21st July | 2019 | Sunday | 4:15:19 PM

फाइनान्स कम्पनी : चुनौती र अवसर

रिसव गौतम   POSTED ON : चैत्र १७, २०७५ (११:४७ AM)

फाइनान्स कम्पनी : चुनौती र अवसर

नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गमा सूचीकृत गरेका फाइनान्स कम्पनी पुँजी वृद्धि तथा मर्जरको प्रावधानसँगै अत्यधिक घटेका छन् । केही वर्षअघि ८० ओटासम्म पुगेका फाइनान्स कम्पनीको संख्या राष्ट्र बैंकको पुँजी वृद्धिको प्रावधानसँगै अहिले घटेर २४ मा  आइपुगेको छन् । 

वास्तवमा नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको प्रावधानको प्रभाव सबैभन्दा बढी फाइनान्स कम्पनी र विकास बैंकमा नै प¥यो । अहिले भएका २४ ओटा फाइनान्स कम्पनीमध्ये कतिपय मर्जरको प्रक्रियामा छन् भने कतिपय सुदृढीकरणको बाटोमा छन् । वित्तीय क्षेत्रका विज्ञ सरोकारवालाले फाइनान्स कम्पनीको संख्या १२–१५ भन्दा बढी हुनु नपर्ने र त्यही हाराहारीमा आइपुग्ने पनि बताउँदै आएका छन् । यसरी हेर्दा नेपालमा फाइनान्स कम्पनीको अवस्था सबल देखिँदैन । फाइनान्स कम्पनी वाणिज्य बैंक, विकास बैंकसँगको प्रतिस्पर्धाले थिचिएका देखिन्छन् । 

पुँजी वृद्धि तथा मर्जरको नीति आएसँगै धेरैजसो फाइनान्स ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक तथा एक अर्कामा मर्ज भएका देखिन्छन् । पुँजी वृद्धि तथा मर्जरको प्रावधानले खासगरी विकास बैंक र वाणिज्य बैंककै संख्या घट्ने विश्लेषण भएको थियो । तर, फाइनान्स कम्पनीको संख्या अधिक भएका कारण उनीहरू नै विकास बैंक तथा कतिपय वाणिज्य बैंकसँग मर्ज भए । त्यसरी मर्ज हुँदा फाइनान्स कम्पनी त घटे तर विकास बैंकको संख्या अपेक्षा गरेअनुसार घटेन । यसरी अहिले विकास बैंकको उपस्थिति बलियो बनाउन फाइनान्स कम्पनीको भूमिका उल्लेख्य रहेको देखिन्छ । 

फाइनान्स कम्पनीले पनि बजारमा आफ्नै खालको विश्वास र आधारभूमि बनाउँदै गएका देखिन्छन् । यसका लागि उनीहरूले निकै वर्ष संघर्ष पनि गरेका हुन् । फलस्वरूप बजारमा उनीहरू टिकिरहेका देखिन्छन् र सुदृढ हुने क्रममा छन् । अहिले त कतिपय फाइनान्स कम्पनीले बैंकसरह वित्तीय सेवा सुविधा दिइरहेका छन् । पुँजी वृद्धिको प्रावधान अंगीकार गर्दै सबैजसो फाइनान्स कम्पनीले ८० करोड चुक्ता पु¥याउँदै छन् । कतिपय पु¥याउने तरखरमा छन् । 

खासगरी फाइनान्स कम्पनीलाई आफ्नो स्पेस वा बजार कहाँ सुरक्षित गर्ने भन्नेमा चुनौती रहेको छ । ‘क’ वर्गका वाणिज्य बैंकले शहर बजारदेखि दुरदराजसम्म आफ्नो पखेटा फिजाएका देखिन्छन् । ‘ख’ वर्गका विकास बैंक र ‘घ’ वर्गका लघुवित्तले ग्रामीण क्षेत्रमा आफ्नो उपस्थिति एवं प्रभाव बलियो बनाएका देखिन्छन् । यस्तो अवस्थामा फाइनान्स कम्पनीले पनि आफ्नो आधारभूमि तय गर्नुपर्ने आवश्यकता छ । आधारभूमिमात्रै होइन, फाइनान्स कम्पनीले ग्राहकलाई दिने सेवा तथा सुविधा र ग्राहक व्यवहारमा बैंकको भन्दा भिन्न हुन जरुरी छ । केही हदसम्म त्यस्तो अभ्यास नेपालका फाइनान्स कम्पनीले गरेका पनि छन् ।

खासगरी राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूलाई बैंकसरह वित्तीय कारोबार गर्ने अधिकार दिएको छ । अहिले नेपालमा बैंक, विकास बैंक र फाइनान्स कम्पनीले दिएको सेवा सुविधामा भिन्नता देखिँदैन । सबैले उस्तै प्रकारका सेवा दिइरहेका छन् । यति हो फाइनान्स कम्पनी आफ्ना सेवाग्राहीसँग नजिक देखिन्छन् । कारोबार छिटो, छरितो र झन्झटरहित बनाउने कुरामा फाइनान्स बढी अभ्यस्त देखिन्छन् । उनीहरू वाणिज्य बैंकभन्दा सहज हुन खोजेका देखिन्छन् । 

बैंकसँगको चर्को प्रतिस्पर्धाका कारण अहिले फाइनान्स कम्पनीको प्रमुख चुनौती निक्षेप संकलन बढाउनु नै हो । फाइनान्स कम्पनीलाई शहर बजारमा केही हदसम्म सहकारीले कारोबार गरिदिएर सघाएका छन् । फाइनान्स कम्पनीको पुँजीको आवश्यकता पूरा गर्न केही हदसम्म सहकारीले सघाएको छ । तर ठूलो स्केलको निक्षेप तान्न नसक्नु र त्यस्तो निक्षेप नआउनुले पनि फाइनान्स कम्पनीलाई पुँजीको संकट निम्त्याएको देखिन्छ । निक्षेप बढाउने उनीहरूले आफ्नो विश्वसनीयता बढाउनुपर्छ । उनीहरू यो क्रममा देखिन्छन् । 

खासगरी धेरैजसो फाइनान्स कम्पनी शहरबजारमा केन्द्रित छन् । धेरैको केन्द्रीय कार्यालय काठमाडौंमा छ । वाणिज्य बैंकले सेवा सुविधा दिन नसकेका र तिनीहरूसँग तर्किएका ग्राहक बढीजसो फाइनान्स कम्पनीसँग आकर्षित देखिन्छन् । अर्को, ठूला वाणिज्य बैंकसम्म नपुगेका र ठूलो मात्रामा कारोबार गर्ने कर्पोरेट बैंकभन्दा आफ्नो आर्थिक हैसियत मिल्ने फाइनान्स कम्पनीमा नै कारोबार गर्न रुचाउने ग्राहक पनि यहाँ धेरै छन् । यस्तो अवस्ता त सधैँ रहिरहन्छ । 

पुँजी वृद्धिको प्रावधानपछि आजका फाइनान्स कम्पनी एउटा आकारमा आएका देखिन्छन् । उनीहरूको आजको हैसियत हिजोका विकास बैंकको जत्तिकै भएको छ । पुँजी वृद्धिसँगै फाइनान्स कम्पनीको विश्वासमा बढवा आएको छ । तर, पुँजी वृद्धिपछि त्यसैगरी आफ्नो आर्थिक गतिविधि र नाफा बढाउने चुनौती फाइनान्स कम्पनीलाई छ । उनीहरूले आफ्नो शाखा पनि विस्तार गर्दै लैजानुपर्ने चुनौती छ । 

यति हुँदाहुँदै धेरैजसो शहर बजारमा केन्द्रित फाइनान्स कम्पनी आर्थिकरूपले तल्लो वर्गसँगको सामिप्यमा रहने भएकाले उनीहरू तरलता संकटबाट टाढा छन् । विगतका वर्षमा बैंकलाई तरलताले गाँज्दा पनि फाइनान्स कम्पनीमा त्यसको प्रभाव उत्ति साह्रो परेको थिएन । यो सकारात्मक पक्ष हो । 

नेपालमा अझै पनि गरिबी र कमजोर चेतनाका कारण सहकारी र फाइनान्सलाई कतिपयले एकै नजरले हेर्ने गरेका छन् । खासगरी फाइनान्स कम्पनी र सहकारीहरूले उस्तै तरिकाले तल्लो आर्थिक हैसियत भएका ग्राहकलाई वित्तीय सेवा दिँदै आएकाले पनि धेरैको मानसपटलमा त्यस्तो भएको हुनसक्छ । तर नेपाल राष्ट्र बैंकको अधिकार र क्षेत्राधिकारको माताहतमा रहेर कारोबार सञ्चालन गर्दै आएका फाइनान्स कम्पनी सहकारीसँग दाजिने कुरा हुँदैन । सहकारी केन्द्रीय बैंकको नियमन प्रणालीमा छैनन् । यद्यपि सहकारीले पनि आफ्नो क्षेत्रमा धेरै राम्रो गर्दै आइरहेका छन् । न्यून आय भएका परिवारको बचत बढाइदिएका छन् र फाइनान्स कम्पनीसँगै कारोबार गर्ने गरेका छन् । यसबाट दुवै पक्ष लाभान्वित भएका छन् । 

वित्तीय संस्था भनेर चिनिने फाइनान्स कम्पनी कारोबारका हिसाबले थप सहज, सुरक्षित र प्रणालीबद्ध छन् । राष्ट्र बैंकको हरेक निर्देशन परिपालना गर्दै पारदर्शीरूपमा फाइनान्स कम्पनी अघि बढेका छन् । सहकारी त्यति प्रणालीबद्ध छैनन् । यो पनि फाइनान्स कम्पनीका लागि सकारात्मक पक्ष हो । 

राष्ट्र बैंकको निर्देशनअनुसार ८० करोड रुपैयाँँ चुक्ता पुँजी पु¥याएका फाइनान्स कम्पनी अब पुँजी र लगानीको हिसाबले पनि सबल छन् । यी कम्पनी आफ्नो वर्ग, बजार वा आधारभूमि तय गरेर थप सुदृढीकरणतर्फ लाग्नु अहिलेको आवश्यकता देखिन्छ । वाणिज्य बैंक, विकास बैंकले जेजसरी सुविधा दिइरहेका छन् त्योभन्दा भिन्न र अझ पारदर्शी, विश्वसनीय, आधुनिक सेवा सुविधा दिन फाइनान्स कम्पनी तत्पर हुनुपर्छ । यस निमित्त उनीहरूले आफ्नो क्षमता बढाउनुपर्छ । निश्चय नै २०–२५ ओटा फाइनान्स कम्पनी मुलुकले धान्न सक्छ र यतिको संख्या आवश्यक पनि छ । तर यिनीहरूले शाखा विस्तारमा उत्तिकै ध्यान दिनुपर्छ । बैंकले दिएका सेवा सुविधाबाट बाहिर रहेका र उनीहरूबाट अलग हुन चाहनेहरूलाई आकर्षित गर्नुमा नै वित्तीय संस्थाको भविष्य छ । उनीहरूका लागि यस्तो अवसर पनि छ । अवसर उपयोग गर्न तत्पर रहनु आवश्यक छ । 

तर, अहिले आफ्नो भविष्य नै संकटमा रहेको आंशकामा फाइनान्स कम्पनी बैंकसँग हतारिएर मर्जरमा गएका छन् । त्यो दृष्टिकोण गलत हो । मुलुकमा फाइनान्स कम्पनीको भविष्य सकिँदैन । किनभने यिनीहरू कम आय भएका व्यक्तिका लागि हुन् । हाम्रो देशमा यस्तो संख्या निकै ठूलो छ । अर्को, बैंकले भन्दा सहज र ग्राहकमैत्री सेवा सुविधा दिइरहँदासम्म फाइनान्स कम्पनी मौलाउने नै छन् । यसो गर्न उनीहरू तत्पर पनि छन् । त्यसकारण फाइनान्स कम्पनी जेजति छन् उनीहरूले एक खालको आफ्नै बजार बनाएका छन्, विश्वास कमाएका छन् । यसले गर्दा उनीहरू सुरक्षित स्थानमा छन् । थप सुदृढीकरण गर्ने कार्यमा उनीहरू लाग्नुपर्छ । 

फाइनान्स कम्पनीको बढीजसो उपस्थिति शहर बजारमै भएकाले उनीहरूको प्रतिस्पर्धा बैंकसँगै छ । बैंकसरह र अझ पृथक सेवा सुविधा दिने कुरामा फाइनान्स कम्पनी लाग्नुपर्छ । यसो हुँदा फाइनान्स कम्पनीबाट ठूलो संख्यामा ग्राहक लाभान्वित हुनेछन् । न्यून आय भएका र सानो तथा मध्यम कारोबार गर्ने ग्राहकका लागि ठूलो बैंकभन्दा फाइनान्स कम्पनी नै सहज हुन्छ । फाइनान्स कम्पनीको संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धिले दुवै पक्ष लाभान्वित हुन्छन् । 


Views: 83

सम्बन्धित सामग्री:

कथा : किचकन्या

राजेश अधिकारी : श्रावण ४, २०७६ (६:२० AM)