10th December | 2019 | Tuesday | 3:47:24 AM

कविता : किनाराका अलिखित संवेगहरू

सुभाषचन्द्र भण्डारी   POSTED ON : असार १२, २०७६ (१०:२२ AM)

कविता : किनाराका अलिखित संवेगहरू

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७६मा द्वितीय स्थान प्राप्त गरेको कविता 


किनाराका अलिखित संवेगहरू

कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू–

हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू !

फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे,

पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे !

          –। १ ।–

पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर,

पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर !

सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र आफैँ किन ?

ढाल्ने शस्त्र सुवीर ‘जग्गु तिरुवा’ सन्त्रस्त काँप्ने किन ?

        –। २ ।–

मान्छेको अकथा– अजात भँवरो, जा बागबाटै पर ?

ज्वालामा समशान्ति जप्छ घनले लोहारको आफर !

टोर्नाडो बनिदिन्छ बादल भने विध्वंस नाच्दैन र ?

एकै आँगनमा फुले बहुलता के देश हाँस्दैन र ?

                    –। ३ ।–

काली सिन्धु पुगी हिमाल नभुली फर्केर दर्किन्छ कि ?

सेतीका सुइना बगे कति भनी मेची सुसेलिन्छ कि ?

भ्रष्टाचार अछूत हुन्छ बुझिनस् ? ए बुर्जुवा–गल्प जा ! 

मान्छेका मनभित्र बोधि–समता फुल्ने नयाँ कल्प आ !

          –। ४ ।–

हे प्यारा नगरा, अनेक धुनमा आशा बजा देशका !

हुड्केली अब नाच्नुपर्छ बटुली संवेग सीमान्तका !

माटो खोज्दछ अर्म–पर्म–पसिना उम्रिन्छ के जातले ?

नेपाली नवचेत बुन्नु छ मिली बुट्टा नयाँ तानले ।

                 –। ५ ।–


कवि परिचय : सुभाषचन्द्र भण्डारी, स्थायी ठेगानाः जोरायल गाउँपालिका–५, गडसेरा, डोटी, हालको ठेगानाः मध्य बानेश्वर, काठमाडौँ

सम्पर्कः ९८५११२७७६६, इमेलः [email protected]



Views: 111

सम्बन्धित सामग्री: