24th March | 2019 | Sunday | 8:51:50 AM

बैंक–वित्तीय क्षेत्र र व्यवसायी

रिसव गौतम   POSTED ON : फाल्गुन २६, २०७५ (११:२१ AM)

बैंक–वित्तीय क्षेत्र र व्यवसायी

बैंकको विश्व इतिहास हर्ने हो भने उद्योग व्यापारको सुरुवात र फैलावटसँगै बैंकिङ क्षेत्रको पनि फैलावट भएको हो । त्यसले पनि इंगित गर्छ कि उद्योगी–व्यवसायी र बैंकबीच कति पुरानो र कति प्रगाढ सम्बन्ध रहिआएको हो भन्ने । 

नेपालमा पनि औद्योगिक विकासको प्रारम्भसँगै बैंकिङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । विसं १९९३ मा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । त्यसलगत्तै विसं १९९४ मा नेपालको पहिलो बैंकको रूपमा नेपाल बैंकको स्थापना भयो । यसरी हेर्दा नेपालमा उद्योग व्यवसायको विकास एवं विस्तार भएसँगै बैंकिङ क्षेत्रको विकास भएको हो । यसरी यी दुई बीच अन्योन्याश्रित सम्बन्ध देखिन्छ । 

उद्योग व्यवसायको विकासविना बैंकको विकास एवं फैलावट सम्भव छैन भन्ने तथ्य स्पष्ट छ । तर नेपालमा ५० को दशकदेखि युवाको विदेश गमन तीव्ररूपमा बढ्न थाल्यो । ०५२ सालबाट सुरु भएको तत्कालीन माओवादी जनयुद्धको भुङ्ग्रोमा परेर भएका उद्योग कलकारखाना नासिए । सशस्त्र द्वन्द्व सुरु भएको २०५२ देखि माओवादी शान्ति सम्झौतामा आउँदासम्म नेपालमा कुनै नयाँ उद्योग खुल्न सकेनन् । बरु भएका उद्योग व्यवसाय बन्द भए । त्यसको असर बैंकमा प¥यो । रोजगारीको क्षेत्रमा प¥यो, बेरोजगारी बढ्यो । युवाको विदेश पलायन बढ्यो । समग्र अर्थतन्त्रमा व्यापक नकारात्मक असर प¥यो । आजसम्म पनि हुनुपर्ने जति सुधार हुनसकेको छैन । 

बरु २०५० को दशकबाट विदेशिन सुरु गरेका युवाले पठाएको रेमिट्यान्सको भरमा नेपालको अर्थतन्त्र थेगियो । बैंक थेगिए । अझै पनि रेमिट्यान्समै मूलतः नेपालको अर्थतन्त्र र बैंक निर्भर रहेको अवस्था छ । अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ३१ प्रतिशत पुगिसकेको छ । उद्योग व्यवसायले अर्थतन्त्रमा खास योगदान राख्न सकेका छैनन् । धमाधम औद्योगिक विकास हुने बलियो सम्भावना पनि देखिएको छैन । 

बैंक टिक्ने आधार र अर्थतन्त्र अघि बढ्ने आधार भनेको औद्योगिक विकास नै हो । रेमिट्यान्सको क्षेत्र भनेको क्षणिक नै हो । अहिले त ६० लाख हाराहारी नेपाली युवायुवती मजदुरी गर्न विदेशिएका छन् । समग्र अर्थतन्त्रमा घरेलु उद्योग व्यवसायको योगदान ६–७ प्रतिशतभन्दा ज्यादा छैन । नेपाल पूरै अदक्ष मजदुर उत्पादन गर्ने विदेश निर्यात गर्ने देशजस्तो भएको देखिन्छ । नेपाली युवा विदेशमा सस्तोमा पारिश्रमिकमा कठोर श्रम गर्छन् । नेपाली सीप, श्रम, साधनस्रोत र पुँजीको परिचालनबाट औद्योगिक विकास हुन सकेको छैन । त्यस हिसाबले पनि बंैकले औद्योगिक क्षेत्रमा, कृषि उत्पादन र उद्योगमा लगानी गर्न हिच्चकिचाइरहेका देखिन्छन् । 

उद्योगी–व्यवसायी भनेको कुनै पनि बैंकका लागि पँुजी निर्माणका साधन हुन् । एउटा उद्योगीले कुनै बैंकमा ओफ्नो मात्रै खाता खोलेको हुँदैन । कर्मचारी–कामदारलाई पनि खोल्न लगाएको हुन्छ । उसले समाजमा सानो वा ठूलो स्केलमा रोजगारी दिएको हुन्छ । आयात तथा निर्यात व्यापारको माध्यमबाट राज्यको आर्थिक गतिविधि चलायमान बनाएको हुन्छ । त्यसकारण बंैकको उद्योगी–व्यवसायीसँगको सम्बन्ध बढी महŒवपूर्ण हुन्छ र हुनुपर्छ । यो तथ्य नेपाली बैंकहरूले हार्दिकताका साथ आत्मसात नगरेको हो कि जस्तो देखिन्छ । 

वास्तवमा व्यक्ति वा संस्था बैंकका ग्राहक हुन् । ग्राहकसँग बैंकको वा बैंकसँग ग्राहकको अधिक विश्वासमा आधारित सम्बन्ध हुने गर्छ । बैंक र ग्राहकबीच अनेकन आयामका सम्बन्ध हुन्छन् । त्यस्तो सम्बन्ध खासगरी कारोबारको आधारमा बढी वा कम हुने गर्छ । व्यक्तिगत ग्राहकसँग जनेरेशनको आधार पनि सम्बन्ध हुन्छ । जस्तो नेपालको सबैभन्दा पुरानो नेपाल बैंकमा जति बूढा पुराना मान्छेको खाता हुन्छ, त्यति नयाँ आएका बैंकमा हुँदैनन् । त्यसकारण ग्राहक र बैंकबीच अनेकन आयामका सम्बन्ध हुन्छन् । कारोबारको प्रकारका आधारमा बैंकसँगको कस्तो सम्बन्ध भन्ने हुने निर्धारण हुन्छ । 

विगतमा बैंक र ग्राहकबीच खालि साहूँ र आसामीमात्रको सम्बन्ध हुन्थ्यो । त्यो विचारधारा विस्तारै परिवर्तन भएर आएको छ । बैंकको समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उद्योग कलकारखानाको विकासप्रतिको उत्तिकै दायित्व हुन्छ । जो बढेर गएको छ । नेपालमा त खासगरी उद्योग व्यवसायको क्षेत्र कमजोर भएको, त्यो क्षेत्रको कारोबारको आकार बढ्न नसकेका कारण पनि बैंकले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् । तर अब नेपालमा बैंकले जसरी आफ्नो विकास र फैलावट बढाउँदै लगेका छन् । त्यही हिसाबमा उत्पादनमूलक उद्योग र व्यवसायको क्षेत्रमा लगानी विस्तार गर्नुको विकल्प छैन ।


बैंक–उद्योगी सम्बन्ध

नेपालमा बैंक र व्यवसायीबीचको सम्बन्ध कस्तो छ भन्ने जान्न बैंकको ब्याजदरलाई लिएर उद्योगी–व्यवसायीले गरेको आन्दोलनलाई नियाल्दा थाहा हुन्छ । विराटनगरका व्यवसायीले बैंकको ब्याजदरलाई लिएर कडा आन्दोलन गरे । उनीहरूले प्रधानमन्त्रीलाई नै गुहारेर ब्याजदर घटाउन माग गरे । खासगरी बैंक र व्यवसायीबीच प्रगाढ सम्बन्ध नभएकै कारण त्यो आन्दोलन भएको थियो । यी दुई पक्षबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदामात्र वास्तवमा उद्योग क्षेत्रले प्रगति हासिल गर्न सक्छ । र, उद्योग क्षेत्रको प्रगति हुँदामात्रै उनीहरूको बैंकसँगको कारोबार बढ्ने र बैंकको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ । 

यहाँ त लय मिलेको छैन । अधिक नाफामुखी सेवामूलक क्षेत्र, रेमिट्यान्स सेरोफेरो र विदेशी दातृ निकायको पैसाको आडमा बैंकको नाफा बढिरहेको छ । बैंकले दीर्घकालीन सोच राख्न सकेका छैनन् । अल्पकालिक उपलब्धि र नाफामा रमाइरहेका छन् । उत्पादनमूलक उद्योगमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदामात्रै बैंकको पनि मुनाफा र गतिविधि दीर्घकालमा चलायमान हुन सक्छन् । फलतः बैंक र उद्योगी–व्यवसायीबीचको सम्बन्ध मधुर छैन, अपासमा शंका बढेको छ । 

बैंकहरूको उच्च ब्याजदरविरुद्ध आन्दोलनरत उद्योगी–व्यवसायीले भनेजस्तै ब्याजदर बढी भएकै कारण उद्योग कलकारखाना खुल्ने क्रम बढ्न सकेको छैन । अर्को कर्जा प्रवाहमा बैंकको बढी ब्याजदर हुँदा उत्पादन लागत बढ्ने र उत्पादित वस्तुको मूल्य पनि बढी हुने हुन्छ । त्यसको आखिरी मर्का पर्ने भनेको उपभोक्तालाई नै हो । फेरि, बढी लागतमा उत्पादन हुने वस्तुले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु स्वाभाविक पनि हुन्छ । अर्को, नेपालमा बैंकले दिने निक्षेपको ब्याजदर बढी भएकै कारण शेयर बजारमा आर्कषण घटेको हो । ब्याजदर कम हुने हो भने लगानीकर्ताको आकर्षण शेयर बजारमा पथ्र्यो । जसले राष्ट्रिय उत्पादन र उत्पादकत्वमा सकारात्मक प्रभाव पाथ्र्यो । बैंकहरू यसतर्फ नसोची नाफा बढाउने एकोहोरो धुनमा लागेका देखिन्छन् । यस्तो अवस्था दिगो नहुन सक्छ । 

वास्तवमा बैंकले आफ्नो चुक्ता पुँजी ८ अर्ब भएकै अवस्थामा कतिपयले वार्षिक ३–४ अर्बसमेत कमाएका छन् । त्यसरी लगानीको आधा पुँजी एकै वर्ष कुनै पनि व्यवसायले कमाउन सकेको हुँदैन, जो बैंकले गरिरहेका छन् । त्यसकारण बैकको कर्जा लगानीमा हुने ब्याजदर बढी नै हो । बैंकको ब्याजदरको ‘बेस रेट’ नै पुनः मूल्यांकन गरी नयाँ तोक्न जरुरी छ । साढे चार प्रतिशतको स्प्रेड दर नै अझै घटाउन जरुरी छ । सन्तुलित ढंगको ब्याजदर कायम गरेर बैंकले उद्योगी–व्यवसायीसँगको सम्बन्ध प्रगाढ बनाउन जरुरी छ । बैंकले पारदर्शी ढंगले नाफा आर्जन गर्नु नराम्रो होइन । तर उनीहरूले अधिक नाफा आर्जन गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको हो । त्यसमा पनि बैंकको लगानी अनुत्पादक क्षेत्रमै बढी घुमिरहेको छ । अनुत्पादक क्षेत्रमा नै लगानी गर्न बैंक बढी उत्साहित छन् । त्यसले गर्दा पनि बैंक र उद्योगीबीच सम्बन्ध प्रगाढ हुन सकेको छैन । जोखिम कम हुने कारणले नै उत्पादन क्षेत्रको साटो अनुत्पादक र उपभोगको क्षेत्रमा लगानी गर्न बैंकहरू कि उत्साहित भएको हुनुपर्छ । 

यसरी नेपालको सन्र्दभमा अहिले बैंक र उद्यमी–व्यवसायीबीचको सम्बन्ध प्रगाढ छैन । बैंक सेवामूलक एवं नाफामुखी क्षेत्रमा लगानी गर्न चाहन्छन् । उद्योगी–व्यवसायी बैंकसँग सहुलियत दरको कर्जा चाहन्छन् । यी दुवै पक्षबीचको सौहार्द सम्बन्ध निर्माणमा सरकारको विशिष्ट भूमिका हुन्छ । त्यसतर्फ ध्यान केन्द्रित गर्न सक्दा बलियो अर्थतन्त्र निर्माणमा सहयोग पुग्नसक्छ । दुवै एक अर्काका परिपूरक हुन् भन्ने बुझ्न सकेमात्रै सहज हुनेछ । यो तथ्य अलिक बढी बुझ्नुपर्ने बैंकहरूले नै हो । 


Views: 56