7th December | 2019 | Saturday | 8:23:17 PM

गोरखनाथ, मच्छिन्द्रनाथ र आदिशंकराचार्य

रामेश्वर राउत मातृदास   POSTED ON : बैशाख २०, २०७६ (१०:१५ AM)

गोरखनाथ, मच्छिन्द्रनाथ र आदिशंकराचार्य

नेपाल एकीकरणको इतिहहासमा गुरु गोरखनाथको विशिष्ट भूमिका रहेको पाइन्छ । गुरु गोरखनाथकै आशीर्वाद र भूमिकाले द्रव्य शाह गोरखाको राजा बनेको र पृथ्वीनारायण शाहले एकीकरण अभियान अघि बढाएको मानिन्छ । गोरखनाथ भगवान् शिवकै १०८औं अवतार मानिन्छन् । 

हेठयोग प्रदीपिकामा नौ नाथहरूको वर्णन पाइन्छ । जसमा एकनाथ, आदिनाथ, मत्स्येन्द्रनाथ, उदयनाथ, दण्डनाथ, सत्यनाथ, सन्तोषनाथ, कुर्मनाथ र जालन्धरनाथ पर्दछन् । यीमध्ये गुरु गोरखनाथ सर्वाधिक चर्चित भए ।

गुरु गोरखनाथको चर्चा तेत्रायुगका पुरुषोत्तम राम र हनुमानले पनि गरेको पाइन्छ भने द्वापरयुगमा भगवान् श्रीकृष्णले पनि उनको चर्चा गरेका छन् । यता कलियुगमा नवौं शताब्दीका आसपासमा उनको उदय भएको एकथरिको दाबी छ । नेपालको काठमाडौंमा पशुपतिनाथ र विशाल नेपालभित्रको आसाम गोहाटीमा माता कामाख्या देवीको स्थापना गुरु गोरखनाथले गरेका हुन् भनेर पुराणमा उल्लेख छ ।

विभिन्न पौराणिक स्रोतहरूलाई आधार मान्दा यस हिमवत्खण्डमा गुरु गोरखनाथको भूमिका पशुपतिनाथको मन्दिर स्थापनाभन्दा अगाडिदेखि नै मान्नुपर्ने हुन्छ । पशुपतिनाथ र माता कामाख्यादेवी मन्दिर स्थापनाभन्दा अगाडिको अवधि र धर्म रक्षार्थ खेलेको भूमिका, नवौं शताब्दीपछिको भूमिका, पृथ्वीनारायण शाहककालीन समयको भूमिका गरी उनको भूमिकालाई विभिन्न चरणमा विभाजन गर्न सकिन्छ । रातो मच्छेन्द्रनाथको रथयात्रासँग पनि गोरखनाथको प्रसंग जोडिन्छ ।

ॐ जयगोर्खा शीर्षकमा योगी नरहरिनाथले लेखेअनुसार संवत् १७७९ पुस २७  गते नरभूपाल शाह र कौशल्यादेवीका कोखबाट पृथ्वीनारायणको जन्म भयो । उनी ७ वर्ष लागेका थिए संयोगले शिवगोरक्ष गुफामा खेल्न पुगे । गुफामा उनलाई देखेर गोरखनाथ आकृष्ट भए ।

गोरक्षनाथले प्रसन्न मुद्रामा पृथ्वीनारायणका शिरमा दाहिना हातले राखी ‘जय जीव’ भनेर वरदान दिएर ‘मुमासँग गाईको दही मागेर ल्याऊ’ भनेर पठाए । पृथ्वीनारायण शाहले जेठी मुमा चन्द्रप्रभा देवीसँग यही कुरो बताए । चन्द्रप्रभाले उनलाई दही दिएर पठाइन् । पृथ्वीनारायण शाहले दही गोरक्षनाथलाई दिए ।

गोरखनाथले दही मुखमा राखी ‘लौ हात थाप’ भनेर उनका हातमा थुकिदिए र ‘लौ खाऊ’ भने । तर, उनले खान संकोच माने र भुईंमा पोखिदिए । दही पृथ्वीनारायण शाहका खुट्टामा प¥यो । यो देखेर गोरखनाथले ‘दही खाइदिएको भए मुखले बोलेको पुग्ने थियो । खाएनौ, पाउमा प¥यो । अब तिम्रो पाउ जुन ठाउँमा पर्ला त्यो पृथ्वी तिम्रो होला’ भने । पृथ्वीनारायण शाहले मुमालाई सबै कुरा बिन्ती गरे । मुमाले पछुतो गरिन् । उनकै सल्लाहबमोजिम उनले तीर्थयात्रा थाले । विभिन्न १२ तीर्थ र पञ्च हिमालको यात्रा गरे ।

नरभूपाल शाहको १७९९ सालमा निधन भयो । २० वर्षका राजा पृथ्वीनारायण द्रव्य शाहबाट सुरु भएको गोरखाको राजपरम्परा धान्दै उनी राजसिंहासनमा बसे । उनले बाइसी, चौबीसी, विजयपुर र उपत्यकाका केही राज्यमा विभाजित भएको नेपाललाई एकीकरण गरेर सिंगो नेपाल बनाए । यो प्रेरणा गोरखनाथकै हो । 

प्राचीन ग्रन्थहरूमा नौनाथ एवं चौरासी सिद्धहरूको नाम उल्लेख छ जसमा सबैभन्दा बढी गोरखनाथ (गोरक्षनाथ) को नाम प्रयोग भएको पाइन्छ । गोरक्ष शब्दको उल्लेख अथर्ववेद, शिव पुराण, ब्रहृमाण्ड पुराण, स्कन्दपुराण (केदारखण्ड), मार्कण्डेयपुराण, महाकाल संहिता, योगशास्त्र कल्पद्रुम आदि ग्रन्थहरूमा पनि भएको छ । उनलाई महान योगी हुन् भनिएको छ । पश्चिमा इसाई लेखक ब्रिग्सको दृष्टिमा गोरक्षनाथ पहिला बज्रयानी बौद्ध थिए, पछि उनी शैव बने ।

डा. हजारीप्रसाद द्विवेदी, डा. शहाँदुल्ला, नागरी प्रचारिणी सभाको खोज, डा. फर्कुहर, डा. पीदं वडथ्वाल, पं परशुराम चतुर्वेदी, डा. पीताम्बरदत्त बडथ्वाल, क्रिध एवं मेकडानल, ग्रियर्सन, डा. परशुराम चतुर्वेदी, विलियम क्रुक्सलगायतका विद्वान्हरूले गोरखनाथबारे विस्तृत रूपमा अध्ययन गरेका थिए । 

सत्ययुगमा–पञ्जावमा, त्रेतायुगमा–गोरखपुरमा, द्वापरयुगमा द्वारका अगाडि छुरभुजमा र कलियुगमा पटकपटक नेपालका हिमवत खण्डमा उनी बसेको प्रमाणहरू पेस गरिएका छन् तर यसमा विद्वान्हरूको मतैक्य भने छैन । ग्रियसनले सत्य युगमा पञ्जावको पेशावरमा, त्रेतायुगमा गोरखपुरमा, द्वापरमा हुरभुजमा र कलिमा पटकपटक हिमवत खण्डमा बसेको उल्लेख गरेका छन् । 

कर्वारदाससँग गोरखनाथको कुराकारनी सम्बन्धमा एउटा पुस्तक उपलब्ध छ । शिखहरूका गुरु नानकसँग गोरखनाथको कुराकानीसम्बन्धी पनि पुस्तक पाइन्छ । १७औं शताब्दीका जैनमतका गुरु दिगम्बर सन्त वनारसी दासका साथ गोरखनाथको वार्ताको जनश्रुति पनि छ । कर्वारदास एवं इस्लाम मतका प्रवर्दक हजरथ मोहम्मदसँगको वार्ताको विवरण पनि पाइन्छ । यी ऐतिहासिक वार्ताका आधारमा कुनै पनि सिद्धयोगीको काल निर्धारण गर्न असम्भव छ ।

योगी नरहरिनाथका अनुसार पछिल्लो गोरक्षनाथको अवतरण नेपालको गोरखा जिल्लाको गोरक्ष पर्वतमा भएको भनाइ छ । अन्य विषयमा आआफ्ना मतहरू र खोजबिन जारी रहेपनि सबै इतिहासकारहरू एउटा कुरामा सहमत छन् । त्यो हो गोरखाको गोरख गुफामा ७ वर्षका बालक श्री ५ युवराज पृथ्वीनारायण शाहलाई दर्शन आशीर्वाद गोरक्षनाथले दिएको र योगीराज गोरखनाथकै शक्ति र भरोसामा आधुनिक नेपालको एकीकरण हुन सकेको कुरामा कसैको पनि विमति छैन ।

बौद्ध परम्परामा पनि गोरखनाथलाई मानिएको छ । उनका गुरु महासिद्ध मत्स्येन्द्रनाथ बौद्ध र जैन परम्पराका पनि आदिदेव हुन् । बौद्ध परम्परामा मत्स्येन्द्रनाथलाई अवलोकितेश्वरको नामले पूजा गरिन्छ ।

एकपटक गोरखनाथ आफ्ना गुरु मत्स्यन्द्रनाथलाई भेट्न आए । मत्स्येन्द्रनाथ भारी नामक दुरारोह पर्वतमा थिए । गोरक्षनाथ त्यो पहाडमा चढ्न सत्तैmनथे । उनले ९ नागलाई बाँधेर आसन ग्रहण गरे । त्यो समयमा नेपालमा वर्षा भएन । तत्कालीन नेपालका राजा नरेन्द्रदेवले वर्षा नभएपछि आफ्ना गुरु बुद्धदत्तसँग सल्लाह लिए । बुद्धदत्तले अवलोकितेश्वरलाई तल झार्न निर्णय गरे र कपोत पर्वत गए । उनलाई तल ल्याइयो । आफ्ना गूरुलाई देख्नासाथ गोरखनाथ । श्रद्धापूर्वक उठे । उनी उठ्दा उनले आशन बाँधेर राखेका नागहरू उठेर दायाँबायाँ लागे । त्यसपछि पानी प¥यो । त्यसैले मच्छिन्द्रनाथलाई वर्षा वा सहकालका देवता मान्ने चलन अहिलेसम्म पनि विद्यमान छ । 

नेपालको काठमाडौं बागमती गंगाको किनारमा मत्स्येन्द्रनाथको मन्दिर छ । यसको पूर्वभागमा गोरक्षनाथ शिव रहेका छन् । यहीँ गोरखनाथको मन्दिर पनि छ । नेपालकै कान्तिपुरको तुलजा भवानीको मन्दिरमा मत्स्येन्द्रनाथका बहुमूल्य वस्तुहरू राखिएका छन् र त्यहाँ तिनको पूजा गरिन्छ ।

¬आदिनाथ, मत्स्येन्द्रनाथ, जालन्धरनाथ र गोरखनाथ यी चार नामहरू तान्त्रिक सिद्ध सहजयानी बौद्ध सिद्धसँग तिब्बती परम्परामा पनि सामन्जस्य रहेको पाइन्छ । 

गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बौद्धपरम्पराबाट छुट्याउन सकिँदैन भने गोरखनाथ, मत्स्येन्द्रनाथ लगायत सम्पूर्ण नाथहरू भगवान शिवकै अनेक रूपबाट छुट्टिन सक्दैनन् । नेपलको कपिलवस्तु जिल्लाको तिलौराकोट नजिक तौलिहवाको शिवालय मन्दिरलाई गौतमबुद्ध र उनका बाबु शुद्धोधनसँग जोडिएको एउटा आस्थाको केन्द्रका रूपमा मानिएको छ, यसलाई यो आस्थाबाट अलग गर्न सकिँदैन ।

आदिनाथ भनेका भगवान शिव हुन् । शिव नै नाथ सम्प्रदायका प्रवर्तक हुन् । मत्स्येन्द्रनाथ उनै आदिनाथका प्रत्यक्ष शिष्य हुन् । मत्स्येन्द्रनाथका चेला गोरखनाथ हुन् । नेपालमा एउटा जाति थियो र त्यसको नाम मत्स्यन्द्रनाथ जाति थियो । यी जाति गोरक्षनाथका गुरु मत्स्येन्द्रनाथका पुजारी जाति थिए । नेपालका राजा र उनका अधिकारीहरूले उनीहरूमाथि ठूलो अत्याचार गरेका थिए । गोरक्षनाथले यो अत्याचार सुनेर तिनलाई दण्ड दिनका लागि तीन वर्षसम्म अकाल राखे । राजालाई माफी माग्न लगाए राजाले माफी माग्दै मत्स्येन्द्री जातिमाथि अत्याचार नगर्ने आश्वासन दिए । वर्षा हुन लाग्यो । राजाले मत्स्येन्द्रनाथको सम्मानमा रथयात्राको सुरुवात गरे । 

बौद्ध दर्शनमा सहजयान एउटा पृथक सम्प्रदाय बन्न गएको छ । गोरखनाथ, मत्स्येन्द्रनाथको सहज साधनालाई एउटा पृथक साधनाका रूपमा स्वीकार गरिएको छ ।

प्रा. प्रबोधचन्द्र बगचीका अनुसार मत्स्येन्द्रनाथ गुरु गोरखनाथको सहजमत चीनको स्थापित धर्म ताओवादमा पनि छ । ताओ चीनको पुरानो धर्म हो जसको प्रवर्तन लाओत्सेले लगभग इसापूर्व ६०० मा गरेका थिए । यसको प्रचार प्रसार च्वांगत्सेले लगभग ४०० इसापूर्व गरेका थिए । ताओमतको जीवनदर्शन मत्स्येन्द्रनाथ र गोरखनाथ प्रणित सहज जीवनदर्शन नै समरूपमा थियो । ताओ सहज शुद्ध स्वभावमा विश्वास गर्दथे । ताओ पूर्ण, शून्य, संज्ञाहीन, स्वभावहीन, रूपहीन, नैरात्म्यरूप, तर्कातित, ज्ञानातीत, सर्वसत्वमय, जगन्माता हुन् । उनी नारी रूप हुन् । 

नाथ सम्प्रदाय र जैन धर्मअनुसार गोरखनाथका गुरु मत्स्येन्द्रनाथले आफ्ना छोरा नेमिनाथ एवं पारसनाथलाई नाथ सम्प्रदायमा दीक्षा दिए भन्ने मान्यता रहेको छ । उनीहरूले जब साधनालाई नाथ सम्प्रदायमा मिलाउने चाहना राखे त्यतिबेला मत्स्येन्द्रनाथका शिष्य गोरखनाथले विरोध गरे । गोरखनाथको असहमतिलाई ध्यानकेन्द्रित गर्दै मत्स्येन्द्रनाथले नेमिनाथ एवं पारसनाथको माध्यमबाट फरक रूपमा धर्मको स्थापना गरे जो कि वर्तमान समयमा जैनधर्मको रूपमा स्थापित छ ।

उनीहरूले आदिनाथको पुनप्रतिष्ठाका लागि आफ्ना गुरु आदिनाथ (शिव) सम्प्रदायका संस्थापक एवं प्रर्वतकका रूपमा स्थापित गरे । यस घटनाबाट परापूर्वकालमा नाथ सम्प्रदाय एवं जैनमत दुवैको दार्शनिक मत एउटै थियो भन्ने बुझिन्छ । तर, वर्तमान समयमा कलियुग र पश्चिमी इसाई मिसनरीको प्रभाव र चिन्तनको आयाममा फरकपना देखाप¥यो । जैनमत र नाथ सम्प्रदायमा विभाजन र भिन्नताका स्वरहरू बढ्दै गए । यसकारण कालान्तरमा यी छुट्टिन पुगे । जैन मत निरीश्वरवादी एवं नाथपथ ईश्वरवादी हुन गए । 

गोरखनाथ र मच्छिन्द्रनाथ जस्तै शंकराचार्यको पनि हिन्दु परम्परामा महŒवपूर्ण भूमिका रहेको छ । शंकराचार्यको जन्म दक्षिण भारतमा भयो । उनी आफ्नो जन्मस्थानमा भगवान विष्णुको उपासना आदि कर्ममै सक्रिय रहे । आचार्य शंकराचार्यले पृथ्वीको प्रदक्षिणा गरी वैद्यनाथमा बसेर देवादिदेव महादेव भगवान शिवको पूजा गरे । तत्पश्चात उनले अपराध क्षमापन नामक स्तोत्रको रचना गरी शिवभक्तिमा तल्लीन रहे । यसैगरी उनले पृथ्वीका सिवै दिशाको भ्रमण गरे र विभिन्न ग्रन्थहरू लेखे । महायोगी गुरु गोरखनाथद्वारा प्रतिपादित मन्त्रको समानान्तर मन्त्र उर्दुमा पनि छ । जो गोेरखनाथद्वारा विरचित शाबरमन्त्रको तान्त्रिक प्रयोगसँग मिल्छ । 

साबरमन्त्रमा सुधार गर्ने अधिकार कसैलाई छैन, मन्त्र मन्त्र नै हुन्छ । जुन रूपमा साबर मन्त्र छ त्यही रूपमा जप गर्ने नियम बनाइन्छ । यसकारण साबरमन्त्र साधना सरल पनि छ । तसर्थ आज शाबरमन्त्र संसारका विभिन्न भागमा अनेक भाषामा सुरक्षित छ ।

तन्त्रसाधक गोरखनाथ गुरुको प्रभाव यसरी संसारभरि फैलिएको थियो । यो समयमा भारतमा वैष्णव र बुद्धको प्रभाव बढेको थियो । यसरी हेर्दा गोरखनाथ, मच्छिन्द्रनाथ र आदि शंकराचार्यको प्रभाव सम्पूर्ण हिन्दुहरूका साथै संसारभरि नै परेको पाइन्छ । 


Views: 144

सम्बन्धित सामग्री: