27th June | 2019 | Thursday | 5:02:12 AM

धमलाको ‘स्रष्टा र सिर्जना’

विनोद दाहाल   POSTED ON : फाल्गुन ११, २०७५ (७:४३ AM)

धमलाको ‘स्रष्टा र सिर्जना’

कौशिकी साहित्यिक प्रतिष्ठानबाट हालै एउटा  विशाल काय पुस्तक प्रकाशित भएको छ । ‘ओखलढुंगाका स्रष्टा र सिर्जना’ शीर्षकमा प्रकाशित यो पुस्तक चेतनाथ धमलाको खोज अनुसन्धानबाट सम्भव भएको हो । धमला प्रेस काउन्सिलका सदस्य तथा प्रसिद्ध साहित्यकार हुन् । कविता, गीत, गजल, मुक्तकलगायतका विधामा कलम चलाउँदै आएका धमलाले लामो समयदेखि कौशिकीको सम्पादन गर्दै आएका छन् । 

२०५८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको कौशिकीका विभिन्न अंकमध्ये केहीलाई सम्पादक धमलाले विशेषांकको रूप दिँदै आएका छन् । यसै क्रममा उनले पूर्णांक ६६ लाई ‘ओखलढुंगाका स्रष्टा र सिर्जना’ विशेषांक बनाएका थिए । धमला ओखलढुंगाकै बासिन्दा भएका नाताले उनले आफ्नो जिल्लाको साहित्यिक खोज गर्नु स्वाभाविक हो । कौशिकीको ६६ अंककै पुनरप्रकाशन हो यो भन्दा पनि फरक पर्दैन । 

यो पुस्तकको स्वरूप पुस्तकको भन्दा पनि पत्रिकाकै जस्तो देखापर्छ । पुस्तकमा धमला लेखक संकलकका रूपमा भन्दा पनि सम्पादकका रूपमा रहेका छन् । उनी यो पुस्तकको प्रधान सम्पादक हुन् भने गणेश राई र नारदमुनि गौतम पुस्तकका सम्पादक हुन् । सम्पादकद्वय पनि प्रसिद्ध पत्रकार हुन् । राई कान्तिपुर दैनिकमा र गौतम गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादक हुन् । 

पुस्तकको आवरणमा ओखलढुंगाको इतिहास बोकेको प्रसिद्ध ढुंगाको तस्वीर र पृष्ठ भागमा ओखलढुंगाकै प्रसिद्ध पोकली झरनाको तस्वीर रहेको छ । तेह्र सय रुपैयाँ मूल्य रहेको यो पुस्तक ७४६ पृष्ठको छ ।

यो पुस्तकको भूमिका खण्डको शुरूमा ‘नेपाली साहित्यमा ओखलढुंगा’ शीर्षकमा सम्पादकीय लेखिएको छ । यसबाट पनि यो पुस्तकभन्दा पनि पत्रिकैका रूपमा देखापर्छ । त्यसपछि प्रकाशकीय पनि सम्पादकीयकै शीर्षकमा प्रस्तुत गरिएको छ । 

कौशिकीको पूर्णांक ६६ मा समावेश स्रष्टाहरू नै यसमा पनि समेटिएका छन् । पुस्तक ६ खण्डमा विभाजित छ । युगकवि सिद्धिचरण श्रेष्ठ ओखलढुंकाकै थिए । त्यसैले यो पुस्तकको पहिलो खण्ड ‘युगकवि सिद्धिचरण श्रेष्ठ विशेष’ शीर्षकमा रहेको छ । यो खण्डमा युगकविको संक्षिप्त परिचय, सिद्धिचरण श्रेष्ठका तीन कविता, सिद्धिचरण श्रेष्ठका तीन संस्मरण, सिद्धिचरण श्रेष्ठसँगको संवाद, तथा ऋतुराज धमला, घटराज भट्टराई, टिपी धमला, डा. शम्भुप्रसाद कोइराला, डा. स्थिरप्रसाद पराजुली र होमप्रसाद गृहस्थीका युगकविसम्बन्धी लेखरचनाहरू संलग्न छन् । 

यस भागमा युगकविका ‘सिद्धिचरण’, ‘मेरो प्यारो ओखलढुंगा’ र ‘ब्रहृमनालबाट’ शीर्षकका तीन कविता, ‘मेरो खुट्टामा नेल सिक्री’, मेरा बा पनि पक्राउमा’ र ‘राममाया च्यामिनी’ तीन संस्मरण र ‘मलाई आज यसरूपमा खडा गर्ने ओखलढुंगालाई मेरो प्रणाम छ’ शीर्षकको संवाद प्रस्तुत गरिएको छ । 

यसै भागमा उनीसम्बन्धी केही समालोचनात्मक लेखहरू पनि छापिएका छन् । ऋतुराज धमलाको ‘नेपाली साहित्यमा सिद्धिचरण’, घटराज भट्टराईको ‘कविवर सिद्धिचरणका कवितामा पाइने राष्ट्रियता’, टिपी धमलाको ‘युगकवि सिद्धिचरण श्रेष्ठ र ‘ओखलढुंगा’ कविता’, डा. शम्भुप्रसाद कोइरालाको ‘सिद्धिचरणको कविता शैली ः एक अल्प अवलोकन’, डा. स्थिरप्रसाद पराजुलीको धन्य ¤ युगकवि सिद्धिचरण श्रेष्ठ’ र होमप्रसाद गृहस्थीको ‘युगकवि सिद्धिचरण श्रेष्ठ र जूनकीरी नव्यकाव्यको मनोवैज्ञानिक अध्ययन’ शीर्षकका लेखहरू समावेश गरिएका छन् ।

खण्ड दुईमा ओखलढुंगाका शहीद र बेपत्ता स्रष्टाहरूका सिर्जनालाई स्थान दिइएको छ । यसखण्डमा सहिद केशवप्रसाद कोइरालाको ‘दुवै आत्मा भुर्र उडेछन्’ शीर्षकको कविता, खगेन्द्रप्रसाद दाहालको ‘विलीन आत्माको खोजी’ शीर्षकको कथा, महेशकुमार कोइरालाको ‘खेल्छौँ रक्तको होली’ शीर्षकको कविता, लीलानाथ दाहालको ‘नवजागृति’ शीर्षकको नाटक र बेपत्ता स्रष्टा भवनाथ धमलाको ‘घुम्नु छ तिनले’ शीर्षकको कविता संलग्न छन् । 

खण्ड तीन यो पुस्तकको प्रमुख प्रस्तुतिका रूपमा देखापरेको छ । यस खण्डलाई ‘विविध साहित्यिक स्रष्टा र सिर्जना’ शीर्षक दिइएको छ । यहाँ वर्णानुक्रमअनुसार ओखलढुंगाका १९० जना स्रष्टाको रचनालाई स्थान दिइएको छ । यहाँ उनीहरूका सहित्यका विविध विधाहरू समावेश भएका छन् । यति धेरै स्रष्टाका यति धेरै रचना संकलन गर्नमात्र पनि चेतनाथ धमलाले निकै परिश्रम गर्नु परेको अन्दाज गर्न सकिन्छ । यो खण्डमा एकदुईवटा मात्र सिर्जना गरेका नवोदितदेखि स्थापित स्रष्टाहरूसमेत समाविष्ट छन् । 

प्राथमिक कालीन कविहरू यदुनाथ पोख¥याल र रघुनाथ पोख¥यालहरू पनि छुटेका छैनन् । यी दुई कवि आदिकवि भानुभक्त आचार्यका समकालीन हुन् । रघुनाथले त संस्कृत रामायणको नेपालीमा भावानुवाद समेत गरेका थिए । 

यो जिल्लामा माध्यमिक र आधुनिक कालमा धेरै साहित्यकार, गायक, गीतकार आफ्नो सिर्जनामा संलग्न रहे र अहिले पनि सक्रिय छन् । यिनको फेहरिस्त उतार्ने काम साहित्यकार चेतनाथ धमलाले गरेका छन् । निकै वर्ष लगाएर उनले दुरुह लाग्ने यो काम पनि सम्भव गराए  । 

ओखलढुंगामा जन्मेर अन्त गएर बसेकाहरूलाई समेत समेट्ने काम यो कृतिमा भएको । ओखलढुंगा राजनीतिक चेतनामा जस्तै साहित्य सिर्जनामा पनि अग्रणी रहेछ भन्ने यो कृतिबाट थाहा हुन्छ । राजनीतिज्ञ ईश्वर पोखरेल, राम कार्की आदिको पनि जन्मस्थान ओखलढुंगै हो । यहाँ उनीहरू पनि रचनासहित समेटिएका छन् । 

खण्ड चारमा ‘बाम्बुले राई भाषाका स्रष्टा र सिर्जना’ समेटिएका छन् । यो जिल्लामा राईहरूको संख्या पनि निकै छ । रुम्डाली, चाम्लिङ, बाम्बुले आदि राईहरू यहाँ बस्तै आएका छन् । यीमध्ये बाम्बुले राईहरूको भाषा र साहित्यको खोजका लागि अग्रसर भएका छन् पत्रकार गणेश राई । उनैको सक्रियतामा यस भाषाका ४८ जना पुरुष र ४ जना नारी स्रष्टाहरू गरी जम्मा ५२ जनाका रचनाले ठाउँ पाएका छन् । 

खण्ड पाँचमा यो जिल्लाका नारी स्रष्टाहरूका सिर्जना समेटिएका छन् । ३६ जनाले यहाँ ठाउँ पाएका छन् । जंग्रेजी भाषामा लेख्दै आएकाहरूले खण्ड ६ मा समेटिने मौका पाएका छन् । ‘जंग्रेजी भाषाका स्रष्टा र सिर्जना’ शीर्षकको यो खण्डमा पाँचजना स्रष्टाहरूका रचना राखिएका छन् । 

विद्यावारिधि गरेका, प्राध्यापक भएका र माथिल्ला ओहोदामा बसेर काम गरेका व्यक्तिहरूदेखि गाउँघरमै बसेर खेतीकिसानी गर्ने सामान्य स्रष्टाका रचना पनि यहाँ समेटिएका छन् । यो लरतरो मिहिनेतले सम्भव हुने काम होइन । यो पंक्तिकारले ओखलढुंगा जिल्लाको लोकतान्त्रिक आन्दोलनको इतिहास लेख्दा पनि यस्ता धेरै अनुभवहरू गर्न पाएको छ । त्योभन्दा पनि कठिन परिश्रम चेतनाथ धमलाले नगरेका पक्कै छैनन् होला । 

यस अर्थमा नेपालका ७७ जिल्लामध्ये ओखलढुंगा नै त्यस्तो भाग्यमानी जिल्ला हो जसले साहित्य र राजनीतिका यी विवरणात्मक र ऐतिहासिक  तथ्यमूलक कृतिहरू पाउन सकेर धन्य भएको मान्नुपर्छ । 

निकै ठूलो परिश्रम र आर्थिक लगानी गरेर यस्तो कृति तयार पार्ने धमला धन्यवादका पात्र बनेका छन् । सरोकार राख्ने सबैका लागि यो कृति संग्रहणीय छ । चेतनाथजीलाई यही स्तरका अन्य कृतिका लागि शुभकामना ।    




Views: 68