21st July | 2019 | Sunday | 4:56:46 PM

कथा : पहिरन

सृजना शर्मा चुडाल   POSTED ON : चैत्र १६, २०७५ (७:२७ AM)

कथा : पहिरन

आज चिसो बढेको छ । पुसको दिन जाडो बढ्नु र दिन छोटो हुनुले आममानिसलाई जस्तै सुरेखालाई पनि पिरोल्छ । आँखा मिच्दै उठेर हतार हतार लुगा लगाउनु र अफिस जानु उनको दिनचर्या हो । 

नीलो जिन्स पाइन्ट, सेतो टिसर्ट र कालो कोटमा सजिएकी सुरेखा निकै आत्मविश्वासी र सुन्दरी देखिन्छिन् । उनी जति आत्मविश्वासी देखिन्छिन् त्योभन्दा बढी छिन् । यो सिंगो संसारमा उनले गर्न नसक्ने केही छैन भन्ने आँट र हौसला लिएर गाउँमा कलेज सकेर काठमाडांैमा संघर्ष गर्न होमिएकी उनी निकै उत्साही छिन् । 

जिन्स उनलाई लुगामध्येमा सबैभन्दा मन पर्छ । सदाबहार पाइन्टमा सजिनु उनलाई सजिलो लाग्छ । चाहे भोजभतेर हुन् या कलेज सबैतिर उनी यही पोशाक लगाएर जान्छिन् । सधैँ यो छरितो पोशाक पाइन्टमा सजिएर हिँड्ने उनी कसले कस्तो पहिरन लगायो भनेर कहिल्यै पर्वाह गर्दिनन् । उनी विश्वासका साथ पाइन्ट लगाउँथिन् । त्यो विश्वासले गर्दा हो वा उनको बान्की परेको शरीरले हो उनलाई पाइन्ट लगाउँदा आकर्षक देखिन्थ्यो ।

जिन्स लगाएर कलेज जाँदा बाटोमा केटाले उनलाई जिस्याएर हैरान पार्थे । मनमनै अथाह रिस बोके पनि नबोली हिँड्नु सुरेखाको बाध्यता थियो । यही पाइन्टका कारण तिनले आफूलाई जिस्क्याएका हुन् भन्ने उनलाई लाग्थ्यो तर पनि पाइन्टसँग उनको मोह भने कहिल्यै घटेन बरु अझै बढेर गयो ।

आज भने कताकता पाइन्ट लगाएकामा खल्लो पनि लागेको छ सुरेखालाई । आज अफिसबाट घर आउने क्रममा उनी र एक विदेशी महिला एउटै बाटो हिँडिरहेका थिए । सुरेखालाई घर पुग्न हतार भइरहेको थियो । उनी आफ्नो गति सीमित गर्ने पक्षमा थिइनन् तर ती विदेशीले दुई तीन पटक आफूलाई नियालेर हेरेको उनले महसुस गरेपछि एकपटक सुरेखाले पनि उनलाई हेरिन्, दुवैका आँखा जुधें र सँगै मुस्कुराए दुवैजना । 

ती महिलाले सुरेखातिर हेर्दै भनिन्, ‘आई एम जस्ट सिइङ् नेप्लिज योंगस्टार्स इन वेष्टर्न डे«सेज’ उनले मुसुक्क मुस्कुराएर भनिन्, ‘यस आई फिल कम्फर्ट एण्ड कनफिडेन्ट इन दिस डे«स ।’ यति कुरो गरिसकेपछि बाटो अलग भयो सुरेखा र उनको तर ती विदेशीको दुई लाइनले सोचमग्न बनायो सुरेखालाई ।

आफ्नो विस्तरामा पल्टेर उनी एकोहोरो सोचिरहेकी थिइन् । मनभित्र सही या गलतको आँधीबेरी चलिरहेको थियो । विदेशी पर्यटक नेपाल आउँछन् । उनीहरू किन आएका हुन् भन्ने प्रश्न पनि उठ्नसक्छ । आफ्नो देशमा नभएका कुरा हेर्न उनीहरू यहाँ आएका हुन् । 

नयाँ कुरा हेर्न र सिक्न, यो देशको पहिचान थाहा पाउन यहाँका मानिसको रहनसहन, खानपान, संस्कृति बुझ्न उनीहरू यहाँ आएका हुन् । अनि हामी उनीहरू जस्तै भयौं, उनीहरूकै भाषा, उनीहरूकै भेष, उनीहरूकै धर्म, उनीहरूकै संस्कृतिलाई अनुसरण गर्न थाल्यौँ भने हाम्रो आफ्नो पहिचान त केही पनि बाँकी रहेन । क्रमशः हाम्रो स्वत्व समाप्त हुनै लागेको त होइन ? भन्ने उनलाई लाग्यो । 

आज जसरी पाइन्ट तिम्रो होइन भन्ने महसुस ती विदेशीले गराइन् त्यो सुरेखाको लागि पीडादायी हुनपुग्यो । नजानिँदो तरिकाले ती विदेशीले म यो हेर्न आएकी होइन, म त तिम्रो आफ्नो भेष भूषा के छ त्यो हेर्न आएकी हुँ भनेको महसुस भयो उनलाई । मनमनै नमिठो पनि लाग्यो सुरेखालाई । उनले लामो सुस्केरा काढिन् । सुस्केरासँगै हल्का आराम भयो उनलाई । 

ढोकाबाहिर कसैको पदचाप सुनियो, उनकी आमाको हो भनेर उनले ठम्याइन् र जुरुक्क उठिन् । उनकी आमालाई ढिलासुस्ती गरेको मन पर्दैन । आमाले कफी दिएर गइन् । आमाले बाक्लो दुधमा बनाएको कफी निकै मनपर्छ उनलाई । कफीको चुस्कीसँगै फेरि पनि सोचमग्न भइन् सुरेखा ।

धर्म, संस्कृति, भाषा हाम्रो मूल्य, मान्यता, संस्कार र निष्ठासँग जोडिएका हुन्छन् । त्यसबाट हामी विचलित हुनुहुँदैन तर लुगा अब कुनै एउटा देशको मात्र भएको छैन । संसार एउटा सानो गाउँ भइसक्दा पहिरनलाई यो मेरो देशको होइन लगाउँदिन भन्ने जमाना होइन यो । मेरो देशको राष्ट्रिय पोशाक फरिया हो भनेर सधैँ फरिया लगाएर हिँड्न पनि सकिँदैन । त्यसो त जापानमा पनि किमोनो राष्ट्रिय पोशाक हो तर जापानी नागरिक पनि सधैँ किमोनो लगाएर हिँडेको देखिँदैन त्यहाँ । पश्चिमी लुवाइ खुवाइले अहिले संसारमा राज गरेको छ । पाइट पनि यही सन्दर्भको प्रतिनिधि बनेर आएको हो । 

अतःआफ्नो देशको भेषभूषालाई जोगाउने हो, आवश्यकताअनुसार लगाउने हो तर कुनै लुगा पश्चिमाको हो लगाउने होइन भन्ने पनि हुँदैन । आफूलाई जे छिटो छरितो र सजिलो हुन्छ र तिनलाई समाजले स्वीकार गरिसकेको छ भने त्यो कपडा प्रयोग गर्न असजिलो मान्नुपर्ने कुनै कारण पनि त छैन नि । 

बल्ल सुरेखाको मनको आँधीबेरी थामियो निकै बेरको मन्थनपछि । म गलत होइन भन्ने अन्तस्करणको आवाजले र मिठो कफीले थप ऊर्जाशील बनायो उनलाई तर उनी आफ्नो राष्ट्रिय पोशाकप्रति सचेत रहनुपर्छ भन्ने दृढतामा पुगिन् । यही अठोटका साथ उनी जुरुक्क उठिन् र आमालाई काम सघाउन भान्सा कोठातिर लागिन् । 

 समाप्त


Views: 318

सम्बन्धित सामग्री:

धानखेती र प्रविधि

सरोज दाहाल : श्रावण ५, २०७६ (१२:५६ PM)