23rd August | 2019 | Friday | 11:48:22 PM

नेपालमा भूकम्प र भविष्य

डा. जीवराज पोखरेल   POSTED ON : बैशाख १२, २०७६ (१:०३ PM)

नेपालमा भूकम्प र भविष्य

नेपाल विपद भइरहने संकटासन्न राष्ट्र हो । यहा“ बाढी, पहिरो, आगलागी, भूकम्प, शीतलहरी, चट्याङ आदि घटनाले विपदको रूप धारण गरेको पाइन्छ । भर्खरै विगतमा कहिले नसुनिएको भुँमरीको घटना बारा तथा पर्सा जिल्लामा भएर ठूलो जन तथा धनको नोक्सान भएको छ । अहिले सुख्खा याम भएको हुनाले विभिन्न स्थानमा आगलागीका घटना भएको देख्न सकिन्छ । यसै समयमा जंगलमा डडेलो लाग्ने गर्छ । अब केही समयपछि मनसुनको वर्षाले विशेष गरेर तराईमा बाढी र पहाडी तथा हिमाली भेगमा पहिरो जान्छ । अहिले मेघ गर्जनसहित चट्याङ परेको देखिँदैछ । 

यस्तो घटना नेपालमा परापूर्वकालदेखि नै ह“ुदै आएको हो । नेपाल भूकम्पीय क्षेत्रमा पर्छ । यसकारण यहा“ं हरेक १०० वर्षको वरपर एक महाभूकम्प आएको देखिएको छ । त्यसैगरी हरेक ५० वर्षको यताउता मध्यम खालको भूकम्प आउने गरेको छ । उदाहरणका लागि सम्वत् १८९० मा भीमसेन थापा प्रधानमन्त्री ह“ुदा अनुमानित ७.७ रिक्टर स्केलको महाभूकम्प गएको थियो । त्यसै गरी सम्वत् १९९० मा जुद्ध शमशेर प्रधानमन्त्री ह“ुदा पनि रिक्टर स्केल ८.३ को महाभूकम्प आएको थियो । यस भूकम्पमा ८५१९ जना मानिसले ज्यान गुमाएका थिए । 

गत २०४५ सालमा पूर्वी नेपालको उदयपुरलाई केन्द्र बनाएर रिक्टर स्केल ६.५ को भूकम्प गएको थियो । यसमा परेर ७२१ जनाको निधन भएको थियो । नेपालमा सबैभन्दा पहिलो भूकम्प राजा अभय मल्लको पालामा सम्वत १२८० मा गएको थियो । योभन्दा पनि पहिले नेपालमा भूकम्प गएका थिए तर तिनीहरूको अभिलेख छैन । सम्वत् १३१४ मा गएको भूकम्पमा त स्वयं राजा अभय मल्लकै निधन भएको थियो । 

पछि सम्वत १४०० मा गएको भूकम्पमा पनि राजा अरि मल्ल देवको अवसान भएको थियो । त्यसकारण भूकम्पले नेपालमा राजादेखि रंकसम्मको ज्यान लिएको छ । गत २०७२ साल वैशाख १२ गते गोर्खा जिल्लाको बारपाक केन्द्र बनाई रिक्टर स्केलमा ७.८ को भूकम्प गएको थियो । यसमा ९८९१ जना मानिसले ज्यान गुमाएका थिए ।

नेपालमा यसरी किन बेला बेलामा भूकम्प गइरहेको होला भन्ने प्रश्न उठ्ने गर्दछ । पृथ्वी आधा उमालेको अण्डा जस्तो छ । यसको बाहिर कडा चट्टानका पत्र छन् भने बीचमा अर्ध तरल पदार्थ छ । यी पत्रहरू अर्ध तरल पदार्थमाथि पौडिरहेका र चलायमान हुन्छन् । यी पत्रभित्र चिरा परेका हुन्छन् । यो टाँसिएको स्थानलाई दरार अथवा फल्ट भनिन्छ । नेपाल भारती पत्र र तिब्बती पत्रको संगमनेर अवस्थित छ । यी पत्रहरू एक आपसमा टक्कर खाइरहेका छन् । यसरी टक्कर खा“दा ऊर्जासंकलन भइरहेको हुन्छ । ऊर्जा बढी भएपछि भूपत्रको बीचमा चिरा परेको स्थानमा चट्टान चिप्लेर भूकम्प जाने गर्छ । यदि यी दुई पत्र स्थिर भएको भए भूकम्प जाने थिएन । 

जस्तै भारतको दक्षिण भागमा यस्तो भएकोले त्यहा“ विरलै भूकम्प जान्छ । तर, भारतको उत्तरी भाग तथा नेपालमा चट्टानका पत्र चलायमान भएकोले भूकम्प जाने गर्छ । त्यसकारण नेपालमा भविष्यमा कुनै पनि बेलामा भूकम्प जान सक्छ । यसरी बेला बेलामा भूकम्प जाने हुनाले हाम्रा पुर्खाले भूकम्प प्रतिरोधी भवनको निर्माण गरेको देखिन्छ । काठमाडांैमा वर्गाकार मन्दिर बनाइएको मुख्य कारण भूकम्प निरोधक भएर पनि हो । त्यसैकारण सम्वत १३५० मा बनेको पनौतीको इन्द्रायणी महादेवको मन्दिर निर्माण भएपछि कैयौं शक्तिशाली भूकम्प गएर पनि अहिलेसम्म केही भएको छैन । 

जुम्लाका भवनलाई झ्यालमुनि तथा माथि काठ राखेर भूकम्प प्रतिरोधी बनाइएको देख्न सकिन्छ । अहिलेको भवन निर्माण संहितामा ढुंगाका घर बनाउ“दा भूकम्प प्रतिरोधी बनाउन यस्तै प्रविधि प्रयोग गर्न सुझाइएको छ । जुम्लामा लिच्छविकालीन शिलालेख पाइएको हुनाले यी भवन कम्तिमा पनि लिच्छविकालको अन्तिम वर्ष सम्वत ९३६ भन्दा पहिले नै बनेका हुनुपर्दछ । यसरी नेपालमा भूकम्प प्रतिरोधी भवन निर्माणको इतिहास १००० वर्षभन्दा पुरानो भएको देख्न सकिन्छ । २०७२ सालमा भूकम्प गए पनि ऊर्जाको बहिर्गमन पूरा हुन नसकेकोले काठमाडौंको वरपर कुनै पनि बेला भूकम्प जानसक्ने सम्भावना छ । 

नेपालको पश्चिममा सम्वत् १५६२ मा भूकम्प गएको थियो । यसपछि त्यो भेगमा भूकम्प नगएकोले कुनै पनि बेला रिक्टर स्केल ८.७ सम्मको भूकम्प जाने सम्भावना रहेको भूकम्पविदहरूले बताएका छन् । यस्तो भएको खण्डमा नेपालको पश्चिमी भाग क्षत विक्षत हुनुका साथै भारतको राजधानीसम्म क्षति हुनसक्ने सम्भावना रहेको छ ।

यसको लागि पूर्वतयारी एक मात्र विकल्प रहेको छ तर सरकारले पूर्वतयारीमा अहिलेसम्म पर्याप्त ध्यान दिन सकेको छैन । यसको प्रमुख कारण विपदसम्बन्धी सम्वत् २०३८ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनको नाम तथा काम दुबै त्रुटिपूर्ण भएर हो । वास्तवमा विपदले मानिसको हत्या गर्ने होइन तर मानिसले बनाएका संरचना विपद प्रतिरोधी नभएर निधन हुन गएको कुरा सिद्ध भइसकेको छ । त्यसकारण विपदलाई दैवी रूपले नामकरण गर्नु नै गलत हो । फेरि यस ऐनले तयारीलाई जोड नदिएर विपदपछि मानिस आहत भएपछि उद्धार गर्ने तथा राहत सामग्रीको वितरण गर्नेबारेमा प्रावधान राखेकाले यसको काम पनि त्रुटिपूर्ण थियो । त्यसैले २०७२ सालको महाभूकम्पपछि २०७५ सालमा नया“ ऐन संसदबाट पारित गरिएको छ तर सरकारले यस ऐनलाई अझै पनि क्रियाशील बनाएको छैन । 

अहिलेको आवश्यकता भनेको उक्त ऐनमा उल्लेख भएको प्राधिकरणको संस्थागत संरचनाको व्यवस्था गरी राष्ट्रिय अभियानको रूपमा पूर्वतयारीको काम सञ्चालन गर्नु हो । विशेष गरेर भूकम्पबाट बचाउन भवन तथा सडक, विद्युत प्रणालीजस्ता पूर्वाधारलाई प्रबलीकरण अथवा रेट्रोफिटिङ गर्नु पर्छ । विशेष गरेर पहाडी तथा हिमाली भेगमा विद्यमान ढुंगाका भवनलाई कम खर्चमा बा“स तथा गेबियन तारको प्रयोग गरेर प्रबलीकरण गर्न सकिन्छ । यसरी बनाइएका भवन गत भूकम्पमा प्रभावित नभएकाले यस्तो प्रविधि उपयोग गर्न सकिन्छ । 

त्यसै गरी पुराना मन्दिरको चारैतिर खाल्डो खनेर ढुंगा भर्ने गरिएको र यसको वैज्ञानिक परीक्षण गर्दा यसले भूकम्पलाई ५० प्रतिशतसम्म सुस्त बनाएको पाइएकोले यो प्रविधि पनि प्रयोग गर्न सकिन्छ । नया“ भवन निर्माण गर्दा भवन निर्माण संहिता पालना गर्नु पर्छ । 

नया“ संविधान निर्माण गरेर संघीय संरचनामा प्रवेश गरेपछि राष्ट्रले समृद्ध नेपाल निर्माण गर्ने अठोट लिएको छ । यसको लागि विकास तीब्रताका साथ हुनु पर्छ । विकास भनेको विपदको जोखिम न्यूनीकरण गर्नु पनि हो । त्यसकारण भूकम्पजस्तो विपदबाट बच्न सरकारले अहिले नै उपयुक्त कदम चलाउनु पर्छ । 



Views: 85

सम्बन्धित सामग्री:

बाढी र हामी

श्रीमन्नारायण : भदौ ६, २०७६ (८:४७ AM)