24th August | 2019 | Saturday | 12:50:46 AM

पर्यटकीय गन्तव्य पहिचान

निनाम कुलुङ ‘मंगले’   POSTED ON : चैत्र १७, २०७५ (३:३५ PM)

पर्यटकीय गन्तव्य पहिचान

  

 ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भ पारेर केही महिनाअघि सरकारले नेपालका ‘एकसय एक पर्यटकीय गन्तव्यस्थल’ को सूची सार्वजनिक गरेको थियो । सो नाम सूची विवादरहित भने हुनसकेन । हुन पनि नेपालका कतिपय प्रसिद्ध र महŒवपूर्ण गन्तव्यस्थल एकसय एकमा पर्न सकेनन् भने कतिपय नामै नसुनिएको र जात विशेषले पुज्ने गरेको मन्दिर (जात वा वर्ग विशेषले कुल पूजा गर्ने गरेको कुलायन मन्दिर) समेत एकसय एक गन्तव्यस्थलमा परेको भनी मिडियाको विभिन्न माध्यमद्वारा प्रकाशमा आएको थियो । 

हुन पनि उदाहरणका लागि भन्नुपर्दा सुदूरपश्चिमको बझाङ जिल्लाको अपी, सैपाल, उरै चुली, सुर्मा सोवर, कैलाश गुफालगायत नेपालभर नै प्रसिद्ध रहेको र नाम चलेको स्थान सरकारले घोषणा गरेको नेपालका एक सय एक गन्तव्यस्थलमा परेनन् । त्यही जिल्लामा पर्ने दुर्गाथली–७, दौली गाउँको ‘गोरखनाथ’ मन्दिर भने एक सय एक गन्तव्यस्थलमा परेको छ । भनिन्छ, बझाङ जिल्लाको दुर्गाथली–७, दौली गाउँको ‘गोरखनाथ’ मन्दिर नेपालको एकसय एक गन्तव्यस्थलमा पर्नुमा भने बझाङ जिल्लाका माननीय सभासद भैरवबहादुर सिंहको विशेष योगदान रहेको छ भनी विभिन्न मिडियाले लेखेका छन् । यो भनेको सत्ता, शक्ति र पहँुचको दुरूपयोग नै हो भन्न सकिन्छ ।

त्यस्तै, नेपालको एकसय एक गन्तव्यस्थलकै बारेमा कुरो गर्दा रुकुम पश्चिमको गोदामकोट, चित्रिपाटन अनि सुर्खेत जिल्लाको गिद्देडाँडा पर्यटकीय क्षेत्र, मदन–आश्रित पार्क आदि नेपालको एकसय एक पर्यटकीयस्थलमा पर्नुलाई पनि केवल काकताली मान्न सकिँदैन । हुन पनि पूर्वी पहाडी जिल्ला तेह्रथुमको सम्दु र इसिबुको सिमानाको रूपमा रहेको र, नेपालकै अग्लो (सम्भवतः दक्षिण एसियाकै अग्लो झरना) मानिएको हृयात्रुङ झरना भने के कति कारणले ‘नेपालको एक सय एक पर्यटकीय गन्तव्यस्थलहरू’ को सूचीमा पर्न सकेन भन्ने प्रश्न गर्न सकिन्छ ।

त्यसैले यहाँ १ नम्बर प्रदेशको तेह्रथुम (नेपालको भगौलिक एकीकरणपछि पल्लो किरात भनी चिनिएको) जिल्लामा रहेको र नेपालको मात्रै नभएर दक्षिण एसियाकै अग्लो मानिएको भए तापनि प्रचारप्रसारमा त्यति नआएको ‘हृयात्रुङ झरना’ बारे केही लेख्ने÷प्रकाश पार्ने जमर्को गरिएको छ । पछिल्लो राजनीतिक संरचनाअनुसार फेदाप गाउँ पालिकाको वडा नम्बर–४ र ५ (साविक सम्दु र इसिबुको सीमा) मा अवस्थित यो झरनाको ३६५ मिटर अग्लो छ । यो झरना बग्ने पूरै खोलाको नाम भने ‘हिंवा खोला’ हो । तर, यो नाम आजभोलि बिरानो हुँदै गएको छ । अधिकांश युवा पुस्तालाई भने यो नाम थाहा छैन । 

हृयात्रुङ झरनाबारे चर्चा गर्दा एकसय चार वर्षे राणाशासनकालसम्म पुग्नुपर्ने हुन्छ । त्यो बेलाको केही प्रसंग उल्लेख नगर्दा यो लेख अधुरै रहन्छ । किनभने,

राणा शासनकालमा सरकारी कर्मचारी धनकुटा हुँदै ओलाङचुङ गोलासम्म भोटको कर उठाउन जाँदा÷आउँदा हात्ती लिएर धनकुटा हुँदै म्योङलुङ, सिम्ले, जलजले, इसिबु, सम्दु, संगपु, खाम्लालुङ, हाङ्पाङ, चाँगे, तम्बरखोला हुँदै ओलाङचुङ गोला ओहोर–दोहोर गर्ने गर्थे । त्यसै क्रममा सम्दु–६ र ७ को सीमामा एक दिन बास बस्ने गर्थे भने, त्यहाँ गोदाम राख्ने गरिन्थ्यो । अहिले पनि ऊ बेला हात्ती बाँध्ने गरेको ढुंगाको ठूलो र अग्लो खम्बा देख्न सकिन्छ । सो ठाउँलाई अझै पनि ‘गोदाम’ भन्ने गरिन्छ । यसरी हात्ती ओहोरदोहोर गर्ने क्रममा एक दिन हिंवाखोलामा हात्ती चिप्लिएर लडेर मरेकोले उक्त खोला (झरना) को नाम ‘हात्ती लेङे’ भएको मानिन्छ । लिम्बू भाषामा रहेको ‘हात्ती लेङे’ नाम नै अपभ्रंस भएर ‘हृयात्रुङ’ भएको मानिएको छ ।  

त्यसो त तेह्रथुम जिल्लामा नेपालकै अग्लो हृयात्रुङ झरनालगायत अन्य पर्यटकीयस्थल र प्राकृतिक सम्पदा पनि छन् । तापनि तेह्रथुममा अपेक्षितरूपमा पर्यटक भिœयाउन सकिएको छैन । नेपालकै अग्लो (३६५ मिटर) हृयात्रुङ झरना, छातेढुंगा, लिही ढुंगालगायत अनेकौं पर्यटकीयस्थल हुँदाहँदै पनि भगौलिकरूपमा राजधानीभन्दा टाढा हुनु, यातायातलगायत अन्य पूर्वाधारको विकास नहुनु र प्रचारप्रसारको अभाव हुनुले पनि तेह्रथुममा रहेका यी सबै पर्यटकीयस्थल ओझेलमा परेको मान्न सकिन्छ । फलतः विदेशी पर्यकट त के आन्तरिक पर्यटकसमेत अपेक्षितरूपमा हृयात्रुङ झरनालगायत तेह्रथुमका अन्य पर्यटकीयस्थल अवलोकन गर्न आउन सकेका छैनन् । त्यसमाथि झरनाको फेदमा साँघु थाप्नेबाहेक अरू पूर्वाधारको निर्माण पनि भएको छैन । अर्थात् कुनै विदेशी वा स्वदेशी पर्यटक एक दिन बिताउने सोच बनाएर झरना हेर्न आएमा त्यस्ता पर्यटक बस्नका लागि होटल वा लजको व्यवस्था त छैन नै, साधारण चिया–नास्ता पसलसम्म खुलेको छैन ।

वरिपरिका छिमेकी गाउँबाट हृयात्रुङ झरना हेर्न आउने आन्तरिक पर्यटक भने विगतका वर्षमा भन्दा धेरै बढेको बताउँछन् सावक सम्दु–८ भीरमुनी, सातभाइयाका रमेश लुम्फुङवा लिम्बू । भदौ, असोज र कात्तिक महिनामा आकर्षक र स्पष्ट बहाब देख्न सकिन्छ, हृयात्रुङ झरनालाई । आगामी दिनमा आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धनका लागि हृयात्रुङ झरना महोत्सवका साथै प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । 

हुन त विदेशी तथा आन्तरिक पर्यटकका लागि तेह्रथुमको वसन्तपुर, तीनजुरे, मिल्के–जलजले, मंगलबारे, गुफा, मेन्छ्याम ढाप (तरुनी गुफा), मजुवा, सेखिम्बा, हृयात्रुङ झरना (सम्दु÷इसिबु), आठराई (संक्रान्ति) सम्मको ११ देखि १३ दिनको टुर प्याकेज बनाउन सकिन्छ । यस क्षेत्रबाट सेसेलुङ (मकालु), सेवालुङ (कञ्चनजंघा), फक्तालुङ (कुम्भकर्ण) लगायत पूर्वका हिमाल पनि दृश्यावलोकन गर्न सकिन्छ । 



 


Views: 151

सम्बन्धित सामग्री:

बाढी र हामी

श्रीमन्नारायण : भदौ ६, २०७६ (८:४७ AM)