18th August | 2019 | Sunday | 3:44:22 AM

नियात्रा : भूस्वर्गमा काव्य सम्मेलन

मोतीराज बम   POSTED ON : बैशाख १४, २०७६ (७:४१ AM)

नियात्रा : भूस्वर्गमा काव्य सम्मेलन

कवि श्यामलको ‘हतारमा यात्रा’ पढेको थिएँ तर आफ्नै यात्रामा लापरवाहीको अनुभव पहिलो पटक गरे । त्रिभुवन विमानस्थलमा त्रिभुवनचन्द्र वाग्लेसँग भेट भएपछि मेरा आँखा खुले । म हाते ब्याग र सुटमा सजिएर विमानस्थल पुगेको देखेर वाग्लेजी झसंग भए र भने, ‘तपाईं धनगढीतिर कि सिंहदरबारतिर ?’ वास्तवमा म सुदूरपश्चिको भूस्वर्ग ३२६८ मिटर उचाइमा अवस्थित खप्तड यात्राका लागि निस्केको थिएँ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी–धनगढी कैलालीका अध्यक्ष तथा सुदूरका साहित्यतारा पद्मराज जोशीको निमन्त्रणामा ‘खप्तड अन्तर्राष्ट्रिय सांकृतिक पदयात्रा तथा काव्य सम्मेलन २०७५’ का लागि । 

खप्तड जाने हुटहुटी पहिल्यैदेखिको थियो । यस पटक बल्ल साइत जु¥यो, त्यो पनि मित्र पद्मराज जोशीको अनुग्रहले । यात्रामा निस्किदा के के चिज छुटाउनु हुन्न मैले हेक्का नै राखिनँ । भन्न त फोनमा पद्मराज जोशीले भनेका थिए ‘बम राजा’ आउँदाखेरि रेनकोट, बाक्ला कपडा, स्पोर्ट जुत्ता, पिरो खानेकुरा, स्लिपिङ ब्याग नछुटाई ल्याउनुहोला ।’ त्यो त दिमागमै राखिनछु मैले । त्रिभुवनजीको बडेमाको टाइट झोला देख्दा पो याद आयो पद्मराज जोशीले भनेको कुरा । 

म कर्णालीको मान्छे, त्रिभुवनजीले यो यात्रामा पूरै मेरो भरोसा गरेको रहेछ तर उल्टै मैले त्रिभुवनजीको भरमा हिँड्नुपर्ने अवस्था आयो । खप्तडको मायाले यसरी तान्यो कि २७ गते आउनु भनेको हामी वैशाख २६ गते नै धनगढी झ¥यौँ । कृषि विकास बैंकको तालिम केन्द्रको बास अत्यन्त प्रिय रहृयो । 

३६ डिग्री सेल्सियस तापक्रम रहेको धनगढी शहरलाई त्रिभुवनजी र मैले २७ गते भरपुर उपयोग ग¥यौँ । बाटो फराकिलो बनाउने कार्यमा थियो धनगढी, धुलो र धुवाँले काठमाडौंको याद दिलायो । मन केही अमिलो भयो । शहरको महफिलपछि हामी अलि अबेर तालिमकेन्द्र फर्कियौँ । काठमाडौंबाट आउने नौ जना साथीहरू पनि आइसकेका थिए । तालिमकेन्द्र उल्लासमय बनेको थियो । 

हामी जुन उद्देश्यका लागि धनगढी पुगेका थियौँ त्यो वैशाख २८ गतेबाट प्रारम्भ हुँदै थियो । बिहानै पद्मराज जोशी तालिमकेन्द्रमा आए । मौखिक रूपमा कार्यतालिकाबारे बताएपछि हामी लाग्यौँ होटल फ्लोरामा । बिहानको खाना र केही मन्तव्यको कार्यक्रम रहेछ । भारतबाट आएका साहित्यकार, सन्त, महन्त, साधुहरू थिए । उहाँहरूको साथमा आएका भारत उत्तराखण्ड राज्यका अर्थमन्त्री प्रकाशचन्द्र पन्त प्रमुख अतिथि थिए । उनले नेपाली लेखक साहित्यकारहरूका लागि मायाको चिनोका रूपमा भारत हरिद्वारबाट ल्याइएको पवित्र गंगाजल सम्मानपूर्वक हामीलाई हस्तान्तरण गरे । हामीले पनि आदरपूर्वक ग्रहण ग¥यौँ । अनि दुबै देशका साहित्यकारहरू दुईवटा बसमा बेग्लाबेग्लै गोदावरी गयौँ । गोदावरीमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छोटो मन्तव्यपछि हाम्रो विदाइ गरे । 

अब फुक्काफाल हाम्रो बस हुँइकियो बझाङलाई टार्गेट बनाएर । सायद दिन ढल्किसकेको थियो । भासुको भीर पुगेपछि मेरो हंसले ठाउँ छोड्यो । मैले सुनेको थिए भासुको भीरमा बाटो काट्दा दर्जनौं श्रमिकहरूले ज्यान गुमाएका थिए तर उनीहरूको लास ल्याउने आँट कसैले गरेन रे । त्यस्तो कहालीलाग्दो भीर । बाटोमा भेटिएजति काफल खाँदै बुडर बजार पुग्दा अलि अलि उज्यालै थियो । त्यहीबाट कैलालीलाई विदाइ ग¥यौँ र डोटीलाई स्वागत । 

डोटीमा पाइला टेक्ने बित्तिकै खै कसले हो कुन्नि प्याक्कै भनेको शब्द मेरो कानमा ठोक्कियो । ‘गयो डोटी खायो रोटी आउने बेला धोती न टोपी’ तर यो उखानले डोट्यालीहरू बदमास हुन्छन् भन्ने अर्थ लगाउँछ । यथार्थमा त्यसो होइन । नेपाल एकीकरणपूर्व कर्णाली आसपसाका बाइसे राज्यहरूमध्ये डोटी पनि एक सबल राज्य हो । 

डोटीबाहेक अन्य राज्यमा विभिन्न प्रकृतिका जघन्य अपराध गर्ने अभियुक्तहरूलाई ठूलै सजाय र सास्ती दिनु प¥यो भने त्यहाँबाट हतकडी लगाएर ल्याइन्थ्यो र डोटी जेलमा हालिन्थ्यो । केही जेलमै प्राण त्याग्थे त कोही वर्षौं लगाएर छुट्थे, यसरी अन्य स्थानबाट डोटी आउन महिनौं दिन लाग्दथ्यो । त्यतिबेला पश्चिमकोे नेपाल भनेकै डोटी थियो । त्यसर्थ अपराधी, साक्षी, सर्जमिनकर्ता, नातागोता, केही सरकारी काम विशेषले डोटी आउनु पर्दा महिनौं लाग्ने भएकोले बोकेर ल्याएको ‘सामल’ फैसला कुर्दाकुर्दै सकिन्थ्यो । फर्किदा लगाएको कपडा पनि बेच्नुपर्ने अवस्था आउँदा यो उखानको जन्म भएको हो । 

तन्नेरी ड्राइभर, मिनेट मिनेटमा फोन, बाटा बाटामा केटीहरूसँग संवाद, ड्राइभरले दिक्कै लगाएको थियो । कहाँनेर यसले बित्यास पार्छ मनमनै डर पनि थियो । जे होस् विनाअड्चन डडेल्धुरा बजार पुग्यौँ । ऐतिहासिक अमरगढी र उग्रतारा मन्दिरको फर्किंदा दर्शन गर्ने निधो भयो । भोकले आलसतालस थियौँ तर खानाको मेलोमेसो भने कतै थिएन । महेश्वरी होटेलको साहुले पनि यतिका जनालाई विनाअडर खाना खुवाउन नसकिने बताए । वल्लतल्ल जोहो भयो खानाको त्यै महेश्वरी होटलमा । 

हामी खानामा लाग्यौँ, ड्राइभर मानामा लागेछ । ठस्ठस्ती गनाउँदै आयो र भन्न थाल्यो जंगे पारामा । ‘ल ल छिटो छिटो मैले भोलि छिटै फर्किनु छ । धनगढीबाट ३ बजे वाजुराको ट्रिप छ मेरो ।’ प¥यो फसाद ! निष्पट्ट अँध्यारो, अप्ठ्यारो बाटो, जँड्याहा ड्राइभर ठूलै गलफत्ती भयो । अन्ततः अर्को ड्राइभर चेन्ज गरेर हान्नियौँ बझाङतिर । 

बाबा बस्नेत, अश्विनी कोइराला र म बसको क्याबिनमा थियौँ । हामीसँग थिए स्थानीयहरू देवीलाल शर्मा र सरस्वती भट्ट । अरू साथीहरू पछाडि लग्जरियस सिटमा थिए । पटक्कै निद्रा लागेन । साँच्चिकै बाटो खतरा थियो । बिहान छ्यांगै उज्यालोमा पुग्यौँ बझाङको चैनपुर बजार । 

चैनपुर पुगेपछि मानवतावादी नेता बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहप्रति श्रद्धाले शिर झुक्यो । देउडा सम्राट नन्दकृष्ण जोशीलाई सम्झेँ । चैनपुर बजारस्थित केपी प्लाजामा एकछिन आराम गर्ने र हातमुख धुने समय तय भयो । केपी प्लाजा नेपाली कांग्रेसका नेता निर्वाचित वडाअध्यक्ष दलबहादुर (कृष्णबहादुर) बिष्ट र उनकी श्रीमती पुष्पा बिष्टको रहेछ । पुष्पा अत्यन्त हँसिली फरासिली । स्वभाव ज्यादै ग्रहणीय थियो । 

चैनपुर बजारको बीचमा रहेको सुर्मादेवी मन्दिरमा कार्यक्रम र भोजनको बन्दोबस्त थियो । सुर्मादेवी बझाङको चर्चित र शक्तिशाली धार्मिक शक्तिपीठ हो । केही यताउता आँखा डुलायौँ । मलाई सबैभन्दा सुन्दर सेती नदी नै लाग्यो । एकतमासले आफ्नै लयमा बगेको, कपटी मान्छेहरूको हृदयमा निष्कपट सुसाएको । चैनपुर बजारमा चैनले घुटुक्क निल्यौँ यो मोहकता । त्यसपछि आएकै त्यही बाटो फर्कियौँ तमैल बजार । 

चर्को गर्मीले कतै शितल खोजिरहेका थियौँ हामी । धेरै साथी पछाडि छुटेछन् त्रिभुवन, युवराज नयाँघरे र म मात्र थियौँ । तमैलको झोलुङ्गेल तरेपछि लाग्यो खप्तडछान्ना गाउँपालिका । दुई–तीन वटा जिप लागेका थिए । हामी सिधै घाटखोलाको ईश्वर निमाविको प्रांगणमा हुने स्वागत सम्मान कार्यक्रमका लागि जिप चढ्यौँ । घाटखोला पुगेपछि धौलीगाड होटलमा थकान मेटाउने र चिया खाने सल्लाह भयो । त्रिभुवनजीले दही खाने भनेपछि घाटखोलाकी तारा रोकायाले दहीको ठेकी नै ल्याइदिइन् । दहीको पनि धित म¥यो, पैसा लिन मानिनन्, कर गरेपछि मात्र उनको मुखबाट वाक्य फुट्यो ‘धर्मले दिया देऊ नदिया नदेऊ’ हामीले आधाउधी मूल्य दियौँ । उनको त्यो सत्कार हाम्रो जुनीभरिको ऋण बनेर आयो । 

धौलीगाड होटलको साहु त बडो चतुर रहेछन् नाम शेरबहादुर रोकाया माओवादी केन्द्रबाट वडाअध्यक्ष लडेर पराजित भएका । हेर्दा सामान्य गफिँदा असाधारण । भरियाको चाँजोपाँजो पनि गरिदिए, धन्य शेरबहादुर । 

घाटखोला ईश्वर निमाविको प्रांगणमा खचाखच मान्छे । लेखक, साहित्यकार, सन्त, महन्तको भव्य सम्मान । हाम्रा केही साथीहरू बाटो बिराएर उपस्थित नभएकोमा खिन्नता पनि भयो । कार्यक्रम सकिएपछि युवराज नयाँघरे स्थानीयलाई हौस्यादै थिए । देउडा खेल्नुहोस्, हामीले यहाँको मौलिकता के लिने ? नभन्दै चम्क्यो देउडा खेल, महिलाको छुट्टै, पुरुषको छुट्टै । पाका खेलाडीहरू झिट्टा खेल्न माहिर । हर्कबहादुर बिष्ट र जयराज जोशीको बीचमा घम्साघम्सी । हामी सबै खेलमा सामेल भयौँ । युवराज नयाँघरे, अश्विनी कोइराला र त्रिभुवनचन्द्र वाग्लेले ठम्ठम्ती पैतला मिलाएको देख्दा को पश्चिमको ? को पूर्वको ? आखिर मौलिक संस्कृति भनेको हामी सबैको साझा चिनारी हो भन्ने लाग्यो । 

त्यहीँ भेट भयो हाम्रो गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायासँग । बझाङका आयोजक उनै थिए । उनकै पालिकाको अधिकांश भूभाग हो खप्तड । उनको नाम धेरै पहिले सुनेको हुँ मैले । तत्कालीन माओवादीको आक्रमणमा दुबै खुट्टा भाँचिएपछि काठमाडौंमा उपचाररत हुँदाताका । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट शानदार मत ल्याएर खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका रहेछन् । 

सरल स्वभाव, मृदुभाषी, सामान्य जीवनशैली, बर्कबहादुर रोकायाको विशेषता । पाहुनालाई मीठो र अर्गानिक खाना कसरी खुवाउने उनी चिन्तित देखिन्थे । स्वयंसेवक र खानपानमा खटिएका तन्नेरीले पाहुनालाई कुनै चीजको कमी गरेनन् । तन्नेरीको खटनपटन पनि बडो घतलाग्दो थियो । रोटी, खिर, पुरी, तरकारी, सिस्नो, निउरो, फापरको साग, दही, दाल, अचार मस्तसँग खाइयो । 

३० गते बिहान हाम्रो पैदलयात्रा सुरु भयो । सिद्ध सेराला भन्ने ठिटो हाम्रो सामान सहयोगी थिए । घाटखोला तरेर माझीगाउँ पुगेपछि एक एकवटा लठ्ठी बनायौँ । खोलैखोला माझीगाउँको उकालो चढेपछि दारुगाउँ भेटियो । दारुगाउँमा अघिल्लो दिन छुट्टिएका साथीहरूसँग भेट भयो । दारुगाउँ खप्तडको बेसक्याम्प रहेछ । मैले, ‘दारुगाउँमा दारु पाइन्छ होला नि ?’ भनेर सोधेँ एक बुढी आमालाई । उनले भनिन् ‘नाँइ, याँ त दारु आछिन’ (यहाँ दारु पाइँदैन) ।

त्यहाँ हाम्रो सेवामा खटिएका थिए ससाना स्कुले ठिटा । कक्षा ४ मा पढ्ने श्रवण खड्काप्रति मेरो हृदयदेखि नै सम्मान जाग्यो । उनको खटाइ अत्यन्त सराहनीय थियो । मैले उनीसँग एउटा तस्वीर लिएँ । म हिँड्दा उनले भनेका थिए, ‘अंकल, म काठमाडौं आएपछि भेट्छुु है नबिर्सिनु ।’ दारुगाउँमा सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले लेखक साहित्यकारहरूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । अनि त्यसपछि कोही घोडामा, कोही पैदल भूस्वर्गको सोपान चढ्यौँ । मेलतडीमा पानीको प्यास मेटाइयो । 

मेलतडीबाट लोखाडासम्म पूरा सुख्खा । अचम्म लाग्यो हरियो र घना जंगल छ तर पानीको मूल कतै पनि छैन । थकाइ मार्दै, पसिना पुछ्दै लठ्ठीसँग लतारिँदै लतारिँदै लोखाडा पुग्यौँ । पानीको धारा भेटियो, तिर्खा मेट्यौँ, त्रिवेणी छान्ना होटलमा चिया खायौँ । पैसा अध्यक्ष बर्कबहादुर रोकायाले तिरे । 

अलिकति उकालो चढेपछि ‘गुरु गोरख गुल्म’, भेटियो । त्यहाँनेर टाँगिएको साइनबोर्डमा खप्तडका महŒवपूर्ण धार्मिक पर्यटकीय स्थलहरूको नाम लेखिएको थियो । १, त्रिवेणी २, खप्तडबाबाको कुटी ३ सहस्रलिंग ४, सप्तडताल (यसलाई चुन्नुमुन्नु दह पनि भनिन्छ) ५, नागढुंगा ६, भीमघट्ट ७, माइकाथान ८,खापरमाँडु यिनै हुन् २२ पाटनका उच्च शीर । 

हिँड्दा हिँड्दै असिनापानी प¥यो । ठिन्क्याबाँजको रूखको ओत लियौँ । सबैले झोलाबाट रेनकोट झिके । मैले त्रिभुवनजीले दिएको छाता उगारेँ । उच्च हिमाली भागमा पानीभन्दा पहिले असिना पर्दोरहेछ । कि यो बैशाख जेठ असिनाकै मौसम भएर हो कि ? 

करिब ६ घण्टा लाग्यो होला उकालो चढ्न । घोडादाउनी पुगेपछि बिस्फारित आँखाले नियाल्यौँ सपाट पाटन । जता हे¥यो उतै रमाइलो । घोडा, गाई, भैंसी एकनासले चरिरहेका क्या आनन्द, क्या बात भन्दै उफ्रिए अश्विनी कोइराला । पूर्णरूपमा प्राप्य भयो भूस्वर्गको मज्जा । आआफ्ना मोबाइलमा केही तस्वीरहरू कैद ग¥यौँ । केही समय हिँडेपछि सेनाको मुख्य गुल्म भेटियो । गुल्म मुन्तिरबाट बगिरहेको हिमाखोला किनारै किनार पूर्वतिर हिँडेपछि भेटियो हाम्रो गन्तव्य । धर्मशालाभित्र के छिरेका थियौँ असिना यसरी वर्षियो कि छानै खसाउलाझैँ भयो । कम्बलले जीउ तताउँदै सुतियो ।

लेकाली कागहरू बिहानै बिउँझाउन आइपुगे । नित्यकर्मपछि खाना खाइवरी २२ पाटनको अवलोकन भ्रमण ग¥यौँ । विशेषगरी मलाई खप्तडबाबाको कुटी हेर्नु थियो । कुटी जाने बाटो देखाइदिए बझाङ मेलतडिका विनीता र विपना रावलले । जहाँ बसेर खप्तडबाबाले धर्म विज्ञान, विचार विज्ञान र मनोविज्ञानसम्बन्धी दर्जनौं किताब लेखेका थिए । कुटी पूरै उजाड र उराठलाग्दो थियो । केदारढुंगाको पानीको धारा विस्मयलाग्दो छ, त्रिवेणी लोभलाग्दो छ, खप्तडको पूरा पाटन आँखाभरि अटाउन पाउँदा मलाई स्वर्गमै पुगेको अनुभूत भयो । जता हे¥यो उतै मोहकता २२ पाटनको सुन्दरता । 

२२ पाटनको बैंश चुम्न गएका अन्य साथीहरू फर्किएपछि काव्य सम्मेलन सुरु भयो । काव्य सम्मेलन आयोजक प्रतिष्ठानका उपाध्यक्ष विनोद भट्टराईले स्वागत मन्तव्य दिए । एनके जोशीले कार्यक्रम सञ्चालन गरे । मीठो स्वर, चिटिक्क शब्दवान्की, अद्भूत उद्घोषणकला रहेछ एनके जीमा । चिसो स्याँठको आक्रमणका बाबजुद कविताको राप ताप्न रातो पालमा पलेटी कसेर बसे श्रोताहरू । 

बाबा बस्नेत, ठाकुर बेल्बासे, डा. रेणुका थापा सोलु, मोतीराज बम, गीता कार्की, सन्ध्या पहाडी, प्रोल्लास सिन्धुलिया, अश्विनी कोइराला, जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, शशी थापा पण्डित, लोकराज पराजुली र स्थानीय कविहरूमा जयराज जोशी, गुणाकर पनेरू, ऋषिकेश भारद्वाज, पद्मराज जोशी र भारतबाट आएका कविहरूमा डा. अत्रा, चैतन्य चेतन, जगदाचार्य ब्रहृमर्षि, स्वामी गौरीशंकरजी महाराजले आआफ्ना रचना सुनाए । निबन्धकार युवराज नयाँघरेको कवि, कविता र काव्य सम्मेलनमाथिको सटिक र ओजपूर्ण टिप्पणीले काव्यिक परिवेश र काव्य सम्मेलनको उचाइ हृवात्तै बढायो । नेपाली भाषा र हिन्दी भाषाको अन्तरघुुलन ज्यादै मनमोहक थियो । 

यसरी पवित्र देवभूमि खप्तडको त्रिवेणीमा साहित्य, योगा र अध्यात्मको अर्को त्रिवेणी विधाको मिठासपूर्ण भावमा समापन भयो । कविता सुनाउनकै लागि कष्ठप्रद यात्रालाई सुखद् बनाउँदै खप्तड पुगेका थियौँ हामी । काखे बालकसहित आएका भारतीयहरू पनि देवभूमि खप्तडको दर्शनले औधी प्रफुल्ल देखिन्थे । 

धेरै जसो भूभाग बझाङले र केही भूभाग डोटी, अछाम, बाजुराले ओगटेको खप्तडलाई नेपाली भाषाको उद्गम थलो हो । खप्तडबारे स्कन्द पुराणको मानस खण्डको ३९ देखि ७५ सम्मका अध्यायहरूमा शौनक ऋषि लगायतका अन्य ऋषिले प्रश्न गरेको र वेदव्यासले जवाफ दिएको कुरा उल्लेख गरिएको छ भन्ने जानकारी पाइयो ।

जेठ १ गते बिहान हामीलाई विदाइ गर्न आतुर थिए आयोजक समितिका अध्यक्ष पद्मराज जोशी । हाम्रो मनोविज्ञान बुझेरै होला त्यो आतुरता देखाएको । हामी धेरै आभारी थियौँ पद्मराज जोशीप्रति । जगदाचार्य ब्रहृमर्षि स्वामी गौरीशंकर महाराजजीको हातबाट सम्मानपत्र प्रदान भयो । पद्मराज जोशीको सक्रियतामा सुदूरको भूस्वर्ग खप्तडमा भएको ऐतिहासिक अन्तर्राष्ट्रिय काव्य सम्मेलनले पवित्र देवभूमि खप्तडको गरिमा अम्झै उँचो हुने र महिमा अझ व्यापक हुने निश्चित छ । सुदूर पश्चिमका धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका सन्दर्भमा प्रदेश सरकारको ध्यान पुगोस् भन्ने सवालमा हामी कसैको विमति रहेन । 


Views: 236

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)