21st July | 2019 | Sunday | 5:14:13 PM

सरकार र विद्रोही विप्लव

विनोद दाहाल   POSTED ON : चैत्र १५, २०७५ (५:२३ AM)

सरकार र विद्रोही विप्लव

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले एकपटक आफू सरकारबाहिर र स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उनलाई सम्बोधन गरेर भनेका थिए, ‘प्रधानमन्त्रीका जुत्ता मैले लगाइसकेको छु, त्यसैले कहाँ बिझाउँछ भन्ने मलाई थाहा छ ।’ उनको यो भनाइ र नेपाली जनमानसमा प्रचलित ‘ब्याएको गाईलाई मात्र ब्याउँदाको पीडा थाहा हुन्छ’ भन्ने उखानमा सामन्जस्य छ । 

कोइरालाले भनेझैँ प्रधानमन्त्री चलाएर बाहिर बसेका नेतालाई त्यो पद बिझाउँने ठाउँ मात्र थाहा हुने हो कि त्यो पदले दिलाउने भोग, विलास, ऐस, आराम, सुख, सुविधा र प्रतिष्ठा पनि थाहा हुने हो त्यो भने सामान्य जनतालाई थाहा हुने कुरा भएन । त्यसले भोग, विलास, ऐस र आराम नदिने हो भने उक्त पद प्राप्तिका लागि नेता किन मरिहत्ते गर्थे भन्ने कुरो भने सामान्य जनताले पनि महसुस गरिरहेका हुन्छन् । के यो पदमा बस्नु भनेको सिस्नाको ओछ्यानमा सुत्नुसरह हो त ¤ यदि हो भने यत्रो जोखिम मोलेर त्यसमा पुग्न यो तँछाडमँछाड हुनुनुपर्ने हो । 

आफू सत्तामा पुग्न मान्छेले जे पनि गर्छ भन्ने उदाहरण नेपाली कांगेसका नेताहरूले सूर्यमा मत खलालेको घटनै पर्याप्त हुन्छ । सम्भाव्य व्यक्तिलाई जसरी पनि हराएपछि आफू निर्विकल्प भइने सकू नि सोच उनीहरूमा पैदा हुनेरहेछ । तर, आफ्नो सोचअनुसार नहुँदा यो कालिदास प्रवृत्ति सावित भएको पनि त्यही बेलाको उदारहण काफी छ । 

हाँगाको टुप्पातिर आफू बसेर फेदतिर काट्ने कालिदास र आफ्नै पार्टीविरुद्ध अर्को पार्टीको चुनाव चिहृनमा मत हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिने नेतामा वैसम्य छैन । 

तत्कालीन मालेका एकजना नेता नेपाली कांग्रेस प्रवेश गर्ने भएका थिए र सबै तयारी पनि पूरा भएको थियो । तर, उक्त घटना देखेपछि उनले ‘भइगयो नेपाली कांग्रेसमा पनि न्याय हुँदोरहेनछ, म जहाँ छु त्यहीँ रहिरहन्छु’ भने, पार्टी फेरेनन्  । अहिलेसम्म पनि उनी आफ्नै दलमा स्थिर छन् र बेला बेलामा चुनावको प्रत्यासी पनि बन्दै आएका छन् । नेताले एकपटक गल्ती ग¥यो भने देशमा सय वर्षसम्म त्यसको दुष्परिणाम रहिरहनसक्छ । हामी पनि यस्ता दुर्भावनाको मारमा परिरहेकै छौँ ।    

नेपालको पछिल्लोचरणको  प्रजातन्त्र कांग्रेस कम्युनिस्टले मिलेरै ल्याएका हुन् । २०४६ र २०६२÷०६३ सालमा पनि उनीहरू मिलेरै आन्दोलन गरेका हुन् । कम्युनिस्ट सिद्धान्तलाई नेपाली हावा, पानी र माटो अनुकुलको राज्य प्रणाली नमानेरै होला सुरुसुरुमा नेपाली कांग्रेस निर्विकल्प बन्दै गयो र बहुमत पनि पायो । तर, यसले जनभावनाबमोजिम काम नगरेकै कारण पछिपछि जनविश्वास गुमाउँदै गयो । 

अहिले नेकपाले बहुमत ल्यायो र सरकार बनायो तर सरकार प्रमुखको रुखो बोली र विपक्षीमाथि गरिने क्षुद्र कटाक्ष धेरैलाई मन नपर्ने खालका हुन्छन् । यो त विपक्षीप्रतिको व्यवहार भयो । यसलाई स्वाभाविक मान्न पनि सकिएला । विरोधीप्रति पनि मायालु वचन बोल्नु र स्नेहवत् व्यवहार गर्नु त साधु सन्तका काम हुन् । राजनीति त साधु सन्तले गर्ने होइन राजनीतिज्ञले गर्ने हो । अनि तीबाट त्यस्तो व्यवहार कसरी अपेक्षित हुनसक्छ त ¤ पनि भनिएला । त्यसलाई पनि स्वीकार गरौं तर विप्लवको पार्टीमाथिको प्रतिबन्धलाई के भन्ने ¤ यो स्वाभाविक हो वा अस्वाभाविक हो भनेर दुवैतिर तर्क तेस्र्याउन नसकिने होइन । 

दुवैथरि मत दिनेहरूका आआफ्नै तर्क हुँदा होलान् तर सिधा आँखाले हेर्दा एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि किन यसरी प्रतिबन्धको ठेडी नै ठोकिदियो त ? अरू कुनै विकल्प सकिएका हुन् वा त्यस्ता विकल्प खोज्ने चाहना नगरिएको हो । आफ्नै जातभाइमाथिको निषेधको यो  ऐलानमा पूर्वमाओवादीले पनि दस्तखत गरेकै हुन् कि पूर्वएमालेको हठको स्वीकारोक्तिमा यो दरखास्त ठोकिएको हो । 

आफूले गर्दा त्यही जायज अनि अरूले गरे नाजायज ? यसको तात्पर्य विप्लवले हिंसाको दुन्दुभी फुकिरहून् भन्ने पनि होइन । हलो नतान्ने भए पनि गोरु मार्न पाइँदैन नेपालमा । सिर्कना लाउनुपर्छ र बस्यो भने खोर्सानीको धुवाँ लगाउनुपर्छ । 

‘जोगी हुन राजनीति गरेको होइन’ भन्ने चिरञ्जीवी गुरुको जस्तै तयारी उत्तर सबै राजनीतिज्ञको ओठमै होला र ? हुँदैन भने हिजोको आतंकको पर्याय माओवादी शान्ति प्रक्रियामा आउँदा एउटा सानो छेस्को विप्लव पार्टी विश्वसनीय आधार पाए कसो नआउला ? पहल गर्नुपर्छ नि त, गरेको छ त यस्तो पहल ? यो प्रश्न सरकारलाई सोधिएको हो । 

एकजना कानुनका विद्वान मानिन्थे र तिनले सयौं कांग्रेसी नेता र केही कम्युनिस्टका समेत मुद्दामा विनादस्तुर बहस पैरवी गरेका थिए पञ्चायतकालमा । यो पंक्तिकार नेपाली कांग्रेसको जमलस्थित पार्टी कार्यालय हेर्ने उत्सुकता बोकेर पञ्चायतकालको टुप्पोतिर त्यहाँ पुगेको थियो । त्यहाँ विपी मार्काको भादगाउँले कालो टोपी भाँचेर लगाएका एकजना होचो तर मोटोमोटो कदका नेता भाषण गर्दै थिए । उनले नेता त्रयतर्फ संकेत गर्दै भने, ‘प्रजातन्त्र ल्याउन त त्यति गाह्रो छैन ल्याइएला, पहिले सात सालमा पनि ल्याइएकै हो तर बचाउने काम जटिल छ । त्यसबेला पनि बचाउन सकिएन, अब पनि कसरी बचाउने भन्ने योजना बनाएरमात्र प्रजातन्त्र ल्याउने लडाइँ लड्नु उचित होला कि ।’ पछि उनले भनेजस्तै भयो नेपालको प्रजातन्त्र । उनी दमननाथ ढुंगाना रहेछन् । 

निकै पछि अर्को एउटा सन्दर्भमा उनले भनेको कुरा पनि सान्दर्भिक छ । द्वन्द्वकालमा उनले भनेका थिए, ‘अहिले माओवादीले जसरी अरूलाई ढुंगा हानिरहेको छ पछि त्यसलाई पनि ढुंगा हान्ने अरू कोही निक्लिन सक्छन् ।’ 

अहिलेको विप्लव पार्टी उनले भनेअनुसारको एउटा पार्टी हो भन्न सकिन्छ । तर, यो एउटा सानोजस्तो देखिएको पार्टीसँग निकै नै डराएजस्तो देखिएको छ सरकार । यसका दुईवटा कारण हुनसक्छन् । एउटा यसको सामरिक क्षमता थाहा पाएर वा थाहा नपाएर पनि सरकार यसरी डराएको हुनसक्छ । अर्को यसलाई कम आकलन गरेर सरकारले यसलाई हेपेको पनि हुनसक्छ । 

२००७ सालमा कम्युनिस्ट पार्टीमाथि अरूले प्रतिबन्ध लगाएका थिए भने अहिले कम्युनिस्ट पार्टीले नै लगाएको छ । टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा उदारतापूर्वक यो पार्टीमाथिको प्रतिबन्ध हटाइएको थियो । झापा आन्दोलनका लागि त्यसको १५ वर्ष पर्खिनुप¥यो । कम्युनिस्ट पार्टीका त्यसयताका उतारचढाव सबै देखेकै छ । इतिहासमा यो नवीनतम् पक्ष हुनसक्छ, अहिले बाचेका नेपालीको जीवनकालकै इतिहास । 

कम्युनिस्ट पार्टीमाथ प्रतिबन्ध लागेको त्यसबेलाको समय र परिस्थिति दुबै अहिलेको सँग मेल खाँदैन । विप्लवले नख्खुमा बम नहान्नुपथ्र्यो नत्र उसका हालका क्रियाकलाप  त्यति हिंसात्मक थिएनन् । एनसेलमाथिको यो घटनापछि माओवादीका शीर्षस्थ नेताले उक्त संस्थासँग निकै मोटो रकम चन्दा लिएर कर छुटको व्यवस्था मिलाउने आश्वासन दिइएको कुरा सार्वजनिक भयो । 

प्रचण्ड बेस्सरी डराए तर विप्लव हाम्रो यस्तो योजना छैन भन्छन् । कसैमाथि एक्सन र सफायाको नीति नभएको र हिंसात्मक योजना पनि नभएको उनी बताइरहेका छन् । हाम्रो यस्तो योजना छैन भनिरहेका उनलाई तेरो हिंसात्मक योजना छ भनेर जबरजस्ती निछोट्नुको पनि तुक छ जस्तो लाग्दैन । उसले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम पनि फिर्ता गरेको छ । 

शंकाले लंका जलाउनेतिर नलागी उसलाई वार्तामा बसाउनु बुद्धिमानी कुरो हो । यसो गर्नसके जनताका मनबाट हतियारको त्रास हट्नेछ । सबैले कुरा बुझेर  वार्ताबाटै निकास निकाल्नु उचित हो । आखिर हतियार खास्न पनि त हतियार चलाउनैपर्छ होला । त्यसबेला ‘क्रस फायरमा परेर यतिजनाको मृत्यु भयो’ भन्ने खबर आउँदैन भनेर कसैले प्रत्याभूति दिनसक्छ ?


Views: 132

सम्बन्धित सामग्री:

धानखेती र प्रविधि

सरोज दाहाल : श्रावण ५, २०७६ (१२:५६ PM)