19th October | 2019 | Saturday | 7:42:54 AM

आर्थिक समृद्धिका लागि निर्यात

मुरारी ढुंगेल   POSTED ON : असार २५, २०७६ (११:४७ AM)

आर्थिक समृद्धिका लागि निर्यात

नेपालको आर्थिक अवस्था खस्कँदो छ । उतिबेला देशमा स्थिर सरकार थिएन । वर्षैपिच्छेको सरकार परिवर्तनले देशको आर्थिक क्षेत्र डामाडोल भयो भनेर पन्छिन सजिलो थियो । चुलिँदो व्यापार घाटालाई देशले जेनतेन झेलिरहेको थियो । अहिले भने देशमा स्थिर सरकार छ । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको भए पनि यसले गुणात्मक उपलब्धि भने दिन सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । व्यापारघाटा र आर्थिक मन्दीले देशको अर्थतन्त्र नै चौपट हुनबाट रोक्न सरकारले पहलकदमी लिनुपर्छ । 

वैदेशिक व्यापारको सिलासिलामा नेपालले विश्वका करिब ११५ भन्दा बढी मुलुकसित वस्तु आयात तथा निर्यात गर्दै आएको छ । झण्डै ६८ देशमा नेपाली वस्तु निर्यात हुँदै आएका छन् । बजारलाई नजिकबाट नियाल्ने हो भने यसको अवस्था दिन प्रतिदिन गिर्दो छ । बजार अनुगमन र मूल्य समायोजन हुन नसक्दा उपभोक्ता पीडित छन् । नयाँ प्रविधि नयाँ तौल तरिकाको अभावले लागतमा जति उत्पादन हुनुपर्ने हो त्यो भन्दा कयौं गुणा बढी लागत लगाउनुपर्ने भएकाले उत्पादनमा लागत बढेको हुन्छ ।

मूल्य तथा गुणस्तरमा विदेशी उत्पादनसित नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न मुश्किल पर्छ र निर्यातमा कमी आउँछ । नेपाली वस्तुले विदेशी बजारको मागलाई पहिचान गरी सोही बमोजिम उत्पादन गर्न र बजार विस्तार गर्न सकेको देखिँदैन । त्यसैगरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पनि आवश्यक हुन्छ । यसका निम्ति राज्यपक्ष र नेपाली उद्यमी दुबैले जाँगर देखाउनुपर्छ । उत्पादित वस्तु र सेवाको व्यापार दिगो र दीर्घकालीन हुनुपर्छ । तबमात्र निर्यात हुने वस्तुहरूले उचित बजार र प्रतिस्पर्धात्मक हुन सक्छन् ।

नेपालले आफ्नो दिगो विकास र उन्नत आर्थिक समृद्धिका लागि आयातभन्दा निर्यात बढी गर्नैपर्छ । जसका लागि उद्योग कल कारखानामा लगानी बढाउनुपर्छ । यहाँ निर्यातको कुरा गर्दा वैदेशिक बजारमा नेपालको तयारी वस्तु र गलैँचा तथा तयारी पोशाकको ठूलो माग छ । यसका अलावा छालाबाट बनेका सामग्री जस्तै जुत्ता, व्याग, पञ्जालगायत सामान र जुट, हस्तकलालगायत सामग्री, चिया, घ्यू, कागजले उत्तिकै हिस्सा रहेको अर्थ क्षेत्रका जानकारले भन्दै आएका छन् । यस्ता प्रकारका वस्तु उत्पादन र पैठारीमा नेपालले उत्पादकलाई सही सहुलियतमा ऋण उपलब्ध गराउने, उत्पादन गर्न प्रोत्साहन गर्ने काम गर्न सके भावी नेपालको वैदेशिक व्यापार उभो लाग्न सक्छ । 

नेपालको औद्योगिक क्षेत्र सुधार हुन नसक्नुका पछि धेरै कारण छन् । देशले सही र दीर्घकालीन सोच भएका राजनेता पाउन नसक्नु एउटा कारण हो । नेपाल एउटा भूपरिवेष्ठित मुलुक हुनु अर्को कारण हो । हालसम्म भएका कमजोर पारवहन समस्याले निर्यातमा ठूलो समस्या खडा गरेको देखिन्छ । भएका सम्झौताको उल्लेख्य उपभोग गर्न हामीले सकेका छैनांै । सम्झौतामा कतै न कतै हामी तल पर्ने खालका सम्झौता भएका हुन्छन् त कतै भएका सम्झौताको फाइदा विकसित देशले उठाउने गरेको पाइन्छ । छिमेकी देशसितको अस्पष्ट व्यापार नीति र आवश्यक ऐन कानुनको अभावले नेपालको वैदेशिक व्यापार प्रतिकूलताको शिकार भएको पाइन्छ । 

अहिले नेपालबाट निर्यात हुने सामानको गुणस्तरका सम्बन्धमा बेलाबखत प्रश्न उठ्ने गरेको छ । विश्वबजारमा ठूलो प्रतिस्पर्धा छ । यो कसैबाट लुकेको विषय होइन । यस विषयमा व्यवसायी र उद्यमी सबै जानकार छन् । वस्तुको गुणस्तर महŒवपूर्ण कुरा हो । हामीले उत्पादनको परिमाणभन्दा गुणस्तर सुधारमा विचार पु¥याउन सक्नुपर्छ । बरु थोरै उत्पादन होस् तर राम्रो गुणस्तरको होस् भन्ने कुरामा विचार पु¥याइएन भने बजारमा खपत हुन गाह्रो हुन्छ । गुणस्तरीय उत्पादनमात्रै प्रतिस्पर्धी हुन्छ र अन्तर्राष्ट्रिय बजारमा पुग्छ । आगामी दिनमा नेपालले आफ्ना प्राकृतिक स्रोतको उत्खनन् लगायत उत्पादनका लागि आवश्यक कच्चा पदार्थको उत्पादन गर्न सक्नुपर्छ । जसले वस्तुको उत्पादन लागत घटाउन मद्दत पु¥याउनेछ । यद्यपि नेपालले यो क्षेत्रमा दीर्घकालीन उत्पादन योजना मुताविक काम गरेको पाइँदैन । तत्काललार्ई भन्दा भविष्यलाई विचार गरेर कलकारखाना उद्योगधन्दा खोलिनुपर्छ । वर्तमान सरकारले केही थालनीको प्रयास भने गरेको छ ।  

नेपालको वस्तु निर्यातमा वृद्धि गर्न गुणस्तरयुक्त वस्तु, दक्ष जनशक्ति, मेसिन–औजार र आवश्यक लगानी चाहिन्छ । आवश्यक परे यस्ता विषयमा विदेशबाट सहयोग लिन सक्नुपर्छ । यसका निम्ति सरकारले विकास खर्च बढाउनुपर्छ । विगतमा सरकार आयलाई विकासमा खर्चमा रूपान्तरण गर्न असफल देखिएका छन् । त्यसलाई चिर्दै वर्तमान सरकारले आयलाई विकास खर्चमा रूपान्तरण गर्न सक्नुपर्छ ।

कुनै उद्योग सञ्चालनका लागि अनिवार्य आवश्यकताको रूपमा रहेको विद्युतीय व्यवस्थादेखि अन्य पूर्वाधारमा ध्यान दिनुपर्छ । केही वर्ष पहिले विद्युतीय अभावमा उद्योग बन्द हुने अवस्थामा थिए । तर अहिले त्यो अवस्था छैन । विगत जस्तो लोडसेडिङको अवस्था छैन । उद्यमीहरूलाई विद्युत् सहजै आपूर्ति गर्न सरकारले चाँजो मिलाउनुपर्छ । उचित वातावरण लगानीको सुनिश्चितता हुनसक्यो भने उद्योगी लगानी गर्न इच्छुक हुन्छन् । यस्ताखालका समस्या समाधान गर्नेतर्फ नेपाल सरकारले जागरुकता देखाउनपर्छ । राज्यस्तरबाट पहलकदमी नभएसम्म वैदेशिक व्यापारमा विस्तार तथा सुधार हुन सक्दैन । वैदेशिक व्यापारमा सुधार नआएसम्म नेपालको आर्थिक अवस्थामा थिउठ्न सक्दैन ।


Views: 425

सम्बन्धित सामग्री: