25th May | 2019 | Saturday | 9:53:10 PM

सुदूरपश्चिमको ऐतिहासिक दस्तावेज

प्रा.पवनकुमार ओझा   POSTED ON : चैत्र २, २०७५ (७:२१ AM)

सुदूरपश्चिमको ऐतिहासिक दस्तावेज

लगभग डेढ दर्जन सामाजिक, साहित्यिक एवं खोजमूलक विषयमा कृति प्रकाशन गरिसकेका व्यक्ति हुन् भोजराज ओझा । सुदूरपश्चिमको डोटीबाट सहज जीवन खोज्ने चाहनाले मधेशतर्फ झर्ने आमनेपालीकै वर्गमा पर्छन् लेखक ओझा । उनैले सिर्जना गरेको कृति हो ‘महर्षि अत्रि तथा ओझा वंश’ । 

खोजमूलक अध्ययन गर्ने प्रवृत्ति राख्ने ओझाले ल्याएको प्रस्तुत कृति खोजमूलक कृतिको एक नमुना रहेको छ । सोझो भाषामा प्रष्टसँग भन्नुपर्दा प्रस्तुत पुस्तक सुदूरपश्चिमको राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक विषयमा राम्रो प्रभाव र दख्खल जमाउन सफल ओझाहरूको वंशावली नै हो । 

वंशावलीभन्दा केही निजात्मक प्रकृतिको केही खास थर विशेषका मानिसको उत्पतिदेखि हालसम्म को कहाँ कसरी विकसित भएर आएका हुन् भन्ने कुरा यो पुस्तकमा चर्चा भएको छ । अनि तिनको वंशका उत्कृष्टताको गाथा, महŒव र समग्र समाजलाई के कस्तो योगदान दिनसके, उनीहरूको रहनसहन कस्तो रहृयो वा छ भन्नेजस्ता कुराका बारे वंशावलीमा लेखिएको छ ।

प्रायः वंशावलीमा यही प्रकृतिको सेरोफेरोमा लेखिने भएकाले वंशका थरबाहेक अरू मानिसको बढी चाख यसतर्फ नरहने कुरा बुझ्न सकिन्छ । तर, लेखक ओझाले प्रस्तुत कृति वंशावलीका विशेषताभन्दा अझ अघि बढेर डोटी क्षेत्रको सामाजिक, सांस्कृतिक प्रचलन एवं पररम्पराको गहन र मर्मस्पर्शी चित्रण गरेका कारण त्यस क्षेत्रका ज्ञान अनुराज्ञीका लागि यो कृति पठनीय छ । यस अर्थमा सो क्षेत्रका जोकेहीले प्रस्तुत पुस्तक संग्रह गरेर अध्ययन गर्नयोग्य छ । 

डेढ सयभन्दा बढी पृष्ठको पुस्तकमा विभिन्न ९८ शीर्षकअन्तर्गत ज्ञानबद्र्धक ऐतिहासिक विषय समेटिएका छन् । पुस्तक सृष्टिको प्रारम्भदेखि सुरु भएर ब्रहृमाजीका पुत्र महर्षि अत्रि एवं माता अनुसूयाबाट जन्मेका सन्तान ओझा हुन पुगेको र ओझाहरूको डोटी क्षेत्रमा भएको विस्तारको राम्रो र स्पष्ट चित्रण यहाँ गरिएको छ । ओझा वंश परम्परा सो भेगका सामाजिक, सांस्कृतिक एवं धार्मिक परम्परामा कतिविघ्न संलग्न र अभिन्न छ भन्ने कुराको सजिव चित्रण लेखकले प्रस्तुत गरेका छन् । 

यस क्रममा सो क्षेत्रका प्राचीन कोट, किल्ला, मठमन्दिर, डोटीको सेरोफेरोका राज्य, जाति थर साहित्य, कपासखेती, वनजंगल, तथा खेतपाखा, उत्पादन, खाद्य परिकार तथा भाँडाकुँडा, पशुपालन, गृहस्थ जीवन, मंलगमय गीत फाग, जैती, देउडा, भाषा, विसु, ओल्के, माघे संक्रान्ति, शिवरात्रिजस्ता महŒवपूर्ण संस्कार संस्कृति तथा परम्पराको पनि चर्चा भएको छ । 

सो क्षेत्रमा बसोवास गर्नेहरूले जान्नुपर्ने ऐतिहासिक कुरा लेखकले पुस्तकमा समेटेका छन् । साथै सुदूरपश्चिम नपुगेका तर सो भेगका बारेमा जान्न चाहने अनुरागीका लागि पुस्तकले स्पष्ट जानकारी दिनसक्छ । कृतिमा उल्लेखित ऐतिहासिक विषयवस्तु संकलनमा लेखक ओझाले गरेको स्थलगत खोज र अध्ययनलाई एक उत्कृष्ट अनुसन्धानकर्ताको कार्यभन्दा कम आकलन गर्न सकिँदैन ।

ओझाको वंश परम्परालाई लेखकले महर्षि अत्रिका वंशज भगवान् श्री विष्णुसँग जोडेका छन् । ओझा पहिले भट्टका रूपमा रहेको लेखकले बताएका छन् । ७६औँ पुस्ताका जमुना भट्ट शाके ३७० तिर बैतडीको स्वराडमा बसेका भन्ने उल्लेख कति प्रमाणित हुनसक्छ विचारणीय छ । त्यसपछि ८९पुस्ताका गोपाल ऋषि भट्टका सन्तानमध्ये प्रभाष्कारबाट ओझा वंश सुरु भएको लेखकको कथन छ । 

यसै पुस्ताबाट अत्रि वंशीय अन्य थर उपाध्याय, मिश्र, पाठक, अवस्थी, गौतम, चापागाईं, अछामी, शाहलगायत सुरु भएको लेखकको भनाइ छ । यसबारे उपरोक्त थरहरूका सन्तान र अन्य उत्सुक विद्वानको ध्यान जान जरुरी छ ।

लेखक ओझाले सिंगो सुदूरपश्चिमको इतिहासका बारेमा लामो तथा विस्तृत अध्ययन र अथक प्रयासपछि यो कृति प्रकाशन गरेको यसमा समेटिएका विषयवस्तुबाट प्रष्टिन्छ । अन्त्यमा, यो प्रकाशन अत्रि वंशावलीका साथै सो क्षेत्रको राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रको ज्ञान लिने जोकोहीका लागि पनि उपयोगीसिद्ध हुनसक्छ । लेखक ओझाको उज्ज्वल भविष्य र लेखनको सफलताको कामना गर्छु ।


Views: 66