7th December | 2019 | Saturday | 12:37:43 PM

मातृऔंसी : आमाको सम्मान गर्ने पर्व

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : बैशाख २१, २०७६ (११:३८ AM)

मातृऔंसी : आमाको सम्मान गर्ने पर्व

असल संस्कार, शिक्षा, संस्कृति र सभ्यताको परिचय दिँदा सर्वप्रथम देशप्रेमको भावना सिकाइन्छ । व्यक्ति नैतिक र चारित्रिक हुन स्वदेशप्रिय हुनै पर्छ । जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पवित्र मानिएका छन् । पृथ्वी सबै प्राणीजगत्की आमा हुन् । प्राणाीका लागि आवश्यक जल, अन्न सबै धर्तीबाटै प्राप्त हुने गर्छ । सबै शक्तिभन्दा अक्षुण्य शक्तिका रूपमा सर्वेश्वरी धर्तीलाई शास्त्रकारहरूले मानेकाछन् । धार्मिक कृत्यमा सर्वप्रथम त्वमेव माता भनेर प्रार्थना र पुकार गरिन्छ । 

जन्म दिएर, स्तनपान गराएर, पहिलो शिक्षा दिएर आमाले सन्ततिलाई पहिलो आश्रय दिएकी हुन्छिन् । त्यस्तै धरणी, धर्ती, पृथ्वी माताले सबै प्राणीप्रति दया र उदार स्वभाव व्यवहारतः प्रदर्शित गरेकी हुन्छिन् । पृथ्वीको अर्को नाम सबैलाई धारणा गर्ने हुँदा धरा पनि भन्ने गरिन्छ । धर्तीकी संस्मरण, जन्मदिने आमाप्रति देखाउने सदावहार सद्भावको अर्को नाम हो मातृआँैंसी ः आमाको मुख हेर्ने दिन बैशाख कृष्ण औँसी ।

पखेटा बलिया भइनसकेका चराचुरुङ्गीहरूले माउको ओत पाएभैmँ, नवजात बाच्छाबाच्छीहरूले दूध अमृतपान गरेर शरीर हुर्काएभैmँ, सम्पूर्ण जीवात्माहरूलाई बल एवं निर्बल दुवै अवस्थामा मातृस्नेह आवश्यक पर्छ । सन्तान कुपुत्र वा कुसन्तान हुन सक्लान् तर कुमाता कदापि नहुने कुरा त धर्तीमा जोसुकैले कुल्चदा, फोहोर गर्दा, प्रदूषित बनाउँदा, भत्काई टुटाई गर्दा पनि धर्तीले कुनै प्रतिक्रिया नदिएबाट नै स्पष्ट हुन्छ ।

पूर्वीय दर्शनले आमालाई वात्सल्य प्रेमकी प्रतिमूर्ति मानेको छ । सम्पूर्ण धर्ती आमाको प्रतीक भएकाले बसुधाभित्र रहेका सबै प्राणीहरूलाई एकै परिवार, कुटुम्बको रूपमा स्वीकार गरेको छ । वसुधैव कुटुम्बकम् पूर्वीय चिन्तन हो भने सारा धर्ती वातावरणीय दृष्टिले सफा, सुग्घर हुनुपर्छ भन्ने विश्वभरिका सबैको मान्यता रहेको छ । सर्वेश्वर श्रीकृष्णका दुई पत्नी भूदेवी र श्रीदेवी हुन् । श्रीदेवीलाई सौभाग्यसहितकी चलसम्पत्ति मानिन्छ भने स्थीरलक्ष्मी भनेकी भूदेवी अचल सम्पति नै हुन् । देवीका प्रतिमूर्तिहरू सीता, लक्ष्मी, गङ्गा आदि सबै धर्तीबाटै उदय भएका हुन् ।

मातृवत्सला नवधाभक्तिको उदय गराउने माता देवहुती, कृष्णकी माता देवकी एवं यशोदा र सम्पूर्ण देवताहरू पैदा गर्ने अदिति एवं राक्षस स्वभावका प्राणी आसुरीशक्ति पैदा गर्ने दिति पनि धर्तीकै प्रतिमूर्ति हुन् । देवस्वरूप राम आदि चारभाइ पैदा गर्ने कौशल्यादेखि प्रहृलादलाई जन्म दिने कयाधुसम्म सबै धर्तीकै प्रतिमूर्ति हुन् । शिवकी प्रिया शिवा, विष्णुप्रिया लक्ष्मीदेखि सृष्टिकर्ता ब्रहृमाप्रिया सरस्वतीसम्म माताका प्रतिमूर्तिहरू हुन् । यस अर्थमा चेतनशील प्राणीविशेषदेखि जडपदार्थ पञ्चतŒवको संरक्षिकाका रूपमा पनि पृथ्वी वा धर्तीमातालाई नै लिइन्छ ।

पूर्वीय दर्शनको प्रारम्भिक शास्त्र ऋग्वेदले अन्न उब्जाएर प्राणी रक्षा गर्ने, बस्त्रादिको कच्चा पदार्थ उब्जाएर प्राणीहरूको पृष्ठपोषण गर्ने शरीर ढाक्ने, कार्यमा संरक्षण गर्ने धर्तीलाई पहिलो पूजा गर्नुपर्ने मान्यता राखेको छ । अग्निमा आहुती दिँदा सर्वप्रथम भूस्वाहा भनिन्छ । मानिसहरूले अन्न ग्रहण गर्दा सर्वप्रथम भूदेवीलाई अर्पण गरेर मात्र गर्छन् । आधुनिक विज्ञानले धर्तीलाई प्रयोगशालाको रूपमा लिएको छ । धर्तीमा उत्खनन् भएका सारा पदार्थहरूको प्रयोग गरी विज्ञानजगत्ले चमत्कारपूर्ण प्रदर्शन गरेको छ । अथर्ववेदले भूमिलाई आमा र अन्य सबै जीवात्माहरूलाई सन्ततिका रूपमा हेरेको छ । 

रामायण जस्तो रसिलो काव्यले मातृभावलाई जीवन्त बनाएको छ । रचनाकार वाल्मीकिदेखि सन्त तुलसीदाससम्मले मातृभावको खुलेर चर्चा गरेका छन् । रघुकुलका राघव विश्वका संरक्षक आदर्शपुरुष श्रीरामले जन्म लिएको कौशल्याको गर्भलाई सम्पूर्ण ब्रहृमाण्डको पूर्वदिशा बनाएका छन् । ज्ञान, कर्म र उपासनाकी प्रतिमूर्ति कौशल्या, कैकेयी एवं सुमित्राका गर्भबाट चार वेदस्वरूप चार भाइको जन्म भएको र यसलाई सम्पूर्ण धर्तीमा ४ दिशा भनी मानिएको छ ।

महाभारतमा माता कुन्तीलाई मातृस्नेहको खरो उदाहरणको रूपमा स्पष्ट पारिएको छ । पूर्वीय वाङ्गमयमा मातृचर्चा सबैजसो स्थानमा भएकै पाइन्छ । जन्मदिने आमाको आशीर्वादले मानिसहरू जस्तोसुकै बिषम परिस्थितिबाट सहजै पार पाउनसक्ने हुन्छन् । शास्त्रले आमालाई तीर्थको रूपमा स्वीकारेको छ । आमाप्रतिको उदारभाव भनेको तीर्थसेवा हो भनिएको छ । जीवित आमालाई हरतरहले खुसी, सुखी पार्ने सन्ततिको वाकसिद्धि हुने कुरा शास्त्रहरूले वर्णन गरेका छन् । आमाको संरक्षण गर्ने व्यक्तिले टाढा टाढाको तीर्थसेवा गरिराख्नु पर्दैन भनिएको छ । आमालाई सदैव वन्दना, प्रार्थना त गर्नुपर्छ नै, वृद्ध आमाबाबुको सेवा गर्ने श्रवणकुमार चरित्र पनि पठनीय छ ।

आमाको मुख हेर्ने औँसीले प्रतीकात्मक रूपमा मातृस्नेह नै दर्शाउँछ । टाढा रहेका सन्ततिहरूले वर्षमा एकपटक भए पनि आमालाई मनपर्ने खाना, बस्त्र, उपहार, दक्षिणा दिएर आशीर्वाद लिऊन् भन्ने यस पर्वको मान्यता हो । जीवित आमा नहुनेहरूले यस दिन जलदान, पिण्डदान, सिदादान, गर्ने गर्छन् । मृत आमाहरूको सम्झनामा स्नेहभाव प्रकट गर्न अनेक तीर्थ, धाम तथा क्षेत्रमा जाने पनि चलन छ ।

काठमाडौं उपत्यकाको थानकोट नजिक मातातीर्थ कुण्डमा यस दिन विशेष मेला लाग्नेगर्छ । कपाल मुण्डन गर्ने, श्राद्धादि कार्य गर्ने चलन त्यहाँ रहेको छ । मृत आमाहरूलाई यसदिन यसै कुण्डमा दर्शन मिल्छ भन्ने परम्परा रहेको पनि छ । सानाठूला दुई पोखरी रहेको त्यो कुण्डमा पहिले ठूलो चौर थियो । गाई गोठालाहरूले त्यहाँ गाईवस्तु चराउने गर्थे । यस्तो गर्दा गर्दै उनीहरूको खानेकुरा वा खाजा हराउन थालेछ । 

पछि के भएको होला भन्दाभन्दै ठूला मानिस, अभिभावकहरूले पनि यहाँ गोठालाहरूका खाजा हराउने गरेको कुरामा विश्वास गरेछन् । गाउँलेहरू मिलेर त्यस क्षेत्रमा खनेर कुण्ड बनाएछन् । यसरी त्यस कुण्डले माताथीर्थ कुण्ड नामले प्रसिद्धि पाएछ । त्यो स्थान पनि त्यही नामले चिनिएछ । ठूलो पोखरीमा स्नान गर्ने सानो चाहिँमा मृतआमाहरूको मुख हेर्ने चलन चलेछ । यो चलन अद्यापि कायम छँदैछ ।

एकपटक त्यहाँ एउटा गोठालाले भात लगेर त्यस कुण्डमा हालिदिएछ । आमाको सम्झनामा हालेको भात मृतआमा प्रकट भएर खाएको दृश्यसमेत देखिन पुग्दा झन् विश्वास बढेछ । 

एकपटक द्वापरयुगमा श्रीकृष्ण आमालाई खोज्दै यहाँ आइपुगेका, श्रीकृष्णले आप्mनी आमा देवकीले त्यहाँ स्नान गरिरहेको दृश्य देखिएका र त्यो दृश्य देखिएको दिन वैशाखकृष्ण औँसी परेकोले त्यसै बेलादेखि मातृऔँसीको रूपमा यहाँ आफ्नी आमाको नाममा श्रद्धाभाव प्रकट गर्नेहरूको घुइँचो लाग्न थालेका कथाहरू पनि भेटिन्छन् । गुमेकी आमा त्यहाँ भेटिन्छिन् भन्ने पौराणिक मान्यता रहेकाले पनि यसदिन आमाप्रति श्रद्धाभाव देखाइन्छ । विभिन्न शास्त्रहरूमा पनि यस्ता कुरा लेखिएका छन् ।


Views: 111

सम्बन्धित सामग्री: