20th July | 2019 | Saturday | 8:35:30 AM

दम्भ होइन, संयम चहियो

देवेन्द्र चुडाल   POSTED ON : असार १०, २०७६ (७:१७ AM)

दम्भ होइन, संयम चहियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जनताले राज्य सञ्चालन गर्न पाँच वर्षका लागि अभिमत दिएका हुन्, जनविरोधी काम गर्न होइन र सधैँका लागि पनि होइन । सरकारले जनताको भावना बुझ्न नसकेपछि जनता सडकमा आएका छन् । सरकार तिनै जनतालाई लोकतन्त्र विरोधी, गणतन्त्र विरोधी देख्न थालेको छ । लोकतन्त्रमा जनता न्यायाधीश हुन्, न्यायाधीशले नै विरोध गरेपछि सरकारले कुरा बुझ्नुपर्ने हो । धन्न, गुठी विधेयक फिर्ता भयो, नत्र के के हुने थियो ¤ गुठी विधेयकका विषयमा एउटा पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति आपत्तिजनक छ । प्रधानमन्त्रीले आन्दोलनमा पूर्वराजावादीहरू समेत संलग्न भएको र आन्दोलनलाई उग्र बनाउन खोजिएको भन्दै आक्रोश पोखे । गुठी विधेयकमा नेकपाकै सांसदहरूले समेत विरोध गरेका छन् । मेयरहरूले विरोध गरेका छन् । काठमाडौं उपत्यकाबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध गरेका छन् । प्रधानमन्त्रीका अनुसार उनीहरू सबैलाई राजावादी मान्नुपर्ने भयो । 

दुई तिहाईको दम्भले मात्र राज्य सञ्चालन हुँदैन । दुई तिहाई मत छ भन्दैमा विपक्षी दलहरूको अस्तित्व सकिँदैन । जनताको मुख पनि बन्द हुँदैन । विधेयक ल्याउनुअघि आफ्नै पार्टीमा समेत छलफल भएन भनेर सत्तारुढ दलकै नेताहरूले विरोध गरिरहेका छन् । सरकार आफ्नो असफलता र अकर्मण्यता लुकाउन अरूलाई दोष लगाउने उपकर्ममा लागेको छ । आफ्नो बचाउका लागि सरकारले गुठी विधेयकबारे जनसमुदायमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोसिस भएको आरोप लगाएको छ । यस्तो आरोप सरकारको असफलताको प्रमाण हो । सुटुक्क विधेयक बनाउने र संसदमा दर्ता गर्ने सरकारी शैलीको जनस्तरबाट विरोध हुन थालेको हो । विरोध सुरु भएपछि सरकार आफ्नै मतदातामाथि खनिन थालेको छ । गुठी विधेयक फिर्ता लिए पनि अन्य विधेयकहरूका बारेमा सरकार प्रतिरक्षामा छ । पत्रकार दुई महिनादेखि आन्दोलनमा छन् । सरकार कुनै हालतमा पारित गरेरै छाड्ने अडानमा छ । 

गुठी विधेयकले गुठीका समस्या समाधान गर्नुको साटो धर्म संस्कृतिको परम्परामाथि नै प्रहार गरेको छ । समुदायको सम्पत्ति सरकारी नियन्त्रणमा जाने बाटो खोलेको छ । सार्वजनिक गुठी, सरकारी गुठी र निजी गुठी छन् । निजी गुठी दाताहरूले बनाएका हुन् । त्यही गुठीमार्फत विभिन्न धार्मिक कार्यहरू चलेका छन् । त्यसको एउटा प्रमाण हो स्वर्गद्वारी गुठी, अन्य धेरै यस्तै छन् । स्वर्गद्वारी गुठीको नाममा दाङमा १८ सय बिघा जग्गा छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि करिब ६ सय बिघा अतिक्रमण भइसकेको छ । बाँकी जग्गामा भूमाफियाले आँखा लगाएका छन् । कम्युनिष्ट पार्टीको सरकार भूमाफियाका पक्षमा देखिएको छ । मोही र सुकुम्बासीको त नामा मात्रै हो । 

गुठी भर्खर चलेको होइन । यो कुनै समुदायको मात्र पनि होइन । गुठी परम्परा नेवारी समुदायसँग जोडिएको मात्र पनि होइन । सदियौंदेखि चल्दै आएका हो । यो नेपाली सम्पदा हो । गुठी विधेयकले हिन्दु परम्परामाथि प्रहार गरेको छ । हिजो राणा र शाहवंशले धर्म संस्कृति, चाडपर्व सञ्चालन गर्न विभिन्न मठमन्दिरको पूजाआजा, जात्रा चलाउन गुठीको व्यवस्था गरेको इतिहास साक्षी रहेको छ । विभिन्न मठ मन्दिरको नाममा हजारौं बिघा र हजारौँ रोपनी जग्गा छ । यी गुठीहरू सरकारी प्राधिकरणमा जाने हो भने परम्परामाथि आघात हुनेछ । गुठी सामन्तवाद हो र यसको अन्त्य गर्नुपर्छ भनेर सरकारका प्रवक्ताले नै भनेका छन् । यो अभिव्यक्तिबाट गुठी परम्परामा आघात पुगेको छ ।

सदियौँदेखि कतिपय व्यक्तिहरू गुठीको जग्गामा बसेका छन् । उनीहरूले गुठीलाई कर तिरेर भोगचलन गरेका छन् । गुठी जग्गाको जो मोहीपानी हकदार छ, उसको भागमा परेको जग्गा सुरक्षित नै हुन्छ । आफ्नो धर्म संस्कृति र रितिरिवाजको रक्षा गर्ने हक संविधानले दिएको छ । सरकार यो हकका विपक्षमा देखिन्छ । गुठीलाई व्यवस्थापन गर्न, आम्दानी बढाउन उचित कानुनी प्रबन्ध आवश्यक छ । 

संविधान निर्माणकै क्रममा हिन्दुमाथि प्रहार गरिएको हो । अहिले त्यसै अनुरूपको मार्गमा सरकार हिँडेको छ । सनातनदेखिका चाडपर्वहरू र गुठीजस्ता धेरै परम्परा बेवास्ता गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइयो । जनताले हिन्दु राष्ट्र नै कायम गर्नुपर्छ भनेर सुझाव नदिएका होइनन् तर रद्दीको टोकरीमा फालियो । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा ताली बजाउनेहरू अहिले आफूहरूले गल्ती गरिएछ भन्न थालेका छन् । 

जनतालाई विकास र समृद्धिको सपनामा भुलाएर धर्म संस्कृतिमाथि प्रहार गर्ने चालबाजी देखिन थालेको छ । अनावश्यक मुद्दा उचालेर जनभावनामाथि चोट पु¥याउने प्रयास भएको छ । जनताका समस्या जस्ताका तस्तै छन् । उपत्यकाबासीहरू ट्राफिक अस्तव्यस्तताको मारमा छन् । सडकका बत्तीहरू बल्दैनन्, सडकको फोहर उठ्दैन । खानेपानीको हाहाकार छ । सरकार ठूला गफमा मस्त छ । प्रधानमन्त्री ओली १६ महिनमा ९ पटक विदेश भ्रमणमा गए ।  

प्रधानमन्त्री ओली विपक्षी दल र अन्य राजनीतिक दलका नेताहरूप्रति आक्रामक भएर अभिव्यक्ति दिन थालेका छन् । विपक्षी प्रमुख दल नेपाली कांग्रेसले असार ३ गते संसद अवरोध गरेपछि सोही दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले कांग्रेसले बालहठ देखाएको आरोप लगाए । कांग्रेस अलोकतान्त्रिक भएको आरोप लगाए । कुनै बेला प्रधानमन्त्री ओलीले कांग्रेस विपक्षी होइन, सहयोगी हो भनेका थिए । उनी कांग्रेसलाई अवमूल्यन गरेर आफूलाई बढी नै शक्तिशाली देखाउने प्रयासमा छन् । 

प्रधानमन्त्रीले पछिल्लो पत्रकार सम्मेलनमा अहिले देशमा कांग्रेस, राजावादी र विप्लवसम्मको मोर्चाबन्दी बनेको आरोप लगाए । अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी राज्यको सिंगो प्रणाली र अभ्यासविरुद्ध देखिएको उनले बताए । यसरी प्रधानमन्त्री स्वयम्ले आफ्नो असफलता र अकर्मण्यता लुकाउन अन्य शक्तिहरूलाई दोष लगाउन थालेका छन् । यसो गर्नु दुई तिहाइ बहुमतको अपमान हो । सरकारले जनविरोधी काम गरे जनता सडकमा आउन सक्छन् भन्ने हेक्का प्रधानमन्त्रीले राख्न जरुरी छ । राज्य शक्तिको दम्भले होइन, संयमले चल्छ । माइतीघर क्षेत्रमा राजधानीबासीले हालै गरेको विरोध प्रदर्शनबाट पनि सरकारले चेतेन भने पतनको विकल्प छैन । 


Views: 64