18th August | 2019 | Sunday | 2:57:37 AM

उत्पादन र उत्पादकत्वमा वास्तु

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : बैशाख १४, २०७६ (७:३५ AM)

उत्पादन र उत्पादकत्वमा वास्तु

हाम्रो मुलुकमा औद्योगिक उत्पादन र उत्पादकत्वको स्थिति नगन्य छ । आर्थिक वृद्धि, समृद्धि एवं प्रगतिमा औद्योगिक जगतले दस प्रतिशतभन्दा योग गर्न सकेको छैन । उत्पादन र उत्पादकत्वको कमीकै कारण निर्यातक्षेत्रमा हामी धेरै पछाडि परेका छौँ । औद्योगिक स्थलमा सकारात्मक ऊर्जा प्रदान गर्ने गरी वास्तुविज्ञानमुताविक घर, भवन, व्यापारिक कम्प्लेक्स, कार्यालय एवं परिवेश बन्न सकेको छैन । कच्चापदार्थको आपूर्ति समय, स्थान र तयारी उत्पादनका सरसामग्री एवं ‘बाइप्रोडक्ट’ हरूको रखाइ, व्यवस्थापन र डिस्चार्ज गर्ने तौरतरिकाहरू सरल, सुगम र परिपक्व ढंगले आत्मसात गर्न सकिएको छैन ।

औद्योगिक एवं उद्योगस्थल वा कलकारखानाको मूल प्रवेशद्वार वास्तुनियमानुसार पूर्वोत्तरतर्फ हुनु उपयुक्त हुन्छ । तुलनात्मकरूपमा उत्तर, पूर्व वा पूर्वोत्तर क्षेत्र खुला भएको औद्योगिक उत्पादन क्षेत्रबाट सही र सदुपयोग किसिमका उत्पादन हुन सक्छन् । उत्पादनमा प्रयोग हुने साना, ठूला सम्पूर्ण मेसिनरीहरू भने उत्पादनक्षेत्रको दक्षिणपट्टि वा पश्चिमपट्टि वा दक्षिणपश्चिम दिशामा जडान गर्नुपर्छ । ‘हेभी इक्युपमेन्ट’ देखि गह्रौँ सबै किसिमका कच्चापदार्थहरूलाई पनि दक्षिण वा पश्चिमतिरै राख्नुपर्छ । तयारी उत्पादित सरसामान भने पश्चिम–उत्तर अर्थात् वायव्यकोणतर्फ राख्ने प्रबन्ध गर्नुपर्छ ।

कलकारखाना परिसरमा जहिले पनि विद्युतीय उपकरणहरूलाई परिसरको पूर्वदक्षिण अर्थात् आग्नेय कोणमा जडान गर्नुपर्छ । विद्युत्का मिटरहरू, ट्रान्सफर्मरहरू, ब्वाइलरहरू, जेनेरेटर आदि सबै प्रकारका ऊर्जा सम्बन्धी उपकरणलाई यसै दिशातर्फ व्यवस्थित गर्ने गर्नुपर्छ । अन्य मेसिन सम्बन्धी उपकरणलाई दक्षिण÷पश्चिमतर्फ जडान गर्नुपर्छ । 

भवन निर्माण गर्नुपूर्व औद्योगिक परिसरको साथमा कार्यालय परिसरलाई पनि ध्यान दिइनु पर्नेहुन्छ । प्रशासनिक कार्यालयको अवस्था, मुख्य प्रशासनिक अधिकृतको कोठा, उसको बसाइको स्थिति, धारा, बिजुलीको प्रबन्ध, लिफ्ट आदि, शौचालय एवं पिउने पानी र प्रार्थना स्थलसम्मको चयन पहिले नै गर्ने गर्नुपर्छ । उत्पादित सामानको बाहृयप्रवेश, ग्राहकहरूसँगको डिलिङदेखि बैठककक्ष, मजदुरहरूको निवासस्थान, श्रम व्यवस्थापनाका न्यूनतम तरिका, धूलो, धुवाँको प्रबन्ध, हेल्थ सेफ्टी मिजर्स गमबुट, मास्क, पञ्जा, प्रदूषण निस्कासन, त्यसको उपचारविधिको व्यवस्थापन मिलाउनुपर्छ । 

संकटकालको प्रयोग, विद्युतीय धण्टी आदिको समुचित प्रबन्ध, सवारी साधनको व्यवस्थापनदेखि सुरक्षासम्बन्धी सामान्य तौरतरिकाहरूको राम्ररी व्यवस्थापन गर्नुपर्छ । समयसूचक धडीको रखाइ, खाजाको प्रबन्ध, देव, देवीको फोटाको आवश्यक व्यवस्थापन र तिनको रखाइलाई पनि पहिले नै ध्यान दिनुपर्छ ।

चिम्नीभट्टा वा जोखिमपूर्ण कार्यहरूका लागि सम्भावित दुर्घटना, आपतकालीन उद्वारको न्यूनतम प्रबन्ध, आधारभूत स्वास्थसम्बन्धी औजार, उपकरण, औद्योगिक सरसामग्री आदिको प्रबन्ध अग्रीम गरिनुपर्छ । साथै त्यहाँ तनाव व्यवस्थापनका लागि व्यवस्थित, शास्त्रीय, मर्यादित मनोरञ्जनसम्मका वातावरण हुनु पनि जरुरी छ । कामको सुपरभिजन, समयावधि, आराम एवं छुट्टीको प्रबन्धसम्मको अग्रीम व्यवस्थापन हुनु आवश्यक छ ।

अग्ला, सार्वजनिक, उत्पादनस्थल, औद्योगिक कलकारखानाबाट सम्भावित ध्वनिप्रदूषण, वायुप्रदूषण, जलप्रदूषण, विकिरण विषादी पदार्थको प्रयोग, तिनबाट हुने सम्भावित स्वास्थक्षेत्रको खतरालाई विशेष ध्यान दिइनु पर्नेहुन्छ । विकिरणयुक्त प्रदूषित जल, वायु मानिसलाई मात्र नभएर जलचर, जीवात्माहरू, पशु, पक्षीहरूलाई समेत प्राणघातक हुन्छ । कीटनाशक, केमिकल उत्पादन, आणविक भट्टी, ऊर्जासम्बन्धी उत्पादनस्थलमा सबैले सुरुमै ध्यान दिनुपर्ने हुन्छ । 

सडक, सरसफाइ, बाटोघाटो, ढल निकास, पानी र ढलको मिश्रणको सम्भावना धेरै कुराहरूमा ध्यान पु¥याउनु पर्नेहुन्छ । आजभोलि मुख्य क्षेत्रहरूमा जमिनको कमीका कारण भूमिगत भवन, कार्यस्थलहरू बन्ने गतिमा वृद्धि देखापरेको छ । विश्व आर्थिक मन्दीको साथै हामीकहाँ घर, जग्गा, भवन, आवास, उत्पादन कम्प्लेक्सहरूको निर्माण, बेचबिखन व्यवसायले फस्टाउने मौका पाएका छन् । घर जग्गा कारोबारमा विश्वमै मन्दी देखिएका बखत हाम्रा नगरहरूमा यो क्षेत्रमा आजभोलि लगानी आकर्षण देखिएको छ । 

अन्तर्राष्ट्रियस्तरमा एक्स्पो स्टल सञ्चालनदेखि यससम्बन्धी सभा, गोष्ठी, सेमिनारहरू पनि विगत केही वर्षयतादेखि देखिएको छ । व्यवस्थित सहरीकरणको अभाव देखिएको र जताततै प्रदूषण र सवारी जाम देखिँदै गएको अवस्थामा घर जग्गा व्यवसायमा विदेशी लगानीसमेत आकर्षण भएको परिप्रेक्ष्यमा व्यवस्थित भवनहरूको निर्माण आजको आवश्यकता हो भन्ने महसुस भएको छ । 

सार्वजनिक वा व्यक्तिगत घर, भवनहरू बन्दा वास्तुपुरुषको ब्रहृमस्थान, पूर्वोत्तरक्षेत्र वा वरिपरिको खुलापन आदिलाई विचार गर्नुपर्ने हुन्छ । भूकम्पका जोखिमस्थिति, दमकल, एम्बुलेन्स प्रवेशदेखि पानीको पर्याप्त आधार, भूमिगत जल भण्डारणको क्षमता आदि विषयमा राज्यसमेत बढी चनासो हुनुपर्ने हुन्छ । घर भवनहरूको निर्माण गर्दा आस्थाका केन्द्र परमेश्वरको फोटैमात्र भए पनि उत्तरपूर्वी दिशामा राख्ने व्यवस्था मिलाइनु पर्नेहुन्छ ।  प्रत्येक तलामा यसको प्रबन्ध हुनु र कुनै निश्चित समय र स्थानमा प्रार्थना कक्षका साथै सुन्दरताका जीवन्त अभिव्यक्ति वागबगैँचा पनि हुनु जरुरी छ ।

व्यापारिक भवनहरूमा प्रबन्धक वा उत्पादन मालिकको कोठा भने नैऋत्य दिशातर्फ हुनु आवश्यक छ । तर, उसले उत्तर वा पूर्वोत्तरतर्फ फर्केर बस्ने गर्नुपर्छ । त्यसैले उत्पादन र उत्पादकत्व वृद्धि गर्न व्यावहारिक दक्षतालाई र वास्तुविज्ञानलाई समेत ध्यान दिन सके दीर्घकालसम्म सबै कार्य अनुकरणीय बन्न पुग्छन् ।



Views: 61

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)