22nd May | 2019 | Wednesday | 2:35:41 AM

वर्तमान अवस्थामा विद्यार्थी आन्दोलन

सुशान्त सिग्देल   POSTED ON : चैत्र २०, २०७५ (७:४१ AM)

वर्तमान अवस्थामा विद्यार्थी आन्दोलन

नेपाली जनतालाई अधिकार सम्पन्न गराउन विश्व राजनीतिबाट खारिएको प्रजातान्त्रिक व्यवस्थामा विद्यार्थी आन्दोलनको महŒवपूर्ण योगदान रहृयो । विगतमा स्वाभिमान र सिद्धान्तबाट अविचलित विद्यार्थी राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तनका लागि ठूलो योगदान गरे । जनताका अधिकार संस्थागत गर्नका लागि विद्यार्थीले योगदान गरेका थिए । तर, अहिले तिनीहरूको आचरण भ्रष्ट बन्दै गएको टिप्पणी हुन थालेको छ । 

पञ्चायतकालीन, दोस्रो जनआन्दोलन र पछिल्लोसमयका विद्यार्थी आन्दोलनमा ठूलो अन्तरको अनुभूति हुन थालेको छ । योजनाविहीन विद्यार्थी संगठन र बौद्धिकताविहीन विद्यार्थी पछिल्लो समयमा निकै मौलाउन थालेका छन् । राजालाई जनमतसंग्रहको घोषणा गर्न बाध्य पार्नसक्ने विद्यार्थी आन्दोलनले पछिल्लो समयमा बाटो बिराएको आभास हुन थालेको छ । राजनीति गर्ने विद्यार्थीको संख्या बढेको छ तर विद्यार्थीको बौद्धिकतामा गुणात्मक फड्को मार्न सकेको छैन । 

समय परिवर्तनसँगै नैतिक आचरणमा परिवर्तन देखिनुपर्नेमा त्यो देखिएन । विद्यार्थी शैक्षिक व्यवस्थापनमा परिवर्तनको खाका निर्माण गर्न सकिरहेका छैनन् । विद्यार्थी, शिक्षक र प्रशासन विद्यालय र विश्वविद्यालयको शैक्षिकस्तर सुधार्नका लागि एकताबद्धरूपमा अघि बढ्नु आवश्यक छ तर विद्यार्थी यसो गर्न सकिरहेका छैनन् । विद्यार्थी नेताबाट शिक्षण सिकाइ क्रियाकलापको वातावरण बिथोल्ने काम भइरहेको पाइएको छ ।

संस्थागत उपलब्धि संरक्षण गर्ने कार्यमा खबरदारीको भूमिका निर्वाह गर्दै समुन्नत नेपाल निर्माणका लागि नेतृत्वदायी जिम्मेवारी पूरा गर्नु आजको ऐतिहासिक जिम्मेवार हो । आजका विद्यार्थीमा हिजोजस्तो व्यवस्था परिवर्तनका लागि आन्दोलनको आवश्यकता छैन तर विद्यालय तथा विश्वविद्यालयमा गाँजिएको नीतिगत भ्रष्टचार शिक्षामा भएको ह्रासजस्ता कुरामा  विद्यार्थी आन्दोलनको आश्वश्यकता छ । 

विद्यार्थी अध्ययनमा लाग्ने हो, सिर्जनशीलतामा लाग्ने हो, नयाँ खोज अनुसन्धानमा लाग्ने हो जसले समुन्नत राष्ट्र निर्माणका लागि ठूलो सहयोग पु¥याउँछ । भाषणकला र पैसाले नेता बनिन्छ भन्ने भ्रम छ सबैमा । यो गलत संस्कार, सोच र मानसिकता हो । अबको विद्यार्थी आन्दोलनको दिशा कुन हो ? शैक्षिक सुधारमा के कुराको आवश्यकता छ ? संस्थागत विद्यार्थी राजनीति विकास गर्ने मोडल के हो ? नीतिगतरूपमा सुधार गर्नुपर्ने पक्ष के के हुन् ? जस्ता प्रश्नको  उत्तर सक्षम विद्यार्थी नेताले दिन सक्नुपर्छ । 

विद्यार्थीको उज्ज्वल भविष्य, शैक्षिक गुणस्तर, हक र हितको सवालमा विद्यार्थी आन्दोलनले कसैसँग सम्झौता गर्नुहुँदैन । विद्यार्थी र विद्यालय र विश्वविद्यालयका प्रशासन बीचको समन्वयकारी भूमिकामा विद्यार्थी संगठन संलग्न हुनुपर्छ । गुण र दोषका आधारमा विद्यालय विश्वविद्यालय साथै राज्यसंयन्त्रसँग समर्थन, सहयोग र विरोध गर्ने संस्कारको विद्यार्थी संगठनले विकास गर्नुपर्ने हुन्छ । 

विद्यार्थी संगठनलाई स्वतन्त्ररूपमा योजनाबद्ध ढंगबाट अगाडि बढाउनसक्ने नेतृत्व आवश्यक हुनुपर्छ, स्वार्थबाट अलग्गै रहनुपर्नेहुन्छ । शिक्षामा पछाडि परेका देशले कुनै पनि क्षेत्रमा विकास गर्न सकेका छैनन् । अझ नेपालजस्तो विकासशील देशमा त शिक्षाको झन् ठूलो महŒव छ । यसैले शिक्षा राष्ट्रको विकासका लागि अपरिहार्य हुन्छ ।

नेपालको लोकतन्त्र स्थापना, पुनस्र्थापना र यसको सुदृढीकरणमा विद्यार्थी संगठनको महŒवपूर्ण योगदान रहँदैआएको छ । नैतिक शिक्षा, प्रयोगात्मक शिक्षा, तथा वैज्ञानिक विधिमार्फत् शिक्षण सिकाइ क्रियाकलाप आजको अपरिहार्यता हो  । खाली सैद्धान्तिक शिक्षाले मात्र हाम्रो उन्नयन हुनसक्दैन । हाम्रो धर्म, संस्कार तथा संस्कृतिमाथि विदेशी आक्रमण समस्या बनेका छन् । विद्यार्थीले यीमाथि पनि निगरानी बढाउनुपर्छ ।

उत्पादनमूलक व्यवहारिक शिक्षा आजको अपरिहार्यता हो । त्यसैले विद्यार्थी संगठनले शिक्षा नीति परिवर्तन र नीतिको व्यावहारिकतामा निरन्तर खबरदारी र अनुसन्धान गरिनुपर्छ । विद्यार्थी संगठनको सुदृढता र कटिबद्धताले शैक्षिक व्यवस्था, विद्यार्थीको हक अधिकारको स्थापना र समग्र राज्यको समृद्धिका लागि महŒवपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले संगठनात्मक सुदृढता र पारर्दशी विद्यार्थी संगठन आजको आवश्यकता हो । सरकारी विद्यालयमा जनताको विश्वास  घट्नुको कारणको पनि खोजी हुनुपर्छ । 

व्यक्तिगत फाइदाका लागि दौडने विद्यार्थी नेताको गलत प्रवृत्ति आजको समस्या हो । संस्कारयुक्त राजनीतिको खडेरीको उपज हो । विद्यालय विश्व विद्यालयमा खुकुरी हानाहान गर्ने, क्याम्पस हाताभित्र आगजनी गर्ने साथै गाडीमा आजगनी गर्नेजस्ता घटनाले विद्यार्थीमा बढ्दै गएको भ्रष्ट मनोविकारको संकेत गर्छ । त्यसैले यस क्रियाकलापमा विद्यार्थी संगठन, राजनीतिक दल साथै राज्य संयन्त्र गम्भीर हुन आवश्यक छ । 

अब गला र पैसाले मात्र पुग्दैन योजना चाहिन्छ, अध्ययन चाहिन्छ, बौद्धिकता चाहिन्छ, अनुशासन चाहिन्छ । अनि मात्र व्यवस्थाका विकृतिविरुद्ध आवाज उठाउनसक्ने अवस्था रहन्छ । साथै, राज्यसंयन्त्रलाई खबरदारी गर्नसक्ने अवस्थाको पनि सिर्जना हुन्छ । 

विद्यार्थीको साझा थलोका रूपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमार्फत प्रजातान्त्रिक व्यवस्थाको अभ्यास हुँदै आएकामा केही वर्षयता यो प्रक्रिया अवरुद्ध हुन पुगेकाले विद्यार्थी संगठन गम्भीर हुन आवश्यक छ । संघर्षको समयमा जन्मिएका, संघर्षमै हुर्किएका विद्यार्थी संगठनको यस्तो अलमलको अवस्थाले भविष्यको राजनीतिक व्यवस्थामा गम्भीर असर पर्ने निश्चित छ । केही दैनिक पत्रिकामा प्रकाशित समाचारमा कुनै कलेजले विद्यार्थीलाई धम्काएर गैरकानुनी शुल्क लिएको समाचार छापिएको थियो तर कुनै पनि विद्यार्थी संगठनले त्यसको विरोधमा आवाज उठाएको पाइएन ।

चर्काे शुल्क, विद्यार्थीलाई धम्कीजस्ता समाचार पटकपटक आउँछन् तर त्यसै सेलाएर जान्छन् । न त्यस विषयमा सरकारी संयन्त्रले चासो राख्छ न विद्यार्थी संगठनले राख्छन् । यदि यस्तो मौनता विद्यार्थी संगठनमा देखिने हो भने त्यस्ता संगठनको औचित्यमाथि गम्भीर प्रश्न उठने निश्चित छ । विद्यार्थी संगठनमा आन्दोलनका नाममा विभिन्न अराजक गतिविधि देखिन थालेका छन् । शान्तिका प्रतिविम्ब विद्यार्थी तोडफोड र हुलदंगामा लाग्नु गलत हो ।

देशको भविष्य सार्वजनिक स्कुलको शिक्षाले निर्धारण गर्छ तर सार्वजनिक स्कुलमा विद्यार्थीको घट्दोदर, नतिजामा आएको ह्रास तथा सकेसम्म निजी विद्यालयमा र आर्थिकलगायत अन्य कारणले समस्या देखिएपछि मात्र सार्वजनिक विद्यालयमा आफ्ना छोराछोरी पठाउने परिपाटीले स्पष्टरूपमा सार्वजनिक विद्यालयप्रतिको जनताको विश्वसनीयता घटेको प्रमाणित गर्छ । 

सानो उमेरदेखि विद्यार्थी राजनीतिमा लाग्ने, अध्ययन अध्यापनमा नलाग्नेजस्ता कार्यले  क्षमता अभिवृद्धिमा गम्भीर असर परेको हुन हुन्छ । यो राष्ट्रका लागि नकरात्मक हो । त्यसैले सम्पूर्ण विद्यार्थी संगठनमा नैतिकता, स्पष्ट योजना, क्षमता तथा बौद्धिकता, नेतृत्व, क्षमता आजको आवश्यकता हुन् । कर्मकाण्डीय राजनीतिले गलत बाटो पहिल्याउँछ । यसबाट विद्यार्थी राजनीति अनिवार्य जोगिनुपर्ने हुन्छ ।


Views: 69