27th June | 2019 | Thursday | 4:08:43 PM

मेरो आफ्नै मर्जी

कृष्णहरि बाँस्कोटा   POSTED ON : जेठ २९, २०७६ (६:२६ AM)

मेरो आफ्नै मर्जी

मलाई सफा कोठा मन पर्छ । यसर्थ घरको सफाइ आफैँ गर्छु । आफ्नो कपडा आफैँ धुने बानी छ । आफूले खाएको थाल आफैँ माझ्छु । आफ्नो कार्यालयको कोठामा कागजका टुक्रा खसेको देखे टिपेर डष्टबिनमा राख्छु । कुनै कार्यक्रममा जाँदा मेच, टी टेबुल र सोफा लथालिंग देखिएमा मिलाउन मन लाग्छ । बागमती सफाइमा शुरूमा निकै लागेँ । परिणाम स्वरूप प्रधानमन्त्री कार्यालयको सचिब हुँदा जिल्ला भ्रमणमा रहँदा सदरमुकामको सडक सफा गर्दथेँ । मेरो घरअगाडिको पिच सडकमा हप्तामा एक पटक झाडु लिएर निस्कन्छु । घर अगाडि बाटोमा छरिएका पुराना कागज पत्र टिपेर जलाउँछु । 

हिजोआज जिल्लातिर हिँड्दा राजमार्गको होटलमा रहेका शौचालय सफा गर्न थालेको छु । जुनसुकै शौचालयमा पनि धारा, पानी, बाल्टिन, मग देख्छु तर दिसापिसाब र ट्वाइलेट पेपर सर्वत्र फैलिएको फोहोर र दुर्गन्ध भेट्छु । यसमा मेरो पहिलो काम बाल्टिनभरीको पानी खन्याइदिने हुन्छ । धारा खोलेर पुनः बाल्टिन भरी बनाउँछु । मगले यत्रतत्र फोहोर प्यानमा बगाइदिन्छु । आफू शौचालयबाट बाहिरिँदा शौचालय सफा भएकोमा दंग पर्छु । 

सामान्यतः कुनै पनि होटलबाट ‘चेकआउट’ हुँदा म बेडको तन्ना मिलाउँछु । सिरक पट्याइदिन्छु । चिसा रूमालहरू सुकाउँछु । प्रयोग भएका कागजहरू डष्टबिनमा राख्छु । कोठा दुरूस्त पारेरमात्रै होटलको कोठाको साँचो काउण्टरमा बुझाउँछु । यसबाट आनन्दित हुन्छु । बानीले बानी पार्छ भनेझैँ यी काम मलाई प्रिय लाग्छन् ।

मान्छेसँग बोल्न मन लाग्छ । कोही कुनै स्थानमा अलमलिएको जस्तो लागे सोध्छु । मेरो अनुमानअनुसार अलमलिएको भए जानेको कुरा बताइदिन्छु । बाटो देखाएर केही परसम्म पु¥याइदिन्छु । ट्याक्सी रोकेर चढाइदिन्छु । बसपार्कसम्म पु¥याइदिन्छु । आफूलाई पनि थाहा नभएको विषय भएर अलमलिएको मान्छेलाई साथमा लिएर अर्को मानिससँग सोधपुछ गर्न उत्साहित पार्छु । कसैले तपाईं को भनेजस्तो गरेमा तत्कालै तीनपुस्ते बताउँछु । जहिले पनि आफ्नो कुरा भनेरमात्रै बटुवाको कुरा सोध्छु । मेरो नाम कृष्णहरि, तपार्इंको ? म धादिङको, तपार्इं कहाँ को ? म जागिरे छु, तपार्इंको पेशा ? यसबाट मानिससँग खुल्न सजिलो हुने रहेछ ।

छोटो कुराकानीपछि नै मानिसहरू फोटो खिच्न आग्रह गर्छन् । उनको मोबाइलबाट फोटो खिचेपछि आफ्नो मोबाइल पनि अघि सार्छु । सामान्यतः महिला र पुरुषमा भेद गर्दिनँ । दुवैसँग उत्तिकै रौसिएर, नजिकिएर कुरा गर्छु । महिला पुरुष दुवैसँग समानरूपमा हात मिलाउँछु । नयाँ मानिससँगको भेटमा ‘नमस्कार’ गर्न र ‘हजुर’ शब्द प्रयोग गर्न कन्जुस गर्दिनँ । छोटो समयको कुराकानीपछि सबैसँग आत्मीय सम्बन्ध गाँस्न सफल हुन्छु । जसको कारण मुलुकभित्र जहाँ गए पनि चिनेका मानिस भेटिन्छन् ।

टिभीमा मैले अन्तर्वार्ता दिएको कुरा गर्छन् । मेरो लेख पढेका कुरा गर्छन् । यसरी जताततै मानिसले चिन्ने हुँदा एकातिर गर्व र सुरक्षाको अनुभूति गर्छु भने अर्कोतिर सम्भव भएसम्म सधैँ उपयुक्त पोशाकमा र उच्च अनुशासनमा रहन उत्प्रेरित हुन्छु । ‘धनले धन बढाउँछ’ भनेझैँ मेरो पिआर (पब्लिक रिलेशन) झन् गहन हुँदै गएको अनुभूति गरेर सुखी र खुशी हुन्छु । जीवनमा केही कुरा कमाएको अनुभूति हुन्छ ।

केटाकेटी रोएको हेर्नै सक्तिनँ । नजिक गएर हाउभाउद्वारा फकाउन खोज्छु । अभिभावकलाई फुल्याउन सल्लाह दिन्छु । आफूसँग केही भए दिन्छु । आफू उठेर ठाउँ दिनुपर्ने भए दिन्छु । बच्चाले केही खसालेमा टिपेर दिन्छु । ज्येष्ठ नागरिकको मलिन अनुहार देख्दा पीडा बोध हुन्छ । अलिक पाका मानिस सबैमा आफ्नो माता र पिताको अनुहार पाउँछु । मेरी आमाले यो धर्ती छोडेको करिब एक दशक भयो । प्रायः वृद्धा देख्दा मन चसक्क हुन्छ । केही दिन मिल्ने भए आमा सम्झेर दिन्छु । ‘आमा’ सम्बोधन गरेर बोल्न मन पराउँछु । 

युवा देख्दा पनि आफ्नै छोराछोरी जस्तो लाग्छ । तिनले चकचक गरेर आफूलाई बाधा पु¥याए भने पनि रिसाउनुको सट्टा हाँसेर खुशी मान्छु । कहिलेकहीँ मलाई जिस्काएजस्तो लाग्छ, ननिको मान्दिनँ । यिनीहरूको उमेर नै यस्तो हो जस्तो लाग्छ । मौका पाएका बखत केही सुझाव दिने कोसिस गर्छु । तिनले चाउचाउ, चकलेट खाएर तिनका खोल फालेमा टिपेर डष्टबिनमा राखिदिन्छु । कलेजहरूमा उत्प्रेरणामूलक सेसन चलाउन जान्छु । तिनै विद्यार्थी कहिले खुशी हुन्छन् र ताली पिट्छन्, मज्जा लाग्छ । 

कहिले म बोलिरहँदा ती कानेखुसी गर्छन्, हल्ला गर्छन्, तत्कालै उनीहरूलाई खुशी बनाउने गरी प्रस्तुतीकरण बदल्छु । समष्टीमा युवाहरू भविष्यका कर्णधार हुन्, यिनलाई जसरी पनि खुशी पार्नुपर्छ भन्ने लाग्छ । आपूmले जानेको सबैकुरा उनीहरूलाई हस्तान्तरण गर्न इच्छुक छु ।

सिन्दूर दलेका सबै ढुंगा देवतै हुन् जस्तो लाग्दैन । टीका र चन्दन लगाई घाँटीमा माला भिर्दैमा धार्मिक व्यक्ति भइन्छ भन्ने भ्रम छैन । ठूलाठूला स्वनामधारी जोगीसँग भेट्दा उनीहरूको राष्ट्रहितको ‘मिसन’ भए सघाउन मन लाग्छ । जोगीको आशीर्वादले नै जीवनमा उन्नति हुन्छ जस्तो लाग्दैन तर धेरै धार्मिक कार्यक्रममा सहभागी भएको छु । भक्तपुरको डोलेश्वर महादेवको व्यापक चर्चा गर्न सकेकोमा खुशी छु । चतराधाममा बालसन्तले आरम्भ गरेको कुम्भमेला सफल बनाउन सक्रिय हुँदाको आनन्द बेग्लै छ । नेपालमा रहेको डोलेश्वर महादेवरूपी शीर भाग छोडेर भारतको जीउ स्वरूप केदारनाथ पुग्नेप्रति करुणाभाव जागृत हुन्छ । 

नेपालको रारा, स्वर्गद्वारी, बैजनाथ नपुगेकाले सिंगापुर र भारतका चारधामको गफ दिँदा ननिको लाग्छ । नेपालमा रहेका श्रीअन्तु, पाथिभरा, हलेसी महादेव, बराह क्षेत्र, दोलखा भीमसेन, छिन्नमस्ता, गोरखनाथ, वाल्मीकि आश्रम, देवघाट, मुक्तिनाथ, गोसाइँकुण्ड, ऋषिकेश, गढीमाई, काँक्रे विहार, बढिमालिका लगायतको नाम मात्रै लिँदा पनि हृदय खुशीले फुल्छ । यी क्षेत्रमा पुग्न प्रत्येक नेपालीलाई सुझाब दिने प्रयास गर्छु । 

नेता र युवा भेट्ने बित्तिकै स्वरोजगारका योजना सुनाउन मन लाग्छ । पालिकाहरूले सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन र प्लम्बरको तालिम मात्रै दिए पनि लाखौँ युवाले स्वदेशमै रोजगारी पाउथे भन्ने गर्छु । पालिकाहरूले चारैतिर सडक निर्माण गरेका छन्, तर सडकमा हिँड्ने युवा खाडी पुगेका छन् भन्ने सम्झिँदा दुःखी हुन्छु । यसर्थ पालिकाहरूलाई सडक बनाउनुको सट्टा एउटा पालिकाले एक सयदेखि पाँच सयसम्मलाई रोजगारी दिने गरी कार्यक्रम तय गरौँ भनी सुझाव दिइरहेको छु । काठमाडौंमा ब्रुमरले कति सफा ग¥यो, सो जानकारी छैन । त्यसको मूल्य बराबर सफा गर्ने युवालाई रोजगारी दिएर झाडु लगाउन पाएको भए हुन्थ्यो जस्तो लाग्छ । अर्थात् मेसिनको सट्टा मानिसलाई रोजगारी दिऔँ भन्ने अभियानमा छु ।

नेपाललाई मदिरामुक्त देश घोषणा गर्ने अभियानमा जुटेको छु । रक्सीको खपतले मुलुकलाई राजस्व दिएकाले कर्मचारीले तलब खान पाएका छन् जस्ता तर्कमा कुनै सत्यता छैन । रक्सीले दिने राजस्वको सम्भवतः दशौंगुणा बढी उपचारमा रकम खर्च भइरहेको छ । सार्वजनिक पदमा बसेकाहरू आफू रोल मोडेल हुनुपर्नेमा साँझ पर्ने बित्तिकै रक्सीमा डुबेको देख्दा छिः भन्न मन लाग्छ । तास र जुवाविरूद्ध पनि बोल्न लेख्न मन लाग्छ । कुहिनोले पहाड ठेल्न सकिँदैन भन्ने बुझेर पनि खैनी, तमाखु, सूर्ती, चुरोटको विरोध गर्न पछि हटेको छैन । एकदिन यस्ता लागू पदार्थको सेवनबाट मुलुकलाई मुक्त पार्ने मेरो सपना पूरा हुनेमा ढुक्क छु । आशावादी हुन सक्नु नै सफलता हासिल हुने लक्षण हो भन्ने मान्यता पालेको छु ।

मैले दान दातव्य गरेर सामाजिक सेवा गरेजस्तो लाग्दैन । जुन कामको जिम्मेवारी पाएको छु त्यसमा पूर्ण लगावका साथ काम गरेको छु । आप्mनो जिम्मेवारीभित्र सेवा हासिल गर्न आउने सेवाग्राहीको खातिरदारी गर्ने गरेको छु । सदैव सकारात्मक सोच र उच्च मनोबलसहित आपूmलाई प्राप्त जिम्मेवारी निर्वाह गरी परिणाम हासिल गरेको छु । सम्झिन्छु, नायब सुब्बा हुँदा शाखा अधिकृतको परीक्षाको गाइड लेखेर आप्mनै प्रतिद्वन्द्वीको सेवा गरेको थिएँ । शाखा अधिकृत हुँदा अब्बल अफिसर ठहरिएको थिएँ । 

अछाममा सिडियो भएर सेवा दिएको कुरा आज २७÷२८ वर्षपछि पनि अछामीले सम्झिराखेको पाएको छु । वाणिज्य विभागको महानिर्देशक हुँदा नागरिक वडापत्रको चल्ती बढाएको थिएँ, जो हाल सबै कार्यालयमा विस्तारित भएको छ । भन्सार विभागको महानिर्देशक हुँदा तीन वर्षे सुधार योजना थालनी गरेको थिएँ, जो नौलो र पहिलो अभ्यास थियो । म राजस्व सचिव हुँदा ३३.३ प्रतिशतले राजस्व वृद्धि भयो, सम्भवतः यो नेपालको पहिलो र हालसम्मको अन्तिम रेकर्ड हो । अर्थ सचिव हुँदा सम्पत्ति शुद्धीकरण र अन्तर्राष्ट्रिय आतंकवादमा लगानीविरूद्धको नेपालको प्रतिबद्धता विश्वसामु प्रस्तुत गरेर मुलुकलाई कालो सूचीमा पर्नबाट जोगाएँ ।

प्रशासन सुधार अनुगमन समितिको संयोजक हुँदा मालपोत कार्यालयजस्ता सेवा प्रवाह गर्ने कार्यालयहरू बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने प्रबन्धको सुझाब दिएँ । सुझाब कार्यान्वयन पनि भयो । हाल यो सेवा बन्द भएकाले आपूm असफल भएझैँ ठान्न बाध्य भएको छु । हाल नागरिकको सूचनाको हकको प्रचलनमा कुनै प्रकारको सम्झौताविना नागरिकलाई सूचना दिलाउने महाअभियानमा होमिएको छु । आपूmले सम्पादन गरेका सामाजिक सेवा वा जागिरे सेवा यिनै हुन् । आगामी दिनमा पनि देश र जनताको पक्षमा खटिइरहने कुरामा मन, वचन र कर्मले दृढ छु । जय ¤ नेपालमाता ¤

 


Views: 61