24th March | 2019 | Sunday | 8:37:27 AM

जनताको विवेक प्रयोग

स्वयम्भुनाथ कार्की   POSTED ON : फाल्गुन २७, २०७५ (५:२० AM)

जनताको विवेक प्रयोग

राजा महेन्द्रले नेपालीलाई सही अर्थमा जनता बनाउन चाहेका थिए । त्यसैले उनले लागु गरेको व्यस्थामा ‘गुण र दोषका आधारमा समर्थन वा विरोध’ प्रमुख थियो । जनता निर्भिक बनून् भन्ने सोचले उनी ‘नबिराउनू नडराउनू’ भन्थे । आफ्नो मनमा लागेको कुरा निर्धक्क अभिव्यक्त होस् भनेर सर्जकहरूलाई भनेका थिए– आफ्नो ब्रहृमले देखेको कुरा व्यक्त गरिदिए त्यो मुलुकको ठूलो सेवा हुनेछ । उनी आहृवान गर्थे– तिम्रै हो नागरिक हक, लेऊ का“धमा का“धै गरी । उनको यो सपना पूरा हुन सकेन, अब किन र को दोषी छ भन्ने बहस निरर्थक छ । नागरिक अधिकार खोज्दै मुलुक गणतन्त्र र संघीय शासन प्रणालीमा आइपुगेको छ । 

वर्तमानमा आफ्नो बुद्धि विवेक प्रयोग गर्न कन्जुस्याइँ गरेर कसैको होहोरेमा लाग्नेहरूको बाहुल्य छ । मानिसहरू पार्टीका आधारमा चल्छन्, विवेका आधारमा होइन । शायद राजा महेन्द्रको मृत्युपछिका झण्डै आधा शताब्दीपछि पनि नेपाली जनता उनले बनाउन खोजेको सार्वभौम जनता बन्न तयार छैनन् । कुनै पनि क्षेत्रमा चलेको हल्लाको भरमा दौडने स्वभाव छोड्न नेपाली जनता चाहँदैनन् । समयभन्दा धेरै पहिले नै विवेकशील जनता बनाउन खोजेर उनले गल्ति त गरेका थिएनन् ? अहम् प्रश्न यो छ । उनकोे मृत्युको झण्डै आधा शताब्दीपछि पनि जनताको प्रवृत्ति स्वेच्छाले सधैँ भेडा बनेर रहन चाहाने खालको छ । आफ्नाको भक्तिगान र अर्काको निन्दागान गर्ने प्रवृत्तिको उदाहरण खोज्नै पर्दैन । उदाहरण पन्छाउन नसकिने गरेर लगातार सामुन्ने आइरहेका छन् ।

कुनै नेपाली नायिकाले आत्महत्या गरिन्, किनभने कुनै पत्रिकाले उनको नग्न तस्वीर छाप्यो । ज्योति मगरको छोटो पहिरनको विरोध गरियो । हो सभ्यताको त्यो मान्यता होला र सभ्यताको पहरेदार बनेर गाली गरियो होला । तर, तिनै पहरेदार अश्लील चित्रपटकी नायिका सन्नी लियोनीको स्वागतमा र प्रशंसामा लाग्दा विचित्र लाग्छ । 

अझ राष्ट्रिय भनिएका सञ्चारमाध्यममा सन्नी लियोन नेपाल आउनुलाई ठूलो र गौरवपूर्ण कुराका रूपमा लिइन्छ । ज्योतिको अर्धनग्न लुगाले नेपाली सभ्यता भत्केको देख्नेहरू सन्नीको स्वागतमा दौडन्छन् भने खोइ विवेकको प्रयोग भएको ? अझ विपरीत लिंगीलाई उत्तेजित बनाएर वाहवाही लुट्ने नर्तकीभन्दा कठोर साधना दिनचर्या भएका नग्न वा दिगम्बर साधुलाई ज्यादा अश्लील देख्छन् किनभने यसो गर्न कसैले खटाएको छ । कसले कस्तो लुगा लगाउँछ त्यो मूल प्रश्न होइन । 

कुनै दुई दल जब जोडिने प्रक्रियामा लाग्छन्, दुवैका सदस्य एक अर्काको प्रशंसामा युद्धस्तरमा लाग्छन् । जब त्यो प्रयत्न असफल हुन्छ तिनै मुखहरू एक अर्काको उछित्तो काढ्न लाग्छन् । खोइ आफ्नो बुद्धि र विवेको प्रयोग ? अर्काले जे अह्रायो त्यही गर्न जनावरले पनि सजिलै मान्दैन भने मान्छे त सर्वश्रेष्ठ प्राणी हो, किन मानिरहेको छ र यो दासत्व किन स्वीकार गर्छ ? मानव सभ्यातामा आजसम्मको संघर्ष नै दासता विरुद्ध हो । 

एउटा सांसदको खोइरो खनेर नथाक्ने मुख जब त्यही सांसद सामुन्ने पर्छ धनुष्टंकार नमस्कारमा झुक्छ । त्यतिमात्र होइन चेतनशील बुद्धिजीवी भनिनेहरू पनि नियत समयभन्दा घण्टौँ पछिसम्म उसको आगमन कुर्छन्, किन ? त्यो सांसदले आफ्नो बराजुको सम्पत्तिजस्तै मनपर्दी खर्च गर्न पाउने जनताको पैसाबाट बनेको सांसद कोषबाट केही पाउन वा नेताका अतिरिक्त कृपाको आकांक्षाले होइन र ¤ विकृतिको जड नै यही हो । 

पञ्चायतकालमा शिक्षक, कर्मचारी आदिले सक्रिय राजनीति गर्न हु“दैन भनियो । त्यसलाई अन्याय भनेर तीव्र विरोध गर्नेहरू आज त्यही कुरा सही मान्दैछन् । पञ्चायतमा सञ्चारमाध्यम मर्यादित र जिम्मेवार हुनुपर्छ भनियो । यसलाई वैचारिक तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार मानियो । वर्तमानमा सरकार त्यही मर्यादित र जिम्मेवार बनाउने कानुन लागु गर्दैछ । पत्रकारको योग्यताको पुनर्परीक्षण गर्ने तयारीमा छ । सरकार सबैथोक आफ्नो अनुकूल हुने गरी नियन्त्रणमा राख्न चाहन्छ । 

स्थानीय निर्वाचित संरचनाहरूलाई पञ्चायतले स्थानीय सरकार बनायो, सकेसम्म अधिकार र स्रोतको विकेन्द्रीकरणको सुरुवात ग¥यो । हिजो त्यसको विरोध गर्ने मुख आज त्यसैलाई महान उपलब्धि भन्दैछन् । केही फरक भने अवश्य छ पञ्चायतमा ती निकायबाट बैठक भत्ता लिन पनि धक मानिन्थ्यो भने वर्तमानमा पहिले निर्धक्क आफ्नो सुविधा निश्चित गरिन्छ । अतिरिक्त सुविधा नभई कतै केही काम हुँदैन ।

पञ्चातयतले चार हजारको हाराहारी स्थानीय संरचना र चालीस हजारको हाराहारी उपसंरचना थेग्न सक्यो तर वर्तमानमा मुलुकभरि हजार पनि छैनन् यस्ता निकाय । ठिकै हो यति पाल्न पनि जनतालाई हम्मेहम्मे परेको छ तै पनि दोष भने पञ्चायतलाई नै छ । जनताको प्रतिनिधि जनतकै बीचबाट आउनुपर्ने हो तर नचिनेको र बाहिरको व्यक्तिलाई पनि चुन्नै पर्ने बाध्यता जनताको सम्मान हो कि अपमान खोइ सोचेको ? गाउँका सार्वजनिक कुराको सञ्चालन गर्न त्यही गाउँकाले चुनेको पञ्चायतको जिम्मा ठिक कि दलहरूले टीका लगाएर बक्सेकाहरूको जिम्मा ठिक ? कतिपय मतदाता वा कार्यकर्ता आफूले चुनेका प्रतिनिधि चुन्नु गलत थियो भनेर सार्वजनिकरूपमै भन्न लागेका छन् । 

हिजो बन्द, हड्ताल, तोडफोड आदिको सहारामा नेपाल अस्थिर हुने गरेर निरन्तर व्यवस्था परिवर्तन गर्ने लाग्नेहरू आज त्यसैको विरोधमा लागेका छन् । यस्ता काम हिजो पनि ठीक थिएनन्, आज पनि छैनन् र भोलि पनि हुने छैनन् तर त्यसको निमित्त हिजो त्यो गरेर आफूले गल्ती गरेको पश्चाताप आवश्यक हुन्छ र मात्र आज विरोध गर्न पाइन्छ । तर्कसंगत ढंगले मात्रै यस्ता समस्या समाधान गर्न सकिन्छ । 

आज आफूलाई मन परेको कुराको अरूले विरोध गर्न पाइँदैन भन्ने हो भने समयचक्रले आज तिनै बन्द विरोध गर्नेहरू भोलि सडकमा टायर बाल्न उद्यत हुनेछन् । हो रत्नाकर वाल्मीकि हुनसक्छन् तर वाल्मीकि भइसकेपछि उनमा फेरि रत्नाकरको छायाँ देखिनु हँुदैन । रत्नाकरको मुखमा बाल्मीकिको मुकुण्डो लगाएर स्वाङ गर्नेहरूलाई चिन्ने बुद्धि र विवेक सबैमा छ तर खै त्यसको प्रयोग ¤ नेताहरूले विवेक प्रयोग गरून् । 

कुनै व्यक्तिलाई क्षमतावान् देखेर उसलाई मान्नेबित्तिकै उसैको वाक्यलाई ब्रहृम वाक्य मान्नेहरूको बाहुल्य नेपालमा छ । त्यसैले यहा“ कुनै प्रश्न उठाइँदैन । सर्वहारालाई पु“जीपतिले सधैँ शोषण गर्छन्, पु“जीको निर्माण शोषणबाट मात्र सम्भव छ भन्ने सिद्धान्तमा आधारित कम्युनिस्ट दर्शनमा आधारित दलका नेता अरबपति छन् । कोही पहिलेदेखि नै अरबपति थिए भने कोही नेता भएपछि अरबपति भएका छन् । अहिलेको छाक जसोतसो टारेर भरे के खाऊँ भन्नेहरूका यस्ता अरबपति नेतासँग प्रश्न कहिले सोधिँदैन केवल अटल विश्वास छ भन्ने प्रदर्शन गरिन्छ । रातारात कमाउनु र जम्मा गर्नु नै जम्माजम्मी दर्शन भएको छ । 

तथ्य खोजेर त्यसको विवेचना गरेर आफूले निष्कर्ष निकाल्न खोजिँदैन । यसको कारण अल्छी भएर होइन त्यो क्षमताको अभाव हु“दै गएको हो । नेता भएपछि त्यो सर्वज्ञ हुन्छ भन्ने सोच यसरी हाबी हु“दैछ कि उद्यमशीलताको प्रशिक्षण दिन नेता आउन थाले । यस्तै हो भने कुनै दिन चिकित्सासम्बन्धी ज्ञान दिन कुनै नेता नआउलान् भन्न सकिँदैन । त्यस्ता असम्बन्धित क्षेत्रका व्यक्तिले भाषण दिँदा त्यहा“ लुइ पास्चरले खोपको विकास गरेर चिकित्सकको हात बा“धिदिए । उनले खोपको आविष्कार नगरेर रेडयोलोजीको खोज गरेका भए उपयुक्त हुने थियो । बरु भोक नलाग्ने औषधिको खोजी गरेको भए गरीब धनीको शोषणमा पर्ने थिएनन् भन्न बेर लगाउने छैनन् । यो हचुवामा भनिएको होइन, यस्तै प्रकृतिका कुरा आउन सुरु भइसकेका छन् ।

अग्रगामी हुन होहोरेमा दौडदा मध्य दिनलाई रात भनेर भन्ने आफूले मानेको परे भने विश्वास गरिन्छ । आफ्नो बुद्धि र विवेक सबै बिसाएर जस्तो कुरा पनि पत्याउने आजको वर्तमान पिँढीले मुलुकको भविष्य अध्यारोतिर लैजाने निश्चित छ । कुनै पनि वाद र कुनै पनि व्यवस्थाले यस्ता अरूद्वारा सञ्चालित ‘रोबोट’ सरहका नागरिक भएको मुलुक अगाडि बढ्न सक्दैन । कारण स्पष्ट छ, उनीहरूलाई विचार आपूर्ति गर्ने औँलामा गन्न सकिनेहरू सिद्धिने बित्तिकै यो पिँढी कुहिराको काग हुन्छ । त्यो लक्षण देखिन थालिसकेको छ । तर्कविहीन बुद्धिविहीन विचार प्रवाहित हुन थालेका छन् । विरोधको उत्तर तर्क र क्षमताले होइन बाहुबलले दिने प्रवृत्ति बढ्दैछ । त्यसैले विस्तारै मुलुक ‘डन’ हरूको नियन्त्रणमा पुग्दैछ ।

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 54