26th March | 2019 | Tuesday | 2:33:18 AM

नेपाल–भारत : विश्वासमा सुमधुर सम्बन्ध

श्रीमननारायण   POSTED ON : चैत्र १, २०७५ (५:१६ AM)

नेपाल–भारत : विश्वासमा सुमधुर सम्बन्ध

नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप गर्दै आएको आरोप विगत लामो समयदेखि लगाउने गरिएको छ । पञ्चायतको तीस वर्षमा भारतको विरोध नै नेपाली राष्ट्रवादको आधार बनेको थियो । पञ्चायती शासनको अवसानपछि पनि देशका वामपन्थी दल र वामबुद्धिजीवीहरूले भारत विरोधमा आधारित राष्ट्रवादको मान्यतालाई आफ्नो मूल राजनीतिक नारा बनाइ यसलाई निरन्तरता दिइरहेका छन् । भारतको विरोध गर्नु नै नेपाली राष्ट्रवाद हो भन्ने मान्यतामा विश्वास राख्ने देशका वामपन्थी र पूर्वपञ्च, राजावादी यथार्थमा देश र जनतालाई अन्योलमा राख्न चाहन्छन् । अहिले पनि भारतको उचित अनुचित विरोध÷आलोचना नै धेरैको राजनीतिक आधार हुने गरेको छ । 

नेपालप्रति भारतको हेपाहा प्रवृत्ति रहेको भन्ने मानसिकताले ग्रसित यस्ता कथित राष्ट्रवादीहरूकै कारण देशले आर्थिक प्रगति गर्न सकेको छैन । यथार्थमा दक्षिण छिमेकी राष्ट्र भारत नेपालको सहयोगी, शुभेच्छुक र घनिष्ठ भित्र राष्ट्र हो । भारले नेपालप्रति सधैँ सदाशयता एवं सहयोगात्मक धारणा राख्दै आएको छ । वर्तमान अवस्थामा पनि र विगतमा पनि भारत कहिल्यै नेपालप्रति बदनियत रहेन भन्ने कुराको पुष्टि कतिपय घटनाले साबित गरेको छ । 

कुरा २०२८ सालतिरको हो । जतिबेला पञ्चायती व्यवस्थाविरुद्ध केही बोल्नु अथवा लेख्नु अपराध मानिन्थ्यो तथा भारत एवं प्रजातन्त्रवादीहरू तत्कालीन नेपाल सरकारका निम्ति आँखाका कसिंगर बनेका थिए । त्यसबेला त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागको आयोजनामा विश्वविद्यालयकै सभाकक्षमा एउटा विचार गोष्ठीको आयोजना गरिएको थियो । त्यस कार्यक्रमका प्रमुख अतिथि थिए नेपालका राजनीतिक मामिलाका जानिफकार अमेरिकी विशेषज्ञ प्रोफेसर इ लियो रोज । 

त्यो युग थियो नेपालमा स्थापित बहुदलीय संसदीय प्रजातन्त्र मासेर शासनसत्ता हातमा लिएका अधिनायकवादी राजा महेन्द्रको । त्यतिबेला राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको थियो र अहिलेका कम्युनिस्टहरू पनि त्यतिबेला राजाकै जयजयकार गरिरहेका थिए । राजा र पञ्चायती शासनको विरोध गर्नेहरूलाई तात्कालीन सत्ताले अराष्ट्रिय तŒव घोषित गरेको थियो । हजारौं प्रजातन्त्रवादी भारतमै शरण लिएर बसेका थिए । साथै राजा र तिनका दरबारिया भारदारले नेपालका कथित अराष्ट्रिय तŒवहरूलाई शरण दिएको भनी आरोप लगाउँदै भारतलाई अघोषित ठूलो शत्रु मानेका थिए । जसरी अहिले पनि कतिपय कथित राष्ट्रवादी भारतलाई आफ्नो शत्रु ठानिरहेका छन् । त्यतिबेला विश्वविद्यालयमा पनि अनेकौं प्रोफेसर विद्वान र छात्रहरू यस्ता थिए जसले राजा महेन्द्र जिन्दावाद तथा भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउने गरेका थिए । त्यस्तो वातावरणमा आयोजित उक्त सेमिनारको प्रारम्भमै दरबारका अनेकौँ भारदार र राजावादी विद्वानले प्रोफेसर रोजसामु अनेकौं प्रश्न तेस्र्याएका थिए । 

त्यस सेमिनारमा सहभागी एक विद्वानका अनुसार राजावादीहरूले सोधेका प्रश्नमध्ये एउटा महŒवपूर्ण प्रश्न थियो, ‘नेपालप्रति भारतको सधैँ दुराशयपूर्ण नियत रहिआएको छ र ऊ येनकेन प्रकारेण नेपालमाथि कब्जा जमाउन चाहन्छ, नेपाललाई आफ्नो नियन्त्रणमा लिन चाहन्छ, यसबारे तपाईंको के धारणा छ ?’ 

यस प्रश्नले एक क्षणका निम्ति प्रोफेसर रोजलाई स्तब्ध बनाइदिएको थियो तर तत्कालै उनले राजाका वफादार भारदार र तिनका विद्वानसामु प्रतिप्रश्न तेस्र्याइदिए । उसो भए यसमा भारतसामु बाधा कहाँनिर थियो त ? व्यवधान कहाँ थियो ? यदि भारतको नियत खराब थियो भने यसमा उसलाई अप्ठ्यारो, असुविधा वा अवरोध कुन कुराले पु¥याइरहेको थियो ? 

जवाफमा प्रतिप्रश्न सुनेपछि प्रश्न सोध्नेहरू नाजवाफ भएका थिए । कसैले एक शब्द बोल्न सकेनन् । त्यसपछि प्रोफेसर रोजले सविस्तार बताउन सुरु गरे, ‘यदि भारतको नियत खराब थियो भने सन् १९५० (२००७ सालमा) नै उसले पूरै परिवारसहित नयाँदिल्लीमा शरण लिन पुगेका राजा त्रिभुवनसँग कुनै पनि किसिमको सम्झौता गराउनसक्थ्यो । तत्कालीन राणा शासकलाई पनि केही लिए दिएर कुनै अनुकुल सन्धि गर्न गराउन सक्थ्यो । तर, भारतले त्यस्तो केही गरेन । तसर्थ तपाईंहरूले यस्तो सोच्नु वा भन्नु उचित होइन । त्यसपछि प्रोफेसर रोजले बताउन थाले कि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री तथा शान्तिदूतका नामले विश्वविख्यात पण्डित जवाहरलाल नेहरू प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाललाई एउटा समृद्ध र बलियो छिमेकी राष्ट्रको रूपमा हेर्न चाहन्थे । यदि यस्तो थिएन भने उनले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन भगीरथ प्रयत्न गर्ने थिएनन् । त्यसपछि प्रोफेसर रोजले कसरी पण्डित नेहरूले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन मद्दत गरेका थिए भनेर बताउन थाले । 

पण्डित नेहरूले जब पहिलोपटक नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य बनाउन नेपालको आवेदन संयुक्त राष्ट्रसंघको सभामा प्रस्तुत गरे, तत्कालीन सोभियत संघले त्यस प्रस्तावलाई अस्वीकार गरिदियो । उसले नेपाल भारतको एउटा अविभाज्य हिस्सा (अभिन्न अंग) हो । तसर्थ नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन सकिँदैन भन्ने तर्क गरेको थियो । सोभियत संघले यसो भन्दै आफ्नो विशेषाधिकार प्रयोग गरेर आवेदनको प्रवेशमाथि विशेषाधिकार लगाइदिएको थियो । यतिमात्र होइन पण्डित नेहरूले जब केही दिनपछि पुनः नेपाललाई राष्ट्रसंघको सदस्यता दिलाउनेबारे प्रस्ताव प्रस्तुत गरे अनि दोस्रोपटक पनि सोभियत संघले भिटो प्रयोग ग¥यो । यसरी संयुक्तराष्ट्र संघमा नेपालले सदस्यता पाउनु त टाढाको कुरा उल्टो नेपालको आवदेनमाथि नै विचार गरी छलफल गर्नसमेत प्रतिबन्ध लाग्यो । 

तेस्रोपटक नेपालको आवदेनबाट भिटो हटाउन पण्डित नेहरूलाई त्यतिबेला सफलता हात लाग्यो जब उनले सोभियत संघका तत्कालीन नेताहरू बुलगानिन र ख्रुस्चेजलाई तेस्रोपटक भिटो नलगाउन सहमत गराए । भारतको यति प्रयास र कसरतका कारण नै नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त हुन सकेको हो । यस तथ्यको उल्लेख प्रोफेसर रोजले आफ्नो पुस्तक ‘डेमोक्रेटिक इनोभेसन्स इन नेपाल’ मा गरेका छन् । 

पञ्चायती व्यवस्थामा मात्रै होइन त्यसपछि र आजभोलि पनि नेपालमा कटुसत्य सुन्ने र सहन गर्ने क्षमता धेरैजनामा छैन । यथार्थ कुरा कोही बोल्न वा लेख्न चाहँदैनन् । भारतमाथि विस्तारवादी आरोप लागाउने नेपालका वामपन्थीहरूले भारतको सदाशयताको पनि चर्चा गर्न सक्नुपर्छ । नेपालका प्रत्येक राजनीतिक परिवर्तमा सहयोगी साबित हुँदै आएको दक्षिणी छिमेकी भारतको सहयोग र सदाशयताको पनि रौंचिरा गर्नेहरू नेपालमा धेरै छन् । लामो खुला सिमानाले जोडिएका दुई मुलुकबीच यदाकदा असमझदारी हुन हुन सक्छन् । जसको समाधान दुवै पक्षले कुशलतापूर्वक गर्दै आएका छन् । 

भारतका कुनै कलाकार वा लेखकले केही बोल्दा त्यसमा पनि हस्तक्षेप अर्थात् भारतको नाम सुन्नेबित्तिकै हस्तक्षेपको सम्भावना देख्ने यर्थाथमा नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको हेर्न चाहँदैनन् । नेपालका प्रत्येक राजनीतिक परिवर्तनमा भारतको सहयोगात्मक एवं सकारात्मक भूमिका रहिआएको छ । । राजनीतिक आन्दोलनहरूमा नेपाली जनताको चाहना विपरीत भारतले कहिल्यै कदम चालेको छैन, असहयोग गरेको छैन । कतिपयले नेपाल र भारतबीच भएको सन्धि एवं सम्झौताको खारेजीको माग पनि गर्दैआएका छन् तर यस्तो माग गर्ने दल, नेता र विद्वान यो कुरा सम्बन्धित व्यक्ति स्थान र उपयुक्त समयमा उठाउँदैनन् । समयानुकु परिमार्जन गर्न भारतले अस्वीकार गरेको छैन । 

भारतमा नेपालका प्रायः सबैजसो आन्दोलनकारी शरण लिएर अथवा लुकेर बसेका थिए । दक्षिणी छिमेकी भारतमा लोकतान्त्रिक शासन नभएको भए अथवा नेपालप्रति सदाशयता नभएको भए नेपालमा आजसम्म जेजस्ता परिवर्तन सम्भव भएका छन् ती सबै सजिलै सम्भव हुने थिएनन् । कि त सरकारको विरोध गर्ने आन्दोलनकारी जेलमा हालिन्थे, ठूलो संख्यामा मारिन्थे अथवा युरोपेली मुलुकमा गएर लुकेर बस्थे । 

नेपालका लोकतन्त्रवादीमात्रै होइन वामपन्थी नेताहरूले पनि आन्दोलनका समयमा भारतमा शरण लिएका थिए । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि झण्डै सात दशकदेखि नेपालको चौतर्फी विकासमा भारतले सहयोग गर्दै आएको छ । भारतको यो सहयोग स्वार्थरहित छ, यसमा शंका गर्ने ठाउँ छैन । भारतमा पनि लाखौं नेपालीभाषी छन् । नेपाललाई बढी फाइदा भएको छ, तसर्थ अवाश्यक विवाद सिर्जना गर्नु ठीक होइन । कहिलेकाहीँका असझदारीहरू सुल्झाउने कुशलता पनि दुवैतर्फका नेताहरूले देखाउँदै आएका छन् । 

भारत नेपालको निम्ति त्यस्तो छिमेकी मित्र राष्ट्र हो जो प्रत्येक संकटमा साथ दिँदै आएको छ । छिमेकीमाथि आरोप लगाएर द्विपक्षीय सम्बन्धलाई कमजोर बनाउने प्रयास गर्नुहुँदैन । नेपाल भारत सम्बन्ध न नयाँदिल्लीले तथा न काठमाडौंले बनाएको हो, न तिनले बिगार्न नै सक्छन् । किनभने, यसलाई धर्म, संस्कृति, परम्परा एवं प्रकृतिले बनाएको हो तथा यो जनस्तरमा स्थापित रहेको छ । 


Views: 43

सम्बन्धित सामग्री:

विकास बैंकका चुनौती

रिसव गौतम : चैत्र १०, २०७५ (११:०५ AM)