24th July | 2019 | Wednesday | 3:15:46 PM

कांग्रेसको अविराम अधोगति

सुधीर नेपाल   POSTED ON : बैशाख १, २०७६ (९:१२ AM)

कांग्रेसको अविराम अधोगति

अहिलेको विपक्षी दल नेपाली कांग्रेस कुनै समय देशको भीमकाय दल थियो भन्दा अहिले मन अमिलो भएर आउँछ । कुनै बेला थियो यो भीमकाय शब्दले निक्कै महŒव राख्थ्यो । देशको एउटा प्रमुख र निर्णायक दलका रूपमा थियो नेपाली कांग्रेस । राजनीतिक कांग्रेसकै वरिपरि घुमेको हुन्थ्यो । साँच्चै सादा जीवन र उच्च विचार देखिन्थ्यो कांग्रेस नेताहरूमा । यस्ता कांग्रेसी नेताहरूको ताँती नै थियो । सधैँ विचार, समाजवाद र आन्दोलनले प्राथमिकता पाउँथ्यो । स्वर्गीय नेता बीपी कोइराला अहिले छैनन् । उनी र उनीजस्तै विचारशील र संघर्षशील नेताहरूले बनाएको नेपाली कांग्रेस अझै छ । बीपी र उनीजस्तै नेताहरूको विचार र त्यागले नेपाली कांग्रेस नेपाली जनताको दल बनेको हो । आज जुन अवस्थामा रहेको भए पनि कांग्रेसको संघर्षको इतिहास नामेट चाहिँ हुँदैन । 

बीपी विचारशील नेता थिए, चिन्तक थिए । नेपाली जनताको जीवनस्तरका विषयमा उनको एउटा साधारण सोच थियो, सबैले बुझ्नेगरीको । प्रत्येक नेपालीले राम्ररी खान पाओस्, उसको बस्ने बास होस्, बिरामी पर्दा उपचार गराउन सकोस्, छोराछोरीलाई पढाउन सकोस्, एकहल गोरु होस्, एउटा दुहुनो गाई होस् । अर्थात् एउटा परिवारलाई न्यूनतम आवश्यकता पूरा गरेर औसत जीवन बाँच्न कठिन नहोस् । गरिबी उन्मूलन, देशको आर्थिक विकास, समृद्धि इत्यादि बीपीको यही सोचमा समेटिएको थियो । बीपी र उनका समकालीनहरूले यसरी अघि बढाएर जनजनका मनमनमा पु¥याएको कांग्रेस आज कहाँ छ भनेर सोच्ने बेला भएको छ, खोज्ने बेला भएको छ । आजका नेताहरू गम्भीर हुने बेला भएको छ । 

कांग्रेसका विपक्षीहरू अब कांगे्रस आफैँमा विलयको बाटोमा छ भन्न थालेका छन् । कांग्रेसका अहिलेका नेताहरूमा आफ्नो दल कुनै समयको भीमकाय हुनुको दम्भको पारो भने अलिकति पनि झरेको छैन । त्यो भीमकाय दल एकाएक कसरी मुसोजस्तो बन्दैछ र आफ्नैको फेर काट्दैछ भन्ने नबुझेझैँ देखिँदैछ । दलको पारो तल झर्दा पनि यसलाई निचोरेर मोटाउन पल्केका नेताहरूको पारो भने माथि नै छ । उनीहरूलाई दलको विलिन हुन लागेको अवस्थाभन्दा आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुने अवस्था आएको पीडाले हरदम सताएको जस्तो देखिन्छ । कांग्रेसमा एउटा विसंगत अवस्था सिर्जना भएको छ । त्यही विसंंगतिमा नेताहरू अल्झिरहेका छन् । 

देशको हरेक राजनीतिक लडाइँको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो, राणा शासनविरुद्धको आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्ध पटक पटकका आन्दोलन, राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलन, शान्तिप्रक्रिया लगायतको नेतृत्व कांग्रेसले नै गरेको हो । यही नेतृत्वले कांग्रेसलाई एउटा भीमकाय दल बनाइराखेको थियो । कांग्रेसको लोकप्रियताविरुद्ध कुनै समय विपक्षीहरूले ‘तेरो घरमा कांग्रेस पसोस्’ भनेका थिए । केही घटनामा कांग्रेसलाई जोडेर यसो भनेका थिए । अहिले कांग्रेस यस्तै अवस्थामा छ । उच्च क्रान्तिको मनोभाव कहीँ, कतै, कसैसँग छैन । जनताको लागि कस्तै निरंकुशतासँग पनि नझुकी लडेको कांग्रेस एकाएक लरखरिन थालेको छ । 

सैद्धान्तिकरूपले सामूहिक नेतृत्व संरचना भए पनि एकल नेतृत्व हाबी छ । सभापति नै सर्वेसर्वा छन्, अरू नेता रमिते छन् । भावी नेतृत्व विकासक्रम कमजोर छ । पछि पछि एक से एक प्रतिस्पर्धी नेताहरू देखिनुपर्ने हो । यसो हुन सकेको छैन । भीमकाय दल मुसाको स्वरूपमा आउन लागेको छ । तैपनि नेतालाई कुनै बिस्मात छैन । युवा भनिने दोस्रो पुस्ताका नेताहरू केही चिन्तितजस्ता देखिए पनि पार लगाउने हैसियतमा छैनन् । शीर्ष नेतृत्वमा सेपमा परेका छन् । 

बीपी कोइरालाले आफूपछिको नेतृत्व विकासमा ध्यान दिएका थिए । उनका पछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरू थिए । यसपछि गिरिजाप्रसाद कोइराला थिए । एकपछि अर्को नेतृत्व विकसित थियो । बीपीको अवसानपछि गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले नेतात्रयको अवधारणमा सामूहिक नेतृत्व गरेका थिए । सत्ताको चक्करमा यो सामूहिक नेतृत्व खण्डित भयो । गणेशमानले कांग्रसे छोडेको घोषणा गरे । कृष्णप्रसादले फुटेर शेरबहादुर देउवाको नेतृत्वमा बनेको कांग्रेस प्रजातान्त्रिकलाई समर्थन दिए । यिनै घटनाक्रमले कांग्रेसलाई अधोगतिमा डो¥यायो । सामूहिक नेतृत्वको अवधारणाको अवसान भयो । गिरिजाप्रसाद कोइराला कांग्रेसको एक्ला नेता भए । शान्ति प्रक्रियापछि फुटेका कांग्रेस त जोडिए र तर कांग्रेसीहरूको मन जोडिएन । सामूहिक नेतृत्व स्थापित भएन । 

नेतात्रय पछिका ‘आरएसएस’ र ‘एकेजीबी’ जस्तो सामूहिक नेतृत्वको अवधारण समाप्त भयो । सामूहिक नेतृत्वमा अपेक्षा गरिएका नेताहरू आआफ्ना गुट उपगुटमा सीमित हुन पुगे । उदीयमान मानिएका नेताहरू सत्ताको आडमा स्वार्थसिद्धितिर लाग्न थाले । एक समयमा एकल सर्वेसर्वा नेता गिरिजाप्रसाद हिंसात्मक सशस्त्र युद्धमा होमिएको माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउन त सफल भए तर आफ्नो दलमा भने एकता प्रवाह गर्न सकेनन् । कांग्रेसको ओरालो यात्रा सुरु भयो । दोस्रो संविधानसभा निर्वाचनमा विभाजित कम्युनिष्टका कारणले ठूलो दल बने पनि संसदीय निर्वाचनमा वास्तविक हैसियतमा आइहाल्यो । भीमकाय दल मुसोमा परिणत भइहाल्यो । 

२०५१ सालको मध्यावधि निर्वाचमा असफलता भोग्नु परेपछि गिरिजाप्रसादले एकताको सन्देश प्रवाह गर्न खोजेका हुन् । केही सफल पनि भएका हुन् । सन्त नेता कृष्णप्रसादलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर उनले २०५६ सालको आमनिर्वाचनमा कांग्रेसलाई बहुमतमा पु¥याए यद्यपि यसमा पनि एमाले विभाजनको प्रभाव परेको थियो । त्यसपछि सत्तामोह र माओवादी युद्धको भुंग्रोले कांग्रेसलाई विभाजनमा पु¥यायो । बहुदलीय राजनीतिक व्यवस्था राजाको प्रत्यक्ष शासनमा पुग्यो । कस्तो विडम्बना !

कांग्रेस अझै छ अवशेषका रूपमा । यो कांग्रेसलाई पनि हालका सभापति शेरबहादुर देउवाले अधोयात्रामै लगेका छन् । ‘कोइराला युग’ समाप्तिको खुशीयालीमा कांग्रेस समाप्तिको बाटोमा यात्रारत छन् । सुधार अभियान चलाएर कांग्रेसलाई एउटा बलियो दल बनाऊलान् भन्ने आम अपेक्षामा देउवाले पनि बाक्लो तुवाँलो लगाइदिए जो सितिमिति फाट्ने छाँट देखिँदैन । देउवा भाइभारदारकै वरिपरि रमाउनमै सन्तुष्ट देखिएका छन् । देशको एउटा सशक्त दल, हरेक ठूला आन्दोलनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस अविराम अधोगतिको यात्रामा छ । नेताहरूको चेत नखुलेको हो कि चेत भएरै पनि सहृमाल्न नसकेको हो यसै भन्न सकिने अवस्था छैन । आशाका किरणहरू कतै पनि देखिएका छैनन् । 


Views: 238