23rd August | 2019 | Friday | 11:48:02 PM

एउटा फरक संस्कृति– घोडेजात्रा

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : चैत्र २२, २०७५ (११:५० AM)

एउटा फरक संस्कृति– घोडेजात्रा

विश्वका अन्य मुलुकमा नपाइने परम्परा र संस्कृति हाम्रो मुलुकमा पाइन्छन् । घोडेजात्राको अघिल्लो दिन चैत्रकृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ । फागुको समापन भएको एक हप्तापछि चैत्रकृष्ण अष्टमीका दिन पशुपतिक्षेत्रबाट एक शिवलिंग ल्याई काठमाडौंको ब्रहृमटोलको बुद्धबिहारमा राखी ‘लुकुमाद्यो’ अर्थात् नेवारी परम्पराअनुसार लुकेका देवता भनी पिशाच चतुर्दशीमा स्नान गराई तामसी खाना खुवाइन्छ ।

यसदिन शिवगण प्रेत, पिशाच आदिको पूजाआजा गरेमा जीवनमा रोगब्याधी, कष्ट, हैरानी व्यहोर्नु नपर्ने कथन पनि छ । 

नक्साल भगवती, वत्सदेवल, जयवागेश्वरी र चावहिल गणेशस्थानमा विशेष जात्रा मनाइने पिशाच चतुर्दशीका दिन काठमाडौंका आदिम नेवारले ‘पाहाचन्ह’ पर्व भनेर पनि मनाउँछन् । प्रत्येक टोल, बस्तीमा महादेव लुकेर बसेका छन् भनी घर, आगन सफासुग्घर गरी टोल सुरक्षार्थ रहेका क्षेत्रपालस्वरूप शिवको आराधान गर्ने गर्छन् । 

सर्वेश्वर शिव अग्निस्वरूप हो, आगोमा जे जुन वस्तु हाले पनि पच्ने गर्छ । एकपटक माता पार्वतीले भोलेबाबालाई मांसाहार गर्ने सल्लाह दिएपछि पिशाचको रूप लिएर उहाँले मांसाहार गरेको स्मरणीय दिनस्वरूप यस दिनलाई पिशाच चतुर्दशी भनिन थालेको कथन छ । 

काठमाडौं क्षेत्रमा धेरै देवदेवीका स्वरूप छन् । नक्साल भगवती र जयवागेश्वरीलाई दिदी बहिनीका रूपमा लिइन्छ । चैत्रमासमा यहाँ विशेष जात्रा हुने गर्छ । उता काठमाडौंकै नरदेवी, म्हैैपी, भद्रकाली, असनकी देवी, संकटा, आदि पनि एकै सन्तति मानिएका छन् । एकै सन्तानमध्ये काठमाडौंकै लुतेदेवी र उनको परिवार गरीब रहेछ । दिदीबहिनीहरूले भोजभतेर गर्ने, मीठा, रसिला खाना खुवाउने, साजसज्जा राम्रो गर्ने तर लुतेदेवी भने आफ्नो गरिबीका कारण यसो गर्न नसकेकोमा चिन्तित भइछन् । 

यसै कारणले अपमानसमेत खेपेकी लुतेदेवीले एकदिन आफ्नो खानेकुरामा सर्प देखेर फाल्न लाग्दा वरिपरि सबै ठाउँ सुनैसुनको भएको र त्यही सुनको कारण अरूसरह उनी आफू पनि धनी भएको किम्बदन्ती पनि पाइन्छन् । 

पालैपालो आफ्नो तडकभडक देखाउने क्रममा ती दिदीबहीनीमध्ये लुतेदेवी पनि धनी भएर आफ्नो छुट्टै जात्रा चलाउने क्रममा अर्को पर्व बालाचतुर्दशी चलाउन सुरु भएको भन्नेहरू पनि छन् । पाहाचान्हे पर्व यसरी विकसित हुँदै आएको भनिन्छ । 

अर्को पर्व छ– घोडेजात्रा, सरकारीस्तरबाटै गरिने घोडेजात्रा कहीँ अन्यत्र नभएको जात्रा देखाई नजिकै रहेकी भद्रकालीलाई खुसी गराउने रूपमा लिइन्छ । वसन्तपुरको कुमारीघरबाट जीवित देवीस्वरूप कुमारीलाई घोडामा राखी टुँडिखेल ल्याउने सम्मानका साथ सेनाद्वारा सलामी चढाई घोडादौड प्रदर्शनी गराइने घोडेजात्रा नेपाली सेनाद्वारा गराउने गरिन्छ । घोडेजात्राको चलन चलेपछि काठमाडौंका राजाले भद्रकालीमा चैत्रकृष्ण औंसीका दिन बिहानै दर्शन गर्ने परम्परा बसेको हो । त्यतिबेला दर्शन गर्न जाँदा घोडामा जाने गर्थे । विदेशमा घोडादौड देखेका जुद्धशमशेरले यहाँ पनि घोडेजात्रा सुरु गराएका भन्ने कथन छ । 

काठमाडौंमा टुँडी नामको राक्षसले दुःख दिएको र सबैले मिलेर टँुडीलाई जिउँदै गाडेकोले त्यो क्षेत्र टुँडिखेल नामकरण भएको भन्ने भनाइ छ । टुँडिनामको राक्षसबाट अनिष्ट नहोस् भनी त्यहाँ सैन्यबल, घोडचढी प्रतियोगिता गर्ने गरेको भनिन्छ । रथयात्रा, अश्वयात्रा, गजयात्रा, गोयात्रा गरेको ठाउँ सदाको लागि पवित्र हुन्छ, कोही कतैबाट पीडा हुँदैन भन्ने शास्त्रीय मान्यता रहेकाले पनि वर्षमा एकपटक काठमाडौंको केन्द्र टुँडिखेलमा अश्वयात्रा गरेपछि कुनै अनिष्ट नहुने भन्ने कारणले पनि यो जात्राले क्रमिकरूपमा निरन्तरता पाउँदै आएको हो । 

कामाक्षाबाट शाश्वतबज्र तान्त्रिकले काठमाडौं ल्याएको भद्रकालीलाई जमलमा राखेपछि जमलबाट फेरि आफू अन्यत्र नसर्ने भन्दा शाश्वतबज्रको इच्छा पूरा हुने नदेखेर उनले भद्रकालीलाई अन्यत्र कतै नचलाइएको घोडेजात्रा यहाँ चलाइदिन्छु भनी फर्काएर भद्रकालीलाई जमलबाट उठाइ हालको मन्दिर परिसरमा राखेको र वर्षमा एकदिन घोडेजात्रा चलाउने चलन त्यसै बेलादेखि भएको भन्ने जनश्रुति पनि रहेको छ । 

काठमाडौंको ओमबहालमा लुकुवा महादेवको मूर्ति अहिले पनि देखिन्छ । एक वर्षसम्म जमिनमुनि रहने यी देवतालाई घोडेजात्राको अघिल्लो दिन पूजा र दर्शन गरी साना महादेव भनेर स्तुति तथा पुकार गर्ने चलन रहेको छ । यसरी काठमाडौं उपत्यकामा चलिआएका  परम्परा र संस्कृतिमध्ये घोडेजात्रा पनि एक प्रमुख जात्राका रूपमा चल्दै आएको पाइन्छ । यसमा पनि आफ्नै प्रकारका अनौठा विशेषता रहेका छन् । 


Views: 118

सम्बन्धित सामग्री:

बाढी र हामी

श्रीमन्नारायण : भदौ ६, २०७६ (८:४७ AM)