27th May | 2019 | Monday | 4:46:14 AM

समाज रुपान्तरणमा महिलाको भूमिका

मुरारी ढुंगेल   POSTED ON : फाल्गुन २४, २०७५ (४:३८ AM)

समाज रुपान्तरणमा महिलाको भूमिका

नेपाली समाजमा लैङ्गिक विभेद नै आजको प्रमुख भ्रष्टाचार पछिको  विकास बाधक हो भन्दा अतिसउक्ति नहोला । समाज भित्र जब सम्म लैङ्गिक असमानता जेलिएर रहेको हुन्छ तव सम्म विकासले पूर्णता पाउँदैन किनकी एउटा पुरुष पनि महिलाकै छोरा तथा श्रीमान भएर बाँचिरहेको हुन्छ । ग्रामीण तथा शहरी  समाजका परिवारमा छोरा– छोरी बीचको विभेद कायमै  रहेको पाईन्छ । छोरा भएर गर्न हुने र छोरी भएर गर्न नहुने कार्यका बारेमा समाजले छोरीलाई बर्जित गर्ने र छोरालाई प्रोत्साहन वा छुट्कारा दिने परिपाटि कायमै रहेको छ । जुन लैङ्गिक विभेद हो । अर्थात केवल लिङ्गका आधारमा हुने विभेद नै लैङ्गिक विभेद हुन् । यस्ता विभेदका उदाहरणहरु शिक्षा, स्वास्थ्य, अवसर, पहुँच, नीति निर्णय, सहभागिता, सम्वोधन आदि क्षेत्रमा प्रमुख रुपमा भएको देखिन्छ ।

अहिले पनि महिलाहरुको दयनीय अवस्था हुनुमा वर्तमान समाजको भुमिका मात्र हावी नभएर यहाँको उत्पादन प्रणालीको पनि जिम्मेवारी रहेको छ । सामन्ती उत्पादन प्रणालीमा महिलाहरुलाई केवल मनोरञ्जकका रुपमा लिएको पाईन्छ । यस्तो उत्पादन प्रणालीमा महिलाको  हरेक स्थानमा भुमिका गौण भएको हुन्छ । उनीहरु केवल पुरुषका सहयोगी मात्र हुन सक्छन् । पतिको अनुपस्थितिमा महिलाले कुनै पनि निर्णय गर्न नसक्ने अवस्था रहन्छ । समाज विकासको पूर्वकाल खण्डमा मातृसतात्मक समाज थियो । समाज विकासको दौरानमा महिलाहरुको भुमिका पारिवारिक रुपमा नै कमजोर हुदै गएपछि संभवत पितृसतात्मक समाजको विकास भएको हुन सक्छ । वर्तमान परिप्रेक्क्षमा विकसित मुलूकहरुमा लैङ्गिक असमानताको खाडल केहिहद सम्म पुरिदै गएपनि पूर्ण रुपमा समान समाज बन्न सकेको पाईदैन । सामाजिक विश्लेशकहरुको भनाईमा प्राकृतिक रुपमा लैङ्गिक विभेद नभएर सामाजिक रुपमा मात्र लैङ्गिक विभेदको जन्म हुने गर्दछ । 

वैदिककालिन समयमा हाम्रो देशका महिलाको अवस्था, भुमिका, स्थान उच्च रहेको कुरा ऐतिहासिक तथा धार्मिक ग्रन्थहरुबाट थाहा पाउन सकिन्छ । प्राचीन कालमा महिलालाई शक्तिकी धनी, जन्मदाता, जननी, मातृत्व, करुणाकी धनि, ज्ञानको प्रतिक, तथा पुरुषका अर्धाङ्गिनीका प्रतिकका रुपमा लिने गरिन्थ्यो । त्यसवेला शिक्षा, सम्पति, एवं. सामाजिक रुपमा महिला प्रति सम्मान गरेको पाईन्छ । महिला र पुरुष बीच समान पहुँच हैसियत रहेको समाज थियो । पौराणिक धर्मग्रन्थ अनुसार पत्निको  अनुपस्थितिमा पतिले गरेको कुनै पनि कार्य पुराहुन वा सफलहुन सक्दैन भनि महिला प्रति सम्मानको भाव व्यक्त गरिएको हाम्रा धर्मग्रन्थमा उल्लेख गरिएको छ । पछिल्लो काल खण्डमा तत्कालीन समाजमा छोराप्रतिको मोहका कारण महिला उपेक्क्षित हुदै गएको हुन सक्छ । समाजमा पुरुषको बाहुल्यता विकास हुँदै जाँदा लैङ्गिक विभेद र असमानताहरु पनि विकास हुँदै गए । जसबाट महिला र पुरुष बीचको असमानताका खाडलहरु फराकिलो बन्दै गए । यसबाट के प्रष्ट हुन्छ भने हिन्दु धर्मदर्शनमा धर्म, कर्म, मोक्षका नाममा महिला विभेदको समाज र पुरुष प्रभुत्वका प्रक्रिया एकै समयमा  पुरातन समाजको अन्तिम कालबाटनै शुरु भयो । अर्कातिर उत्पादन प्रणालीको रुपान्तरणसँगै समाजमा पितृसत्ता हावी हुदै गयो । परिणामत स्रोतमाथि पनि पुरुषको पहँुच विस्तारित हुदै गयो ।

 नेपालमा महिला स्थानको अवस्थाका बारेमा अध्ययन गर्दा मध्यकालिन नेपाल अत्यन्तै दयनीय तथा पिडादायक भएको पाईन्छ । त्यो अवस्थामा धर्मका नाममा महिलाका अधिकारहरु कटौति, महिलाहरुलाई केन्द्रित गरि कुप्रथाको विकास र समर्थन भएको पाईन्छ । मध्यकालिन समयमा महिलालाई शिक्षा, वैवाहिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता जस्ता सवै विषयमा बन्देज गरियो । यस परिवेशमा पुरुष नै महिलाका भाग्य निर्माता हो भन्ने कुराको विकास भएको पाईन्छ । मध्यकालिन समाजमा कृषि तथा सामन्ती उत्पादन प्रणाली कायम थियो । त्यसबेला मध्यकालिन समयमा “सती” प्रथाले  समाज तहस नहस बनेको अवस्था थियो । 


  आधुनिककाल सँगै महिला माथिका शोषणका पराकाष्ठा केहिहद सम्म न्यून हुँदै गएको पाईन्छ । यस समयमा नेपाली महिलाको हैसियत र अवस्थामा त्यति ठूलो परिवर्तन नभएपनि खासगरी राणाकालिन समयमा दास प्रथा र सती प्रथाको उन्मुलनले महिला प्रतिको थोरै सम्मान गरेको कुरा झल्किन्छ । 

अझ पनि हिन्दु समाजमा भन्दा मुस्लिम समाजमा लैङ्गिक विभेदको खाडल झन फराकिलो पाईन्छ । लैङ्गिक सम्बन्ध जातिय व्यवस्थामा कठोर र पुरुष भत्तिभावको स्थिति रहन्छ भने जनजाति समाजमा तुलनात्मक रुपमा लचकता रहेको देखिन्छ । एउटा बाहुन–क्षेत्रि परिवारमा श्रीमतीले जे जति आडम्वरी आदर उसको पुरुषलाई गर्नुपर्दछ त्यो अवस्था गुरुङ, राई, लिम्बु आदि जातिहरुमा गर्नु पर्ने हुँदैन । यिनीहरु लोग्ने स्वास्नी बीच साथीको जस्तो व्यवहार गर्दछन् । यी जनजातिहरुमा बाहुन क्षेत्रिको तुलनामा निर्णय प्रक्रियामा पनि महिलाको अधिकार बढि भएको पाईन्छ । 

 आज विश्वका प्रायः सवै समुदायहरुमा पितृप्रधान समाज छन् । यस्तो समुदायले महिलाको अधिकार र महिला स्तन्त्रता माथि खासै चासो देखाएको पाइदैन । बरु महिलाका विरुद्वमा अनगल प्रचार गरिएको पाईन्छ । विश्वका प्रत्येक समाजमा रहेका सामाजिक सांस्कृतिक प्रचलन, रितिरिवाज, मुल्य–मान्यता एवं. परम्पराहरु नै महिला विकासका बाधक भएका छन् । शिक्षा स्वास्थ्य, रोजगार, राजनिति, पैत्रिक सम्पति लगायतका क्षेत्रमा महिलाहरुको पहुँच कम रहनु, महिलालाई घरभित्रको घरायसी तथा कम उत्पादनमूलक क्षेत्रमा सिमित गरिनु पनि महिला पुरुष बीचको असमानता बढाउने कडि हो । महिला हिंसा, यौन शोषण देखि लिएर प्रजनन् अधिकारमा पनि महिलालाई पछि पारिएको छ । महिला मुक्तिका आन्दोलनहरुमा पनि पिछडिएका महिला भन्दा सुकिला मुकिला महिलाको नेत्तृत्व भएकाले महिला मुक्ति आन्दोलनले खासै लक्ष्य प्राप्त गर्न सकिरहेको छैन । एउटी महिला महिलाहरु बाटै हिंसित र शोषित भएको यतार्थ हाम्रो सामु प्रष्ट देखिने उदाहरण सासु र वुहारी बीचको सम्मन्धबाट बुझ्न सकिन्छ । त्यस्तै कथित बोक्सिका आरोपमा सामाजिक हिंसाले प्रदाडित महिलाका आच्छेप–लाल्छना प्रायः महिलाहरुबाट नै शुरु भएका छन् । यौन व्यवसायको व्यवसायिकता पनि प्रायः महिलाहरुबाट हुने गरेको देखिन्छ । जसले समाज विकासमा बाधा उत्पन्न मात्र नगरि सामाजिक हिंसा जन्माएको पाईन्छ । कति सामाजिक हिंसा तथा घरेलु हिंसा विविध कारणले बाहिर आउन सकिरहेका हुदैनन् । 

समाज भित्र लुप्तरुपमा रहेका असमानताका पराकाष्ठाहरु अझ पनि दिन दुई गुणा रात चौगुणा भएर बढि रहेका छन् । तराईका मुस्लिम तथा आदिबासी मधिसे समुदायमा महिला हिँसाका कारकहरुमा दाइजो प्रथा, तिलक प्रथा, बोक्सिका आरोप–प्रत्यारोपले जरा गाढि हिँसा जन्माईरहेको छ । पहाडी तथा दुर्गम बस्तिहरुमा लैङ्गिक असमानताका प्रमाण प्राय काम गर्ने क्षमता, ज्यालामा असमानता, महिला प्रतिको पुरातन सोचाई विभेदका उदाहरणहरु हुन् । शहरी समाजमा घर भित्रका कार्यबाट आज पनि नेपाली महिला माथि आउन नसको अवस्था कायमै छ भने शहरमा यौन व्यवसायले अझ महिला माथि शोषण गरिरहेको छ । राज्य स्तरबाट आरक्षणका नाँउमा परनिर्भर गराउँदै पहुँच पुगेका र हुने खाने महिला कै हालीमुहालीले आज पनि विपन्न वर्ग तथा पिछडिएका महिलाको पहुँच सामाजिक, राजनितिक, आर्थिक विषयका सवालहरुमा खासै प्रगति देखिएको पाईदैन । महिलाहरुको स्वास्थ्यस्तरमा वृद्वि गर्न स्वस्थ जीवनचक्रमा आधारित स्वास्थ्य सेवाको विकास गर्न भ्रूण गर्भावस्थाको सुरक्षाका लागि कानुनी व्यवस्था सुरक्षित मातृत्व कार्यक्रम जस्ता कुरामा विकास नभइरहेको अवस्था छ 

समाज रुपान्तरण र विकासका लागि लैङ्गिक असमनताको निर्मुल हुनु अपरिहार्य छ । केवल लिङ्गका आधारमा हुने भेदभावले समाजलाई कुरुप बनाइ राखेको हुन्छ । लैङ्गिक असमानता कुनैपनि प्राविधिक विषय नभएर शताब्दीऔ देखिको समस्या हो । यसको सावधानका निम्ती हरेक व्यक्ति लाग्नु पर्ने आजको टट्कारो आवश्यकता हो । समाजको पूर्ण विकासका निम्ति महिला विकास हुनु अत्यन्त आवस्यक छ । महिला पुरुषको बीचको विभेदको खाडल नपुरिएसम्म समाज विकास हुन सक्दैन । आजको विभेद युक्त समाजमा महिलाका जल्दाबल्दा समस्यालाई संवोधन नगरि समाज परिवर्तनको सपना देख्नु भनेको पानी विना माछा पाल्नु समान हो । महिलाको राजनितिक, आर्थिक र सामाजिक क्षेत्रमा पहुँच बढाउनु, कानुनमा महिलाको समान अधिकार हुने गरि सुधार गरिनु, समानतामुलक प्रजातान्त्रिक समाज निर्माणका लागि महिलालाई विकासका विभिन्न क्षेत्रमा सक्रिय बनाएर मात्र समाज विकासको लक्षलाई प्राप्त गर्न सकिएला । 


Views: 299