19th October | 2019 | Saturday | 8:15:28 AM

वैज्ञानिक वन व्यवस्थापन

कृष्णप्रसाद सिग्देल   POSTED ON : असार २५, २०७६ (११:४५ AM)

वैज्ञानिक वन व्यवस्थापन

वन सम्पदाको भूमिका विश्वव्यापीरूपमा दिन प्र्रतिदिन बढिरहेको छ, मानिसले दैनिक उपयोग गर्ने वनको क्षेत्रफल भने घट्दै गएको छ । वनक्षेत्रबाट उपलब्ध हुने वस्तु र सेवाहरू प्रत्यक्ष र परोक्षरूपमा सम्पूर्ण जीवहरूले प्राप्त गरिरहेका छन् । वन नभए जीवन छैन । वन मानिसका लागि एउटा प्राकृतिक स्रोतमात्रै नभएर अन्य स्रोतको पनि स्रोत हो । स्वच्छ वातावरणको स्रोत पनि वन नै हो । वनसँग मानव जीवनसँग सोझो सम्बन्ध छ । वनबिनाको मानव जीवन कल्पना नै गर्न सकिँदैन । 

काठ, दाउरा, स्याउला, सोत्तर, जडीबुटी वनबाटै प्राप्त हुन्छ । औद्योगिक कच्चा पदार्थ र पर्यापर्यटन सोझै वनसँग सम्बन्धित छ । वन जलाधार संरक्षण, जैविक विविधताको भण्डार हो । यो उपयोगिता दिगो राख्न वन संरक्षण आवश्यक छ । कार्बन सञ्चितिको लागि पनि वनको संरक्षण, सम्बद्र्धन र दिगो उपयोग उत्तिकै आवश्यक छ । पानीको स्रोत घट्दै जानुको मुख्य कारण बढ्दो वन विनाश नै हो । 

नेपालमा वनजंगलको व्यवस्थापनका लागि लामो समयदेखि प्रयास हुँदै आएको छ । यसका लागि विभिन्न प्रयोगहरू गरिएका छन् । कानुन, नीति, नियम बनाइएका छन् । वनको दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रि«य अर्थतन्त्रमा टेवा पु¥याउन, गरिबी न्यूनीकरणमा योगदान पु¥याउन, वातावरणीय सन्तुलन कायम राख्न र स्थानीय तथा राष्ट्रियरूपमा बढ्दो वन पैदावारको माग दिगोरूपमा पूर्ति गर्ने गराउन तथा विदेशबाट हुने काठको आयात प्रतिस्थापन गर्नका लागि वनको दिगो व्यवस्थापन अपरिहार्य छ । 

राष्ट्रि«य वननीति, २०७५, चौधाँै त्रिवर्षीय योजना, पन्ध्रौँ योजनाको आधारपत्र, वनक्षेत्रको रणनीति, २०७३ समेतमा वनको दिगो व्यवस्थापनबाट वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन बढाई वन पैदावारको आन्तरिक माग परिपूर्ति गरी निकासी प्रवद्र्धन गर्न सकिने व्यहोरा उल्लेख भएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ ले सबै खाले वनक्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्न मार्ग प्रशस्त गरेको छ । 

नेपालमा आर्थिक वर्ष २०६७÷६८ देखि वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरिँदै आएको छ । साझेदारी वनबाट शुरू भएको यो पद्धति हाल सामुदायिक तथा चक्ला वनमा समेत अवलम्बन गरिँदै आएको छ । करिब ७६ हजार हेक्टर क्षेत्रफलमा ३० साझेदारी वनबाट ८ लाख ६४ हजार १५ घरधुरी लाभान्वित भएका छन् । 

नेपालले वन व्यवस्थापनका केही सफल प्रयोगहरू गरेको छ । सामुदायिक वन यस्तै एउटा प्रयोग हो । धेरै सामुदायिक वनहरू नमूना भएका छन् । समुदायले जिम्मेवारी लिएर संरक्षण गरेका छन् र वन्यस्रोतको सदुपयोग गरेका छन् । सफल र अनुकरणीय काम भए पनि वन व्यवस्थापन भने अझै परम्परागत नै छ, निर्वाहमुखी नै छ । वनको दिगो संरक्षण गर्दै अधिकतम लाभ लिन भने अझै पनि सकिएको छैन । 

वननीति, २०५७ लागू भएपछि तराई तथा भित्री मधेशका जिल्लाका गाउँ बस्तीदेखि टाढा रहेका ठूला ठूला चक्ला वनलाई उत्पादनशील वनको रूपमा व्यवस्थापन गरिँदै आएको छ । हालसम्म दाङ, बाँके, नवलपरासी, रौतहट, उदयपुर, धनकुटा र सुनसरी जिल्लामा गरी ७ वटा चक्ला वनहरूको वन सम्बद्र्धन प्रणालीमा आधारित कार्ययोजना बनाई वैज्ञानिक वन व्यवस्थापनको काम हँुदै आएको छ । वन क्षेत्रलाई समृद्धिको आधार बनाउन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको छ । नेपालमा आर्थिक वर्ष २०७४÷७५ सम्म १ लाख १३ हजार १८५ हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागू गरी वन व्यवस्थापन गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ सम्म १५ साझेदारी वन, ३२६ सामुदायिक वन र ६ वटा चक्ला वनमा प्राथमिकताका साथ वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू भएको छ । 

नेपालमा वैज्ञानिक वन व्यवस्थापनको शुरूआत भयो, यसको परिणाम अत्यन्तै सकारात्मक देखिएको छ । यसो हुँदाहुँदै पनि यो कार्यक्रमलाई निरन्तरता दिन क्रमिकरूपमा सुधार गर्दै जानु आवश्यक देखिएको छ । वैज्ञानिक वन व्यवस्थापनका सबल पक्ष र कमजोर पक्षहरूको विश्लेषण गर्दै, अनुभवहरूबाट सिक्दै र सुधार गर्दै अघि बढ्नुपर्छ । सबै सरोकारवाला पक्षहरूसँग संवाद र छलफल गरी वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन विस्तार गर्दै अघि बढ्नुपर्छ । यसका लागि सबलपक्ष र कमजोर पक्षको पहिचान गर्नुपर्छ । त्यसैगरी कार्यान्वयनको क्रममा देखिएका अवसर र चुनौतीहरू पनि पहिचान गरी विश्लेषण हुनु आवश्यक छ । कमजोरीमा सुधार गर्दै र सबल पक्ष प्रवद्र्धन गर्दै वन व्यवस्थापन दिगो र समुदायका लागि अधिकतम उपयोगी बनाउनु पर्छ । उत्पादन र उत्पादकत्वमा वृद्धि, वनको चोरी कटानी नियन्त्रण र अतिक्रमणमा नियन्त्रण, आर्थिकरूपमा राजस्व वृद्धि यसका सबल पक्षहरू हुन् । यसैगरी रोजगारीका अवसर वृद्धि र वाहृय निकायहरूको आर्थिक सहयोग निर्भरतामा कमी अर्को सबल पक्ष हो । काष्ठ पदार्थमा वाहृय निर्भरता घटाउन वनको दिगो व्यवस्थापन अपरिहार्य छ । वैज्ञानिक वन व्यवस्थापनबाट मिचाहा प्रजातिहरू नियन्त्रण गर्न र वन पैदावारमा आधारित उद्योगहरूलाई कच्चा पदार्थ नियमित आपूर्ति गर्न मद्दत पुग्छ । समुदायको दैनिक आवश्यकता पूरा गर्न हुने त छँदैछ । 

यसका कमजोर पक्षहरू पनि छन् । स्रोतसाधनको बढी माग हुनु यसको एउटा कमजोर पक्ष देखिएको छ । पर्याप्त दक्ष जनशक्तिको कमी छ, जनशक्ति उत्पादनमा र व्यवस्थापनमा ध्यान पुग्न सकेको छैन । वैज्ञानिक वन व्यवस्थापन योजना कार्यान्वयन गर्न उपभोक्ताहरू पनि सक्षम हुनुपर्छ । अन्ततः दिगो व्यवस्थापन गर्ने उपभोक्ताले नै हो । उपभोक्ताहरू सचेत र सक्षम भएनन् भने वैज्ञानिक वन व्यवस्थापन पनि असफल हुन सक्छ । त्यसैले वन व्यवस्थापनको प्राविधिक जनशक्ति र उपभोक्ता दुवै उत्तिकै दक्ष हुन आवश्यक छ । कटान गर्ने र गिण्डा बनाउने उपयुक्त प्रविधिको अवलम्बन हुन नसक्नु अर्को कमजोरी हो । सुशासनका अवयवहरूमा कमी छ । जैविक विविधताका विविध पक्षहरूलाई पर्याप्तरूपमा अवलम्बन गर्न सकिएको छैन । यस्ता कमजोरीहरूका सुधार गर्न सकिएन भने वैज्ञानिक वन व्यवस्थापन कठिन हुनेछ । 

वैज्ञानिक वन व्यवस्थापनबाट प्राप्त हुने अवसरहरू अनेक छन् । स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुन्छ र यसले देशको आर्थिक वृद्धिमा मद्दत गर्छ । स्थानीय स्तरमा वन पैदावार सहज उपलव्ध हुन्छ । वनको चोरी कटानी र अतिक्रमण नियन्त्रण गर्न मद्दत पुग्छ । स्थानीय सामाजिक विकासमा सहयोग पुग्छ । वनबाट प्राप्त हुने सबै किसिमका अवसर सहज हुन्छ । 

वैज्ञानिक वन व्यवस्थापनमा चुनौतीहरू पनि कम छैनन् । पर्याप्त भौतिक पूर्वाधारको कमी छ । सरोकारवालाहरूको सहयोगमा कमी छ । सकारात्मक धारणा विकास गरेर सामूहिक सहयोग जुटाउन निकै मिहिनेत गर्नुपर्छ । वन्यस्रोत दोहोनको परम्परागत मान्यता बदल्न पनि मिहिनेत आवश्यक छ । बजारको अनिश्चितता छ । नीति–नियम र निर्देशनमा दिगोपन छैन ।  पुनरुत्पादनको उचित व्यवस्थापन त्यतिकै चुनौतीपूर्ण छ । 

हाम्रो अहिलेको निर्वाहमुखी वन व्यवस्थापनबाट वनको उच्चतम सदुपयोग हुन सकेको छैन र दिगोरूपमा वन व्यवस्थापन पनि हुन सकेको छैन । वन व्यवस्थापनको दीर्घकालीन लक्ष्य सतत्रूपमा वन पैदावार र वनबाट प्राप्त हुने सेवाको निरन्तरताको सुनिश्चितता नै हो । दिगो वन व्यवस्थापन भनेको यही हो । दिगो वन व्यवस्थापनका लागि नाँपजाँचलगायत वन सम्वद्र्धन प्रणालीमा आधारित वैज्ञानिक विधि प्रयोग गरिने हुँदा वैज्ञानिक वन व्यवस्थापनको माध्यमबाट दिगो वन व्यवस्थापनमा पुग्न सकिन्छ । कुनै खास शब्दमा नअलमलिई सबै सरोकारवालाहरूले वन व्यवस्थापनको वैज्ञानिक विधि अङ्गीकार गर्दै अघि बढ्नु जरुरी छ । वनको दिगो व्यवस्थापन हुन नसक्दा वन पैदावारको उत्पादनमा कमी भएको छ, राजस्व आर्जनमा कमी भएको छ र वनको गुणस्तरमा ह्रास हुन गई कार्बन सञ्चितिमा समेत प्रतिकूल प्रभाव पर्न गएको छ । 

हाम्रा वन क्षेत्रहरूबाट उत्पादन र उत्पादकत्व बढाउन वैज्ञानिक वन व्यवस्थापन गर्नुबाहेक अर्को विकल्प छैन । त्यसैले सबै खाले वनमा वैज्ञानिक वन व्यवस्थापन प्रक्रिया सक्रियरूपमा सञ्चालन गर्नु नै भविष्यको उपयुक्त कार्यदिशा हो, वनको दिगो व्यवस्थपन हो । कार्यान्वयन तहमा देखिएका कमीकमजोरी समयानुकूल सुधार गर्दै अगाडि बढ्नु पर्छ । वर्तमान वन नीतिले सक्रिय र वैज्ञानिक वन व्यवस्थापन गर्न सकिने बाटो खुला गरेको भए तापनि तदअनुरूप अपेक्षित उपलव्धि हासिल हुन सकेको छैन । यस परिप्रेक्षमा निर्वाहमुखी वन व्यवस्थापनको सोचबाट माथि उठी सक्षम तथा तालिमप्राप्त वनकर्मीहरूलाई प्रोत्साहित गर्दै वन व्यवस्थापन गर्नु जरुरी छ । केही शब्दविवादमा नअल्झिई सबै सरोकारवालाहरू बीच साझा बुझाइ कायम गर्दै वैज्ञानिक वन व्यवस्थापनको कार्यान्वयनमा लाग्नु आजको आवश्यकता हो । 

वनविना जीवन छैन भन्ने कुरा सबैले हृदयङ्गम गर्नसके विवाद कम गर्न र जनसहभागिता बढाउन ठूलो सहयोग पुग्नेछ । 


Views: 72

सम्बन्धित सामग्री: