18th July | 2019 | Thursday | 2:13:27 AM

प्रेमपत्रमा बहकिएका मन

विनोद दाहाल   POSTED ON : चैत्र २, २०७५ (७:१८ AM)

प्रेमपत्रमा बहकिएका मन

न प्रेमपत्र र पत्रमित्रको परिभाषा थाहा थियो न ती किन लेखिन्छन् भन्ने नै बुझेको थियो । रेडियो नेपालबाट साँझ पाँच बजे बाल कार्यक्रम सञ्चालन हुन्थ्यो । यसका सञ्चालक वासुदेव मुनाल निकै आकर्षक ढंगले कार्यक्रम चलाउँथे । कार्यक्रमअन्र्तगत एउटा पत्रमित्र स्तम्भ थियो । यो स्तम्भ कुनैकुनै दिनमात्र राखिएको थियो । उनी पत्रमित्र स्तम्भमा सहभागी हुन चाहनेहरूले लेख्न भ्याउने गरी विस्तारै विभिन्न ठाउँबाट सहभागी भएका विद्यार्थीको नाम ठेगाना भनिदिन्थे । 

हामी यो स्तम्भ प्रशारण हुने दिन कपी र कलम लिएर बस्थ्यौं र प्रशारित नाम ठेगाना टिप्ने गथ्र्यौं । 

म छ सात कक्षामा पढ्थेँ । ठूलाको देखासिकी गरेर मैले पनि त्यसै गरेँ । अग्रजहरू यसरी कसलाई चिठी लेख्थे थाहा छैन । उनीहरू कुन आशयले लेख्थे त्यो पनि थाहा थिएन । विद्यालयमा कतिले कतिलाई चिठी लेखेको भनेर हल्ला पनि हुनेगथ्र्यो । 

अग्रजको गफ र उक्सावटमा लागेर मैले पनि दुई चारवटा प्रेमपत्र लेखेँ तर ती सबै शहीद भए होलान् भन्ने हाल मलाई लाग्छ । आफूसँग पढ्ने केटी साथी धेरैमा बीस प्रतिशतमात्र हुन्थे । तीमध्ये सबै फरासिला हुँदैनथे । राम्राको सानैमा विवाह हुन्थ्यो वा तिनीहरूसँग कसैले प्रीति गाँसिसकेका हुन्थे । मजस्तो अन्तरमुखी विद्यार्थीले यस्तो जोखिमपूर्ण काम गर्नु महाभारतको युद्ध जित्नु बराबर हुन्थ्यो । 

प्रेमपत्र लेख्नु भनेको माया पिरतिका कुरा लेख्नु हो भन्ने मात्र मैले बुझेको थिएँ । पत्रमित्र पनि यस्तै होला भन्ने मलाई लागेको थियो । ठूलाका उट्पट्याङ कुराले ममा यस्तो छाप परेको हुनसक्छ । मैले यसरी रेडियो नेपालको बाल कार्यक्रमबाट केटीको मात्र ठेगाना टिप्न थालेँ । अनि धमाधम तिनलाई चिठी लेख्न थालें । यस्ता पत्र ‘अधुरो जीवनको मधुरो सम्झना...’ बाट सुरु हुन्थे र ‘सगरमाथाभन्दा अग्लो र प्रशान्त महासागरभन्दा गहिरो माया...’ को सम्बोधन गर्दै अगाडि बढ्थे, बेहोरामा अनेकथरि फूल जडिन्थे । अन्त्यमा पत्रको प्रतिउत्तरको अपेक्षाका साथ समापन हुन्थे । अनि हुलाक अड्डामा पुगेर तिनलाई पोष्ट गरिन्थ्यो तर मैले लेखेका ती पत्रको कुनै प्रतिउत्तर कहिल्यै पाइनँ । 

उता कति साथी आफूले लेखेका पत्रको जवाफ आयो भनेर मख्ख पर्दै हामीलाई ती पत्रको मजबुन सुनाउँथे । म पनि एक प्रकारले रोमाञ्चित हुन्थेँ । तर धेरै वर्षपछि तिनको रहस्य खुल्थ्यो ती पत्र पनि नक्कली पत्रमित्रले लेखेका हुँदा रहेछन् । कसले कसलाई के भनेर पत्र लेख्यो भन्ने थाहा पाएका बाठा केटाले नै आफू केटी बनेर त्यसको जवाफ फर्काउँदा रहेछन् । पाउने केटो मख्ख, नपाउनेहरूमा ब्यग्रता र जवाफ लेख्नेमा उग्र छट्पटाहट र हाँसो । 

पछिपछि मैले पनि केही पत्र पाएँ नौ÷दश कक्षातिर पढ्दा तर आफ्नै कक्षाका चिनेका केटी साथीका । तिनलाई मैले प्रेमपत्र भन्न सकिनँ, तिनमा त मित्रतामात्र हुन्थे । 

ती पत्र पढ्दा मलाई अचम्म लाग्थ्यो । केटीभित्रको अन्तरहृदय ती पत्रबाट बुझ्न सकिन्थ्यो । तिनमा समर्पणको भाव त ज्याद गहिरो हुनेगथ्र्यो तर सूक्ष्म भय त्यसमा मिसिएको हुन्थ्यो । प्रेम गरेपछि नछोडोस् भन्ने उनीहरू चाहन्थेँ । अनि आफूबाहेक अरूसँगको सम्बन्धमा उनीहरू इष्र्या गर्थे । यसैगरी कतै कुनै केटाले अवाञ्छित सम्बन्धका लागि मात्र प्रेमको अभिनय गरेको पो हो कि भनेर पनि सचेत रहन्थे र यसरी धोका पाएका केही केटीबाट पाठ सिकेर आफू निकै चनाखो बन्थे । 

उनीहरू मन परेको केटाको नजिक बन्न गृहकार्य र अन्य कुनै पाठ सिकाइ माग्ने गर्थें र संयुक्त पठनको चाहना राख्थे । कहिलेकहीँ बाल लहडमा चिठी पनि लेख्थे र दिन्थे पनि तर आफ्नै चिनेका साथीबाट पाएका पत्रमा टाढाबाट नचिनेका मान्छेले पठाएजस्तो स्वाद पाइँदो रहेनछ । 

प्रेमपत्र वा पत्रमित्रको एउटा घतलाग्दो घटना हाम्रा साथीबीच भएको छ । एउटा साथी ओखलढुंगाबाट उदयपुरको कटारी बसाइँ स¥यो । उसले स्कुल पनि फे¥यो । कटारीको एकजना केटाले मागेअनुसार उसलाई हाम्रो मित्रले ओखलढुंगाको हाम्रो विद्यालयमा पढ्ने केटीको नाम ठेगाना दिएछ । अनि त्यो केटीका नाममा उदयपुरबाट धमाधम चिठी आएछन् । चिठी पाउँदोरहेछ तर तिठी  एकजना केटा साथीले र ऊ पनि धमाधम तिनको उत्तर लेख्न थालेछ आफैँ केटी बनेर । 

उता कटारीको त्यो पत्र लेखक पनि त्यसरी केटीले अनेकथरी भाषा र लयमा लेखेका चिठी पाएर मख्ख पर्दोरहेछ । यो क्रम निकै लामो समयसम्म चलिरहेछ तर दुईतीन वर्षपछि यसको पटाक्षेप भएछ । त्यसपछि हाम्रो साथी रामकृष्ण दाहाल (नाम परिवर्तन) ले हामीलाई ती डेढ दर्जनजति चिठी देखायो । 

विचरी ¤ त्यो केटीलाई आफ्नो जीवनसँग यी तीनजना केटाले मनलाग्दी खेलबाड गरेको पत्तै थिएन । हामीसँग ऊ निर्दोष हाँसो हाँसिरहेकी थिई । 

चिठी लेखक त्यो कटारीको सापकोटा केटाले ती केटीलाई फकाएको फुस्ल्याएको अनेकथरि भाषा मरीमरी हाँस्नुपर्ने खालको थियो । ‘हेर कनक (नाम परिवर्तन) यो संसार प्रेम नै प्रेमका रेखैरेखाले जेलिएको छ । कुन रेखाले कुनलाई समतेको हो भनेर बुझ्नै नसकिने गरी, घिरौंलाका रेखाझैँ...’ जस्ता अनेक प्रकारका दृष्टान्त ती पत्रमा थिए । त्यति सानै उमेरमा प्रेम र यौन बुझिसकेको हुँदोरहेछ मानिसले । अनि अनेक फूलबुट्टा भरेर मनमा साहित्यको बिउ रोप्न पनि उसले त्यही उमेरमा जानिसकेको हुँदोरहेछ । उसका ती चिठी राखेको भए अहिले ती साहित्यका केही विधाभित्र अटाउन सक्थे होलान् भन्ने मलाई लाग्छ । 

हामी एक रातभरि ती चिठी पढ्दै हाँस्दै ग¥यौँ तर उता केटी बनेको हाम्रो त्यो केटो साथीमा एक प्रकारको छटपटी थियो । ऊ निकै डराएको थियो । यसका कारण रहेछ कटारीको केटाले उसका पत्रको जवाफ कुनै केटाले नै लेखेको रहेछ भनेर थाहा पाएपछि उसलाई धम्की दिएर अन्तिम पत्र लेखेको रहेछ । त्यो पत्रमा ‘यदि कनकले मेरो चिठी पाएकी भए मसँग प्रेम गर्न राजी हुन्थी कि ¤ यसका लागि तँ अवरोध बनिस् । तँ त कनकका अगाडि पछाडि डुक्रिँदै हिँड्ने जुरे बहर पो रहिछस् । तेरो त्यो ढलकढलक हल्लिने जुरो भाँच्न सकिनँ भने म पनि कटारीको डन... सापकोटा होइन । हाम्रो प्रेम बिथोल्न तलाई के को आइतबार थियो हँ ? तँ एसएलसी पास गरेपछि काठमाडौं वा विराटनगर पढ्न जाँदाको बाटो त यही नै हो । त्यसबेला तेरो लास तावा खोलामा पल्टाउन सकिन भने म पनि एक बाउको छोरो होइन बुझिस्...’ भनेर लेखिएको रहेछ । 

तर, पछि यी दुवै अल्लारेले यस्ता कुरा बिर्सिए होलान् । तिनको भेट पनि भएन होला । यही कारणले कुनै घटना भएको सुनिएन । अहिले मलाई कोही टिनएजको केटाले कुनै केटीलाई प्रेमपत्र लेखेछ भनेको सुन्दा तिनै पुराना घटनाको सम्झना हुनेगर्छ । 


Views: 65