19th October | 2019 | Saturday | 8:38:53 AM

सम्पत्ति संग्रहतृष्णा

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : असार २४, २०७६ (१०:३१ AM)

सम्पत्ति संग्रहतृष्णा

सम्पत्ति, आयु र भोजनले कसैलाई तृप्त पार्न सक्दैन भन्ने किम्बदन्ति छ । तर, हाम्रो सनातन धर्म संस्कृतिको निर्देश छ– धन सम्पत्तिको आवश्यकता प्रत्येक मानवलाई पर्छ तर कति भन्ने प्रश्न अहम् बनेर उठ्ने गरेको छ । सम्पत्ति र आयुबाट कसैलाई डकार आउँदैन । यसर्थ सम्पत्ति संग्रहका सम्बन्धमा हाम्रो सनातन धार्मिक मान्यता के छ भने सन्तानलाई बसीबसी खान पुग्ने गरी धन संग्रह गर्नु वंश विनाशको विजारोपण हो । यसैगरी गरीखानेको ठाउँ र बास उखेल्नु पनि अभिशाप हो । अत्यधिक धन संग्रह गर्नाले आफैँ वा सन्तान कालान्तरमा नासिएको यत्रतत्र देखिएको छ । 

पहिले पहिले जनसेवा र सम्मानका निम्ति राजनीति गरिन्थ्यो । वर्तमान सन्दर्भमा राजनीति सम्पत्ति संग्रहका निम्ति गर्ने गरेको सबैसामु घामझैँ छर्लंग छ । हाल नेताहरूले पार्टीको नाममा संगठित बल उपयोग गरी राष्ट्र नै कम्पन हुने गरी भ्रष्टाचार गर्दै आएका छन् । शक्तिमा बस्नेहरूलाई सातखत क्षम्य छ । पहिले पहिले माथि मुहान नै दुषित छ तल तल सङ्लो र कन्चन पानी खोजेर पाइँदैन भन्थे । अब त लोकतन्त्र आइसकेको छ । त्यसैले त्यस्ता विकृति नहोलान् भन्ने जनअपेक्षा थियो तर विडम्बना यही कालखण्डमा विगतका कुनै पनि शासन कालमा नभएका भ्रष्टाचार र अत्याचार दिनदिनै बढेको छ । लोकतन्त्रको मुख्य खम्बा भनेको व्यवस्थापिका, कार्यपालिका, स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस हुन् । यी खम्बाका अधिकारीहरू बाक्लो कुर्सी, महँगो गाडी र कृत्रिम सुखसयलमा रमाएका छन् । त्यसैले ती यन्त्रमानव जस्ता बनेका छन् । 

तिनीहरू राष्ट्रिय स्वार्थ छाडेर व्यक्तिगत स्वार्थमा लिप्त भएका छन् । राष्ट्र सम्पन्न हुँदा प्रत्येक नागरिकलाई सुखशान्ति प्राप्त हुन्छ भन्ने हेक्का कसैले राखेका हुँदैनन् । जसले भ्रष्टाचार गर्दैन उसैलाई भ्रष्टको सञ्जालले फसाउने ग्राण्ड डिजाइनका कारण ऊ एक्लै अडान कायम राख्न सक्दैन । समाज विकासको क्रममा ठाउँ ठाउँमा सामन्त (राजा) महासामन्त (महाराजा) हुन्थे । तिनका विरुद्ध सुशासन प्राप्तिका निम्ति क्रान्ति भए । क्रान्तिका नायक सहनायकहरू राजनीतिक पार्टीहरूमा निर्णायक तहका थिए । ती नायकहरू कालान्तरमा शोषक सामन्त भ्रष्टाचारी माफियामा अनुवाद भए । सरकारी तथा निःशुल्क सेवा गर्नुपर्ने पुँजीवादी संस्थाहरू निजी स्वामित्वको स्थापना गरेर निरीह नागरिकको चरम शोषण गर्दै आएका छन् । दृष्टान्तको निम्ति स्कुल कलेज यातायात, अस्पताल आदिलाई लिन सकिन्छ । काम र नीती पुँजीवादी, भाषणमा समाजवाद । नेपालका सन्दर्भमा जुनसुकै पार्टीले पनि समाजवाद भन्ने गरेका छन् तर कस्तो समाजवाद तिनले चाहेका हुन् त्यसको मार्गचित्र कसैले पनि सार्वजनिक गरेका छैनन् । पुँजीवादको मार्गबाट र कम्युनिष्ट जनवादको मार्गबाट पनि समाजवादमा पुग्न सकिन्छ । नाम र कामको तादम्य भएको समाजवाद हो कि होइन त्यसको पनि विश्वशनीयताको कुरो आउँछ । 

हिजोका क्रान्तिकारीका विरुद्ध आज फेरि अर्को दस्ता तयार हुँदै हुँदैछ । द्रव्यपन्थी वामपन्थीका कारण क्रान्तिको मुस्लो उठ्न लागेको छ । विश्व प्रसिद्ध साहित्यकार लियो टोल्सटोयले सम्पत्ति संग्रहका बारेमा भनेका छन्, ‘हाउ मच ल्याण्ड डज ए म्यान निड ?’ अत्यधिक सम्पत्ति संग्रह गर्नेहरू अपराधी हुन् । तसर्थ ती दण्डनीय पनि छन् । एउटा वर्ग झनझन धनी अर्को गरीखाने वर्ग झन्झन् गरीब हुँदैछन् । गरीबी जति बढ्यो कम्युनिष्ट राजनीति त्यति सप्रिन्छ । गरीबी समाजमै कम्युनिष्टको संरक्षण र आवास हुनेहुँदा गरीबी बढाउनमा मलजल गर्छन् । नेपालका कम्युनिष्ट सीआइडी सञ्जालबाट परिचालित छन् । यसर्थ नेपालमा ती आक्रामक अवस्थामा छन्, भारतलगायत कतिपय देशमा ती रक्षात्मक अवस्थामा पुगेका छन् । दृष्टान्तको निम्ति ५४५ सिटको भारतको संसदमा कम्युनिष्ट सांसद पाँचजना छन् ।

नेपालमा बहुदलीय व्यवस्थाका वाहक कांग्रेस कम्युनिष्ट भ्रष्टाचारका पोकामा रूपान्तरण हुन पुगेका छन् । राष्ट्रवादी र राष्ट्रघाती यी दुई कित्तामा समाज विभक्त हुँदै गएको अनुभूत हुन्छ । अहिले हाम्रा लोकतान्त्रिक नेताहरूले पञ्चायत कालजतिको काम गर्न र इमानदारी बहन गर्न नसकेको अनुभूति भएको छ । अमेरिका, रुस, पाकिस्तानको जस्तै भारतमा पनि राष्ट्रवादीको बहुमत छ । भ्रष्टाचार पनि त्यति सुनिएको छैन । कम्युनिष्ट संस्कृतिमा वर्ग, वर्गसंघर्ष, सर्वहारा, पुँजीवाद, समाजवाद, शोषक, सामन्त, राष्ट्रिय पुँजीपति, दलाल पुँजीवाद, उच्चवर्ग, मध्यमवर्ग, निम्नमध्यम वर्ग, श्रमिक वर्ग, उत्पादक वर्ग, उत्पादनका साधन, बुर्जुवा नवबुर्जुवा, क्रान्तिकारी जस्ता शब्द बढी प्रयुक्त हुने गर्छन् । 

एउटै समाजमा यी विविध वर्ग तथा तह र तप्का रहने हुँदा जुनसुकै घटना परिघटनामा वर्गीय दृष्टिकोण अपनाउनु नै माक्र्सवादी दृष्टिकोण हो । यसर्थ वर्ग संघर्ष कुनै पनि समाज व्यवस्थामा निहित रहन्छ । कुनै पनि राज्यसत्ता र शासन व्यवस्था निश्चित वर्गविशेषको हुनुहुँदैन भन्ने युरोपियन कम्युनिष्टको संशोधित नीति छ । कम्युनिष्ट नीतिमै योग्यता अनुसारको काम, काम बमोजिमको दाम भन्ने छ । माक्र्सको व्याख्याअनुसार काम गर्ने र अराउनेबीच एकता हुँदैन, सधैँ अन्तरविरोध चलिरहन्छ । समाजको उत्पादन प्रक्रियाको परिणाम र उत्पादन उपभोग गर्नेहरूबाट निर्माण भएको हो वर्ग । 

संसारबाट कम्युनिष्ट शासन ढल्दै गर्दा नेपालमा कम्युनिष्ट शक्तिशाली भएर प्रकट भए । भित्री रहस्यपछि प्रकट भयो । पश्चिमाहरूको लगानी र नीतिमा कम्युनिष्ट राजनीति सञ्चालित रहेछ । लोककल्याणकारी काम गर्न कम्युनिष्ट हुनैपर्छ भन्ने हुँदैन । पञ्चायतकालमा भूमिसुधार, साझा, सहकारी जस्ता नीतिहरू लागु भएका थिए । वास्तविक आरक्षण प्रणाली लागु गरिएको थियो । पढाइको स्तरअनुरूप छात्रवृत्ति थियो । भ्रष्टाचार नगन्य थियो र दोषी दण्डित हुन्थे । अहिलेको जस्तो लथालिंग थिएन । विहारमा नितीश कुमारले विकासको लहर ल्याएर उजाड विहारलाई समृद्ध बनाए । तमिलनाडुमा जयललिताले विद्यार्थीलाई युनिफर्म निःशुल्क दिने व्यवस्था गरेकी थिइन् । गरीब परिवारलाई दुई जोर बाख्रा, बिहेमा चारग्राम सुन, सबैलाई रासन कार्डअनुसार अरू सामानको मूल्य लिने तर चामल सित्तैमा दिने सरकारी वितरण प्रणाली नेपालको परिप्रेक्ष्यमा पनि मननीय हुनसक्छ । रक्सी तथा विलासितामा लगाएको अन्तःशुल्क लोककल्याणमा खर्च हुन्छ । 

नेपालमा कम्युनिष्ट सरकार छ तर गैरकम्युनिष्टको जति पनि काम हुन सकेको छैन । भाषणाले सम्पन्नता कामले विपन्नता देखाइरहेको छ । शिक्षा र औषधि मात्रै निःशुल्क गर्न सके पनि जनताले राहत महसुस गर्थे । पहिले नेपालले धान चामल विदेश निर्यात गथ्र्यो । अहिले बाहिरबाट ल्याउनुपर्छ । भारतमा महँगी छैन । त्यहाँ कम्युनिष्ट सरकार भएर होइन, नागरिकप्रति सम्वेदनशील भएर सरकारले भारतीय रुपैयाँ एकदेखि पाँच सम्ममा जनतालाई खाद्यान्न दिन्छ । नेपालमा एकथरि सन्तुलित भोजनको अभावमा र अर्को वर्ग अधिक खाएर अल्पायुमा मरिरहेका छन् । थोरै खानेहरू धेरै बाँच्छन् । 

नेपाली जीवनचर्या ‘ऋणं कृत्वा घृत्तम पिवेत्’ भन्ने खालको छ । खाने, लगाउनेलगायतका कुराको सिको हामीले पाश्चात्य मुलुकबाट गरिरहेका छौँ । उपभोगशैली दुरुस्त छ । उत्पादन पक्ष विगतकै निर्वाहमुखी छ । अन्तर्राष्ट्रियकरण परकै सवाल भयो, आन्तरिकीकरण, स्थानीयकरण गरेर माग आपूर्ति गर्न र धान्न हम्मेहम्मे परेको छ । समस्या समाधानको उपचार जराबाट गर्नुपर्नेमा पातबाट गर्ने गरिन्छ । तसर्थ अब व्यावहारिक पक्षबाट मनन गरेर किसानलाई सीप, प्रविधि, कृषि सामग्री, आधुनिक औजार तथा उपकरण, भण्डारण, प्याकेजिङ, ढुवानी, सहुलियत कर्जा, बजारको सुनिश्चितता, न्यूनतम मूल्यको प्रत्याभूति र प्रत्यक्ष अनुदान समेतका सुविधा प्रदान गरिनुपर्छ । देशको साधनस्रोत तथा कच्चापदार्थको प्रयोग गरेर उच्च मूल्य अभिवृद्धि हुने प्रकृतिका उद्योग र आयोजना तथा उद्योगी एवं लगानीकर्तालाई उत्पादन तथा बजारीकरण कार्यमा सहयोग पुग्नेगरी कार्यान्वयनमा लगेर विश्वास आर्जन गर्नु उन्नतिशील कार्य हो ।

नेपालमा शासितभन्दा शासक धेरै छन् । जहाँ तीन तहको सरकार छ, त्यहाँ तै रानी मै रानी को भर्ने कुवाको पानी भनेजस्तै भएको छ । रेमिट्यान्स र बैंक ऋणले हामी सम्पन्नताको राग गाउँछौँ । कम्युनिष्ट कांग्रेसले राष्ट्रघाती मतियार बाहृय शत्रुलाई पिठ्युमा बोकेर भिœयाउने कसरत गरेका छन् । अंगोला, होन्डुरस, मोजाम्बिक, सोमालिया, ग्वाटेमाला, लेवनान, यमन, सिरियामा जनता जुधाउने शक्तिले निकै टाढा बसेर यस्तो काम गरिरहेको जगजाहेरै छ । सुुडान टुक्रियो, युगोस्लाभिया टुक्रिएर कोसोभो बन्यो । कोरिया टुक्रिएर दुईटा भए । कंगो, सोमालिया, इथियोपिया, यमन, भियतनाम, जर्मन लगायतका दृष्टिान्त छन्–राष्ट्र विभाजनका । नेपाललाई पनि राष्ट्रबाट राज्यमा पु¥याएको देख्दा तिनले बिस्तारै माथि उल्लेख भएका मुलुककै हैसियतमा नपु¥याउलान् भन्न सकिँदैन । जनकपुर सरकारले काठमाडौं सरकारसँग पौठाजोरी खेल्छ अनि अरू प्रदेश पनि हातमा दही जमाएर बस्दैनौँ भन्छन् । 

जनमत संग्रहको नाटक गरेर नेपाली मूलको देश सिक्किम भारतमा गाभिएको जगजाहेरै छ । भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र गृहमन्त्री वाई बी चौहानले लेण्डुप दोर्जे नामक राष्ट्रघातीलाई प्रयोग गरेका थिए, बहुमत उनैको थियो । नेपालमा लैण्डुप दोर्जेहरू धेरै छन् र ती पोजिसनमा खडा छन् । तसर्थ राष्ट्रघातीसँग सामना गर्ने गरी राष्ट्रवादीहरू सधैँ सजग रहनुपर्छ । 


Views: 82

सम्बन्धित सामग्री: