22nd May | 2019 | Wednesday | 2:27:26 AM

नेपाली कांग्रेसमा वहसका विषयहरू

कल्याणकुमार गुरुङ   POSTED ON : चैत्र २०, २०७५ (७:३९ AM)

नेपाली कांग्रेसमा वहसका विषयहरू

करिब चार महिनाअघि भएको नेपाली कांग्रेस महासमितिको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्छ, समावेशी कोटा (भूगोल, सामुदाय, लिंग, धर्मलगायत समावेशी समूह) केन्द्रीय कार्य समितिमा ‘एक व्यक्ति एक पद, एक पटक’ मात्र (निर्वाचित वा मनोनित पदमा) हुने व्यवस्था विधानमै हुनुपर्छ भन्ने विषयमा अधिकांश जिल्ला सभापति र महासमिति सदस्यले धारणा राखेका हुन् । 

विधानअनुसार पार्टी सञ्चालन हुनुपर्छ, नेता मिलेर संगठनलाई गतिशील तुल्याउनुपर्छ, गुट उपगुट हुनुहुँदैन, सबै कार्यकर्तालाई न्याय र सुरक्षा हुनुपर्छ, राष्ट्रियसभाबाट सांसद एक पटकमात्र हुन पाउने व्यवस्था हुनुपर्छ, प्रतिनिधिसभा÷प्रदेशसभा÷राष्ट्रियसभामा एकपटक प्रत्यक्ष वा समानुपातिक सांसद भएको व्यक्ति वा एकपटक कुनै पनि संसदको सांसद भइसकेको व्यक्ति पुनः समानुपातिक सांसद बन्न नपाउने व्यवस्था हुनुपर्छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष वा समानुपातिक सांसद भइसकेको व्यक्ति राष्ट्रियसभामा सांसद हुन नपाउने व्यवस्था हुनुपर्छ । अवसरको समान र न्यायपूर्ण तरिकाले वितरण हुनुपर्छ, काखा–पाखा गर्नुहुँदैन भन्ने धारणा पनि अधिकांश महासमिति सदस्यबाट प्रस्तुत भएको हो । कम्युनिस्ट अधिनायकवाद, जातीय अतिवाद, नश्लवाद र क्षेत्रीय अतिवादसँग संघर्ष गर्नुपर्छ भन्ने धारणा पनि आए ।

हिन्दुराष्ट्र, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताका मुद्दासम्बन्धी धारणा पनि महासमितिको बैठकमा आए । राज्यको पुनर्संरचनासँगसँगै संगठनको संरचना कस्तो निर्माण गर्ने र विधानमा अन्य केके विषयमा संशोधन गर्ने भन्नेबारेमा पनि महासमितिको बैठकमा गम्भीर छलफल भयो । महासमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव दुई प्रकारबाट आउनसक्ने प्रावधान छ । पहिलो केन्द्रीय कार्य समितिको तर्फबाट महासमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनसक्छ । दोस्रो, महासमितिका  २५ प्रतिशत सदस्यले संयुक्त हस्ताक्षर गरेर विधान संशोधनसम्बन्धी प्रस्ताव महासमितिको बैठकमा प्रस्तुत हुनसक्छ । महासमितिको बैठकमा प्रस्तुत भएको विधान संशोधनसम्बन्धी प्रस्ताव महासमिति सदस्यको बैठकबाट या त सर्वसम्मतरूपले या त दुई तिहाइ बहुमत महासमिति सदस्यले अनुमोदन गरेपछि मात्र पारित हुने व्यवस्था छ । महासमितिको बैठकले आफ्नो अधिकार केन्द्रीय कार्य समितिलाई प्रत्यायोजन गर्नसक्छ ।

महासमिति बैठकको समापनसत्रमा पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । दुवै नेताले महासमितिको बैठकमा आएका सुझाव समावेश गर्ने गरी केन्द्रीय कार्य समितिको बैठकमा छलफल गरी समावेश गर्नेगरी विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रस्ताव, आर्थिक नीतिसम्बन्धी प्रस्ताव र सांगठनिकलगायत प्रस्ताव महासमितिको बैठकबाट सर्वसम्मतिले पास भए । 

केन्द्रीय कार्यसमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रस्तावमा फरकमत हुने केही पदाधिकारी र सदस्यले बैठकपुस्तिकामा आफ्नो फरक मत लेख्ने गरी केन्द्रीय कार्य समितिमा महासमितिको बैठकमा पेश गरेको विधान र राजनीतिक प्रस्ताव ८५ प्रतिशतभन्दा बढी केन्द्रीय पदाधिकारी एवं सदस्यको बहुमतबाट पास भयो । अन्य प्रस्ताव सर्वसम्मतिले नै पास भए । चौधौँ महाधिवेशनसम्म हालै केन्द्रीय कार्य समितिको बैठकबाट पास भएको विधान नै लागू हुन्छ । यसमा केन्द्रीय समितिका केही पदाधिकारी र सदस्यले फरक मत लेखेका छन् ।

नेपाली कांग्रेसभित्र इमानदार मानिस, लोकतन्त्रका लागि लामो समयसम्म संघर्ष गरेर जेल वा प्रवासमा बसेका व्यक्ति पार्टीमा निरन्तर काम गरिरहेका छन् । तर, आर्थिक हैसियत कमजोर भएका, स्वाभिमानीपूर्वक पार्टीभित्र आफ्नो प्रष्ट आवाज र स्पष्ट धारणा राख्ने, प्रभावशाली नेताको नाता र कृपामा नपरेका, आर्थिक हैसियत उच्च नभएका र अन्य विविध विषय र तरिकाबाट प्रभावित तुल्याउन नसक्ने राजनीतिक व्यक्ति विस्तारैसंगठनबाट पाखा लाग्न थाल्नु देशभरि कार्यकर्ता पंक्तिमा गम्भीर चिन्ता तथा ज्वलन्त र गम्भीर बहसको विषय भइरहेको छ । 

यसैगरी कांग्रेसको मुख्य आधारको रूपमा रहेका ‘क्रियाशील सदस्यता’ वितरण गर्दा पार्टीको आदर्श, सिद्धान्त, विचार, आस्था, नीति र विधानबारेमा सूक्ष्म ढंगले बुझाउनुपर्नेमा अधिकांश ‘क्रियाशील सदस्यता’ वितरणमा अन्यथा भएको भन्ने बहस चलिरहेको छ । ‘क्रियाशील सदस्य’ पार्टीको आदर्श, सिद्धान्त, विचार र नीति राम्रोसँग आफूले बुझेर अरूलाई पनि बुझाउनसक्ने र सोअनुसारको कार्य दक्षतापूर्वक गर्नसक्ने व्यक्ति हुनुपर्छ । 

साथै पार्टीको आदर्श र सिद्धान्तप्रति आस्थावान् रहेर जस्तोसुकै दुःख झेल्न तयार रहने तथा पार्टीको सिद्धान्त, विचार र नीतिका लागि शहीदसम्म हुनका लागि तयार रहने व्यक्ति नै ‘क्रियाशील सदस्य’ को प्रमुख हकदार हुनुपर्छ । तर, विडम्बना, ‘क्रियाशील सदस्यता’ वितरण गर्दा आफू, आफ्ना मान्छे र आफ्ना प्रतिस्पर्धीलाई हेरेर वितरण गरिन्छ भन्ने व्यापक गुनासो विगतदेखि नै सुनिने गरिएको हो । 

अधिकांश ठाउँमा ‘क्रियाशील सदस्यता’ वितरण गर्दा न त पार्टीको आदर्श, सिद्धान्त, विचार, नीति र विधानबारेमा सम्झाएर बुझाएर नै वितरण गरियो, न त कसैले कसैबाट ‘क्रियाशील सदस्यता’ लिँदा ग्रहण गर्ने व्यक्तिले पार्टीको आदर्श, सिद्धान्त, विचार, नीति र विधानको विषयमा राम्ररी सम्झिएर बुझेर नै लिए । ‘क्रियाशील सदस्य’ ले नै पार्टीको बुथ समिति, वडा समितिदेखि केन्द्रीय समितिसम्मको संरचनामा र यसमा रहने नेतृत्व र सदस्यको भविष्य, चुनावमा पार्टीको जितहार, पार्टीभित्रको राजनीतिक व्यक्तिको राजनीतिक भविष्य निर्धारण गर्छ । अन्ततः पार्टीको भविष्यमाथि नै यसको गम्भीर प्रत्यक्ष प्रभावपर्छ । 

कतैकतैको चुनावमा पार्टीको उम्मेद्वारलाई कुनै वडामा त्यहाँ रहेका ‘क्रियाशील सदस्य’ को संख्याभन्दा पनि कम भोट आयो भन्ने गुनासो पार्टीभित्र व्यापकरूपमा रहेको छ । यस प्रकारका ‘क्रियाशील सदस्य’ को कुनै अर्थ छैन र यसले पार्टीलाई नोक्सानमात्र गर्छ । 

यसर्थ, ‘क्रियाशील सदस्य’ को हकदार को, ‘क्रियाशील सदस्यता’ वितरणको मापदण्ड के बनाउने, ‘क्रियाशील सदस्य’ को वितरण प्रक्रिया कस्तो निर्माण गर्ने, ‘क्रियाशील सदस्य’ को काम, कर्तव्य र अधिकार कसरी व्यवस्थित तुल्याउने भन्ने विषयमा गम्भीर बहस हुनुपर्छ भन्ने आवाज देशभरिको नेपाली कांग्रेसको वृत्तमा गम्भीररूपमा उठेको छ ।

नेपाली कांग्रेसमा उमेरको हद तोक्नुपर्छ र तोक्नुहुँदैन भन्ने विषयमा पनि गम्भीर बहस चलेको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनको समयदेखि नै पार्टीको लागि निरन्तर काम गरिरहेका मानिस जसले आजसम्म पार्टीबाट कुनै लाभ प्राप्त गरेका छैनन् तर तिनीहरू जीवनपर्यन्त पार्टीको हितमा काम गर्छु भन्छन् । उनीहरूको विषयमा पार्टीले सोच्नुपर्ने आवश्यकता छ । उनीहरूको भनाइमा राजनीतिमा उमेरको हद हुँदैन भन्ने रहेको छ । यो पनि खुला र गम्भीर बहसको विषय हुनसक्छ । 

कांग्रेस सत्तामा हँुदा राजनीतिक नियुक्ति लिन, ठेक्का लिन, सरुवा बढुवाको लाभ लिन र अनेक आर्थिक र व्यक्तिगत फाइदा लिन तथा सुविधाजनक राजनीति गर्ने वातावरण हुँदा धेरै मानिस कांग्रेसमा प्रवेश भए होलान् । तर, देशमा लोकतन्त्रका लागि संघर्ष गर्दा जेल जानुपर्ने समयमा, प्रवासमा जानुपर्ने समयमा, सर्वस्वसहित जन्मकैदको सजायसम्म हुने समयमा र फाँसीको सजायसम्म पाउनसक्ने सम्भावना जीवितै रहेको समयमा पनि पार्टीको सिद्धान्त, विचार र आस्थाप्रति समर्पित भएर पार्टीको कार्यमा निरन्तर लागिरहेका राजनीतिक व्यक्तिहरूको पार्टीले मूल्यांन गर्ने कि नगर्ने ? निरंककुश राणा शासनको समय तथा एक दलीय निरंकुश पञ्चायती व्यवस्थाविरुद्धमा आवाज उठाएर नेपाली कांग्रेस पार्टीको आहृवानमा शहीद भएकाका परिवारजनप्रति पार्टीको पूर्ण जवाफदेहिता छ, रहनुपर्छ र रहनेछ भन्ने विश्वासको वातावरण तयार गर्नुपर्छ । 

तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र हिंसात्मक द्वन्द्वकालीन समयमा माओवादीले र तराईका सशस्त्र समूहले मारेका नेपाली कांग्रेसका कार्यकर्ताको परिवारजनप्रति नेपाली कांग्रेसको नैतिक कर्तव्य रहन्छ । यसैगरी, नेपालका तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वकालीन समयमा माओवादीले र तराईका सशस्त्र समूहले हिंसात्मक तरिकाले अंगभंंग बनाएका र गम्भीररूपमा घाइते बनाइएकाहरूप्रति पनि नेपाली कांग्रेसको नैतिक कर्तव्य रहन्छ । 

यसर्थ, शहीद परिवारका सदस्यलाई र सशस्त्र द्वन्द्वकालीन समयमा अंगभंग भएकालाई निराश हुन नदिएर पार्टीभित्र कसरी अवसर सिर्जना गर्ने भन्ने विषयमा देशभरि व्यापक बहस हुनु आवश्यक छ । यस प्रकारका गम्भीर र तथ्यपरक बहसले तार्किक निष्कर्ष र सकारात्मक परिणामको जन्म दिन्छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यसले अहिंसात्मक र शान्तिपूर्ण राजनीतिमा विश्वास राख्छ । बहुलवादमा आधारित बहुदलीय संसदीय राजनीतिक प्रणालीमा विश्वास गर्ने भएकाले विधिको शासन र शान्तिपूर्ण शालीन प्रतिस्पर्धामा नेपाली कांग्रेसको विश्वास रहेको छ । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुन्छन् । यसैगरी लोकतान्त्रिक पार्टीमा बहुमत पक्ष (संस्थापन पक्ष) र अल्पमत पक्ष (फरक मत पक्ष) हुन्छन् । लोकतान्त्रिक प्रक्रियामा प्रतिपक्ष र फरक मत पक्ष लोकतन्त्रका गहना हुन् । यसर्थ, लोकतान्त्रिक प्रणालीले सबैको शान्तिपूर्ण अस्तित्व स्वीकार गर्छ । निरंकुशतावादी, अतिवादी र नश्लवादी राजनीतिले मात्रै अरूको अस्तित्व स्वीकार गर्दैन । 

नपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसले संगठनभित्रका सबै मत र विचार राजनीतिकरूपले स्वीकार गर्छ र यी भिन्नभिन्न मत र विचारको राजनीतिक व्यवस्थापन गर्नु हुन्छ । विधान र विवेकको प्रयोग सँगसँगै गर्दा नै लोकतान्त्रिक पद्धति बलियो र गतिशील हुन सक्छ ।

राजनीतिमा मात्र होइन, समाजका सबै क्षेत्रमा पुस्तान्तरण ( जेनेरेशन ग्याप) हुन्छ । यो सत्य हो । समाजका सबै क्षेत्रमा पुस्तान्तरणको प्रभाव प्रष्ट देखिन्छ । यो पनि अर्को सत्य हो । समाजको गतिशील सिद्धान्तले नै समाज र राजनीतिक दललाई जीवन्त तुल्याएको हुन्छ । राजनीतिक दलमा पनि विभिन्न उमेर समूह वा पुस्ताका मानिस लागेका हुन्छन् । 

उमेरका आधारले नै कसैलाई राम्रो वा कसैलाई खराब भन्न मिल्दैन र भन्नु हुँदैन । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गरिएन भने पार्टी जीवन्त र गतिशील नहुन सक्छ । यसैगरी पार्टीमा निरन्तर काम गरिरहेका पुराना पुस्तालाई पनि पार्टीभित्र सम्मानजनक वातावरण भएन भने पार्टी जीवित त रहला तर यसभित्रको राजनीतिक संस्कार, आदर्श र विचारको प्रकाशपुञ्ज धमिलिन सक्छ । जसरी घर र समाजमा सबै पुस्ता र उमेर समूहका मानिस मिलेर बसेका हुन्छन्, त्यसैगरी पार्टीभित्र पनि सबै पुस्ता र उमेर समूहका मानिस मिलेर बस्ने राजनीतिक, वैधानिक, नैतिक र सामाजिक वातावरण निर्माण गर्नुपर्छ । पुराना पुस्तालाई सम्मानसहित पार्टीभित्र राजनीतिक निरन्तरता र नयाँ पुस्तालाई पार्टीभित्र न्यायपूर्ण अवसरको सुनिश्चित प्रतिबद्धता भयो भने पार्टीभित्र पुस्तान्तरणको नकारात्मक प्रभाव कम हुन्छ ।

(गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्) 








Views: 64