27th June | 2019 | Thursday | 4:11:26 AM

कुलुङ लोकवार्ता

होहोरेम कुलुङ   POSTED ON : फाल्गुन ४, २०७५ (७:४३ AM)

कुलुङ लोकवार्ता

हाल विश्वका धेरै कम आदिवासी जनजातिहरूको मात्रै ऐतिहासिक भूमि, मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, भेषभूषा, चाडबाड, गरगहना, रीतिस्थिति आदि जीवित रहेको अवस्था छ । त्यसरी यस्ता ऐतिहासिकता तथा मौलिकता जीवित रहेका आदिवासी जनजातिहरूमा नेपालको ‘कुलुङ जाति’ पनि एक हो । तर, दुःखको कुरो ‘कुलुङ जाति’ लाई हालसम्म राज्यले अलग्गै जाति मानेको छैन । स्मरणीय छ, पहिलेपहिले राई भनेर चिनिने कुलुङ लगायत अन्य १२ किराती जातिहरूले २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जाति लेखाएका छन् । त्यसो भए तापनि उनीहरूलाई नेपाल सरकार, नेपालको राज्य व्यवस्था, नेपालस्थित दातृ निकाय, आइएलओ, आइएनजिओ, एनजिओलगायत संघसंस्थाले हालसम्म राई जातिमै गाभेको र राई जाति नै मानेको अवस्था छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीको वक्ता संख्या भने जातीय जनसंख्याभन्दा बढी अर्थात् ३३ हजार १ सय ७० रहेको छ । कुलुङबाहेक अरूले पनि यो भाषा बोल्ने गरेका कारण यस्तो तथ्यांक देखापरेको हुनसक्छ ।  
कुलुङ समुदायलाई नेपालका अन्य जात वा जातिहरूले कुलुङ भनी चिन्नुअघि कुलुङ जातिको २३ पुस्ता बितिसकेका थिए । यसरी नेपालका अन्य जात वा जातिले कुलुङ भनेर चिन्नुअघि कुलुङ जातिको मुख्य ४ पूर्खा थिए । उनीहरू क्रमशः खप्दुलू, राताप्खू, ताम्सी र छेम्सी थिए । ती पूर्खा सुरुमा बसोवास गरेको क्षेत्र हुल (हुलू),  सोत्तो (सोताङ), पिल्मो (पिल्मोङ), छेम्सी र छेस्खाम हो । सुरुमा कुलुङ जातिका पूर्खा बसेको ठाउँकै आधारमा यी ठाउँबाट बसाइँ सरेर अन्यत्र गएका कुलुङका सन्तानले अहिले पनि आपूmहरूलाई सोत्तोस वा सोताङे, पिल्मोस वा पिल्माङे, छेस्खामे र छेम्सी वा छेम्सिङे भनेर चिनाउँछन् । कुलुङ जातिको ऐतिहासिक भूमिलाई ‘महाकुलुङ’ भनिन्छ । जुन हालको राजनीतिक विभाजनअनुसार १ नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाका भूक्षेत्र हुन् ।
नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८, अन्तर्राष्ट्रिय कानुन, आइएलओको परिभाषा आदिले आदिवासी जनजाति हुन तोकिएका विभिन्न आधारहरू सबै भएर पनि राईकरणको मारमा पर्न वाध्य पारिएको जाति हो कुलुङ ।
त्यसो भए तापनि नेपाल सरकारको मातहतमा रहेको भाषा आयोगले केही समयअघि कुलुङ जातिको लोककथा संग्रह ‘कुलुङ लोकवार्ता’ प्रकाशन गरेको छ । यो किताब पहिलो संस्करणका रूपमा आएकोे छ जुन संस्करण परीक्षण संस्करण हो ।
सो किताबमा कुलुङ जातिमा प्रचलित कयौं लोककथामध्ये २६ वटा कथा छापिएका छन् । मूल भाषा वा माध्यम कुलुङ भाषामा छापिएको भए तापनि हरेक लोक कथालाई नेपाली भाषामा पनि उल्था गरिएको हुनाले कुलुङ जातिमा रहेका लोककथा र लोक मान्यता वा  मिथकलाई अन्य भाषाभाषीले पनि सहजै पढ्न र बुभ्mन सक्नेछन् । कुलुङ जातिका बारेमा जान्न, बुभ्mन चाहनेहरूले कुलुङ जाति के हो ? उनीहरूको लोकजीवन र लोककथाहरूमा कस्ताकस्ता कुराको वर्णन छन् भनेर पढ्ने, बुभ्mने र जान्ने अवसर पाउनेछन् ।
यसरी प्रकाशित २६ वटा कुलुङ लोकवार्ता संग्रहले कुलुङ जातिको उत्पत्ति कथा, यो जातिमा अल्लोको कपडा लगाउन सुरु भएको सन्दर्भमा किन उनीहरूले अल्लोलाई अनिवार्यरूपमा प्रयोग गर्छन् ? यो जातिमा गोरु जुधाइ खेलको सुरुवात, कुलुङ जातिको मुख्य चाडपर्वमध्ये मिनारी दाचाम मनाउन सुरु गरिनुको कारण र कथा, यो जातिका आदिम पूर्खाहरूमध्ये लोस, खेउ र खोक्चीलिप (दुई दिदीबहिनी र भाइ) को बिछोड र मिलनको कथाजस्ता सन्दर्भ कथाका जोडिएका छन् । यसका साथै खेतीपातीको सुरुवात, कुलुङ जातिमा घर निर्माणको सुरुवात कसरी भयो भन्ने कथा, मृत्यु हुँदा जुठो बार्न नपर्ने कारण, पुरुषले सँुगुरको आन्द्रा खाननहुने कारण, ललदुम (वनझाँक्री) र चान्मा र कोमालेकनामक पूर्खाहरूको कथालगायत लोकवार्ता यो संग्रहमा संग्रहित गरिएको छ ।
यसरी नेपाल सरकारले हालसम्म जातीय स्वपहचिान नदिएको समुदायका बारेमा रहेको लोककथा वा लोकवार्ता संग्रह प्रकाशन गरेर भाषा आयोगले वास्तवमै कुलुङ जातिले सजिलै  तिर्ननसक्ने गुन लगाएको मान्नुपर्ने हुन्छ । यसका लागि भाषा आयोगका प्रमुख डाक्टर लवदेव अवस्थीलगायत भाषा आयोगका अन्य कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्नु कुलुङ जातिको कर्तव्य हुन आएको छ ।   
 
 


Views: 176