19th September | 2019 | Thursday | 8:52:26 PM

उधुम केही भएको छैन प्रधानमन्त्रीज्यू, धैर्य गर्नुहोस्!

गोविन्द लुइँटेल   POSTED ON : फाल्गुन ५, २०७५ (४:११ PM)

उधुम केही भएको छैन प्रधानमन्त्रीज्यू, धैर्य गर्नुहोस्!

सम्माननीय प्रधानमन्त्रीज्यू,

कुनै भूमिका नबाँधी सोझै कुरामा प्रवेश गर्छु ।

सरकारले एक वर्ष पूरा गरेको अवसरमा यही फागुन २ गते अपराह्न तपाईंको झण्डै ५ हजार शब्दको सम्बोधन सुनेर केही गम्दै सुतेको थिएँ । बिहान एक वर्ष पूरा गर्न ‘सफल भएकोमा’ तपाईंको ठूलो तस्वीरसहितको बधाई विज्ञापन देखेर मनमा प्रश्न उठ्यो– दुई तिहाइ बहुमतको सरकारले एक वर्ष पूरा गर्नु नै यति ठूलो बधाईको सफलता हो ?

पहिले सम्बोधनकै कुरा गरौँ ।

प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनको सुरुतिरै विपक्षी दलप्रति आगो ओकल्नुभयो । आम निर्वाचनको मतदान भएको तीन महिना भएको थियो । निर्वाचन आयोगले निर्वाचन परिणाम अन्तिम घोषणा गरेको भोलिपल्ट बिहानै तपाईं प्रधानमन्त्री पदमा नियुक्ति हुनुभएको हो, मौजुदा प्रधानमन्त्रीलाई झण्डै झुक्याएर । कसो तिनले भेउ पाएछन् र राजीनामा बुझाउन दौडेछन् । नत्र ‘सत्ता नछाडेकाले’ हटाइएका हुने थिए । 

सरकार गठनमा ढिलो भएको हो तर त्यसमा दोष कसको थियो ? के कारणले निर्वाचन आयोगले परिणाम रोकेर राखेको थियो ? घटनाक्रममा चासो राख्नेलाई थाहा छ– निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई हुन्न भनेको थियो । आयोगले यसो भन्नुमा तत्कालीन सरकार कति जिम्मेवार थियो भन्ने कुरा प्रमुख निर्वाचन आयुक्तबाहेक अरू कसैले भन्न सक्दैन । 

अदालत र न्यायिक प्रक्रियाका प्रति प्रधानमन्त्रीज्यूको असहिष्णुता फेरि एकपटक उजागर भएको छ । प्रधानमन्त्रीज्यूको भनाइ छ, ‘तीन महिनादेखि कानुनका नौ वटै सिङले हाम्रो लोकतन्त्रलाई बारम्बार उधिनिरहेको थियो ।’ भुक्तभोगीहरूले भन्ने गरेको ‘न्यायका नौ सिङ’ मा किन हो कुन्नि तपाईंले थोरै परिमार्जन गरिदिनुभएको छ । यो अभिव्यक्तिमा न्यायिक प्रक्रियाप्रति तपाईंको आक्रोश झल्किन्छ । तपाईंबाट अदालतप्रति असहिष्णुता प्रकट हुँदै आएको हो काम गर्न दिएन, निर्णय कार्यान्वयन हुन दिएन भनेर । सुधार्ने ठाउँमा हुनुहुन्छ । कानुनका सिङ घटाउने प्रयास गर्नुहोला भन्ने आशा गर्छु ।  

प्रधानमन्त्रीज्यू तपाईंले ठिकै भन्नुभएको हो । ‘त्रिशंकु संसद अनिवार्य’ भन्ने आम धारणा अवश्य थियो तर २०४८ सालदेखि नेपालको निर्वाचन परिणाम नजिकबाट नियालिरहेका व्यक्तिका लागि २०७४ सालको परिणाम आश्चर्यजनक थिएन । तपाईंले भनेजस्तो ‘विश्वलाई नै आश्चर्यमा पार्ने परिणाम’ आयो होला । यता नेपालभित्रचाहिँ अनुमान गरेअनुसारै भएको थियो । 

प्रधानमन्त्रीज्यूले यो पनि ठिकै भन्नुभएको हो । एक वर्षअघि तपाईंले जिम्मेवारी सम्हाल्दा संघ, प्रदेश र स्थानीय तहको संवैधानिक व्यवस्था त थियो तर तद्नुरूपका संरचनाहरू  थिएनन् । तपाईंलाई पनि थाहा छ, ती संरचनाहरू रातारात तपाईंको प्रतापले बनेका पनि होइनन् । क्रमशः तयार भएका हुन् । सबै तपाईंले नै ठिक पार्नुभएको हुन्थ्यो भने आज सात वटै मुख्यमन्त्रीहरू यति धेरै गुनासो गरिरहेका हुने थिएनन् । सबै प्रदेशको राजधानी र नाम निर्णय भइसकेको हुने थियो । 

प्रधानमन्त्रीज्यूले भनेझैँ यो परिवर्तन, एकात्मकताबाट– संघीयता, प्रजातन्त्रको औपचारिकताबाट– सहभागितामूलक लोकतन्त्र र राजतन्त्रात्मक प्रणालीबाट– गणतन्त्रमा प्रवेश गरेको नयाँ प्रणाली हो । संघीय लोकतान्त्रिक गणतन्त्र हो । 

यहाँ यति भन्नै पर्छ– तपाईं एक्लैको ताकतले यति परिवर्तन भएको होइन । पछिल्लो निर्वाचनका गठबन्ध र त्यसपछि पार्टी एकता गरेर एकल बहुमत हासिल गरेको चाहिँ तपाईंकै ताकतले हो । यसमा अरूले दाबी नगरे पनि हुन्छ । र, बहुमतको मान्य सिद्धान्तअनुसार सरकार चलाउने पनि तपाईंले नै हो । अरूले धेरै नसिकाए हुन्छ । 

प्रधानमन्त्रीज्यू तपाईंले संघीयता र तीन तहका सरकारलाई शक्तिपृथकीकरण तहमा हेर्नुभएको छ । शक्तिपृथकीकरणले मात्रै संघीयता चल्दैन । यसमा एक कदम अघि बढ्न आवश्यक छ– शक्ति निक्षेपीकरणतिर । 

सहभागिता र समावेशिता अटाएको छ । निश्चय नै प्रधानमन्त्रीज्यूले भनेझैँ हामीले सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानसहितको ‘परिपूर्ण लोकतन्त्र’ नै खोजेको हो । परिपूर्ण लोकतन्त्रका नाममा सरकारले बोल्ने लेख्ने अधिकारमात्रै चाहिएको हो र भन्ने पो हो कि भन्ने चिन्ता भएको हो । अधिनायकवादको कुरा यही चिन्ताको प्रकटीकरण हो । प्रधानमन्त्रीज्यूको झैँ लोकतन्त्र हामी सबैका लागि आदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो ।  ‘जिविका चलाउने व्यवसाय’ भनेर तपाईंले गरेको कटाक्ष बोल्ने लेख्ने अधिकारमाथि नियन्त्रणको संकेत हो कि भन्ने मेरो चिन्ता हो ।  

प्रधानमन्त्रीज्यूले भनेको ‘आधार वर्ष’ मा असहमति छैन । तपाईंले भनेझैँ आज गरिने काम भविष्यका लागि आधार हो । राजनीतिक स्थिरतालाई सबैले समृद्धितर्फको यात्राका लागि एउटा आधार मानेका छन् भन्ने लाग्छ ।  

निश्चय नै संघीयता र शक्ति हस्तान्तरणको अभ्यास सजिलो होइन ।  यसो भनेर स्थानीय ‘सरकार’ र प्रदेश संसदमा व्यावहारिक ज्ञान र अनुभवको कमीका नाममा स्थानीय तह र प्रदेशलाई संघका शाखा कार्यालयमा सिमित गरिने हो कि भन्ने चिन्ता उब्जेको अवश्य हो । 

प्रधानमन्त्रीले तथ्यांकमा बोल्नु हुँदैन भन्ने होइन । सबै तथ्यांक ढाँटेको भन्ने पनि होइन । ढाँटेको आरोप लगाउनेले तथ्यांकबाटै गलत पुष्टि गर्नुपर्छ । व्यापारघाटा झन बढेको, पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको, शोधनान्तर स्थिति झन् खराब हुँदै गएको कुरा सरकारले पनि लुकाउन सकेको छैन । अपेक्षा गरौँ– नकारात्मक सूचकांकहरूमा सुधार हुँदै जानेछ । 

ऐन, नियम निर्माण आदि इत्यादि अलिकति चापका काम थिए तर सरकारले तरक्की नै गरेको भन्ने होइन । अर्को कुनै सरकारले पनि यति काम गरेको हुनेथियो । कसैले माने वा नमाने पनि केही नयाँ आशाको सञ्चार यो सरकारले गरेको छ । सामाजिक सुरक्षा र प्रधानमन्त्री रोजगार कार्यक्रम सकारात्मक थालनी हुन् । चीनसँगको पारवहन सम्झौता र यसको प्रोटोकलमा सहमति तथा भारतसँग ऊर्जा बैंकिङको जश अरू कसैले उम्काउँदैन । यसमा प्रधानमन्त्रीज्यूले चिन्ता गर्नु पर्दैन । 

संविधानले भनेका केही संरचनाहरू बनेका छन्, केही बन्ने क्रममा छन् । केही नियुक्तिहरू भएका छन्, केही हुने क्रममा छन् । नेकपाको नभएर अर्को पार्टीको र तपाईंको नभएर अर्को कसैको सरकार हुन्थ्यो भने पनि यी कामहरू अवश्य हुने थिए । यसमा प्रधानमन्त्रीज्यू बढी उद्वेलित हुनुपर्ने कुनै कारण छैन । 

मुख्य कुरा आर्थिक क्षेत्रमा सुधारको संकेत देखिनुपर्छ । सकारात्मक परिणामका लाभहरू पाउन थाल्नुपर्छ । यसो हुन अझै केही समय कुर्नु पर्नेछ । प्रधानमन्त्रीले भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मा असहमति जनाउनु पर्ने कुनै कारण छैन । 

विमानस्थल, तुइन, ऊर्जा,  भन्सार जाँच चौकी, मोटरेबल पुल, सडक कालोपत्रे,  नयाँ उद्योग दर्ता, खानी खोजीको भौगर्भिक अध्ययन, केही नयाँ निर्माणका शिलान्यास आदि इत्यादि आधारभूत तहकै काम हुन् । कुनै चमत्कार  भएको छैन । केही पनि होइन भन्ने पनि होइन । सामान्य हो, हुने नै कुरा हो । एकल बहुमतमात्रै होइन, दुई तिहाइको सरकार छ । विश्व चकित पर्ने काम भएको छैन । 

धेरैतिर खुम्चिँदै गएको कम्युनिष्ट नेपालमा चाहिँ कसरी निर्वाचनमा यति प्रबलरूपमा विजयी भयो भनेर विश्व आश्चर्यमा परेको होला । कतै कतै यसको दार्शनिक, राजनीतिक र समाजशस्त्रीय अध्ययन पनि हुँदै होला कि । सरकारको कामै देखेर चाहिँ कोही आश्चर्य चकित भयो भन्ने कसले ठानेको होला र ! 

प्रधानमन्त्रीज्यूका शुभचिन्तकले ठिकै प्रश्न गरेका हुन्– तपाईंले जे भनिरहनुभएको छ, त्यसलाई अरूहरूले किन पत्याइरहेका छैनन् ?

प्रश्न गहिरै हो । प्रधानमन्त्रीज्यूले प्रतिप्रश्न गर्नुभएछ– खाली भाँडो थियो, त्यसलाई मैले आधा भरेँ, म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरू त्यसैलाई आधा खाली भनिरहेका छन् त कसरी स्पष्ट पारौँ ?

सम्माननीय प्रधानमन्त्रीज्यू, भाँडो तपाईंले भनेजस्तो रित्तो थिएन । भाँडामा थोरै थियो, तपाईं थप्दै हुनुहुन्छ । यसरी सोच्नु भयो भने मानिसहरूले आधा रित्तो नभन्लान् । 

सम्माननीय प्रधानमन्त्रीज्यू, नौ–नौ महिनामा नयाँ सरकार हेर्ने बानी फेर्न फागुन ३ गतेका केही ठूला दैनिक पत्रिकाका बधाई विज्ञापनले मद्दत गर्दैनन् । ती बधाईले प्रधानमन्त्रीको सम्मान गरेको छैन । यो घोर अपमान हो । म यसमा चिन्तत छु । जसले यस प्रकारको बधाई दिए उनीहरूको चित्त दुखाउने मेरो मनसाय होइन । प्रधानमन्त्री मेरा मात्रै होइनन् । 

नेपालमा पानी जहाज, जल परिवहन र रेल यातायातको चर्चा गर्दा ‘यस्तो पनि भन्ने’ जस्ता प्रश्न कसैले उठाएको छ भने यसको जवाफ आज प्रधानमन्त्रीको मुखबाट आवश्यक छैन । देशको प्रधानमन्त्रीमा यति धैर्य हुनुपर्छ भन्ने मेरो आग्रह हो ।

तपाईंले आफ्ना योजनाहरू नारायण गोपाल–अरुणा लामाले गाएको गीत ‘... त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भने जस्तो होइन भन्नुभएको छ । हाम्रा युगीन गायक–गायिका र कालजयी गीतप्रति हाम्रो ठूलो सम्मान छ । गायक–गायिकाका दिवंगत आत्मा, कृपया हाम्रा प्रधानमन्त्रीसँग चित्त नदुखाइदेऊ । कुनै दिन देशकै प्रधानमन्त्रीबाट यति कटाक्ष होला भन्ने भेउ पाएको भए त्यो गीत गाउने थिएनौ कि ! 

प्रधानमन्त्रीज्यू, आज तपार्इं कुनै निर्णय गर्नुहुन्छ, कुनै उद्घाटन गर्नुहुन्छ । अब यसमा उठ्नसक्ने सम्भाव्य प्रश्नको जवाफ उद्घाटन समारोहमै आवश्यक पर्दैन । समाज जवाफभन्दा बढी प्रश्नले नै अघि बढ्दै आएको हो । प्रश्न शंका, विरोध र आलोचनामात्रै होइन उन्नत चेतनाको द्योतक पनि हो । तपाईंले पञ्चायती व्यवस्था र राजाको शासनमाथि प्रश्न उठाउनु भएको हो नि । तपाईंले मानिसको चेतना बढाउनकै लागि लामो संघर्ष गर्नु भएको हो भन्ने मेरो विश्वास छ । 

मलाई विश्वास छ– प्रधानमन्त्रीज्यूले खबर गरे वा नगरे पनि, टिकट काटेर जहाज चढ्ने दिन पनि अवश्य आउनेछ । तपाईं नेपाली जनताको धैर्यबारे भारी जानकार हुनुहुन्छ । मेरो विश्वास टुटेको दिन प्रश्न गरौँला । 

प्रधानमन्त्रीज्यूले गरेको विदेश भ्रमण, सहमति–सम्झौता र सम्बोधनहरूमा मलाई कति पनि सन्देह छैन । सधैँजसो तपाईंको आलोचना पढिने लेखमा तपाईंले डाभोसमा प्रयोग गरेको अंग्रेजी भाषा र शब्द चयनको तारिफ पढ्न पाएर खुसी लाग्यो । तपाईंले पनि अवश्य पढेको हुनुपर्छ ।  

विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकार, दिगो विकास, नेपालको मौलिक शान्ति प्रक्रिया, विशिष्ट प्रकृतिको निर्वाचन प्रणाली इत्यादि दुनियाँलाई आश्चर्य नै पार्ने प्रकृतिको पाउनुमा तपाईंको दोष छैन । ओपिनियन मेकरहरू पक्ष–विपक्ष दुवैतिर हुन्छन् सम्माननीय प्रधानमन्त्रीज्यू । नागरिकहरूका प्रश्न, आलोचना र विरोधका प्रति तपाईंको यति अधीरता अनपेक्षित छ । तपाईंले भनेको जगमै छाना खोज्नेलाई केही जवाफ दिनु आवश्यक पर्दैन । 

सम्माननीय प्रधानमन्त्रीज्यू, म छातीमा हात राखेर आफैँलाई सोध्छु र भन्छु– पहिलेको तुलनामा यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि मेरो जीवन कष्टकर हुने कुनै नकाम भएको छैन । सरकारले गरेका कामको फेहरिस्तमा मलाई धेरै अविश्वास पनि छैन । 

आलोचना र विरोध त चलिरहन्छ प्रधानमन्त्रीज्यू । यो शाश्वत सत्य हो । सृष्टिदेखि नै चल्दै अएको हो र चल्दै जानेछ । 

यहाँ इतिहासको एउटा दृष्टान्त पेश गरौँ । 

गोरखाका राजा पृथ्वीनारायण शाहले युद्धको माध्यमले ससाना राज्यलाई एकीकरण गरेर एउटै ठूलो नेपाल बनाए भन्ने इतिहास छ । पृथ्वीनारायणले एकीकरण गरेकै कारणले ठूलो नेपालका नेपाली हुन पायौँ भनेर गर्व गर्ने नेपाली मात्रै छैनन् देशमा । उनले एकीकरण गरेका होइनन्, युद्ध गरेर आफ्नो साम्राज्य विस्तार गरेका हुन्, उनले घोर अन्याय गरे, भूगोल जोडे, भावना जोडेनन् भन्ने नेपाली पनि यही भूमिमा छन् । राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर उनकै पाउमुनि सलामी लिइरहँदा, सानै समूहमा सही, अर्को ठाउँमा के भइरहेको थियो भन्ने कुरामा प्रधानमन्त्रीज्यू अनभिज्ञ हुनुहुन्न । विरोध र समर्थन भइरहन्छ । 

अलिक टाढाको कुरा गरौँ महाभारतका एकजना प्रबल पात्र, श्रीमद्भगवद्गीतामा अर्जुनका सारथि कृष्णमाथि आज पनि प्रश्न उठेकै छ । 

प्रधानमन्त्री पदको गरिमा धैर्य गर्नुमा पनि छ । प्रधानमन्त्रीज्यू आफ्ना आलोचकमाथि यति अधीर र असहिष्णु नभइदिनुहोस् । हालै तपाईंले ‘कहिले लड्नुभयो उहाँहरू लोकतन्त्रका खातिर ?’ भनेर गरेको प्रश्न प्रधानमन्त्रीको आशनबाट साह्रै टिठलाग्दो र अशोभनीय भएको छ । केही दिनपहिले थला पार्ने कुरा गर्नु भयो । मैले भन्दिएँ भने थला पर्छौं भन्नु भयदोहन हो । भयदोहोन प्रधानमन्त्री पदलाई शोभा दिँदैन । कृपया व्यक्तिकाप्रति यति असहिष्णु नभई दिनुहोस् । 

तपार्इंको क्षमाशिलताबारे हालै सेतोपाटी डटकमका सम्पादक अमित ढकालले स्मरण गराउनु भएको छ । जसले हिजो तपाईंको मानसिक स्वास्थ्यमा शंका गरेर उपचारका लागि सरकारलाई औपचारिक आग्रह गरेका थिए आज उनैसँग सहवरण गर्नुभएको छ, आफ्नै सहअध्यक्ष स्वीकार गर्नुभएको छ । उनकै बलमा आज दुई तिहाइ बहुमतको प्रधानमन्त्री बन्नुभएको छ । तपाईंले केही जवाफ दिनु भएन, समयले आफैँ दियो ।

सम्झनुहोस् त, पुष्पकमल दाहालसँग तपाईंका सवाल जवाफहरू ।   

‘रोजगार बिनाको रोजगारी र परिश्रम बिनाको पारिश्रमिक पाउने झुण्ड’ भन्ने तपाईंको अभिव्यक्ति धेरै कठोर सुनिएको छ । म चाहन्छु मेरा प्रधानमन्त्री यति कठोर हुनुपर्ने कारण छैन, स्थिति सामान्य छ, तपाईंको विरोधमा तपाईंको पार्टीबाहिर उधुम केही भएको छैन । तपाईंका पूर्ववर्ती केही प्रधानमन्त्रीले धेरै कठोर अवस्थाको सामना गरेका हुन् तर धैर्य छाडेनन् । त्यसमा तपाईंले पनि केही मद्दत गर्नुभएको छ ।  

सुशासन भन्न, सुशासनको आग्रह गर्न सबैलाई छुट हुनुपर्छ । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलोगौंडा चाहार्नेहरू मुर्मुरिएरै पनि देशमा सुशासन भएन भन्दै मिडियामा झुल्किएका छन् भने पनि तपाईंले अनौठो मान्नुपर्ने केही छैन । यो त झन खुसीको कुरा भयो । 

तपाईंले निरंकुश व्यवस्था अन्त्य र लोकतन्त्र स्थापनाको संघर्षका क्रममा कष्टकर जीवन बिताएको कुरामा कति पनि शंका छैन । त्यो बेला तपाईंको हृदयमा कोरिएको एउटा बेग्लै चित्र अहिले ‘समृद्ध नेपाल र सुखी नेपाली’ का रूपमा प्रकट भएको छ । यसमा बेखुसी हुनेहरूमाथि तपाईंले चिन्ता गर्नुपर्दैन । चिन्ता छोडिदिनुहोस् । 

निश्चय नै, तपाईंले भनेझैँ नेपाल बन्छ, बनाउनै पर्छ । तपाईंले भन्नुभएको छ– समयको सीमा हुन्छ, मान्छेको ज्ञानको सीमा छ, सामथ्र्यको पनि सीमा हुन्छ तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । 

तपाईंको इमान र निष्ठाका अतिरिक्त प्रशिक्षणविहीन कर्मशीलतामा धेरैभन्दा धेरै नेपाली निशंकोच छन् भन्ने मलाई लाग्छ ।  

कसैलाई अहिलेको स्थायित्व अभिशाप भएको छ भने पनि चिन्ता गर्नु पर्दैन प्रधानमन्त्रीज्यू । जति नै कृत्रिम घटना सिर्जना गरे पनि उसले राजनीतिक स्थायित्वको तेजबोध गर्न सक्दैन । 

म मेरा प्रधानमन्त्रीमा आलोचकप्रति उदारता र अहिलेको भन्दा अलिक बढी क्षमाशीलता अपेक्षा गर्दछु । 

यो पत्र लेख्नमा तपाईंको सम्बोधनकै अधिक शब्द, पदावली र वाक्य उपयोग गरेको छु । अन्यथा लिनुहुने छैन भन्ने विश्वास छ । 

हार्दिक धन्यवाद । 


 


Views: 271

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)