27th June | 2019 | Thursday | 4:36:29 AM

बुद्ध धर्म र दर्शन

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : जेठ ४, २०७६ (७:४३ AM)

बुद्ध धर्म र दर्शन

बुविश्वका हरेक कुनाकाप्चामा रहेका बौद्ध धर्मावलम्बीहरूका लागि वैशाख शुक्ल पूर्णिमामा पर्ने बुद्धजयन्ती एक अत्यन्तै पावन दिन हो । बौद्ध मार्गीहरूले हरेक वर्ष यस दिनलाई अत्यन्त सुखद दिनका रूपमा हेर्ने गर्छन् । नेपालमा साताव्यापी कार्यक्रम राष्ट्रियस्तरमै गर्ने गरिन्छ । भगवान् श्रीविष्णुका मुख्य १० अवतारमध्ये बुद्धलाई उनको नवौं अवतारको रूपमा मानिएको छ । ॐकार परिवारभित्र रहेको हिन्दू, बौद्ध, सिख र जैनमध्ये संसारभरीमा हिन्दू धर्ममा विश्वास राख्ने जनसंख्यामध्ये बौद्धधर्ममा विश्वास राख्नेहरू दोस्रो क्रम संख्यामा पर्छन् । श्रीविष्णुको सबैजसो अवतारमा पूर्वीय चिन्तन वेदको चर्चा भएको पाइन्छ भने बौद्ध धर्ममा प्रत्यक्षतः वेदको उल्लेख नभएको भए पनि वेदले अभिव्यक्त गरेको हिंसामुक्त समाज निर्माणको स्थापना बौद्धधर्म र दर्शनको प्रमुख लक्ष्य नै हो । अहिंसा परमो धर्म नै हो ।

हिन्दू धर्ममा झैँ बहु देवप्रथा तथा मूर्ति पूजामा बुद्धले विश्वास नगरे पनि तन, मन, वचनको अहिंसालाई बुद्धले जीवनको तपस्याको रूपमा लिएका छन् । बुद्धले यस धर्तीमा अवतरण गरेको दिन वैशाख शुक्ल पूर्णिमा हो, संयोगले बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण प्राप्त गरेको दिन भनी वैशाख शुक्ल पूर्णिमा एउटै तिथि परेको छ ।

शाक्य वंशीय राजा शुद्धोधनकी महारानीले राति सपनामा ६ वटा दाँत भएको सेतो हात्ती र षट्चक्र भएको एक उज्यालो तारा आप्mनो शरीरमा प्रवेश गरेको देखिन् । उनै मायादेवीको कोखबाट इसापूर्व ५६३ मा नेपालको लुम्बिनी क्षेत्र कपिलवस्तुबाट मायावतीको माइती क्षेत्र देवदह जाँदै गर्दा बीच बाटोमा रमणीय साल बगैँचामा जन्मिएका बालक जन्मदै राम्रा र आकर्षक चेहराका थिए । जन्मको सिद्धि अर्थ प्राप्त गर्न सक्ने ज्योतिषीय भविष्यवाणीअनुसार न्वारान गर्दा उनको नाम सिद्धार्थ नै राखियो । त्रिकालदर्शी विद्वान्हरूले यो बालक या त प्रतापी राजा हुनेछ या सन्यासी भनेका थिए । बालक जन्मेको सात दिनपछि माता मायादेवीको अवसान भएकाले अर्की आमा प्रजावती गौतमीले उनको लालन पालन गरिन् ।

यी बालक जन्मनेबित्तिकै नन्द र अपनन्द नामक नागहरू आएर उनको स्तुति गरेका थिए भने जन्मनेबित्तिकै बालकले सात पाइला हिँडेको कुरा निकै अनौठो लाग्छ । राजा शुद्धोधनले उनका मनमा कत्ति पनि वैराग्य नहोस् भनी सांसारिक सुख भोगका सबै सुविधा उपलब्ध गराएका थिए । १६ वर्ष व्यतीत भएका सिद्धार्थको सुप्रबुद्धकी सुपुत्री विलक्षणा यशोधरासँग बिहे भएको थियो । २९ वर्षको उमेरमा उनको राहुल नामक पुत्र पनि जन्मिएका थिए । घुम्दै हिँडेका बेला बाटामा वृद्ध, रोगी, मृत शरीर र एक भिक्षु देखेपछि सिद्धार्थलाई वैराग्यले सतायो ।

सिद्धार्थलाई इहलौकिक सुखले आकर्षण गर्न सकेन । पारलौकिक सुख तथा जीवनमा परम शान्ति प्राप्तितर्फ उन्मुख हुने विचारले २९ वर्षकै उमेरमा आषाढ पूर्णिमाका दिन मध्यराति दरबार चकमन्न भएका बेला घर छोडी हिँडे । उनी नदी किनारामा पुगे र राजवस्त्र त्यागी कत्थक नामक घोडालाई पनि अरूको जिम्मा दिए । आप्mनो कपाल आफैँ खौरेर घटिकार नामक ब्राहृमणप्रदत्त पहँेला कपडा लगाए र हातमा एक पात्र लिएर भिक्षु भेष धारण गरी हिँडे ।

भारतको उरुबेला वनमा उनले निकै कडा तप गरेर पनि ज्ञान प्राप्त नभएको र शरीर जीर्ण हुँदै गएकाले शुद्ध आहार गर्न लागेका सिद्धार्थ भिक्षार्थी भई उरुबेला क्षेत्रबाट गाउँतिर पसे । त्यस क्रममा उनी एउटा बट वृक्षमा बस्दा सुजाता नामकी स्त्रीले कुनै असल व्यक्ति सम्झेर खीर खान दिइन् । बुद्धत्व प्राप्तिको अन्तिम खानास्वरूप भएको त्यो खीर दिने कुनै दैवीशक्ति हुनसक्ने विश्वास गरिएको छ । कारण त्यस खानापछि जीवनको ३५ वर्षे उमेरमा उरुबेला क्षेत्र अर्थात् बोधगयामा बोधिवृक्ष (पीपलको रूख) मुनि सिद्धार्थले बुद्धत्व प्राप्त गरे । 

सही अर्थमा बुद्धत्व हो कि, होइन भनी उनले सात हप्तासम्म चिन्तन गरिरहे अनि तपस्सु र भ्रतलुक दुई व्यापारीले दिएको सातु र मह खाएर धर्मोपदेश गर्न थाले । कठोर साधनापछि बुद्धत्व प्राप्त गरेका बुद्धले सर्वप्रथम आप्mनो दिव्यज्ञान कौडिन्यलाई दिए भने अन्तिम ज्ञान प्राप्त गर्ने व्यक्ति सुभद्रऋषि थिए ।

सातु र मह दिने दुई व्यापारीलाई पनि बुद्धले धर्म देशना गरे । आषाढ पूर्णिमाका दिन सारनाथ क्षेत्रमा आपूmले प्राप्त गरेको दिव्यज्ञान प्रचार गरे । ४५ वर्षसम्म उनले विभिन्न क्षेत्रमा बृद्ध धर्मको प्रचार गरे । अन्त्यमा ८१ वर्षको उमेरमा भारतको कुसीनगरको उपवर्तन वनमा दुईवटा सालको रूखमुनि इपू ४८३ मा बुद्धले महापरिनिर्वाण प्राप्त गरे । अवसानपछि मृत शरीरमा सात दिनसम्म पूजा गरियो । तेलले भिजाएको कपडा र फुक्का कपासले पाँच सय पत्रसम्म बेरेर श्रीखण्डको चितामा राखिएको त्यो शवबाट आफैँ अग्नि प्रज्ज्वलित भएको थियो । बुद्धको अस्तु विभिन्न स्थानहरू भारतको वैशाली, कासीनगरलगायत नेपालको कपिलवस्तु आदि क्षेत्रमा राख्न पठाई विभिन्न चैत्य, स्तुपहरू उनकै स्मृतिमा निर्माण गर्न लागियो ।

बुद्धधर्ममा मूलतः दुई सम्प्रदाय देखिन्छ । (क) हीनयान र (ख) बज्रयान । हीनयान सम्प्रदायले अवतारवादमा विश्वास गरेको छैन । बुद्धको उपदेश खासगरी यथार्थवाद नै हो । बुद्ध कुनै अवतारी नभएर एक महापुरुष हुन् । पछि आएर हीनयान सम्प्रदाय महायान सम्प्रदायमा परिणत भयो । यसले अवतारवादमा विश्वास गर्न लाग्यो । बोधिसत्व एवं देवताहरूलाई पुज्ने र लामालाई पुरोहितको रूपमा मान्ने चलन चलायो । स्तुपाहरूमा पूजा पनि गर्न लाग्यो । जीवात्माहरूको उद्धार हेतु बुद्धत्व आवश्यक छ भन्ने यस सम्प्रदायको मत रहेको छ ।

अर्को बज्रयान सम्प्रदायले भने बज्रको प्रयोग गर्ने, तन्त्र, मन्त्रमा विश्वास राख्ने गरेको छ । नेवार जातिमा बढी चर्चित यो सम्प्रदाय प्रायः श्मशानघाटमा बस्ने, हाड, कंकाल आदिको प्रयोग गर्ने, धातुका भाँडा प्रयोग नगरी मानव खप्पर प्रयोगसमेत गर्ने गर्छन् । 

बुद्ध धर्मग्रन्थअनुसार बुद्धले २८ पटकसम्म अवतार लिइसकेका छन् । हिन्दू धर्मग्रन्थमा श्रीविष्णुका मुख्य दश र अन्य २४ अवतारमध्ये ९औं र २३औं अवतार बुद्धअवतार भनिएको छ । देवताका सामु दैत्यहरूले मुक्तिको उदय खोज्दा पशुबध, प्राणीबध गरेकाले यसो नगरी अहिंसाबाट मुक्ति खोज्ने उपाय बताउन श्रीविष्णुले बुद्धअवतार लिएको भनिन्छ । दैत्यहरूलाई बुद्धले अहिंसा नै उत्तम उपाय हो भनी मुक्तिको ढोका खोलिएका प्रसंगहरू भेटिन्छन् ।

हालसम्म २८ जना बुद्धले धर्तीमा अवतार लिइसकेका छन् । तणहंकरबुद्ध, मेघंकरबुद्धदेखि सिखीबुद्ध, बैसम्भुबुद्ध, क्रकुच्छन्दबुद्ध, कनकमुनिबुद्ध, काश्यपबुद्ध एवं गौतमबुद्ध आदि । बुद्धधर्मको मुख्यग्रन्थ त्रिपिटक हो जसमा विनय पिटक, सूत्त पिटक र अभिधम्म पिटक गरी तीन खण्ड छन् ।

गौतम बुद्धका पिता शुद्धोदन वैदिकधर्मी सूर्यवंशी हुन् । उनले जीवनमा धेरै यज्ञहरू गरेको पुष्टि भएको छ । शाक्य कुलका शुद्धोदनले ठूला यज्ञहरू सम्पन्न गरी प्रसादका रूपमा सोमपान गरेका प्रसंगहरू भेटिन्छन् । वेदको अध्ययन उनको दिनचर्या रहेको थियो । सिद्धार्थ गौतमको पनि बुद्धत्व प्राप्त गर्नु अघिसम्म सम्पूर्ण जीवनचर्या वैदिक धर्म संस्कृतिअनुसार चलेको देखिएकाले वैदिक संस्कृतिको उपज बुद्धधर्म दर्शन हो भन्ने कुरामा शंका छैन । यो त्यसको विकसित रूप हो भन्न सकिन्छ । 

वैदिक दर्शनको उत्कृष्ट नमुना आफ्नो उद्धार आफैँ गर भने झैँ बुद्धको उपदेश अत्ता ही अत्तनोनाथ पनि आफ्नो उद्धार आफैँले खोज भन्ने रहेको छ । वरिपरिको घटना एवं परिवेशले सबै प्राणीलाई असर पार्छ नै । श्रेष्ठ र विकसित प्राणी मानवलाई पनि यसले असर नपार्ने कुरै भएन । सुसंस्कृत र सभ्य बन्ने क्रममा र आप्mनो जीवनको उद्धार गर्ने क्रममा वृद्ध, रोगी, मृत शरीर आदिको दृश्यले सिद्धार्थलाई जीवनमा थप सोच्ने परिवेश बन्यो । उनी राजप्रसादलाई तुच्छ सम्झेर जीवनको उद्धार हेतु अग्रसर बने । त्रेतामा रामअवतारको प्रसंगमा यस्तै देखिन्छ राज्य सुखलाई उपेक्षा गरेको ।

आत्मउद्धार गर्ने व्यक्ति अन्तरमुखी हुन्छ । बहिर्मुखी, बाहृय जगतको परिवेश र सांसारिक पद, पदार्थप्रति राग हुँदैन । अन्यान्य अनुरागलाई बैराग्य भनिन्छ, भगवत् प्राप्ति गरी जीवनलाई स्वच्छन्द, उन्मुक्त गराउन सक्नु मानवको ध्येय हुनुपर्छ । यही स्मरण गर्दै सिद्धार्थले कठिन साधन गरी छोटो समयमा जीवनको मार्ग पहिल्याएका छन् । वैदिक चिन्तनअन्तर्गत न्याय दर्शनमा भनिएको छ जीवनले भवरोग थाहा पाउनुपर्ने हुन्छ । रोग थाहा पाएपछि उपचार पनि सम्भव छ । मृत्युको मूल कारण त जन्म नै हो । संसारमा धेरै दुःख छन् । दुःख निवारणका उपाय पनि छन् । रोग छ भने पछि चिकित्सक पनि हुन्छन् । 

बुद्धले वैदिक दर्शनको यो चिन्तनलाई चतुरार्थ सत्यको रूपमा लिएका छन् । चतुरार्थ साथमध्ये एउटा दुःख नै हो । दुःख छ, त्यसको निवृत्ति पनि हुन्छ । कडा रोग लागेकालाई रोग निको पार्ने अनुभवी दक्ष चिकित्सकको खोजी गर्नुपरेझैँ बुद्धको भाषामा ठूलो वैद्य महाभिषकको खोजी गर्नुपर्ने उल्लेख छ । बुद्धको अष्टांगयोग अहिंसा, सत्य, अस्तेय, ब्रहृमचर्य, अपरिग्रह आदि महामुनि कपिलदेवको सांख्य योग सम्बद्ध देखिएकाले कपिलवस्तुमा जन्म लिने गौतमबुद्धसँग सामीप्य स्पष्ट हुन आउँछ । कपिलदेव अवतार लिएर श्रीहरिले आमा देवहुतीलाई निमित्त बनाएर संसारमा जीवन दर्शनबारे यथार्थ ज्ञान दिएका थिए ।



Views: 74