24th April | 2019 | Wednesday | 10:06:52 PM

कविता : शून्य निरन्तर

नारायण सापकोटा   POSTED ON : चैत्र ३०, २०७५ (८:२० AM)

कविता  : शून्य निरन्तर

नदी निरन्तर बगिरहेको छ

हावा निरन्तर चलिरहेको छ

मिठो संगीत निरन्तर बझिरहको छ

तर हामी किन निरन्तर हुन सकेनौँ ?

इतिहास उत्खनन गरेर

मानव मनको  अन्तरसंवाद

वर्तमानसँग जोडिन आएपछि 

फेरि पनि प्रारम्भ भयो 

हाम्रो यात्रा

कुनै शून्य समयमा 

हाम्रो मिलन भएको थियो 

कुनै शून्य समयमा 

हाम्रो विछोड पनि भएको थियो 

त्यही शून्य महाशून्यलाई चिर्न 

सडक सडकमा 

हुलका हुल कविहरू

चिच्याइरहेका थिए

कराइरहेका थिए 

जीवन उत्सर्ग गर्नेहरू

शून्यतामै शून्य भए  

धमिलो इतिहास भुल्ने पनि 

यही शून्य हो

धमिलो इतिहास सम्झने पनि 

यही शून्य हो 

शून्यताको बहीखाताको 

अभिलेखको पहिलो पृष्ठ पल्टाउँदा

गमलामा फूल रोपेर 

फूल नफुल्दै 

युरोप भासिकएका भाग्यमानीहरू

अमेरिका छिरेका सौभाग्यमानीहरू 

यही शून्यमा फेसबुकबाटै 

मेरो देश र फूलको बोटलाई 

हेरिरहेका छन् 

बही खाताको पृष्ठ पल्टाउँदै गर्दा 

यही शून्यमा लाखौं अभागीहरू 

भाग्य खोज्दै

पुगिहरेका छन् खाडीमा

फर्किरहेकाछन् आर्यघाट 

सपना धुवाँ बनेर उडिरहको छ

आकाश माथि माथि निरन्तर शून्यमा ।।

- बिगुटार ७, ओखलढुंगा




Views: 100