19th September | 2019 | Thursday | 9:42:40 PM

संसार, सञ्चार र सल्लाह

नूरहरि खतिवडा   POSTED ON : फाल्गुन ९, २०७५ (१०:३७ AM)

संसार, सञ्चार र सल्लाह

संसारमा सञ्चारको पहिलो र व्यवस्थित माध्यमको रूपमा हुलाकको विकास भएको हो । धेरैपछि निजी कुरियर सेवाहरू पनि क्रमशः उदाए । बेलायतमा निजी कुरियर सेवाको विकासपछि हुलाकको आम्दानी र महŒव कम हुन थालेछ र यसलाई व्यावसायिक बन्न दवाव पर्न थाल्यो । ब्रिटिस पोष्टले व्यावसायिक जगतमा नाम चलेका एकजनालाई प्रमुख बनायो । उनले कार्यकालको शुरुमै एउटा नारा दिएछन् र भनेछन्, ‘तपाईं अब ब्रिटिस पोष्टबाट हात्ती पनि पठाउन सक्नुहुन्छ’ । 

अचानक यस्तो अव्यावहारिक नारा दिएकोमा हुलाकका पुराना र अनुभवी कर्मचारीहरूले असन्तुष्टि जनाएछन् र भनेछन्, ‘हामीसँग न कुनै क्षमता छ न तयारी ? हचुवाको भरमा एउटा नारा दिन सजिलो होला तर कार्यान्वयन गर्न गाह्रो हुने कुरा गरेर व्यवसाय बढ्न सक्दैन’ । उनीहरूले हाकिमसँग पनि यही गुनासो गरेछन् । 

नयाँ प्रमुखले उनीहरूसँग भनेछन्, ‘यस नाराबाट तपाईंहरू आत्तिनु पर्दैन । पहिलो कुरा त कसैले पनि हात्ती हुलाकमा पोष्ट गर्नै ल्याउँदैन । यदि ल्याइहालेछ भने हामी उसबाट टन्न शुल्क असूल गरेर अरूमार्फत हात्ती पठाउने काम गर्न त सकिहाल्छौँ नि ।’ 

यसरी उनले कर्मचारीलाई थामथुम बनाए । उनको यो नारापछि बेलायती नागरिकहरूमा हुलाकप्रतिको आस्था बढेर गयो । हात्तीसमेत पठाउन तयार भएको हुलाकबाट अरू कुराहरू पठाउनु त कुनै समस्याको कुरा नै भएन नि भन्ने जनतालाई लाग्यो । यस्तो धारणा बनाएर बेलायतीहरू पुनः हुलाकतर्फ आकर्षित भए र त्यहाँको व्यवसाय फस्टायो । व्यवसाय फस्टाउनमा त्यस निकायका कर्मचारी वा हाकिमको कार्यकुशलता, चलाखी, साहस र जनतालाई आकर्षित गर्ने नारामा पनि भर पर्दोरहेछ ।  

विसं २०४८ सालमा म शाही चितवन राष्ट्रिय निकुन्ज कसरामा नायव सुब्वा पदमा कार्यरत थिएँ । भरतपुरभन्दा करिब २० किलो मिटर टाढा जंगलको बसाइ थियो र त्यहाँ हुलाकबाहेक सञ्चारको कुनै साधन थिएन । हल्कारा आएको दिन कहिँ मेरो पनि चिठी आएको छ कि भनेर सबैको चासो हुन्थ्यो । १५ वा २० दिनपछि घरबाट आइपुग्ने चिठी पाउँदा हुने अपार हर्षको सीमा रहँदैनथ्यो । चिठीबाटै सबै हालखबर थाहा पाउँनुपथ्र्यो र पाइन्थ्यो पनि । 

देशमा भरखरै बहुदल आएको र आम निर्वाचनको तयारी हुँदै गरेको थियो । सबैको चासो र चर्चाको विषय थियो नजिकिँदै गरेको आम निर्वाचन । चुनावमा खटिने कर्मचारीहरूको पत्र आउँन थालेको थियो र केही समयपछि नै तालिममा सहभागी हुनुपर्ने थियो । त्यो बेला यससम्बन्धी उत्सुकता र चासो पनि कम्ति हुँदैनथ्यो र भर पर्नुपर्ने एक मात्र माध्यम हुलाक सेवा नै थियो ।  

एक दिन शनिबार हामी धेरै साथीहरू बसेर छलफल गर्दैथियौँ । यस्ता छलफलहरूमध्ये केही रमाइला खालका पनि हुनेगर्थे भने धेरैजसो तत्कालीन राजनीतिको चर्चा हुन्थ्यो दुईचार जना जम्मा भयो कि राजनीतिक कुराकानी र अड्कलबाजीहरू हुन्थे । 

यसै सन्दर्भमा   एकजना कर्मचारी लालबहादुर तामाङले एउटा समस्या प्रस्तुत गरे । उनी पनि चुनावमा खटाइएका थिए र लामो समय यहाँबाट बाहिर जानुपर्ने अवस्था सिर्जना भएको थियो । समस्या के भो भने उनी परिवार सहित त्यहाँ बस्दैआएका थिए र आफू चुनावको लागि जाँदा यहाँ जंगलको बीचमा एक्लै श्रीमती छाडेर जान सकिने अवस्था थिएन । एक त महिला त्यसमाथि जंगलको बीचमा एक्लै बस्न सक्ने कुरा पनि भएन । उनको घर रामेछाप जिल्लाको एउटा विकट गाउँमा थियो जहाँ पुग्न कमसेकम तीन दिन लग्थ्यो । श्रीमती घर पु¥याएर आफू फर्किएर आउन पनि समय थिएन र कतै नजिकमा उनको कोही नातेदार पनि थिएन । 

उनले हामीसँग म के गरुँ ? भनेर सल्लाह मागे । हामी थुप्रै साथीहरू त्यहाँ थियौँ, सबैले आआफ्ना किसिमका उपायहरू बतायौँ तर खास समस्या सम्बोधन गर्ने खालको उपाय सुझिरहेको थिएन । 

यसै प्रसंगमा केही ठट्टाहरू पनि गरिए । कसै कसैले त केही समयको लागि रेखदेख गर्न चुनावमा नखटिने अरू कसैलाई जिम्मा दिऊँ भन्नेसम्मको ठट्टा पनि गरे । कसैले बेलायतको त्यही हुलाकको हाकिमको दृष्टान्त दिए । अन्तमा एकजना साथीले भने, ‘होइन हो यो समस्या निकै जटिल होला जस्तो छ । खासै समाधानको उपाय पनि निस्किरहेको छैन । मेरो विचारमा त भाउजूलाई हुलाकमा हालेर रामेछाप पठाइदिऊँ ?’ उनको कुराले सबैलाई मज्जाले हँसायो । यो त केबल ठट्टाको कुरा थियो । बेलायती ती हाकिमले भनेजस्तो टन्न शुल्क लिएर हात्ती पठाउने सिद्धान्त लालबहादुरका हकमा लागु गर्न सकिने अवस्था पनि थिएन किनकि उनी रामेछापसम्म मान्छे पठाएको शुल्क तिर्न पनि सक्दैनथे । 

 अन्तमा लालबहादुरले एकजना साथीको भरतपुर नजिकैको घरमा लगेर श्रीमती राखे र आफू चुनावको काममा गए । यो उपाय पनि आपसी सरसल्लाहबाटै प्राप्त भएको हो । यस्तो आपसी सल्लाहको बानी मानिसका लागि लाभदायकै हुनेरहेछ ।  

यसरी संस्थागत समस्या र व्यक्तिगत समस्यामा पनि आपसमा बसेर गरिने ठट्टाहरूले यदाकदा उपयुक्त समाधानका उपायहरू खोज्नमा मद्दत पु¥याउँदोरहेछ । ठट्टा र व्यंग्य हानिकारक त हुँदै हुँदैनन्, कतिपय अवस्थामा उट्पट्याङ जस्तो लाग्ने कुराले पनि मानिसको सोचाइमा व्यापक परिवर्तन ल्याउँन सक्दछ र समाधान पनि निकाल्छ । आपसी छलफल र कुराकानी मानिसका सबै समस्याहरूको निराकरणका सूत्र हुन् । 

(लेखक नेपाल सरकारको उपसचिव हुन् ।)


Views: 98

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)