18th August | 2019 | Sunday | 3:40:37 AM

तरकारी किसानका समस्या

विनोद दाहाल   POSTED ON : बैशाख १६, २०७६ (५:१८ AM)

तरकारी किसानका समस्या

केही समयअघि बाराका एकजना किसानले १२ बिघामा लगाएको बन्दा खेतीमा ट्रयाक्टर लगाएको खबर आएको थियो । त्यो थोरै क्षेत्रफलको र थोरै परिणामको कुरो होइन । निश्चय पनि त्यो ट्रयाक्टरसँगै उनका सबै सपना पनि त्यहीँ जोतिन पुगेका थिए । बेलाबेलामा यस्ता खबर आइरहन्छन् । किसानहरूले कहिलेकहीँ मिल्क होलिडे गर्छन् । दूध सडकमा पोख्छन् । कहिले सबै तरकारीजन्य उत्पादनहरू सडकमा थुपारेर गाडीले कुल्चाउँछन् । यो उनीहरूको विरोधको एउटा शैली हो । तर यसो गर्दा लाखौंको तरकारी वा दूध खेर गइरहेको हुन्छ । 

हालै प्रधानमन्त्रीले यसरी सडकमा दूध पोख्नुको सट्टा त्यसबाट बन्ने दही, घ्यू, कुराउनी बनाएर त्यसको उपयोग गर्ने सुझाब दिएका थिए । त्यो सही पनि हो । कुनै पनि खाने कुराको दुरुपयोग गर्नु उचित होइन । एकातिर खान नपाएर धेरै मानिस भोकभोकै बस्नुपर्ने अवस्था छ वा ती एक छाकमात्र खाएर बाँचिरहेका छन् भने अर्कातिर खाने कुरा यसरी फाल्नुपर्ने अवस्था सिर्जना हुनपुग्छ । 

निश्चयनै यो दुःखद् हो तर सबै कुराको प्रधानमन्त्रीले भनेझैं सञ्चिति गर्न सकिँदैन । कतिपय कुराहरू तुरुन्तै खपत नगरे बिग्रिन सक्छन् । जस्तैः पाकेको गोलभेडाको सञ्चिति गर्न गाह्रो हुन्छ । उपभोक्ताहरूले शहरी क्षेत्रमा दैनिक उपभोग्य वस्तुहरू पाइरहेका हुँदैनन् र तिनले बजारमा पाइएका कुरालाई महँगो मूल्य तिर्नु पर्नेहुन्छ । भने अर्कातिर उत्पादक किसानहरू आफ्नो लागत नै उठाउन नसकेर बारीमै ट्र्याक्टर लगाउन बाध्य छन् । कमसेकम उनीहरूको उत्पादनको प्रत्याभूति गर्ने कुनै निकाय त हुनुपथ्र्यो । 

किसानहरू कतिसम्म मारमा छन् भन्ने कुराको एउटा दृष्टान्त यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । काठमाडौंको बजारमा बन्दाको मूल्य प्रतिकेजी २० रुपैयाँ थियो । कुरो २०५५ साल माघको हो । म पूर्वी तराईको मोरङ जिल्लाको दुलारीमा रहेको आफ्नो घरतिर जाँदै थिएँ । 

बस आफ्नै गतिमा गुडिरहृयो । खाजा खाने, खाना खानेजस्ता नियमित काममा रोकियो र लक्षका लागि हान्नियो । रात्रि बसका यात्रीहरूका लागि निदाउनुबाहेक अरू कुनै विकल्प थिएन । बाहिरका कुनै दृश्य देखिने होइनन् । सबैजना निदाइरहेका थिए । 

बस कतै रोकिएछ । बसका स्टाफहरू चिया खान लागेका रहेछन् । म पनि झल्यास्स बिउझिएँ । त्यो ठाउँ धनुषा जिल्लाको ढल्केबर रहेछ । राजमार्गमा व्यापार गर्नेहरूलाई रात पनि दिन बराबरै हुन्छन् । रातिको ३ बजेको रहेछ । निद्रा खुलेर पनि मलाई बसबाट झर्न मन लागेन । आफ्नै सिटमा ढल्किइरहेँ । नजिकैको होटलमा चालक, सहचालक र केही यात्रुहरू चिया खाइरहेका थिए । 

बस रोकेकै ठाउँनेर ढकीमा बन्दा लिएर लस्करै तराईवासी महिलाहरू बसेका थिए । मैले झ्यालबाट मूल्य सोधेँ । किलोको ६ रुपैयाँ रहेछ । काठमाडांैको बजारमूल्यभन्दा निकै सस्तो थियो । रातभरि नसुती सडकछेउमा बसेर यसरी व्यापार गर्छन् अनि यति सस्तो दिन्छन् । यिनलाई कति नाफा हुँदो होला र यसरी रातभरि बसेका हुन्जस्तो लग्यो ? किसानहरूले त झन् कति नै पैसा पाउलान् र ¤ उनीहरूबाट किनेर ल्याएर रातभरि बसेर व्यापार गर्नेहरूले त यति सस्तो दिइरहेका छन् । 

सहानुभूतिको भाव पैदा भयो र मैले तीमध्ये एकजनालाई १० केजी बन्दा जोख्न लगाएँ । उनले बाहिरबाटै मलाई समाउन दिइन् । मैले आफ्नो सिट माथिको सामान राख्ने ठाउँमा राखेँ र उनलाई ६० रुपैयाँ दिएँ । 

बिहान सात बजे म घर पुगेँ । अनि मलाई घरका मानिसले यो बन्दा कहाँबाट ल्याएको भनेर सोधे, मैले सबै वास्तविकता बताएँ । अनि फेरि यसको मूल्य सोधियो । मैले त्यो पनि बताएँ, ‘सस्तो पाएर ल्याएको ६ रुपैयाँ किलो’ । सबैजना हासे । हास्नुको कारण के रहेछ भने, हाम्रै छिमेकीहरूले बारीबाटै टिपेर ताजा ताजा बन्दा दुई रुपैयाँ किलो दिइरहेका रहेछन् । म छक्क परेँ । 

पाहुनापाछा, छरछिमेकी र परिवारका सदस्यबीच म हासोको पात्र बन्नपुगेँ तर पनि लय मिलाएर हाँसे । उनीहरूको हासोमा मप्रतिको उपहासमात्र थियो मेरो हासोमा विस्मय पनि मिसिएको थियो । किसानले खै त मिहिनेतको मूल्य पाएका ? दुई रुपैयाँमा पाइने एक किलो बन्दाको लागत योभन्दा बढी नपर्ला र ? 

यो परिस्थिति हामीले अहिले पनि भोगिरहेका छौं । घटेको छैन बरू अझै झांगिएर गएको छ । किसान पनि यस्तै मारमा छन् र उपभोक्ता पनि मारमै छन् । मिहिनेत गर्ने र पैसा तिरेर किन्नेहरूभन्दा धेरै गुना नाफा चाहिँ विचौलियाले लिइरहेका छन् । 

अर्कातिर हामी कृषिप्रधान देशका नागरिक भन्छौं तर कृषिकर्मका सामान्य शैली र तरिका हामीलाई थाहा छैन । धेरैलाई अहिले पनि काउली, बन्दा, प्याज, लसुन आदिको बिउ कसरी उत्पादन हुन्छ भन्ने थाहा छैन । कृषिप्रधान देशको एउटा नागरिकलाई यस्ता सामान्य ज्ञान पनि नहुनु लज्जाको विषय हो । 

समयमै बिक्री हुन नसकेका तरकारीलाई जोगाएर राख्न रासायनिक पदार्थ प्रयोग गर्नुको सट्टा प्रधानमन्त्रीले भनेझैँ कुन कुन तरकारीलाई कसरी संरक्षण गर्न सकिन्छ त्यही विधि प्रयोग गरेर राख्नसके उपभोक्ता र उत्पादक दुवै पक्षलाई फाइदा हुनसक्थ्यो कि । 


Views: 73

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)