27th May | 2019 | Monday | 5:08:34 AM

नेपाली साहित्यको वर्तमान

विनोद दाहाल   POSTED ON : फाल्गुन २५, २०७५ (८:२५ AM)

नेपाली साहित्यको वर्तमान

हाल नेपाली साहित्य लेखनमा विभिन्न वाद देखिएका छन् । साहित्यकार विभिन्न कित्तामा बाँडिएका छन् । राजनीतिक दलजस्ता भएर आआफ्नो पार्टीको झण्डा बोकेर हिँड्ने गरेका छन् । यसले नेपाली साहित्यलाई विकसित बनाउँदैन, बरु विभाजनको दिशातिर अघि बढाउँछ । 

नेपाली साहित्य लेखनको इतिहास झण्डै दुई सय वर्षको हुन लागेको छ । प्रकाशनको इतिहास भने त्योभन्दा पचास वर्षजति पछिको छ । हुन त भानुभक्तभन्दा पहिलेका कविहरूको पनि पहिचान भएको छ तर उनीहरूका सिंगो कृति पाइएका छैनन्, फुटकर कवितामात्र पाइएका छन् । सुवानन्द दास, शक्तिवल्लभ अज्र्याल, सुन्दरानन्द बाँडा आदि भानुभक्तभन्दा अगाडिका कवि हुन् । 

नेपाली साहित्यको इतिहासमा भानुभक्त एक मानक स्तम्भ बनेर रहे तर उनका समग्र कृति उनको अवसानको निकै वर्षपछि कवि मोतिराम भट्टले प्रकाशनमा ल्याइदिएका हुन् । भानुभक्त मरेको लगभग ८० वर्षपछि उनलाई आदिकविको उपाधि दिइएको हो । यसलाई राणा शासन कालको एउटा उपलब्धि मान्नुपर्छ । राणा प्रधानमन्त्री जुद्धशमशेर यसका लागि धन्यवादका पात्र बने । भानुभक्त नेपाली साहित्यमा प्राथमिक कालको प्रतिनिधित्व गर्न पुगे । 

यसपछि मोतिराम भट्टदेखि यता आएर शारदा पत्रिकाको प्रकाशनसम्म नेपाली साहित्यको माध्यमिक काल रहृयो । विसं १९९१ सालको शारदाको प्रकाशनपछिको समय आधुनिक काल हो । साहित्य रचनाको हालको समयलाई त उत्तरआधुनिक काल भन्ने गरिएको छ । 

मोतिराम भट्टले विसं १९४८ सालदेखि भानुभक्तका पुस्तक प्रकाशन गर्न सुरु गरेका थिए । यही समयलाई नेपाली साहित्यको मानक समय मान्दा सवा सय वर्षको इतिहास पार गरेको छ तर यति लामो समयमा नेपाली साहित्यले विभिन्न मोड, घुम्ती र चरण पार गरेको छ । परम्परागत शास्त्रीयशैलीबाट सुरु भएको नेपाली साहित्यको लेखन हाल अनेकौं धारा र उपधारामा वर्गीकृत हुन पुगेको छ । 

चन्द्रशमशेर राणाले आफ्ना विरुद्धमा लेखिएला भनेर १९७० सालमा गोरखा भाषा प्रकाशिनी समिति बनाए । यसले साहित्य प्रकाशनलाई सहयोग पु¥याउनुको सट्टा लेखनमा सेन्सरसिप लगाएको थियो । यो समिति पछि १९९० सालमा बालकृष्ण समको प्रयासमा नेपाली भाषा प्रकाशिनी समिति बन्यो । यसको कडा सेन्सरसिपमा तत्कालीन लेखक तथा साहित्यकार परेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि यसको मारमा परेका थिए । बरु राणाहरूले साहित्यकारलाई आफ्नो स्तुति लेख्न लगाए । राणा शासनकालमा लेखक कवि त थिए तर ती नियन्त्रित र निर्देशित लेखनबाट प्रभावित बन्न बाध्य थिए । 

प्रजातन्त्रको आगमनपछि नेपाली साहित्यले अलिक पन्पिने मौका पायो । २०१४ सालमा रोयल नेपाल एकेडेमी बन्यो तर पुनः पञ्चायती व्यवस्था लागू भयो । लेखन र प्रकाशनमा कडाइ गरिए तापनि साहित्यिक गतिविधिको निरन्तरता पञ्चायती व्यवस्थामा कायमै रहृयो ।

यो अवधिमा कतिले जोखिम मोलेर लेखे, कतिले व्यवस्थाअनुकुल लेखे र कति सुस्ताए, लेखेनन् । विभिन्न कक्षाका कक्षागत गीतमा पनि व्यवस्थाको गुणगान गाइयो । राष्ट्रिय गीत पनि यही खालका लेखाइए र गाइए । प्रेस स्वतन्त्रता नभएको त्यस समयमा नेपाली साहित्यले राम्ररी फस्टाउने मौका पाएन । 

जोखिम मोलेर लेख्नेहरूले उग्रवादी धारमा उभिएर लेखे तर ती साहित्यभन्दा पनि नाराजस्ता भए । हाल तिनीहरूले नै आफ्ना त्यसबेलाका लेखनलाई साहित्य स्वीकार्न नसकिरहेको अवस्था छ । विपी कोइरालाहरूका निकै उचाइका साहित्यले त्यो समयमा साहित्यको दर्जा पाउन सकेनन् । 

जब २०४६ सालको राजनीतिक परिवर्तन भयो तब राजनीतिसँगै विभिन्न क्षेत्रमा परिवर्तन आयो । साहित्य क्षेत्र पनि यसको अपवाद रहेन । सिसाका टुक्राका अक्षर टिपेर कम्पोज गरी हाते प्रेसबाट हुने पत्रपत्रिका तथा साहित्यको छपाइ अब अपसेट प्रेसबाट द्रूत गतिमा हुन थाल्यो । 

यसपूर्वको पुस्तक छाप्न भारतको वनारस जानुपर्ने अवस्थाको पनि अन्त्य भयो । नेपालमै अनगिन्ति प्रकाशन गृह स्थापना भए । यिनका बीच ज्यादै ठूलो प्रतिस्पर्धा हुन थाल्यो । सोखका लागि लेख्नेहरूमध्ये राम्ररी कलम चलाउन सक्नेहरू लेखेर बाँच्नसक्ने अवस्थामा पुगे । पत्रपत्रिकाको बाढी नै आयो र लेखकको संख्यामा पनि उल्लेख्य वृद्धि भयो । गुणस्तरीयतामा भने संख्यात्मक जसरी वृद्धि हुन सकेको छैन ।

साहित्यका कविता, कथा, उपन्यास, नाटक, निबन्ध र प्रबन्धजस्ता विधा छन् । यो प्रजातन्त्रपछिको समयमा यी सबै विधा धेर थोर लेखिँदै आएका छन् । अब सेन्सरसिपको पीर छैन । लेखाइ र छपाइ दुवै निकै छोटो समयमा गर्न सकिन्छ । कम्प्युटरको सर्वसुलभता र अपसेट प्रेसको छपाइले यस क्षेत्रमा एउटा पत्याइनसक्नुको क्रान्ति नै ल्याएको छ । यही अनुपातमा लेखन पनि हुँदै आएको छ । 

तर, लेखनमा गुणस्तरीयता आउन सकेको छैन र साहित्यका सबै विधाको समानुपातिक लेखन हुन पनि सकेको छैन । कतिपय राजनीतिक व्यक्ति साहित्य पनि लेख्छन् तर तिनले लेखेको साहित्यमा साहित्य कम र नारा बढी हुन्छन् । विशुद्ध साहित्यकार हुँ भन्नेहरूको लेखनमा पनि यस्तो समस्या छ । यो बढी स्वतन्त्रताले ल्याएको अवगुण हो । 

लक्ष्मीप्रसाद देवकोटाको भौतिक अवसान भएको ५९ वर्ष भयो तर उनका स्तरका कविता र निबन्ध नेपाली साहित्यले अझै पाउँन सकेको छैन । नाट्यसम्राट बालकृष्ण समको अवसान भएको ३७ वर्ष भयो । उनका स्तरका नाटक नेपाली साहित्यमा लेखिएकै छैनन् । अझ भन्ने हो भने नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधा नै नाटक हो । 

यसैगरी हास्य सम्राट भैरव अर्यालको अवसानको पनि ४२ वर्ष बित्यो तर उनका स्तरका हास्यव्यंग्य अहिलेसम्म नेपाली साहित्यमा लेखिएका छैनन् । यस अर्थमा प्रजातन्त्रपछि लेखनमा जुन किसिमको संख्यात्मक वृद्धि भएको छ स्तरीयतामा भने यस किसिमको वृद्धि हुन सकेको छैन । 

विपी कोइरालाले जेजति लेखे दोषी चस्मा कथा संग्रहबाहेक सबै जेलमै लेखे । ती स्तरका आख्यान साहित्य अब पनि नेपाली साहित्यले पाउला कि नपाउला भन्नेमा सन्देह छ । 

नेपाली साहित्यमा सबैभन्दा बढी कविता लेखिन्छन् । तिनमा पनि गद्य कविताको प्रवाह छ अचेल । अनि कथा र उपन्यास त्यसपछि निबन्ध प्रबन्ध र सबैभन्दा कम नाटक लेखिन्छन् । नाटक बढी प्राविधिक हुने भएकाले पनि कम लेखिएको हुनसक्छ । यो दृश्यकाव्य हो । मञ्चन यसको अन्तिम ध्येय हुनेगर्छ । त्यसैले लेख्नेले पनि निकै विचार गरेरमात्रै लेख्नुपर्ने हुन्छ । 

तर, यथार्थमा भन्दा नेपाली साहित्यमा जे र जति लेखिएको छ त्यो कम आक्न मिल्ने खालको छैन । नेपालीमा प्रसस्त लेखिएको छ । अब लेखनमा कुनै प्रकारको बन्देज छैन । वर्तमान संविधानले वाक तथा प्रकाशन स्वतन्त्रता दिएको छ । यसको भरपुर उपयोग पनि भएको छ । 

नेपालको संविधान २०४७ ले प्रदत्त गरेको यो मौलिक हकको निरन्तरता हालको संविधानले पनि दिएको छ । त्यसैले दिन प्रतिदिन नेपाली साहित्य अझै सम्पन्न बन्दै गइरहेको छ । यो नेपालमा पुनस्र्थापित हुन पुगेको प्रजातन्त्रको देन हो भनेर मान्नुपर्ने हुन्छ । हलसम्म निरंकुशता नै रहिरहेको थियो भने नेपाली साहित्यको वर्तमान कस्तो हुन्थ्यो होला ? यो कल्पनामात्र गर्न सकिने कुरो हो । 

साहित्यका वादले साहित्यलाई अल्मल्याउन खोजेको छ । राजनीतिका वादसँग साहित्यका वाद लट्पटिनु हुँदैनथ्यो । राजनेताको पछि लागेर साहित्यकार हिँड्नु पनि अनुचित हो । सामाजिक, यथार्थवादी, मनोवैज्ञानिक, विसंगतिवादी, प्रयोगवादी आदि त साहित्यका विभिन्न भावमुलक अभिव्यक्ति हुन्, यसको प्रस्तुति स्वाभाविक थियो । तर, ठ्याक्कै विपरीत धारका रूपमा प्रगतिशील धारा र प्रजातान्त्रिक धारा बनेर नेपाली साहित्य विभाजित हुनु भनेको यसको विकासमा तगारो लाग्नु हो । साहित्य साहित्य भएर अगाडि बढ्नुपर्छ, राजनीतिबाट निर्देशित हुनुहुँदैन । 

 


Views: 83