27th May | 2019 | Monday | 5:51:58 AM

नारी दिवस, योगमाया र निर्मला पन्त

निनाम कुलुङ ‘मंगले’   POSTED ON : फाल्गुन २५, २०७५ (८:२८ AM)

नारी दिवस, योगमाया र निर्मला पन्त

सधैँझैँ यसवर्ष पनि अंंग्रेजी महिनाको मार्च आठ तारिखका दिन नारी दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाइयो । यसरी यो वर्षसमेत जोड्दा विश्वमा नारी दिवस मनाउन थालेको एकसय नौ वर्ष भएकोे छ । निश्चय नै विश्वमा नारी दिवस मनाउन थालेयता धेरै घटना र उथलपुथलका वर्ष बितेका छन् । बितेका ती एकसय नौ वर्षभित्रका हरेक दिनमा महिलाका सम्बन्धमा विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिकलगायत समाज परिवर्तनका हरेक पक्षमा धेरै आयाम र उथलपुथल आएका छन् ।

विश्वका महिलाले हाल जेजति प्राप्त गरेका छन्, ती त्यति सजिलै प्राप्त भएका होइनन् । जस्तो उदाहरणका लागि साउदी अरब भन्ने देशमा निकै लामो संघर्षपछि मात्रै गत वर्ष बल्लबल्ल महिलाले पनि गाडी चलाउन पाउने अधिकार पाए । अझै पनि कतिपय देशमा महिलाका लागि, खासगरी खाडी क्षेत्रलगायत इस्लाम धर्म मान्ने देशममा राजनीतिकलगायत अन्य हकअधिकारको त के कुरा, सामान्यभन्दा सामान्य अधिकार पनि प्राप्त भएका छैनन् । माथि नै भनियो साउदी अरबमा गत वर्षसम्म महिलाले आफैँ गाडी चलाएर हिँड्न पाएका थिएनन् । त्यस्तै कतिपय देशमा २१औं शताब्दी भनिएको आजको युगमा महिलाले जागिर खान र आत्मनिर्भर बन्न पाएका छैनन् । राजनीतिमा भाग लिनसमेत पाएका छैनन् ।

जे होस्, विश्वको राजनीतिक इतिहास हेर्दा जबदेखि महिलामा राजनीतिक र वैचारिकरूपमा चेतना आयो, तबदेखि नै एकात्मक र पुरुष सर्वसत्तावादविरुद्ध संघर्ष गर्न थाले भन्न सकिन्छ । अचम्मको कुरा के भने, समाज विकासको सुरुवातमा विश्वमा महिलाहरूको नै आधिपात्य थियो भन्ने गरिन्छ । अभैm पनि कतिपय आदिवासी जनजाति समुदायमा यो व्यवहारमै देखिन्छ । तर, समाज विकस क्रमसँगै विश्वमा धेरै महिलाले हकअधिकार वा भनौँ पुरुषमात्रै नभएर समाजमा रहेको आप्mनो आधिपात्य गुमाउँदै गए । 

पछि फेरि आधुनिक कालमा आआफ्नो क्षेत्रबाट आफ्नो हकअधिकारका लागि राजनीतिक र वैचारिक आन्दोलनको सुरुवात गरे । त्यसमा केही महिला नेतृको नाम यहाँ उल्लेख छ । जस्तै ती नामहरूमा रोजा लक्जम्बर्ग, क्लारा जेट्किन, च्याङचिङ, मिरा बाई आदि र नेपालकै पनि महिलालाई विशेषरूपमा लिन सकिन्छ । नेपालकै पनि योगमाया न्यौपाने, मोतीदेवी श्रेष्ठ, साधना श्रेष्ठ, साहना श्रेष्ठ, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, चन्द्रकान्ता मल्ललगायतलाई हामीले मात्रै नभएर समग्र नेपालको इतिहासले नै सम्झनुपर्ने हुन्छ । 

यसरी नेपालमा विभिन्न कालखण्डमा विभिन्न महिलाले सामाजिक, धार्मिक, राजनीतिक, आर्थिकलगायत समाज परिवर्तनका विषयलाई लिएर आन्दोलन गरेका थिए । त्यसरी आन्दोलन वा सामाजिक विद्रोह गर्ने धेरै महिला भए तापनि राणा शासनकालको जुद्धसमशेर श्री ३ महाराज भएको बेलामा हालको भोजपुर जिल्लाको नेपालेडाँडा, सिम्ले गाउँमा विसं १९२५ मा आमा चन्द्रकला न्यौपाने र बुबा श्रीलाल न्यौपानेकी छोरीका रूपमा जन्मिएकी योगमाया न्यौपानेका बारेमा यो लेखमा विषेश चर्चा गरिएको छ । किनभने, त्यो बेलाको ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन’ भन्ने राणा शासनको समयमा पनि योगमायाले तल्लो एकाइदेखि प्रधानमन्त्रीसम्म सामाजिक असमानता, भेदभाव, छुवाछूत, रुढीवादी एवं अन्धविश्वासी संस्कार, कुरीति, शोषण, दमन, उत्पीडन, घुसखोरी, दासदासी प्रथा, सती प्रथा, अन्याय, अत्याचारलगायतविरुद्ध सशक्तरूपले आवाज उठाइकी थिइन्, विद्रोह गरेकी थिइन् । उनले त्यस्तो कठोर राजनीतिक र सामाजिक अवस्थामा ठूलो क्रान्ति नै गरेकी थिइन् । उनले त्यसै विद्रोहको आवाज उठाउने साहस गरेकी थिइनन् । योगमायाका बारेमा निर्मलकुमार आचार्यद्वारा लिखित, ‘प्रथम नेपाली महिला’ नामक किताब, पाना नं.२१५ मा त्यो बेला गरेको साहसिक कामको बयान गरिएको छ । त्यस्तै निलम कार्की निहारिकाले योगमायालाई आधार मानेर उपन्यास लेखिन् । स्मरणीय छ, सो उपन्यासले मदन पुरस्कार पनि पायो । 

भनिन्छ, योगमयाले त्यो बेला श्री ३ महाराज जुद्धसमशेरसमक्ष ‘सत्य धर्म भिक्षा’ को रूपमा सामाजिक असमानता, भेदभाव, छुवाछूत, रुढीवादी अन्धसंस्कार, कुरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासी प्रथा, सती प्रथा, अन्याय, अत्याचारलगायत दुई सय ६८ वटा माग बुँदागतरूपमा प्रस्तुत गरेकी थिइन् । उनको उक्त मागपत्र पटक पटकको प्रयासपछि श्री ३ जुद्धशमशेर कहाँ पुग्यो र श्री ३ जुद्धशमशेरले पनि योगमायालाई ‘सत्य धर्म भिक्षा’ को पालना गर्ने वचन दिएका थिए । तर, व्यवहारमा श्री ३ महाराज जुद्धशमशेरले योगमायाको दुई सय ६८ वटा मागको रूपमा रहेको ‘सत्य धर्म भिक्षा’ लाई वास्ता गरेनन् । लागू गर्ने त कुरै भएन । फलतः योगमायाले आफ्ना दुई सय ४०जना अनुयायीका साथ अग्नि दाह गर्ने निधो गरिन् । यसका लागि विसं १९९५ साल मंसिर पूर्णिमाका दिनको मितिसमेत घोषणा गरियो । यसरी योगमायाले अग्नि दाह गर्ने हल्ला चलेपछि तत्कालीन राणा शासकका स्थानीय प्रशासकले योगमायालगायत सबैलाई पक्राउ ग¥यो । केन्द्रमा रहेका राणा शासकले उक्त घटनामा पक्राउ परेकामध्ये महिला र केटाकेटीलाई छाड्नू भनी आदेश दिएकाले योगमाया पनि महिला भएकोले छुटिन् । 

यसरी आफूले उठाएका असमानता, भेदभाव, छुवाछूत, रुढीवादी अन्धसंस्कार, कुरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासी प्रथा, सती प्रथा, अन्याय, अत्याचारविरुद्ध तत्कालीन श्री ३ महाराज जुद्धसमशेरसमक्ष ‘सत्य धर्म भिक्षा’ को रूपमा पेश गरेका माग पनि पूरा हुने नदेखेपछि जीवनकै बलिदान दिने र यसले शासकहरूमा चेत आउँछ कि भन्ने सोच उनले राखिन् । यसले देशका भावी सन्ततिलाई पनि मार्गदर्शन हुन्छ कि भन्ने विचार गरेर र सदाका लागि मोक्ष प्राप्त गर्ने उद्देश्यले योगमायाले जल समाधि लिने निधो गरिन् । उनले यही सोचअनुसार विसं १९९८ साल असार १३ गते जलसमाधि लिइन् । अरुण नदीमा उनीसँगै अरू ४३ जना महिला र १६ पुरुषले जलसमाधि लिएका थिए । यसरी ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन ¤’ भन्ने राणा शासकलाई पाठ सिकाएर योगमायालगायत ५९ जनाले मोक्ष प्राप्त गरे ।

यसरी क्रमिकरूपमा आएको राजनीतिक परिवर्तन र सामाजिक सुधारसँगै हाल नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत महŒवपूर्ण पदमा महिला पुगिसकेका छन् । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गर्वसाथ भनिरहँदा उता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधी पत्ता लाग्न सकेको छैन । लगभग एक वर्ष पुग्न लागेको छ यो घटना भएको । यसरी लाचारी व्यक्त गर्नुपर्ने अवस्था पनि हाम्रै देश नेपालमा छ र यो बाध्यताबाट हामी र हाम्रो देशको सरकार गुज्रिरहेका छौँ ।  


Views: 76