18th February | 2019 | Monday | 4:56:07 PM

विलासी कम्युनिस्ट

विनोद दाहाल   POSTED ON : Thursday, 07 February, 2019 (1:41:20 PM)

विलासी कम्युनिस्ट

कम्युनबाट बनेको कम्युनिजमको अर्थ हुन्छ सामूहिकता । समूहमा बस्ने, सँगै खाने, सँगै काम गर्ने र राज्य प्रणाली पनि सोहीअनुसार कम्युनबाटै सञ्चालन हुने प्रणाली हो यो । सबैले बुझ्ने भाषामा दाल भात तरकारी जीउ धन सरकारीको सिद्धान्त हो कम्युनिजम । एक दिनलाई तीन भाग गरी आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्रामको नीति यो प्रणालीले लिएको हुन्छ । यसमा धनी र गरीब भन्ने नै हुँदैनन् । कसैसँग निजी सम्पत्ति नै हुँदैन । त्यसो भएपछि यस्तो विभेद रहदैरहँदैन । त्यसैले मालिक र मजदुर भन्ने साँध पनि यसमा रहँदैन । कोही मरी मरी काम गर्ने र कोही बसेर खाने पनि यो प्रणालीमा हुँदैन । सबैले राज्यले तोकेको काम तोकेको समयावधिभरि गर्नैपर्छ । 

तर, नीति र व्यवहार समान नभएका कयौं कुरा हामीले देखेका छौँ र यो पनि यस्तै एउटा प्रणली हो जो नीतिको ठीक विपरीत प्रवाहमा दौडिरहेको छ । अहिले त यो प्रणाली विश्वमा असफल मानिँदै गएको छ र केही देशमा मात्र बाँकी रहेको छ । 

नेपालमा पञ्चायत प्रणाली थियो । त्यसको परिचालनका लागि एउटा पञ्चायत नीति तथा जाँचबुझ समिति नामको निकाय थियो । यो सर्वशक्तिवान् थियो र यसैले पञ्चायतका विभिन्न निकायको सञ्चालन गर्नेदेखि पजनीका काम गथ्र्यो । अञ्चलाधीश र सिडिओ यसैको सिफारिसमा नियुक्ति हुन्थे । यो निकायको गोग्य शाखाका एकजना अधिकृत यो पंक्तिकारका साथी थिए र अहिले उनी घरैमा फुर्सदको उपयोग गरी साहित्यरचना गरिरहेका छन् । उनी आफ्नै हातले त्यसबेलाको इतर राजनीति गरेर बसेका कम्युनिस्टदेखि कांग्रेसलाई समेत मासिकरूपमै पैसा बाँडेको बताउँछन् । उनका यस्ता कुरामा अहिले पत्याउनै मुस्किल हुने खालका तथ्य र व्यक्ति पनि छन् । 

विशेष गरी कांग्रेसका नेता तथा कार्यकर्ताको पञ्चायत विरोधी स्वरलाई निस्तेज बनाउन दरवारले नै कतिलाई भत्ता दिएरै कम्युनिस्ट बनाएको थियो । नेपालका कम्युनिस्टहरू यस अर्थमा पञ्चायत कालदेखि नै विलासी थिए भन्न सकिन्छ । 

पञ्चायत समाप्त हुनानसाथ टुँडिखेलको विशााल आमसभामा एकजना जेएन खनाल नामका आइलाग्दो जिउज्यानका युवक सम्बोधन गर्न आइपुगे जो नेकपा मालेका पूर्वमहासचिव पनि रहेछन् । पछि ती युवकको वास्तविक नाम झलनाथ खनाल भनेर नेपाली जनताले थाहा पाए र उनी कृष्णप्रसाद भट्टराईको अन्तरिम मन्त्रीमण्डलमा मन्त्री बने । त्यसको केही समयपछि प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम बन्यो । त्यसमा झलनाथ खनाल पनि संलग्न भए । त्यस भ्रमणमा जाँदा सामन्तवादको प्रतिनिधि मानिएको कांग्रेस पार्टीबाट प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले ६ सय रुपैयाँको दौरासुरुवाल लगाएका थिए र सर्वहाराका प्रतिनिधि झलनाथले ३० हजारको चस्मा र ३० हजारको सुट लगाएका थिए भनेर त्यसबेला निकै चर्चा पाएको थियो । 

धेरै पछि ज्ञानेन्द्र शाह राजा भए । प्रधानमन्त्री थिए शेरबहादुर देउवा । राजाले प्रधानमन्त्रीसँग आफूलाई बुलेटपु्रफ गाडी चाहिएको र त्यसका लागि चाहिने १५ करोड रपैयाँको माग गरेछन् । प्रधानमन्त्री देउवाले यो कुरा मन्त्रीमण्डलको बैठकमा राखे । केही मन्त्रीबाट यस प्रस्तावको विरोध भयो । निष्कर्षमा प्रधानमन्त्रीले भनेछन्, ‘राजाले मागेको जाबो पन्ध्र करोडका लागि विरोध जनाउनु हुँदैन, दिनुपर्छ ।’ राजाले रकम पाए र बुलेटपु्रफ गाडी चढे । 

सर्वहाराकी प्रतिनिधि हालकी महामहिम राष्ट्रपतिबाट तत्कालीन राजाको भन्दा पनि बढी महŒवाकांक्षी र विलासिताको माग हुनु नेपाली जनताका लागि आश्चर्यको विषय बन्न पुगेको छ । राष्ट्रपतिबाट आफ्नो विलाशिताका लागि महाराजगञ्जस्थित प्रहरी कार्यालयको परिसर हटाउने र १८ करोडको गाडीको माग भएका कुरा सार्वजनिक भए । नेपाली जनताले यो कुरा रुचाएनन् । जो उनकै दलका मानिस थिए तीबाट पनि विरोधका स्वर बाहिर आए अनि सरकारका मानिसबाट उनको बचाउका तर्क अगाडि सारियो । राष्ट्रपति एउटा व्यक्तिमात्र होइन यो एउटा संस्था हो र यसका लागि बढाइएको सुविधाका कारण संस्था वा नेपाल सरकारको पनि इज्जत बढ्छ । राष्ट्रपति कार्यालयको सम्पन्नताबाट नेपाल विदेशसामु दरिद्र देखिनु पर्दैन भन्नेजस्ता तर्क उनीहरूले गर्न थाले । राष्ट्रपतिबाट सुविधा माग भएको होइन, नेपाल सरकारले नै दिन चाहेको हो भन्ने स्पष्टीकरण शैलीका वक्तव्य बाहिरिए । जे भए पनि र जहाँबाट यस्ता कुराको उठान भएको थियो ती सर्वहाराका प्रतिनिधिबाटै आएका थिए । 

अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीका जुत्ताले पनि निकै चर्चा पाएका छन् । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिका स्टाटस पढ्न पाइन्छ । उनको कोट पाइट र चपल लाएको फोटो एकातिर राखिएको छ भने एक लाख दुई हजारको भनिएका जुत्ता लाएको फोटो अर्कातिर राखिएको हुन्छ । यदि यो कुरा सत्य हो भने वामपन्थी वैचारिक धाराकै बद्नाम उनको यो कामबाट हुन पुगेको छ । सर्वहारा वर्गको विलासिपनको यो एउटा सग्लो चित्र हो । 

यो पंक्तिकारले पचास वर्षे जीवनकालसम्ममा लगाएर फटाएका जुत्ताको जम्मा मूल्य जोड्ने हो भने पनि उनका एक जोर जुत्ताको जति मूल्य हुन नपर्ने रहेछ । यस अर्थमा उनले एक हजार दरका वा दुई वा पाँच हजार दरकै जुत्ता लगाएका भए पनि कसैले उनलाई छि भन्ने पनि थिएनन् र उनले भाग लिएको कार्यक्रम स्थलबाट बाहिर निकाल्ने पनि थिएनन् । साँच्चै भन्ने हो भने विदेशी त हामीले जस्तो अरूले लाएखाएको चियोचर्चो पनि गर्दैनन् । उनीहरूकोमा कसैको कसैलाई वास्ता हुँदैन । उनले लाएको एकजोर जुत्ताको दामले एक सयजना नेपालीले एकपटक जुत्ता फेर्न पाउने थिए । 

सिद्धान्त र व्यवहारमा एकरूपता नभएकै कारण यसको नाम राजनीति रहेको हुनसक्छ र राजनीति सही बाटोबाट नहिँडी चोर बाटोबाट हिँड्ने भएका कारणले राजनीतिलाई ‘फोहोरी खेल’ भनिएको हुनसक्छ । नत्र खोइ त सशस्त्र विद्रोहका बेला लगाइएका नाराको व्यावहारिक प्रयोग ¤ त्यस बेलाका ती नारा आफूले सत्ता हत्याउनकै लागि मात्र रहेछन् भनेर अहिले प्रमाणित भइरहेका छन् । नेकपाकै कार्यकर्ता जो उक्त विद्रोहमा संलग्न थिए तिनले समेत अहिले आफ्नै पार्टीका क्रियाकलापको आलोचना गर्नुबाट नेकपा हिँडेको मार्ग गलत छ भन्ने पुष्टि हुन्छ । 

सिंगापुरको टेलिकममा नेकपाका नेताको लगानीको चर्चा केही वर्ष पहिलेदेखि हुँदै आएको थियो । सुमार्गीमार्फत् हुने लगानी र विदेशबाट आएको भनिएको पैसा पनि नेकपाकै नेताको हो भनिन्छ । स्वदेशका विभिन्न प्रतिष्ठानमा गरिएको लगानी, हाइड्रोपावरलगायतमा हालिएको शेयर भाटभटेनी सुपरमार्केटको लगानी सबै नेकपाकै शीर्ष नेताको हो भन्ने गरिन्छ । यदि यो कुरो सही हो भने केही वर्ष पहिलेमात्र भूमिगत जीवनबाट सार्वजनिक भएका नेता छिट्टै नेपालका पुराना व्यापारिक घरानासरह वा त्योभन्दा माथि पुगेका छन् । यसको कारण कतैबाट खोतलिएको छैन । केही वर्ष पहिले चीनबाट ल्याइएको ठूलो परिमाणको सुन काण्डमा सोही पार्टीका केही शीर्ष नेताको नाम मुछिएको थियो । पछि योभन्दा ठूलाठूला सुन काण्ड भए तीनमा कसकसको संलग्नता छ त्यसको प्रमाणीकरण अझै भइसकेको छैन । यो सुन तस्करी प्रकरणबाट पनि निश्चय नै केही शक्तिशालीको विलासी जीवनमा टेवा पुगेकै होला भन्ने अनुमान गर्न सकिन्छ नै । अहिले ताजा बनेर चर्चामा आइरहेको छ स्वीस बैंकमा नेपालीहरूले रकम जम्मा गरेको प्रकरण । यसमा ककसको संलग्नता छ भनेर खोजिनुपथ्र्यो तर केही दिन चर्चामा आएर वाइडबडी प्रकरणजस्तै यो पनि सेलाएर गयो । यसबाट यस प्रकरणमा नेता जोडिएका छन् भन्ने आशंकाले ठाउँ पाएको छ ।


Views: 63