23rd August | 2019 | Friday | 11:50:30 PM

‘जय नेपाल’ कसको ?

विनोद दाहाल   POSTED ON : जेठ १, २०७६ (१०:४७ AM)

‘जय नेपाल’ कसको ?

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री स्वतः नै सरकारको प्रवक्ता पनि हुने गरेका छन् । यो कुनै विधिविधानअनुसार हुने हो वा सरकारले तोक्ने हो त्यो जानकारी यो पंक्तिकारलाई छैन । सूचना तथा सञ्चारमन्त्रीबाहेक अरूलाई प्रवक्ता तोक्न पनि सरकारले सक्छ वा त्यो विधानतः निषेधित छ त्यो पनि जानकारी भएन । परम्परागत रूपमा सूचना तथा सञ्चारमन्त्री नै सरकारको प्रवक्ता रहिआएको देखिएको छ । सम्भवतः यो विधिसम्मत होला । 

हालै सरकारको नियमित पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्त गोकुल बास्कोटाले एउटा सामान्य त्रुटि गरे तर त्रुटि भनेपछि त्यो सामान्य र असामान्य हुने कुरो भएन । त्यसले अहिले सामाजिक सञ्जाल, सञ्चारजगत र आमसर्वसाधारणमा चर्चाको विषय बन्ने मौका पाएको छ । 

हुन पनि हो मन्त्री बास्कोटाले साह्रै निम्छरो अभिव्यक्ति दिएर हाइस्कुल पढ्ने साना केटाकेटीहरूबीच पनि उपहासको पात्र बने । सधैं हाउभाउ कटाक्षसहित टेलभिजनको पर्दामा प्रकट हुने उनी त्यस दिन पनि त्यही ढंगले प्रकट त भए तर उनका मुखबाट त्यसदिन पँधेरे तर्क प्रकट भयो । आफ्नो गल्ती भएपछि अरूको टिप्पणी जस्तो भए पनि खप्नैपर्ने हुन्छ । उनी पनि अहिले त्यही खपिरहेका छन् । सामाजिक सञ्जालमा सामान्य मानिसहरू उनीप्रति औलो दागिरहेका छन् र अनेक थरि गाली, टिप्पणी, व्यंग र उपहासका वाण वर्षा गरिरहेका छन् । 

उनी सुनेको नसुन्यै गरेर बसिरहेका छन् । लज्जाबोध त उनलाई अवश्यै भइरहेकै होला । उनले कतै आफ्नो भनाइ सच्याएको, माफी मागेको वा प्रष्टीकरण दिएको पनि थाहा पाइएको छैन । जंगेले जे बोल्यो त्यही ठीकको शैलीमा यो सरकारका प्रधानमन्त्री जस्तै उनी पनि देखापरिरहेका हुनसक्छन् । सरकारमा बस्ने मानिसले त झन् सही कुरो तथ्यपूर्णरूपमा तौली–तौली बोल्नुपर्ने हो । त्यसैले पो मन्त्री वा प्रधानमन्त्री पदको गरिमा बढेर जानसक्छ त । 

हालै प्रधानमन्त्रीको संसदको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइएको प्रसंग यहाँ स्मरणीय हुन आउँछ । यो सरकार शब्दको प्रयोगका कारण पटक–पटक विवादमा आइरहेको छ । कहिले मेरो सरकार, कहिले निम्छरा शब्द र प्रश्न त कहिले जय नेपालको प्रयोगको कुतर्कबाट सरकार विवादित बनिरहेको छ । 

यहाँ प्रसंग ‘जय नेपाल’ शब्दको प्रयोगको मात्र उठाउने प्रयास गरिएको छ । जय नेपाल मन्त्रीजीले भनेझैँ राजा महेन्द्रले संसदीय व्यवस्था ‘कू’ गर्दामात्रै प्रयोग भएको होइन । हुनसक्छ उनले पनि यो शब्द प्रयोग गरे होलान् । यथार्थमा यो शब्द सबैभन्दा पहिले अमर शहीद शुक्रराज शास्त्रीले प्रयोग गरेका हुन् । उनी कुनै शक्तिसामु कहिल्यै झुकेनन् । जीवनको अन्तिम क्षणसम्म पनि उनलाई माफीका लागि दबाब दिइएको थियो तर उनले राणा सरकारसामु माफी माग्ने कुरा असम्भव थियो । उनलाई अनेक यातना दिइयो र झुण्ड्याउनुपूर्व पनि माफी माग भनियो तर उनले ‘जय नेपाल’ मात्र भनिरहे । 

यसरी यो शब्दको सुरुवात भयो जो शुक्रराजले गरेका थिए र केही क्षणपछि उनी मारिए पनि । बरु मन्त्री बास्कोटाले यो शब्द भारतीय प्रभावबाट नेपाल भित्रिएको हो भनेका भए उनको तर्कमा केही मात्रामा सत्यता भेटिने थियो । अंग्रेज प्रभावबाट मुक्तिको अभियान चलाइरहेका भारतीयहरू ‘जय हिन्द’ भन्ने गर्थे । यो देखासिकी नेपालमा पनि भयो भनेका भए उनको तर्क कुतर्क मानिने थिएन । राणा शासनको समाप्तिको अभिष्टले नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसहरूको स्थापना भएको थियो । 

दुवैको उद्देश्य एउटै भएका कारण यी दुईको एकीकरण भयो र यसले राणा शासनविरुद्ध सशस्त्र आन्दोलन ग¥यो । यसका लागि भूतपूर्व सेनाहरू संगठित गरी मुक्ति सेना बनाइयो । यिनको सम्बोधन ‘जय नेपाल’ बाट हुन थाल्यो । क्रमशः यो अभिवादन पार्टीका नेता तथा कार्यकर्ता तहसम्म विस्तार भयो । यसले ज्यादै लोकप्रियता पायो । 

भूमिगत रूपमा विराटनगर मिल्स एरियाबाट सञ्चालन गरिएको रेडियो सेटबाट नेता तारिणीप्रसाद कोइरालाले सम्बोधन गर्दा पनि ‘जय नेपाल’ शब्द प्रयोग गरेका थिए । उनी नेपालीमा समाचार पनि भन्थे र विजयालक्ष्मी अंग्रेजीमा समाचार भन्थिन् । रानुदेवी अधिकारी क्रान्तिकारी गीत गाउँथिन् । तीन चार महिनामै क्रान्तिले सफलता पायो । उक्त रेडियो सेट काठमाडौंमा ल्याएर रेडियो नेपाल स्थापना गरियो । रेडियो खुल्दा यही ‘जय नेपाल’ भन्न थालियो । उता क्रान्तिको पृष्ठभूमिबाट आएको नेपाली सेना र नेपाल प्रहरीले पनि ‘जय नेपाल’ लाई नै आफ्नो सलाम वा सम्बोधन वा अभिवादन बनाए ।

अनि २००७ सालको क्रान्तिमा राजाको पनि साथ थियो भन्ने कुरा सबैलाई थाहा छ । राजा त्रिभुवनले त १९९३ सालमै प्रजापरिषद्का नेताहरूलाई चिठी पठाएर ‘कृपया मलाई पनि प्रजापरिषद्को सदस्यका रूपमा स्वीकार्नुस्’ भनेका थिए । सात सालमा उनले क्रान्ति र क्रान्तिकारीलाई पूर्णरूपमा सहयोग गरेका थिए । उनी सपरिवार दरबार छोडेर हिँडेपछि क्रान्ति चर्किएको थियो । क्रान्तिको सफलतापछि राजाले पनि ‘जय नेपाल’ भन्न थालेका थिए । आफ्नो कुनै सम्बोधनपछि भनाइ टुंग्याउँदा राजाले पनि ‘जय नेपाल’ भन्न थाले र उनका उत्तराधिकारीले पनि यसलाई निरन्तरता दिए । 

यसरी राजा, नेपाली कांग्रेस, नेपाली सेना, नेपाल प्रहरी र रेडियो नेपाल गरी फरक–फरक पाँच निकायले २००७ सालको क्रान्तिपछि प्रयोग गरेको ‘जय नेपाल’ लाई मन्त्रीजस्तो गरिमामय पदमा आसीन त्यसमा पनि सरकारका प्रवक्तासमेत रहेका व्यक्तिले यसबारे केटाकेटी तर्क गरिदिनाले उनको पदको मूल्यमा ह्रास आयो र यो गरिमामय इतिहासको पनि अवमूल्यन हुनपुग्यो । 

‘जय नेपाल’ आयातित शब्द होइन, यो हाम्रै मौलिक शब्द हो । कतिपय पार्टीका नेता, सिद्धान्त, सम्बोधन सबै विदेशी अनुकरणबाट बनेका छन् । यस परिप्रेक्षमा आफ्नै मौलिक सम्बोधन प्रयोग गर्नु कत्ति पनि अनुपयुक्त छैन । यो शब्दको अर्थ पनि नेपालको अथवा यो देश नेपालको जय होस् भन्ने रहेको हुँदा यो सम्बोधनप्रतिको ईष्र्या, घृणा, अवहेलना, वितृष्णा आदिको कुनै अर्थ छैन । 

अर्को पार्टी वा आफ्नो विपक्षी दलको सम्बोधन भनेर यसप्रति कटाक्ष गर्नुलाई अन्यथा नमानिएला तर यसो गर्नाले आफैंले बद्नामीको सामाना गर्नुपर्ने अवस्था आउनाले मन्त्रीप्रति सबैको माझी औंलो तर्सिनु नसुहाउँदो कुरा हो । नेपालको जय होस् भन्ने भाव भएको ‘जय नेपाल’ सम्बोधनमा कसैले आपत्ति गर्नु तर्कसंगत कुरो पनि होइन । त्यसो हो भने यसमा आपत्ति जनाउनेहरूको मतमा नेपालको जय नहोस् भन्ने चाहना हो त भन्ने प्रश्न उठाउन सकिन्छ ? जवाफ मन्त्री वा नेपाल सरकारका प्रवक्ताले दिन आवश्यक ठान्लान् त ¤


Views: 145

सम्बन्धित सामग्री:

बाढी र हामी

श्रीमन्नारायण : भदौ ६, २०७६ (८:४७ AM)