20th September | 2019 | Friday | 8:51:39 AM

चर्चा र चिन्तन हाम्रै परिवेशको

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : फाल्गुन ११, २०७५ (१२:२४ PM)

चर्चा र चिन्तन हाम्रै परिवेशको

धेरै पहिलेको कुरा हो । एउटा बडेमानको ऊँट थियो । उसले ठूलो तपस्या ग¥यो । ब्रहृमाजी खुशी भए । उसलाई वर माग्न भने । ऊँट अल्छी भएकाले ‘बसीबसी खान पाऊँ’ भन्यो । लामो घाँटी भयो भने बसेर, सुतेर घाँस खान पाइन्छ भन्ने सोच्यो । उसलाई ब्रहृमाले वरदान दिए । 

ऊँटको घाँटी एक योजन लामो भयो अर्थात् चारसय कोस । चारसय कोस वरिपरिका सरसामग्री खानलाई उसलाई कुनै अवरोध भएन । रूख डालीहरू नुहाउँदै इच्छाअनुसार सुतीसुती खान थाल्यो । बसीबसी खाने बानी भयो, परिश्रम गर्नु परेन । अब उसको जीउ पनि मोटाउँदै गयो । देख्दै भद्दा भयो ।

एकदिन त्यो ऊँट सुतिरहेको बाटो हुँदै एउटा स्याल आयो । ऊँटको मोटो घाँटी, डम्म परेको शरीर देखेर स्यालको जिब्रो रसायो । सुतेको ऊँटको घाँटीमाथि चढेर ताजा रगत चुस्न थाल्यो ऊ । घाँटी कोपर्न र चिथोर्न थाल्यो । जीउभन्दा धेरै ठूलो घाँटी ऊँटले यताउता चलाउनै सकेन । विचरो ऊँटको रगत स्यालले मनग्गै खाइहाल्यो । ऊँट छटपटाउन थाल्यो, केही गर्न सकेन । 

नेता र नेतृत्व अल्छी भएपछि यही हालत हुन्छ । 

सडक जामको डरले, धेरै काम एकैचाटी होस् भन्ने वहाना बनाएर हाम्रो नेतृत्व धेरैजसो बालुवाटार केन्द्रित हुन थालेको छ । हुन पनि धेरै काम गर्नुपर्नेमा आफू र उनीहरूका आफन्त पो मोटाए । काठमाडौँका निकै पुराना बाटा जस्ताको त्यस्तै छन् । त्यसैले सरकार र पार्टीका बैठक पनि बालुवाटारमै बोलाउँछन् । धेरै टाढा पुगे सोल्टी होटलसम्म डेरा गर्छन् । पाँचतारे होटलको बसाइ उनीहरूको दैनिकी भइसकेको छ । 

अरूले नगरेको काम पो गर्नुपर्छ त । सधैँ अरूले गरेको काम गरे त परिवर्तनकारी कसरी हुने र ? चीनमा माओत्सेतुङले गरेको काम गरिरहेको भए देङ सियाओ पिङको नाम कसरी आँउथ्यो ? देङको शासनकालपछि नै चीनले अमेरिकासँग टक्कर गर्न सकेको हो अर्थबजारमा । हामी चाहिँ उही पुरानै सोचमा छौँ अनि कसरी हुन्छ विकास ¤ 

भएका भत्काउँदै अनि फेरि बनाउँदै गर्छौं । नत्र आफ्ना मान्छेलाई कसरी नयाँ नियुक्ति दिनु । तै प्रकृतिले पनि साथ दियो । भूकम्प आएको थिएन भने कसरी प्राधिकरण बन्नु, कसरी विदेशीसँग मागेर यहाँ पैसाको बाढी बगाउनु । अनि १२ वर्षको द्वन्द्वमा भत्केटुटेका मन र भवनहरू कसरी बिर्साउनु । 

दौरा, सुरुवाल, टोपी देखाउने जमाना हो र अहिले ! तारे होटलमा सुट र टाई ढल्केन भने पदको के गरिमा भयो ? साडीचोली त पुरानो मान्यता भइहाल्यो । विदेशी स्टाइल पो चाहिन्छ त । स्वदेशी कपडा, स्वदेशीपनमा रहेर केही हुन्छ र ¤ सर्वहारा भनेको देखाउनलाई पो हो त ¤ असली कम्युनिज्म विदेशमा त छैन, यहाँ कहाँबाट सम्भव छ । 

नेता र नेतृत्वले शक्तिशालीसामु जोरी खोज्नु हुँदैन । पुरानो सोच राखेर पनि हुँदैन । ठूलाठूला नदीका भेलमा, वर्षाको भेलमा ठूला, अग्ला रूखहरू लडेर, बगेर जान्छन् । भेल आउँछ, उडाएर लैजान्छ । लच्कने निगालो र बेत हेरौँ न ! हावा आए पनि हल्लिदिने मात्रै, भेल आए पनि मुन्टोले भेललाई ढोगी दिने मात्रै ! कहीँ पछारिनुको डर छैन । निगालो नरम छ, कमलो छ, पैरोमा परे पनि अलि तल पुग्छ फेरि जस्तातस्तै । ठूलो रूखझैँ हेलिएर पल्लो सागरसम्म पुग्नै नपर्ने । हाम्रा नेता र हाम्रो नेतृत्व पनि यस्तै छ ।

सुगौली सन्धिमा लचकदार, सन् १९५० को सन्धिमा नरम, त्यत्रो नाकाबन्दीमा सहनशील, विदेशीले मौलिक धर्म उडाउँदा चुप, मौलिक संस्कृति, भाषामा आगो लगाउँदा ताली बजाउने, धार्मिक पर्वमा राजनीति मिसिँदा गौरव ठान्ने । दिल्ली दौड प्रतियोगिता पुरानै चलन मान्ने ! फोहोरमा ढुंगा हाने के हुन्छ ? छिटा त आइहाल्छ नि । त्यसैले सहनु बुद्धिमानी हो । 

एउटा सन्दर्भ यस्तो छ– एक तपस्वी साधक थिए । उनको आश्रममा आउनेलाई जे चाहियो त्यही दिन सक्थे उनी । उनी कहाँ जाने सबैको इच्छा पूरा हुन्थ्यो । धेरैको आवतजावत देखेपछि ती साधकले पालेको कुकुरले थाहा पाएछ । हाम्रा मालिक त साँच्चै तपस्वी, मनको कुरो ठ्याक्कै बुझ्ने । जे माग्यो सो पूरा गरिदिने ! मलाई पनि त डरबाट मुक्ति गरिदिए हुन्थ्यो नि ! कुकुर मनमनै सोच्न थालेछ । 

भोगमा रोगको डर छ । कुलीन हुनेलाई पनि डरै डर छ । कुलको इज्जतबाट खसिएला भन्ने डर हुन्छ । धम कमायो, राज्यको डर छ एकातिर, अर्कोतिर चोरीको डर । आगलागीको डर । डर कतिकति । इज्जत कमायो, गुम्ला भन्ने डर । बलियो भयो शत्रुको डर छ । रूप राम्रो भयो बुढ्याइँले छाला चाउरी पार्ने डर छ । धुरन्धर विद्वान् पढेर ठूलो भयो, मुर्खको डर भइरहन्छ । वादविवादको डर भइरहन्छ । नायक भयो खलनायकहरूले सिध्याउन खोज्छन् । कति जीवनको तपले मान्छे भई जन्म्यो मरिने डर छ । झन् ठूलो त हुनै नहुने भयो धरहरा अग्लिएकै कारणले भाँच्चिएको हो नि !

कुकुरले सोच्दै गयो, आफ्ना कुरा राख्यो भने हाम्रा मालिक रिसाउने पो हुन् कि, उसलाई डर पनि थपिँदै थियो । फेरि उसले सोच्यो ‘ठूलो बन्ने आशीर्वाद त पाइएला तर तँ यहाँ बस्न पर्दैन जा स्वर्गतिर’ भनिदिए के गर्ने हो ! स्वर्गमा आफ्नो खानपिन के कस्तो हुने हो । समय खराब देखिँदैछ । विद्यार्थीमा अनुशासन छैन ।

यसैगरी बिरामीको उपचार गर्ने चिकित्सकको भरोसा छैन । पढाउने शिक्षकमा विश्वास छैन । सेवा गर्ने राष्ट्रसेवक कर्मचारीमाथि भर छैन । व्यापारीको त कामै पैसा कमाउने हो । कम्युनिष्ट भ¥याङ चढेर माथि गएकाहरूको भाषण ब्रहृमचारी जगतगुरू, वेदान्तीहरूको प्रवचनभन्दा कम हुँदैन । मैले आफ्नो कुरा राख्दा कतै मालिकले मलाई गलहत्याउने पो हुन् कि !

कुकुर भावुक तर यथार्थ चिन्तनमा थियो । उसले एक दिन मुख फो¥यो मालिकसँग, ‘हजुर, मलाई चितुवाबाट डर छ ! कृपया चितुवा नै बनाइ दिनुस् न मलाई ।’ तपस्वीले फू मन्तर वाचा गरे । कुकुर चितुवामा परिणत भइहाल्यो । तपस्वीको संगत उसले थाहा पाइहाल्यो । बाघको डर हुने रहेछ अब । उसले बिन्ती ग¥यो मालिकलाई । तपस्वीले भने ‘तँ अब बाघ भइस्, डराउनु पर्दैन ।’

बाघले फेरि सोच्यो हात्तीको डर त कहाँ कम हुन्छ र ! बाघको मलिन अनुसार देखेर तपस्वीले कुरा बुझे । बाघलाई तुरून्तै हात्तीमा परिणत गरिदिए । फेरि हेर्दा त हात्तीको मुख पनि अँध्यारै छ । तपस्वीले कुरो बुझे । यसलाई पक्कै सिंहको डर भयो, अब सिंह नै बनाइदिन्छु । हात्ती सिंह भयो । 

हेर्दाहेर्दै आफ्नो कुटीको सुरक्षामा राखिएको कुकुर त जगल्टे सिंह पो बनिसक्यो । सिंहको मुख पनि अँध्यारै देखियो । तपस्वीले फेरि वरदान दिए तँलाई तेरो शत्रु हुँडारको डर छ, अब तँ हुँडार नै भएस् । 

हुँडार बनेपछि हुँडारले आफ्नो खाना खोज्यो । अब उसको खाना भनेको आफ्नै मालिक तपस्वी नै थिए, अरू कोही थिएन त्यहाँ । आफूमाथि आइलाग्न लागेको संकेत भयो उनलाई । तुरुन्तै फू मन्तर गरे र तँ कृतघ्न भइस्, कृतज्ञ हुन सकिनस् अब तँ आफ्नै शरीर कुकुर भएस् । हुँडार अब कुकुरै भयो ।

राम्रो नेतृत्वले राम्ररी बुझेको हुन्छ । हामी यति ठूला भयौँ कतिको बरदान र आशीर्वाद पाएर । झुक्न बिर्सियो भने फेरि हालत पुरानै हुने पो हो कि ! ‘पुनर्मुसिको भव’ भनेर तपस्वीले भने जस्तो भयो भने ¤ हिन्दू धर्म फर्कियो भने अरूले टाउको उठाउने पो हुन् कि ? कमल थापाको कुरा सुन्दैमा हुन्छ ? नेपाली कांग्रेसका मान्छे भन्छन्, ‘यो बजार हल्ला हो भनेर ¤’ 

धर्मनिरपेक्ष हुँदा कमल थापा र उनको समूहले गडगडाहट ताली दिएका थिए रे ! ठूला अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दा धेरैले उनलाई सोचेका थिए रे के नयाँ संविधान सबैलाई ग्राहृय छ, विरोधको चर्को स्वर छ नि त ! यसो भन्दा भावुक हुँदै भनेका थिए यो नेपाली जनताको चाहना हो । जनताले चाहेको हामीले घोषणा गर्नु के अन्याय हो र ! विदेशी चूप लागेका थिए । अहिले उनी नेपाली कांग्रेसलाई भन्दैछन्– सहकार्य गर्ने भए आफ्नो एजेण्डा हिन्दू धर्म बनाएर आओ भनेर । 

स्वदेशीपन नै सबैतिर अपनाउन सके सबै क्षेत्र राम्रो र असल हुन्छ । मान्छेको, समूहको, राज्यको सबैको सम्पत्ति भनेको शील र स्वभाव नै हो । आफ्नो छुट्टै पहिचान पनि यसैमा निहित हुन्छ । शील भए स्वर्ग जित्न सजिलो हुन्छ । उहिलेको कुरा हो । दानव कुलमा जन्मे पनि गुरु नारदले प्रहृलादलाई माता कयाधुका गर्र्भमै अनुशासन र शील स्वभाव सिकाएका थिए । आफ्नो आचरणकै भरमा प्रहृलादले स्वर्गको इन्द्रपुरी हात लगाए । महात्मागान्धीले भारत छोडो आन्दोलनमा पनि अहिंसाकै बाटो लिएका थिए । मारकाटै गरेर सत्तामा पुगिन्छ भन्ने होइन । पाण्डवहरूले पनि आखिर सत्ता पाइहाले भला धेरै वर्ष वनवासी हुनुप¥यो । स्वर्ग गुम्यो इन्द्रको । उनी गए गुरु बृहस्पति सामु र भने स्वर्ग फिर्ता गर्नुप¥यो । प्रहृलादले सर्वनाश ग¥यो, स्वर्ग छिनेर लियो । बृहस्पति एक्लैले इन्द्रको स्वर्ग फिर्ता हुने अवस्था भएन । यो प्रसंगलाई अर्का गुरु शुक्राचार्यलाई भन्न अनुरोध गरे बृहस्पतिले । 

इन्द्र शुक्राचार्य कहाँ पुगे । उनका गुरु त उनी थिएनन् तर पनि अर्थ बताए । स्वर्ग लिने इच्छा भए उनै प्रहृलाद कहाँ जानु भने शुक्राचार्यले । एक ब्राहृमणको रूप लिएर इन्द्र प्रहृलादकहाँ पुगे । उनले प्रहृलादलाई भने होइन यत्रो स्वर्ग तपाईंलाई कसरी मिल्यो ? प्रहृलादले जवाफ दिए, ‘हेर्नोस् बाहुनबाजे म कस्तो छु भन्ने तपाईंले ख्याल गर्नुस्, गुरुको वचन भुइँमा पर्नै दिन्नँ । यो धन, यो दैलत, यो स्वर्ग सबै मेरा गुरु शुक्राचार्यको कृपा त हो नि ! गुरुका वाणी मलाई हरदम शिरोपर हुन्छ ।’

इन्द्ररूपी ब्राहृमणले प्रहृलादको ठूलो गुणगान गाए । प्रहृलाद खुशी भए । ‘केही कुरा माग्नूस्, तपाईं पनि बाहुनबाजे दरबार आएपछि खाली हात नफर्कनुहोस्’ ! इन्द्रलाई मौका मिल्यो । उनले तपाईंको शील मलाई दिनूस्’ भने । प्रतिज्ञामा हारेका प्रहृलादले हुन्छ लैजानुस् मेरो शील भने ।

अब प्रहृलादमा भएको शील फुत्तै उफ्रेर इन्द्रसामु पुग्यो । प्रहृलादसँग शील बाँकी रहेन । शील उफ्रिदै भन्न लाग्यो, ‘राजन्, तपाईंका आदेशले अब म इन्द्रकहाँ बस्छु तपाईसँग होइन । म त धर्मको पछि लाग्ने हो, तपाईंले धर्म छोड्नुभयो, मलाई त्याग्नुभयो । धर्म नसोचेर शीललाई त्याग्यौ । अब म कसो गरौँ ।’

एकैछिनमा प्रहृलादको शरीरबाट तेज प्रकट भयो । तेजस्वरूप मूर्ति प्रकट भएर प्रहृलादलाई भन्न लाग्यो, ‘राजन् सत्य भनेको म नै हुँ । तपाईंसँग बसेको थिएँ । मेरो धर्म भनेको शीलकै पछि लाग्ने हो । अब उतै जान्छु इन्द्रसँग ।’

एकैछिनपछि प्रहृलादको शरीरबाट अर्को वस्तु बाहिर आउँदै भन्यो, ‘महाराज, सदाचार भनेको मै हुँ । तपाईंसँग बस्दै आएको थिएँ, तपाईंले धर्मलाई छोड्नु भयो, शील र धर्मसँग म पनि पछि लाग्नुपर्छ म पनि उतै जान्छु है !’ 

सदाचार निस्किनासाथ प्रहृलादको शरीरबाट एउटा शक्ति उत्पन्न भयो । देवीको रूप थियो त्यो, धनकी प्रतीक लक्ष्मी हेर्दैमा राम्री । यस्तो बत्तीसै लक्षणकी देवीलाई देखेर प्रहृलादले सोधे, ‘देवी तिमी को हौ नि ?’ उनले भनिन्, ‘लक्ष्मी भनेको मै हुँ, जहाँ धर्म, जहाँ शील, जहाँ नैतिकता र इमादारी, सच्चरित्रता र सदाचार म उहीँ बस्ने गर्छु ।’ नभन्दै उनी इन्द्रतिर टाँसिन लागिन् । 

अब प्रहृलादलाई होस् आयो, ‘होइन यी बाहुनबाजे को हुन् ?’ लक्ष्मीले हाँस्दै भनिन्, ‘यिनी कोही होइनन्, उनै स्वर्गका राजा इन्द्र हुन् ।’ ‘प्रहृलाद तिमीसँग सर्वस्व लुटेर लगिसके यिनले, तिमीले पत्तै पाएनौ । तिमीमा रहेको धर्म, सत्य, सदाचार, लक्ष्मी सबै मागिसके’ देवीले भनिन् । यसरी गुमेको श्रीसम्पत्ति फर्काउन इन्द्र सफल भएका थिए सत्ययुगमा । 

शील र सदाचारविनै द्वापरयुगमा दुर्योधनले स्वर्ग र राज्य पाउन खोजेका थिए । उनी नराम्रोसँग पछारिनु प¥यो । धनको मोहले दुर्योधनको वंशै खत्तम भयो । सय भाइ कौरव खलक र उनीहरूको राज्य नष्ट भयो ।

हाम्रा नेता र नेतृत्वले धर्म छोड्दा के हालत होला भनेर बुझ्न जरुरी छ । हाम्रो मौलिक शील, स्वभाव, नैतिकता, इमानदारी, आचरण, त्याग, निष्ठा, तप, धर्म छोड्दा भविष्यमा के होला ! पद र प्रतिष्ठाको उन्मादले स्थिरता दिन सक्दैन । जंगबहादुर, श्री ३ हरूले सिंहदरबारका इटाहरूमा आफ्नो नाम लेखाएका थिए, चन्द्र शमशेरले बिजुली बत्तीमा पनि आफ्नै नाम लेखाएका थिए चन्द्रज्योति भनेर । 

स्कुल, कलेज, अस्पताल, पाटीपौवा, धारा, बाटाघाटाहरू, आपूm र आफन्तका नामा राख्न होडवाजी चलेको छ । बुद्धले सारा संसारमा नाम कमाए सम्पत्ति र नाम नबेचीकन । मोतीराम भट्ट जम्मा ३० वर्ष बाँचे, नाम अमर छ । जगतगुरु शंकराचार्य केवल ३२ वर्ष बाँचे । आज संसारभरि उनको नाम छ । रामकृष्ण परमहंस, विवेकानन्दको नाम अमर छ । सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान युलाई हेरे पनि पुग्छ ।


Views: 64

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)