19th September | 2019 | Thursday | 8:20:51 PM

ट्राफिक व्यवस्थापनमा सडक बत्ती

बिनु लुइँटेल   POSTED ON : जेठ ६, २०७६ (१०:१७ AM)

ट्राफिक व्यवस्थापनमा सडक बत्ती

यति ठूलो राजधानी सहरमा ट्राफिक व्यवस्थापनका लागि कति ठाउँमा ट्राफिक लाइट राखिएको होला ? कम्तीमा सय ठाउँमा त होला ! यस्तो अनुमान लगाउँछौँ हामी तर हाम्रो यो अनुमान पूरै गलत सावित हुन आउँछ । उपत्यकामा हाल जम्मा २० ठाउँमा ट्राफिक लाइट छन् तर जम्मा पाँच ठाउँका ट्राफिक लाइटले मात्र काम गरेका छन् । गठ्ठाघर, कौशलटार, नयाँबानेश्वर, नारायणगोपाल चोक र जावलाखेल गरेर यी पाँच स्थानमा भने ट्राफिक लाइटले काम गरिरहेका छन् । 

उपत्यकाको सडक व्यवस्थित गर्न र यात्रु सुरक्षित राख्न हरेक समयमा चोकचोकमा ट्राफिक प्रहरी खटिइरहेका हुन्छन् । तर, हातको इसाराले ‘गो’ र ‘स्टप’ लेखिएका प्लेकार्ड बोकेर सडकमा बसेर सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता हाम्रा ट्राफिक प्रहरीसँग छ । यस्तो बाध्यता अरू मुलुकमा सम्भवतः देख्न नपाइएला । 

केही वर्ष अगाडि सल्लाघारी, गठ्ठाघर, कौशलटार, सिंहदरबार, सुन्धारा, न्युरोड गेट, राजदरबारको दक्षिणी गेट, थापाथली चोक, त्रिपुरेश्वर, कुमारीपाटी, कुलेश्वर, कालिमाटी, लगनखेललगायतका स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो । यी बत्ती राख्न जापान सरकारले सहयोग पनि गरेको थियो । राखेको केही समयसम्म यिनले राम्ररी काम गरेका पनि हुन् तर केही समयमै बत्तीले काम गर्न छोडेका थिए ।

करिब दश वर्षअघिदेखि बन्द भएका ट्राफिक बत्ती अहिलेसम्म पनि मर्मत भएर पुनः सञ्चालनमा आउँन सकेका छैनन् । भएका पनि सञ्चालनमा आउन नसकिरहेको अवस्थामा पुनः केही ठाउँमा ट्राफिक बत्ती थप्ने योजना सडक विभागको रहेको छ । सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट थपिने भएका छन् । तर, राखेको केही समयमै बिग्रिने र त्यसको मर्मत सम्भार नहुने समस्या भने ज्यूँको त्यूँ रहिरहने हो भने यसरी ट्राफिक बत्ती थप्नुको कुनै औचित्य देखिँदैन । 

बिग्रिएका बत्तीमध्ये केही समयअगाडि नयाँ बानेश्वर चोक र नारायण गोपाल चोकका बत्ती मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो । एउटा बत्तीको मर्मत खर्च लगभग १५ देखि २५ लाखसम्म लाग्ने अनुमान सडक विभागको छ । बानेश्वर र नारायण गोपाल चोकका बत्तीहरूको मर्मत र सञ्चालन हुनुअघि यहाँको काम ठप्प जस्तै भएको थियो ।

उपत्यकाको अस्तव्यस्त चोकमा पनि ट्राफिक प्रहरीले हातको इसाराले काम गर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयले चार वर्षअघि गरेको अध्ययनले ८० ठाउँमा ट्राफिक लाइट जडान गर्नुपर्ने आवश्यकता देखाएको थियो । यति ठाउँमा लाइट जडान गर्ने हो भने ट्राफिक जाम ५० प्रतिशत कम गर्न सकिने महाशाखाको निष्कर्ष थियो । यान्त्रिक संकेत मानवीय संकेतका तुलनामा बढी भरपर्दो हुने बताइन्छ । यान्त्रिक संकेतका आधारमा समयको राम्ररी सन्तुलन मिलेको हुन्छ र निश्चित समयमा सवारी रोकिने र खुल्ने हुन्छ । मानवीय संकेत त्यति भरपर्दो नहुन पनि सक्छ । मानिसबाट गल्ती हुनु पनि सक्छ भने उसले एकातर्फबाट गाडी आउन्जेल बोलाइरहने हुँदा समयको सन्तुलन नमिल्न पनिसक्छ । 

पहिलोपटक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ५१ वर्षअघि ०२४ सालमा काठमाडौंको सुन्धारा, सिंहदरबार, त्रिपुरेश्वर, न्युरोडलगायतका ठाउँमा ट्राफिक बत्ती जडान गरिदिएको थियो । तर, यसरी राखिएका बत्ती ०६७ सालदेखि बन्द भएर बसेका छन् । झन्डै नौ वर्ष बितिसकेको भए पनि मर्मत हुन सकेका छैनन् । 

अहिले तत्कालीन समाधानका लागि पुनः केही ठाउँमा ट्राफिक बत्ती राखिने भएको छ । तर, बत्तीहरू जडान गर्नु मात्र पनि समास्याको समाधान होइन, तिनको संरक्षण महŒवपूर्ण कुरो हो । तर, यो कार्य निकै चुनौतीपूर्ण भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाको धारणा छ । 

बत्ती मर्मत नहुनु र नयाँ थपिन नसक्नु सडकप्रतिको बेवास्ता नै मुख्य कारण रहेको उनी बताउँछन् । अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर सरकारी रकमबाटै ट्राफिक बत्ती राख्न सकिन्छ तर यसतर्फ सरकारले खासै चासो देखाएको छैन । सवारीसाधन र पैदलयात्रु मात्र होइन हातको इसारा र सिठीको भरमा काम गरिरहेका ट्राफिक प्रहरीहरू पनि असुरक्षित छन् । 

नियम कानुनअनुसार चल्न नसक्नु त छँदै छ त्योसँगै सडक व्यवस्थित गर्ने अति आवश्यक सामग्रीहरू नुहुनु सबैभन्दा मुख्य र प्रमुख समस्या रहेको छ । यो समस्या देशका अन्य भागमा भन्दा पनि काठमाडौंमा बढिरहेको छ । ट्राफिक बत्ती नहुँदा सर्वसाधरणले त जोखिमयुक्त यात्रा गर्नुपरेको छ । यसबाट सडक दुर्घटना पनि उत्तिकै बढिरहेका छन् । यस्ता दुर्घटनाहरूबाट दैनिकजसो उपत्यकाभित्रै एकदुई जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । 

तोकिएको ठाउँमा ट्राफिक लाइट हुनैपर्ने र यो अति आवश्यक रहेको भए पनि सम्बन्धित निकायले खासै चासो नदेखाउँदा जोखिम मोलेरै सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दश लाखभन्दा बढी सवारी साधनलाई १४ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्न निकै गाह्रो त छँदै छ त्यसमाथि एक ठाउँमा ट्राफिक जाम भयो भने त्यसको प्रभाव पूरै सहरमा दिनभर पर्ने गरेको महाशाखाका अधिकारीहरूले नै बताउने गरेका छन् । विभागका एकजना अधिकारीका विचारमा यदि ट्राफिक लाइट व्यवस्थित भइदिएको भए सानो ठूलो सबैलाई एउटै समयमा सञ्चालन गर्न सकिने अवस्था सर्जना हुनसक्थ्यो । त्यसैले, भिआइपीहरूको सवारीका समयमा अरूलाई रोक्नु परिरहेको छ । 

उपत्यकामा सवारी व्यवस्थापनको अर्को मुख्य चुनौती नै ‘भिआइपी सवारी’ हो । मन्त्रिपरिषद्का सदस्य, न्यायाधीश, संवैधानिक निकाय वा आयोगका प्रमुख, पूर्वमन्त्री तथा केही सांसदले समेत पिएसओ सुविधा लिएका छन् । भिआइपीहरूले प्रायः हतार भएको भन्दै छिटो पास गरिदिन ट्राफिक प्रहरीलाई नै निर्देशन दिन्छन् र अरू सर्वसाधारणको बेवास्ता गर्दै आफू अगाडि बढिरहेका हुन्छन् । नियमितरूपमा गुडिरहेका सवारीलाई रोकेर भिआइपीलाई पास गराउँदाको जामले सडक अस्तव्यस्त हुने गरेको छ भने यस्तो सवारीले ट्राफिक व्यवस्थापनमा झनै समस्या थप्ने गरेको छ । यदि, ट्राफिक लाइट हुने हो भने भिआइपीलाई पास गराउनुपर्ने आवश्यकता पर्ने थिएन । 

सबैले सडक नियम पालना गर्नुपर्ने हुन्छ । सडकमा ट्राफिक बत्ती राखेसँगै त्यसको मर्मत, सम्भार र हेरचाह गर्ने हो भने मात्र लामो समयसम्म त्यसबाट सेवा लिनसक्ने अवस्था रहन्छ । अति आवश्यक ठाउँमा नयाँ बत्ती राखेसँगै भएर बिग्रिएका ठाउँमा पनि मर्मत गर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्थापन निकै हदसम्म सुधार हुने नश्चित छ ।


Views: 91

सम्बन्धित सामग्री:

सत्ताको अहंकार

राजन कार्की : आश्विन २, २०७६ (१०:०१ AM)

संविधान यात्रा

गोविन्द लुइँटेल : आश्विन १, २०७६ (९:५१ AM)