21st August | 2019 | Wednesday | 10:52:47 PM

सार्वजनिक यातायातमा गीत

बिनु लुइँटेल   POSTED ON : बैशाख १३, २०७६ (१०:३९ AM)

सार्वजनिक यातायातमा गीत

गीतसंगीतमा रम्नरमाउन प्रायः सबैलाई मन पर्छ । धेरैले आफू गीतसंगीत प्रेमी भएको जवाफ दिन्छन् । तर, हामीमध्ये कोहीलाई गीतसंगीतमा रमाउन मन लाग्छ भन्दैमा अरू धेरै जनालाई बाधा अवरोध हुनेगरी गीत घन्काउन थाल्छौं, यो सर्वथा गलत काम हो । अर्कोलाई असुविधा हुन्छ कि भन्ने कुरामा ध्यान दिने चलन छैन । पश्चिमी विकसित मुलुकहरूमा यसको क्षतिपूर्तिको व्यवस्थासमेत छ । हाम्रो देशका यस्तो कामलाई सहज मानिन्छ । यस्ता कामलाई सार्वजनिक बिज्याइँ भनिन्छ र सामान्य रूपमा नेपालका कानुनले यसलाई दण्डनीय मानेको छ तर व्यवहारमा यस्ता बिज्याइँको उजुरी पनि पर्दैनन् । सार्वजनिक बिज्याइँको उदाहरणका रूपमा सार्वजनिक यातायातका साधनमा बजाइने गीतलाई लिन सकिन्छ । 

उपत्यकाभित्रका सार्वजनिक यातायातमा यात्रा गर्दा झुन्डिन, पेलिन, कोचिन र सास नै फेर्न कठिन हुने ठाउँमा पनि आफूलाई अटाउन हामी बानी परिसकेका छौं । यसरी यात्रा गर्नु यात्रीहरूको बाध्यता हो । कार्यालयमा काम गर्ने कर्मचारी होस् या मजदुर अथवा सुन्दर भविष्य निर्माणको सपना बोकेका स्कुल, कलेजका विद्यार्थी नै किन नहुन् सबैको यात्रा यस्तै हुन्छ । अनि अस्पताल जाने र अस्पतालबाट घर फर्किने बिरामी जो महँगो ट्याक्सी चढ्न सक्दैनन् तिनले पनि सार्वजनिक सवारीसाधन प्रयोग गरेकै हुन्छन् । ट्याक्सीको ठगीको बेग्लै कथा हुन्छ । 

जब कुनै विद्यार्थी जसलाई परीक्षाको चिन्ता हुन्छ, ऊ यातायातको साधनभित्र पसेर सिट पाउने बित्तिकै किताब पल्टाउँछ । एउटी गृहणी बिहान घरपरिवारको कामबाट थाकेकी हुन्छे तर कार्यालय जानु उसको बाध्यता हुन्छ र त्यसका लागि गाडी चढ्छे । ऊ त्यहाँ आरामका साथ बस्न चाहन्छे । कोही कर्मचारी जो जाममा परेको छ र दिक्क बनेको छ । उसलाई कार्यालयको साथीलाई फोन गरेर आफ्नो अवस्था बताउनुपर्ने बाध्यता छ । यस्ता केही न केही समस्या सबैका हुन्छन् तर सवारीसाधनमा चालक र सहचालक गीत बजाएर आनन्द लिन चाहन्छन् । उनीहरू अरूका यी विभिन्न किसिमका समस्यातर्फ कुनै वास्ता नगरी गीत बजाउँछन् । 

गीत पनि सानो आवाजमा होइन ठूलोठूलो आवाजमा कानको जाली नै फुट्दाजस्तो गरी घन्काउछन् । कोही यात्रीले गीतको आवज कम गर्न अनुरोध गर्दा सवारी चालक र सहचालक त्यसमा बेवास्ता गर्दिन्छन् र केही कोही त उल्टै गाली गर्छन् । कोही बिरामी तथा अशक्त चढेको छ भने उसलाई त्यो संगीतले मनोरञ्जन दिने होयन दिक्क बनाउँछ । उसलाई पट्यारलाग्दो संगीतले उसको मनस्थितिमा झन् धेरै असर पार्नसक्छ । गीतसंगीतले सबैलाई जुनसुकै अवस्थामा आनन्द दिन्छ भन्ने छैन । सार्वजनिक यातायात त्यस्तो ठाउँ हो जहाँ हरेक समस्या, चिन्ता, पीडा, डर, खुशी, दुःख सबै संवेगबाट प्रभावित मानिस सँगसँगै यात्रा गरिरहेका हुन्छन् । 

असाध्यै मन पर्ने गीतसंगीत हरेक समय उत्तिकै प्रिय हुँदैन, त्यो सधैं सुनिरहन मन लाग्दैन । राम्रो लाग्ने कुरा पनि कहिले फिटिक्कै मन पर्दैन । यस्तै मन नपर्ने कुरा कहिले मन पराउनुपर्ने हुन्छ । 

कसैलाई पुराना नेपाली गीत मन पर्नसक्छन् । प्रेम गीतमा केही रमाउन सक्लान् कसैलाई वियोगका गीतले आकर्षित गर्न सक्लान् । नेपाली सुन्नेलाई हिन्दी दिक्क लाग्न सक्छ, हिन्दी सुन्नेलाई नेपाली मन नपर्न सक्छ । नेपालीमा पनि लोकगीत मन पर्नेलाई आधुनिक गीत मन पर्दैन र आधुनिक गीतका श्रोतालाई लोकगीत मन पर्दैन । तर सवारी चालकले जस्तो पायो त्यस्तै गीत बजाइरहेका हुन्छन् । कहिले त धुन र तालमा रमाउन उनीहरू आफैंले नबुझ्ने अंग्रेजी गीत पनि बजाउँछन् । कतिपय गीत हाम्रो समाजले सजिलै नपचाउने खालका पनि बज्छन् । तर पनि हामी सवारी चालकले जस्तो बजाओस् मन परोस् या नपरोस् त्यस्ता गीतलाई स्वीकार्न बाध्य हुन्छौं । गीतसंगीतको धुनमा एकोहोरो सवारी चलाइरहेको चालकले अगाडि–पछाडिबाट हर्न दिएका खण्डमा त्यतातिर पनि उसको ध्यान नपुग्न सक्छ । यसले दुर्घटना हुने सम्भावना बढ्छ । सवारीसाधनमा बज्ने गीतका कारण मानिसको कुनै सोचमा बाधा पुग्न सक्छ ।

सवारीसाधनभित्र गीत बजाउनुका सबै नराम्रा पक्षमात्र पनि छैनन् तर कस्तो अवस्थामा र कति आवाजमा बजाउँदा उपयुक्त हुन्छ भन्ने चाहिँ पक्कै पनि महत्वपूर्ण विषय हुन सक्छ । सार्वजनिक सवारीसाधनभित्रै पनि कसैको फोनमा जरुरी कुरा गर्नुपर्ने हुन्छ । कसैको साथी वा आफन्तसँग कुनै महŒवपूर्ण कुरा गर्नुपर्ने हुन्छ । यस्ता कुरामा त्यहाँको चर्को गीतसंगीतले ठूलो स्वरमा बोल्नुपर्ने हुन्छ र उसको निजी कुरा अरूले सुन्छन् । 

उपत्यकाभन्दा बाहिर जाने सवारीसाधन जुन दिवा वा रात्रिकालीन हुन्छन् त्यस्ता सवारीसाधनमा उपत्यकाको भन्दा चर्को आवजमा गीतसंगीत बजाउने चलन छ । बेलाबेलामा चालक निदाउँदा सवारी दुर्घटना भएर धेरैले ज्यान गुमाएका पनि छन् । लामो दूरीका धेरै सवारीसाधनमा एकमात्र चालक रहन्छन् जो लामो समयसम्म सवारीसाधन चलाउँदा निदाउछन् र दुर्घटना हुने सम्भावना बढ्छ । यसरी लामो दूरीको यात्रामा सवारीसाधनमा गीत बजाउँदा यात्रीलाई रमाइलो हुन्छ र चालक पनि सचेत रहने सम्भावना पनि उत्तिकै रहन्छ । यो यसको सकारात्मक पक्ष हो । 

सरकारले केही समयअगाडि सार्वजनिक यातायातमा गीत बजाएबापत रोयल्टी बुझाउनुपर्ने बताएको थियो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गरेर सो नियम लागू गरेको थियो । ब्लुबुकमै रेडियो भएको वा नभएको, साउण्ड सिस्टम तथा क्यासेट भए÷नभएको खुलाउने र सबैलाई करको दायराभित्र ल्याउन रोयल्टी संकलन गर्ने तयारी थियो । संगीत रोयल्टी संकलन समाजले सानो सवारीको वार्षिक ८ सय रुपैयाँदेखि ठूलाको २ हजारसम्म रोयल्टी पर्ने जनाएको थियो । तर योजना र काम कमजोर हुँदा न सवारीसाधनले गीतसंगीतको रोयल्टी बुझाउँछन् न बजाउनै छोड्छन् । बरु तिनले कसैलाई मन परे पनि नपरे पनि सुन्न बाध्य बनाउँछन् । 


Views: 108