27th May | 2019 | Monday | 5:48:30 AM

अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा

गीता अधिकारी   POSTED ON : फाल्गुन २७, २०७५ (५:१९ AM)

अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा

नारीहरूको पर्वका रूपमा मान्यता पाएको नारी दिवस यो वर्ष विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी ८ मार्चमा मनाइएको छ । मार्च आठ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पूर्ण महिलाले महान पर्वका रूपमा मनाउन थालेको एकसय नौ वर्ष भएको छ । यस वर्ष ८ मार्चमा १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर धुमधामले मनाइएको छ । 

यो दिवस सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले पहिलोपटक मनाएको थियो । उक्त पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा यो दिवस मनाएको थियो । अहिले महिला जागरुकतासम्बन्धी दिवसको रूपमा पनि यसलाई हेर्ने गरिन्छ । यस दिनलाई विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । सुरुमा राजनीतिक तवरबाट यसको सुरुवात भएता पनि अहिले आएर महिला अधिकार, महिला सशक्तीकरण र समानताजस्ता कुरा यो दिवसका विषय बन्ने गरेका छन् ।

महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सन् १९१० मा सोसलिस्ट इन्टरनेसनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भएको थियो । नेपालको सन्दर्भमा भने यो दिवस २००७ सालको परिवर्तनपछि मनाउन थालिएको भए पनि २०१६ सालदेखि ७१औं दिवसबाट अलिक खुलेर मनाउन थालेको पाइन्छ । तर, संस्थागतरूपमा भने २०३६÷०३७ सालदेखि मनाउने गरेको देखिन्छ । 

हरेक वर्षका नारी दिवसमा एउटा नारा तय गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय नारा ‘धेरै राम्रोका लागि सन्तुलन’ भन्ने रहेको छ भने नेपालमा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो । सबै देशले आआफ्नै समसामयिक विषय समावेस गरी यस्ता नारा बनाउने गरेको पाइन्छ । अहिले पनि नारी अधिकारका कुरामा जति काम भएका छन् । कार्यान्वयन पक्षमा भने त्यस्तो भएको पाइँदैन । यसका लागि कार्यान्वयन पक्षमा जोड दिन जरुरी छ । 

यो अन्तर्राष्ट्रिय दिवसका अवसरमा केही देशमा सरकारी बिदा दिने घोषणा गरिएको छ । कम्बोडिया र चीनमा महिलाहरूलाई मात्र  बिदा दिने गरिन्छ । केही ठाउँमा पुरुषले यो दिन आफ्नी आमा, पत्नी, केटी साथी, सहकर्मी आदिलाई फूल र उपहार दिने गर्छन् । केही देशमा यो दिनलाई ‘मदर्स डे’ समान सम्मान दिने गरिएको छ । बालबालिकाले आफ्ना आमा, दिदी, बहिनी, फुपू तथा घरका अन्य महिला सदस्यलाई उपहार दिने गर्छन् । 

यो दिन सम्पूर्ण विश्वका महिला देश, जातपात, भाषा, राजनीतिक, सांस्कृतिक भेदभाव आदिबाट अलग भई एकजुट भएर यो दिनलाई उत्सवका रूपमा मान्ने गर्छन् । महिला दिवसमा स्त्रीको प्रेम, स्नेह वा मातृत्वसँगै शक्तिसम्पन्न स्त्रीको मूर्ति सामुन्ने आउँछ । आज २१ औं शताब्दीका महिलाले स्वयंमा रहेको शक्तिलाई चिन्नु आवश्यक छ र आफ्नो अधिकारका लागि लड्न सिक्नु आवश्यक छ । 

नारीप्रति समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । उसलाई दासत्वबाट मुक्ति चाहिएको छ । हामीले जति कुरा गरे पनि वर्षौैंदेखि चल्दै आएको पुरुषप्रधान समाजलाई चलाउन त्यति सिजिलो छैन । कानुनी अधिकारमा समान भए पनि जीवनका हरेक क्षेत्रमा नारीले आफ्नो भूमिका बढाउन जरुरी छ तर त्यसो हुन सकेको छैन । अहिले पनि समान काममा पनि ज्यालाका लागि महिला र पुरुष भनेर भेदभाव गर्ने गर्ने गरिन्छ । अहिले पनि गाउँ घरको त के कुरा शहर बजारमा शिक्षित मानिस बसोबास गर्ने क्षेत्रमा महिला हिंसा भइरहेका छन् । यो सबैभन्दा दुःखको कुरा हो । 

पछिल्ला दिनमा केही नेपाली नारीले व्यक्तिगतरूपमा आफूलाई उपल्लो स्थानमा राख्न सफल भएका छन् । अहिले त हाम्रो देशमा देशको प्रमुख राष्ट्रपति नारी नै छन् । त्यस्तै प्रधानन्यायाधीश र सभामुख पनि नारीहरू रहे । यस्तै अन्य केही निकायका प्रमुखहरू नारी बन्न सफल भएका छन् । नारीहरू विश्वद्यालयमा कदम राख्न पनि पुगेका छन् । केही वर्षदेखि अन्तर्राष्ट्रिय नारी दिवस सकारात्मकतातर्फ कदम बढाउने अवसरका रूपमा मनाउने गरिएको छ तर पनि नारीमाथि अनुचित व्यवहारमा कमी आउन सकेको छैन ।

नारीहरूमाथिको भेदभाव कम गर्न  स्थानीयस्तरबाट सुरु गरेर विश्वव्यापीस्तरमा जनजागरणका काम गरिनुपर्छ । एकदिन दिवसका रूपमा होइन हरेक दिन नारी दिवस समान कार्य गरिनुपर्छ । नारीलाई हरेक समय समान व्यवहारको खाँचो छ । व्यावहारिकरूपमा सधैँ नारी पुरुषबीच समान व्यवहार हुनुपर्छ । पुरुषले पनि यो भुल्नु हुँदैन कि उनकी आमा पनि एक महिला हुन् । आज उनीहरू जुन स्थानमा छन् त्यसको कारण आमा नै हुन् भन्ने ठान्नुपर्छ । 

नारी शिशुको भविष्य सुरक्षित, उज्ज्वल र समान होस् । नारी स्वस्थ्य र सशक्त समाजको आधारशीला हो । वर्षमा एक दिन औपचारिकरूपमा सम्झने कामले मात्र नारी दिवसले सार्थकता पाउन सक्दैन । नारी दिवसका अवसरमा विविध कार्यक्रम गरी केही नारीलाई सम्मान र केहीको सम्झना हरेक वर्ष गरिँदै आए पनि व्यवहारमा नेपाली नारी अपहेलित र उपेक्षित रहिरहेका छन् । नारी दिवस होस् वा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस यदि त्यसको मर्म तत् तत् सन्दर्भको भावनासँग मिल्दैन भने ती दिवस मनाउनुको कुनै अर्थ रहँदैन । 

हरेक वर्ष महिलाका लागि एकातर्फ यसो गर्ने भनेर ठूलाठूला बाचा गर्ने गरिन्छ भने  अर्कोतर्फ पूरै विश्वमा लाखौं महिला आज पनि हरेक प्रकारका शोषण र दमनका शिकार भइरहेका छन् । अहिलेको उदारीकरण र भूमण्डलीकरणको युगमा मानिस रोजगारको खोजीमा गाउँघर छोडेर शहर र देशबाहिर जाने प्रचलनको तीव्र विकास भएको छ । जहाँ उनीहरूलाई न जागिर मिल्छ न सुरक्षा । जसले उनीहरूको हालत खराब हुने गर्छ र जीविका चलाउनका लागि उनीहरूलाई जस्तो पनि काम गर्न बाध्य पारिन्छ । यसमा पुरुषले भन्दा महिलाहरूले दुई गुणा, तीनगुण शोषणको सामना गरिरहेका हुन्छन् ।

नारीको अधिकारको कुरा पहिला उसको घरबाटै सुरु हुन्छ । जबसम्म नारीहरूमाथि हुने घरेलु हिंसा र नारी र पुरुषबीचको भेदभावको अन्त्य हुँदैन तबसम्म महिला अधिकारको सुरुवात नै हुँदैन । नारी र पुरुष एक रथका दुई पांग्रा वा एक सिक्काका दुई पाटा हुन् भन्ने गरिएको छ । हाम्रा शास्त्रहरूले ‘यत्र नार्यास्तु पूज्यन्ते रम्यन्ते तत्र देवता’ भनेको छ तर व्यवहारमा त्यस्तो भएको पाइँदैन ।

हामीले २१ औं शताब्दीका कुरा गरिरहँदा आज पनि महिला सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा ताŒिवक अन्तर आउन सकेको देखिँदैन । महिला हिंसा सामाजिक अपराध हो, यसका विरुद्ध समाजलाई जागरुक बनाउन जरुरी छ । 

समाज जागरुक भयो भने समाजमा देखा परेका बोक्सी, छुवाछूत, बलात्कार, दाइजोलगायतका विकृति स्वयं निराकरण हुनेछन् । महिला हिंसालाई बढावा दिने अपराधीलाई कडाभन्दा कडा सजाय दिनका निम्ति नियम तथा कानुन कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । अन्यथा महिला अधिकारका कुरा केवल नारामा सीमित हुनेछन् । 


Views: 59