27th June | 2019 | Thursday | 4:24:22 PM

साँढेपछाडि स्यालको परिदृश्य

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : जेठ २८, २०७६ (६:५४ AM)

साँढेपछाडि स्यालको परिदृश्य

पातलाई कीराले, कीरालाई भँगेराजस्ता साना चराले तिनलाई सर्पले र सर्पलाई गरुडले खान्छ । साना माछालाई ठूला माछाले खान्छ । यस्तै, प्रक्रियालाई ‘मत्स्य न्याय’ भनिएको होला । सामथ्र्यवान्ले निरीहलाई दमन गर्छन् अर्थात् शक्तिशालाीले विचरा दुर्बलमाथि शासन गर्ने परम्परालाई भाग्यको खेल अथवा प्रकृतिप्रदत्त मत्स्य न्याय भनेर सम्बोधन गरिन्छ । यो सामन्तवादको कडी पनि हो । अंग्रेज शासित देशमा सूर्यास्त कहिल्यै हुँदैन भनिन्थ्यो । त्यतिबेला बेलायत विश्व साम्राज्यवाद थियो । भारतलगायत विश्वका अधिकांश देश ग्रेटब्रिटेनको उपनिवेश थिए तर नेपाल उपनिवेश भएन । 

बरु, नेपालीका पूर्वजले संकटको सामना गरे, युद्ध लडे अन्ततः आधी नेपाल ब्रिटिस इन्डियामा दुई सय वर्षअघि गाभिएको इतिहास छ । आर्थिक साम्राज्यवादभन्दा पनि मानसिक साम्राज्यवादले विकासोन्मुख राष्ट्रका नागरिक आक्रान्त छन् । युरोपियन युनियनजस्ता नगदी मानसिक साम्राज्यवादका कारण सत्तारूढ शासकहरू नै तिनका कार्यकर्ता बनेका छन् । गोजीसँगै तिनका दिमागलाई साम्राज्यवादको चपरासी बनाइएको कुरो घामझैँ छर्लंगै छ । दिमागलाई नै ओभर वाइलिङ गरेर कम्युनिस्टहरूलाई नै साम्राज्यवादको चपरासी बनाइरहेको अनुभूत हुन्छ । 

दास प्रथा, हलिया प्रथा उहिल्यै उन्मूलन भइसकेका भए तापनि नगदी मानसिक व्याकुलताका कारण तत्कालीन कमारा कमारीको आचरणमा पार्टी–संगठनको कार्यकर्ताको आवरणमा साँढेको पछाडि दगुरेका स्यालहरूको मनोरम दृश्य ठाउँ–ठाउँमा अवलोकन गर्न पाइन्छ । गोठालाले कम्मरमा हरियो स्याउला सिउरेर आफू अघि–अघि कुद्छ र त्यो स्याउला खाने लोभमा गधा पछि–पछि कुद्छ । नेपालका चलन चल्तीका राजनीतिक पार्टीका कार्यकर्ताहरूको यस्तै हालत छ । तीन तहको सरकार सभामा कतै पनि उपस्थित हँुदैन भने त्यस्तो पार्टी तथा संगठनलाई चटक्कै छाडेर आप्mनो जीविकाको काममा लाग्नुु श्रेयस्कर हुन्छ । ती लाग्नेहरू पनि वैतनिक नै हुन् । 

दुईतिहाइ बहुमत बाढी आएजस्तो हो । सामान्य अवस्थाभन्दा फरक अवस्थिति हो । नेपालको परिप्रेक्ष्यमा २०१५ सालमा कांग्रेसलाई आएको दुईतिहाइ राजनीतिक प्रणाली बदल्ने माध्यम बन्यो । त्यसको ६ दशकपछि कम्युनिस्टलाई दुईतिहाइ बहुमत आएको हुँदा यसको ऐतिहासिक प्रभाव केही न केही पर्छ नै । सरकार प्रमुखलाई झन्झन् शक्तिशाली बनाउँदै लगेको परिदृश्य छ । परिस्थिति जटिल बन्दै गयो भने कम्तीमा मध्यावधि निर्वाचन हुन्छ । यस प्रकार केही न केही उत्थलपुथल दुईतिहाइले ल्याउँछ भन्ने दृष्टान्त छन् । 

भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले चार दशकपहिले संकटकाल लागू गर्दा कैयौं कैद भए, भागाभाग गरेर कोही नेपालमा शरणार्थी भएर बसेका थिए । महात्मा गान्धी बल्लभभाइ पट्टेलका समकक्षी जननेता जयप्रकाश नारायणको नेतृत्वमा आन्दोलन नै चलाइयो र पछि राहत अनुभूत गरिएको थियो । यस्तो स्थितिको उर्वरता दुईतिहाइ थियो । पाकिस्तानमा मुस्लिम लिगले दुईतिहाइ ल्याउँदा पछि त्यहाँ उथलपुथल भएर सेनापति परवेज मुसरफले नवाज सरिफ र संविधान निलम्बन गरेर सैन्य शासन लागू गरे । यसप्रकार आपूmले आफैँलाई नियन्त्रण गर्न नसक्दा विपत्ति पनि आउँदो रहेछ । 

दुनियाँका घटना हेर्दा इराकी राजतन्त्रविरुद्ध विद्रोह गरी सन् १९५८ मा तत्कालीन राजा फैसल द्वितीयको, राजपरिवारको र प्रधानमन्त्री नोएरी एलसाइडलगायत तमाम उच्च अधिकारीको बगदादमा निर्मम कत्लेआम भएको थियो । क्रान्तिका नायक तथा गणतन्त्रका संस्थापक राष्ट्रपति अब्दुल करिम कासिमलाई पनि छोटै अवधिमा अपदस्त गरी  टुक्रा टुक्रा पारेर बगदादको सडकमा मिल्काइएको थियो । यो क्रान्तिका नायक थिए अहम्मद हस्सन तर उनलाई समेत अपदस्थ गर्ने तथा गोली ठोक्ने काम सद्दाम हुसेनले गरेका थिए । 

कालान्तरमा उनलाई पनि अमेरीकी सेनाले सैन्य कारबाही गरी सन् २००३ मा अपदस्थ गरी उनीलगायत उच्च शासकहरूलाई फाँसीको सजाय दिइयो । ८० वर्षसम्म इराकको शासन सत्तामा रहेका सुन्नीहरू सियाको हातमा सत्ता गएपछि आतंकित छन् र इराकमा रक्तपातको शृंखला निरन्तर छ । धार्मिक विद्वेषका कारण जटिल संघीय संरचनामार्फत इराक विभाजनको संघारमा छ । बंगलादेशका संस्थापक राष्ट्रपति सेखमुझेबुर रहमानलगायत सम्पूर्ण परिवारलाई नेपालका राजा वीरेन्द्रको परिवारलाई जस्तै एकत्रित गरी, सन् १९८१ ढाकामा आमहत्या गरियो । तर, एउटी छोरी लन्डनमा बसेर पढ्दै गरेकीले बचिन् । उनै सेख हसिनापछि पटक–पटक बंगलादेशको प्रधानमन्त्री बनिन् । 

सन् १९५२ मा सैन्य विद्र्रोहद्वारा इजिप्टको राष्ट्रपति भएका जनरल मोहम्मद नाजिबले मेजर गमाल अब्दुल नासेरलाई सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि लेखेको पुस्तक ‘फिलोसपी एन्ड नेचर अफ रिभोलुसन’ मा भनेका छन्, ‘प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउँछ अनि प्रत्येक क्रान्तिले क्रान्तिको नायकलाई आप्mनो सिकार बनाउँछ ।’ चार लाख वर्गकिलोमिटर क्षेत्रफल भएको नौ करोड जनसंख्या भएको मुस्लिम बाहुल्य देश हो इजिप्ट । यसलाई पहिले मिश्र भनिन्थ्यो । मिश्रको सभ्यता विश्व प्रसिद्ध छ ।

 इजिप्टमा लामो समयसम्म शासन गरेका होस्नी मुवारक सत्ताच्युत भएपछि पहिलोपटक नयाँ संविधान बनाई लोकतान्त्रिक विधिबाट जननिर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीले पद सम्हालेको एक वर्ष पनि नपुग्दै षड्यन्त्रपूर्वक जनविद्रोह चलाई इजिप्टसियन सेनाले पदच्युत गरी प्रधानन्यायाधीश अदली मन्सुरलाई अन्तरिम राष्ट्रपति बनाइयो । 

सिरियाले मोर्सी विरोधी शक्तिलाई आर्थिक रकेट, ग्रिनेडजस्ता क्षेप्यास्त्रहरू अविरल प्रदान गरिरहृयो । सेना र अदालत मिलेर लाखौं मारिए । लाखौं शरणार्थी भएर छिमेकी राष्ट्र लेबनान, जोर्डन र टर्की पुगे । त्यो भूभागमा यहुदी र मुस्लिमबीच युगांैदेखि द्वन्द्व चल्दै आएको छ । लेबनानमा यहुदी प्रधानमन्त्री भए मुस्लिम राष्ट्रपति हुनैपर्ने प्रावधान संविधानमा छ । धार्मिक असहिष्णुताका कारण यो भूभागमा सधैं हिंसा चलिरहन्छ । 

दक्षिण एसिया पनि शक्ति सन्तुलन परिवर्तनउन्मुख छ । युरोपियन युनियनका नगदी कारोबारबाट सार्कमा संक्रमण आएको छ । भारत सरकार सार्क संगठनलाई भन्दा बिमस्टेक संगठनलाई अगाडि बढाउन तप्पर देखिन्छ । एकातिर समाजवाद अर्कोतिर संघीयताले चालु राजनीतिक प्रणालीलाई चुनौती दिइरहेछ । नेपाल संक्रमणकालमा छ । सात सालदेखि २०६३ सालसम्म अर्थात् राणा सैन्य शासनको अन्त्यदेखि शाह राजाको अन्त्यसम्मका सबै राजनीतिक परिवर्तनहरू सहमति र सम्झौताबाट सुरु र अन्त्य भएकोले द्वन्द्वको पनि समाप्त नभएकोले निरन्तर जारी छन् ।

विगतका राजनीतिक प्रणाली भ्रष्टाचारका कारण बिसर्जन भए, भ्रष्टाचार, अन्याय, अत्याचार समाप्त पार्छौं भनेर लोकतन्त्रको छवि बनाएर शासनमा बस्ने शासकहरू विगतका शासकहरूभन्दा कैयौं गुणा भ्रष्ट र अत्याचारी प्रमाणित भए । २०४६ सालको क्रान्तिबाट सुरु भएको बहुदलीय राजनीतिक व्यवस्थामा हिस्साको बाँडफाँटमा सहमत नहुँदा अपवादस्वरूप दुईचार जनामाथि भ्रष्टाचारको मुद्दा लाग्यो तर पछि माफियाको चलखेलमा उन्मुक्ति पाए । 

राजनीतिक क्षितिजमा सत्ताको पक्ष विपक्षमा हरेउझँै लपक्क टाँसिएका हुन्छन् । राजनीतिक पर्यावरणमा आमूल परिवर्तन जति भए पनि सबैभन्दा शक्तिशाली सम्पत्ति हुने हुँदा अन्ततः त्यसैको नत्थी लगाएर माफिया सञ्जाल सवार हुने गर्छन् । मधेसमा भैँसी–गोरुको नाक छेडेर नत्थी लगाइन्छ । त्यही डोरी समाएर बहलमानले वयलगाडा हाँक्छ । भीमकाय हात्तीलाई पनि माउतेले त्यसैगरी अंकुश लगाएर वंशिभूत पारेको हुन्छ । भालु वा बाँदरलाई मदारीले तालिम दिएर डोरीको सहारामा आपूm पर बसेर नचाइरहेको हुन्छ । उल्लेखित माफिया र नत्थीको प्रसंग यहाँ सान्दर्भिक हुन्छ । 

माफियाले कूटनीतिको अवतार लिएर राजनीतिलाई कुरुप बनाएको परिदृश्य छ । कथित राजनीतिक पार्टीहरू अन्तर्राष्ट्रिय क्रिस्चिएन पार्टीको नेपाल च्याप्टर हुन् । मञ्चमा देखिएका पात्रहरू खृस्टिएन कार्यकर्ताहरू हुन्, एनजिओका जागिरदार पनि होली वाइनजस्ता हुन् । यसप्रकार नेपाललाई भ्रष्टाचारी तथा माफियाले चलाएका गणतन्त्रात्मक मुलुकमा अनुवाद भएको छ ।

माओवादीको क्यान्टोन्मेन्टमा चार अर्ब रुपैयाँ पहिले नै भ्रष्टाचार भएको प्रमाणित भइसकेको छ । त्यसको छानबिन गर्न खोज्दा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अख्तियारको जागिर त्यही प्रकरणमा गयो । आरएनएसीको वाइडबडी प्लेन प्रकरणमा मिलोमतोबाट ६ खर्ब रुपैयाँ भ्रष्टाचार भयो । 

नेपालको दश लाख बिघा जमिन भूमाफियाले कब्जा गरेका छन् । हजारौं रोपनी गुठीको जग्गा कब्जा गर्दै छन् । मित्र राष्ट्रले नेपाल र नेपालीको उन्नयनको निम्ति स्थापना गरिदिएका सयौं उद्योगहरू निजीकरणका नाममा कांग्रेस कम्युनिस्टले कौडीको मोलमा माफियालाई बेचिदिए । अकूत सम्पत्ति स्वीटजरल्यान्ड लगेर राख्नेमा यिनै शासकहरू अग्रपंक्तिमा पर्छन् । चप्पल लगाउनेहरूले ल्याएको परिवर्तन टाई लगाउनेहरूको पोल्टामा प¥यो । यी भ्रष्टाचारीहरू दागी छैनन् भने एक्सरे गर्दा यथार्थ देखिन्छ । नेपालमा ठूला भ्रष्टाचारी थुनिएको उदाहरण छैन । 

विनालगानीको अकुत सम्पत्ति कमाउने माध्यम बनेको छ राजनीतिक व्यवसाय । अब त ती तलबभत्ता खाने जागिरेमा अनुबन्ध भएका छन् । भ्रष्टाचार गर्ने कोरियाका तीनजना राष्ट्रपति जेलमा छन् । नेपालमा भने सामान्य कसुरदारलाई थुन्न र सम्पत्ति फिर्ता लिन सकिएको छैन । लोभीपापीहरू तिनै भ्रष्ट साँढेको पछि–पछि स्यालहरू दगुरेको परिदृश्य छ । ‘कांग्रेस–कम्युनिस्टले माथिल्लो पदमा पुगिसकेकालाई कारबाही गर्न मिल्दैन’ भन्ने ऐन नै २०४८ सालमा बनाएका छन् भन्ने वरिष्ठ अधिवक्ता बालकृण न्यौपानेलको भनाइ घतलाग्दो छ । 


Views: 59