद्धान्त र पार्टी चेतनाको सीमित बुद्धिबाटै चल्ने प्र्रवृत्तिले राजनीतिमा असन्तुलन बढ्दै गएको देखिन्छ । जबसम्म राष्ट्रिय चेतनामा सन्तुलन कायम हुँदैन, तबसम्म मुलुकको उन्नति, प्रगति र समृद्धि हुन सक्दैन तथा राजनीतिक स्थिरता पनि हुँदैन । 

प्रधानमन्त्री एउटा पार्टीको मात्र अभिभावक होइन । व्यवहारमै सम्पूर्ण जनताको अभिभावक बन्न सक्नुपर्छ । अझ भन्नुपर्दा प्रधानमन्त्री जनता, जमिन, जनावर र पशुपक्षीको समेत संरक्षक हुनुपर्नेमा एउटा पार्टीका नेता, समूह वा कार्यकर्ता र पछौटेको मात्र संरक्षक हुने काम भइरहेको छ । 

बुद्धको समयमा धर्मक्षेत्रमा अतिवादले चरम रूप लिएको र अन्धपरम्पराले जरो गाडेको थियो, दुराचार र पापाचार बढ्दै गएको थियो । यही गम्भीरतालाई ध्यानमा राखेर बुद्धले त्यागको मध्यममार्गको सन्देश दिनुभयो । बुद्धले अतिवाद, भोगवाद, मिथ्यावाद, परम्परावाद, रुढीवाद, जडवाद र उदासीनतावादलाई कमजोर गर्न धार्मिक सन्तुलनको मार्ग देखाउनुभयो । 

अहिले नेपालमा गणतन्त्र, लोकतन्त्र र समाजवादका कुरा गरे पनि राजनीतिक सन्तुलन कायम हुन सकेको छैन । अतिवाद, हीनवाद, मिथ्यावाद शेष रहेसम्म देशमा शान्ति र सुव्यवस्था कायम हुनसक्दैन । अहिलेको सरकारलाई कतिले राम्रो मान्लान् त कतिले नराम्रो पनि । सबैले राम्रैै भन्नुपर्छ भन्ने होइन । जति विरोध हुन्छ त्यति त्यो राम्रो बन्दै जान्छ । किनकि उसले आफ्नो कमीकमजोरी सच्याउँदै जान पाउँछ । तर, अहिलेको सरकारले जति गल्ती गर्दै गएको छ त्यति सच्याउनुको सट्टा थप गल्ती गर्दै गएको छ । राजनीतिमा धैर्य, संयम र उच्च सोच नभएसम्म यस्तै हुन्छ ।

नेपालले अहिलेसम्म राम्रो नेता पाउँन सकेको छैन । जति विरोध र आलोचना आत्मसात् गर्छ त्यति त्यो राजनेता सफल हुँदै जान्छ । आलोचनाबाट सिकेर सन्तुलित राजनीतिको मार्ग अवलम्बन गर्दै हिँड्सक्ने राजनेता नै सफल हुनसक्छ । नेपालमा अहिलेको सरकार राजनीतिक सन्तुलन कायम गर्न नसक्दा विवादमा फस्दैछ । 

असन्तुलित राजनीति अपनाउनाले पार्टीभित्र पनि विद्रोह बढ्नसक्ने खतरा देखिँदैछ । बाहृय सम्बन्धमा त असन्तुलनको अवस्था यथावत छ । सरकारलाई घेराबन्दीमा पार्न खोजेको भन्ने गुनासो सुनिन्छ । आक्रोसले घेराबन्दी तोडिँदैन । विचार र भावनाले जितेर घेराबन्दी तोड्ने सामथ्र्य हुनुपर्छ । नेकपालाई बहुमत जनताले दिएका हुन् । जनता नै पछाडि फर्किदिए भने कसैको पनि केही लाग्दैन । त्यसैले समयमै सरकार होसियार हुनु जरुरी छ । 

सन्तुलन बिगारेर न त राजनीति सफल हुन्छ न त देश नै समृद्ध हुन्छ । अहिलेको सरकारले समृद्धिलाई आफ्नो सपना बनाएको नै हो भने सबै राजनीतिक दल, जनता र राजनेताबीच उच्च राजनीतिक सन्तुलनको नयाँ मार्ग खोज्नुपर्छ । पुरानो परिपाटी र पुरानै सोच त्यागेर पार्टीगत स्वार्थबाट माथि उठेर उच्च चेतनाको आधारमा नयाँ परिवेशका साथ राजनीति अगाडि बढाउन सक्नुपर्छ । साथै शान्ति सुरक्षा, विकास–निर्माण, आर्थिक वितरण र रोजगारीको वातावरण सहज बनाउँदै लानुपर्छ । बेरोजगार युवा, सेवानिवृत्त कर्मचारी, प्राध्यापक, विद्वान्, राजनीतिक कार्यकर्ता र नेतृत्वपंक्तिबाट काम लिन दिन सक्नुपर्छ ।

मानिस खाली भए भने अनेक प्रकारको षड्यन्त्र र खिचातानी सुरु हुन्छ । सबैलाई बेफुर्सदी बनाउन सक्नुपर्छ । यहाँ त देशलाई उन्नति, प्रगति र विकासतर्फ लैजान सक्छु भन्ने वर्ग नै काम नभएर खाली बसेको छ । समस्या उब्जाउने वर्गलाई नै समस्याको समाधान गर्ने जिम्मेवारी सुम्पिनुपर्छ । तब राजनीतिमा सन्तुलन कायम हुँदैजान्छ । फुर्सद भयो भने मानिसले गल्ती गर्छ । देशमा नागरिकले काम पाएनन् । त्यसैले असुरक्षा, अशान्ति र तनाव सिर्जना हुँदैछ । सामाजिक अपराध बढ्दैछ । रोगव्याधी बढ्दैछ । 

अहिले सरकारी संयन्त्र कमजोर बन्दैछन् । नेतृत्वप्रति विश्वासको संकट पैदा भइरहेछ । अर्थतन्त्रमा विचलन उत्पन्न हुने हो कि भन्ने आशंका बढ्दो छ । बजेट व्यवस्थापन र खर्चमा अनियमितता बढ्दैछ । परिश्रमबाट जनताले उत्पादन बढाउन सक्ने वातावरण बनाउनेतिर सरकारको ध्यान जानु आवश्यक छ । 

समग्र सन्तुलनको अवस्थामा मात्र राजनीति सफल हुँदै जान्छ, समृद्धि पनि हासिल हुन्छ ।


Views: 62