20th July | 2019 | Saturday | 9:49:00 AM

लोकलहरी बनेन लोकतन्त्र

राजन कार्की   POSTED ON : असार २६, २०७६ (५:४८ AM)

लोकलहरी बनेन लोकतन्त्र

लोकतन्त्र लोकलहरी हो । यो तब मात्र सम्भव छ जब लोकतन्त्रले लोकलाई एक आपसमा जोड्छ ।

यो कस्तो पद्धतिमा छौँ हामी, पद्धतिले लोकलाई जोडेन, हामीलाई यसले तोड्दै गएको छ । राष्ट्रका विशेषताहरू तोड्दै छ, संस्कार–संस्कृति र नेपाली सभ्यतालाई तोड्दै गएको छ ।

हामीलाई जातीय राज्यका नाममा तोडियो, नयाँ नेपाल बनाउने नाममा भएको नेपाललाई तोडिँदै छ । सिंगो नेपाल भाषा, भेष, जाति, वर्ण मात्र होइन, धर्मका नाममा समेत तोडिँदै छ । विदेशीले पैसा खनाए, हाम्रा नेताहरूले त्यो पैसालाई खान्की बनाए र हामीलाई ७ प्रदेशमा तोडे । देशभित्र शासन प्रणाली जति टुक्रामा पारिए पनि हावा, पानी, पहाड, हिमाल, तराईको भूगोल र यी क्षेत्रमा बसोबास गर्ने १ सय २६ जातिलाई जोडेको भए लोकतन्त्र जिन्दावाद हुन सक्थ्यो । लोकतन्त्रले त लोकका बीच नै जोड्नमा अमिलो निचोरेर तोडफोड चलाइरहेको छ ।

तीन करोड जनसंख्या छ देशको, यसलाई ७ प्रदेश बनाइयो । डा.बाबुराम र उपप्रधानमन्त्री उपेन्द्र यादव मिलेर ११ प्रदेश चाहियो भन्दै छन् । भएको एक, दुई, तीन र पाँच नम्बर प्रदेशको नामकरणसमेत हुन सकेको छैन । सबैलाई जातीय नाम चाहिएको छ । देशलाई जोड्नका लागि काम गर्ने इच्छाशक्ति कसैमा छैन । सबैलाई स्वार्थ, सत्ता र शक्ति आर्जनको अचाक्ली भोकले छोपेको छ ।

दुई तिहाइको कम्युनिस्ट सरकार छ । प्रदेश सरकारमा पनि सबै उसैको हालीमुहाली छ । सिंहदरबार गाउँसम्म पुग्यो भनियो, यसको अर्थ विकेन्द्रीकरण हो । भ्रष्टाचार र अनियमितताको विकेन्द्रीकरण भयो, जवाफदेहीताको विकेन्द्रीकरण हुन सकेन । यही कारणले ७ प्रदेश सरकार केन्द्रको इसाराविना पात पनि हल्लाउन सक्दैन । लोक लोकतन्त्रको बन्दी बनेका छन्, ७ सय ६१ सरकारहरू प्रधानमन्त्री जो पार्टी अध्यक्ष पनि हुन्, उनको बन्दी रहेका छन् । यही कारण नचाहिने काम दिनानुदिन भइरहेका छन्, जनताको आवाज सुन्ने र सम्बोधन गर्ने काम कुनै सरकारले गर्न सकेनन् ।

सिंहदरबारमा प्रधानमन्त्री श्री ३ जंगे जसरी ढसमस्स बसेका छन्, अरू सरकारहरू जनताप्रतिको जिम्मेवारी निर्वाह गर्न सकिरहेका छैनन् । मानौं, पार्टीका बुख्याँचा उभ्याइएका हुन् ।

यही हो लोकतन्त्र ? पार्टीको विस्तार र मनपरीतन्त्र लोकतन्त्र हो भने हलो मासेर मुङ्ग्रो बनाइएछ । जनता कम्युनिस्टका कमाउनिस्ट चरित्रको मारमुङ्ग्री खाइरहेका छन् ।

जनताको जीवनस्तर खस्कियो । राष्ट्रको ऋणभार जनताको थाप्लोमा बढेर गयो । समृद्धिका नाममा अनियमितताले सगरमाथा आरोहण गरिसक्यो । सुशासनको भाषणपछाडि कुशासन बढी छ । अपराधीहरूको राज्य सत्तामा पहुँच भएकै कारण शासन, प्रशासनदेखि जनजीवनसम्म अपराधीकरण बढेर गएको छ । न्यायमाथि राजनीतिक हमला भएर न्यायमा पार्टीकरण हुँदा सर्वसाधारणका लागि न्याय महंगो मात्र होइन, पहुँचबाहिर हुन थालेको छ । आमनागरिकले पाउनैपर्ने स्वास्थ्य, शिक्षाजस्ता सर्वमान्य प्राथमिक राहतसमेत पाउन छाडेका छन् । देशको सघन विकास होइन, विधिको गहन उल्लंघन भइरहेको छ ।

७ प्रदेश बनेपछि समानुपातिक विकास हुन्छ भनियो । कोही लाखापाखा हुने छैनन्, समानता र मानवअधिकार, न्यायमा सबैको पहुँच रहन्छ भनियो, पहुँच र प्रभाव त पार्टीका नेता, सेटिङ अपराधी, भ्रष्टाचार गर्न जानेकाहरूले पो स्थापित गर्न सके । 

लोकतन्त्र केहीका लागि बहार बनेर आयो, आम जनताका लागि हाहाकार हुन पुग्यो । न प्रदेश प्रदेश जोडियो, न जनता जनता जोडिए, न धर्म धर्ममा सहिष्णुता कायम रहृयो, लोकतन्त्र शितल शान्ति होला भनेको त अगेनाको भुसे आगो पो बन्यो । आगो निभाउन सकिएन भने झिल्काबाट डढेलो सल्कदै जानेछ । अन्ततः राष्ट्रको अस्तित्व र सर्वसाधारणको जीवन खरानी बन्न सक्छ ।

समयको बसमा कोही छैन, समयानुसार चल्न सक्नु बुद्धिमानी हो । नेपालका सन्दर्भमा समयले परिवर्तन ल्यायो । त्यो परिवर्तनपछिको समयमा फेरिनुपर्ने के के थिए र देखिनुपर्ने कस्तो थियो ? अनि भइरहेछ के ? यति गम्भीर विषयमा गहन चिन्तन हुन सकेको छैन । जता पनि लल्लरीबिल्लरी मात्र सुनिन्छ, लथालिङ्ग मात्र देखिन्छ । एकजना राजनेता सालको रूख भएर उभिन सकेन ।

सत्ता फेरियो, सञ्चालकहरू फेरिए, संविधान फेरियो, संरचनाहरू फेरिए तर राष्ट्रधर्म नै रहेन । राष्ट्रनीति नै छैन । सर्वमान्य विषयहरूको किटान हुनै सकेन । व्यवस्था र व्यक्ति फेरिएका हुन्, पद्धति र प्रणाली फेरिएका हुन् तर यसका सञ्चालकहरू जो छन्, उनीहरूको सोच, शैली र चरित्र फेरिएको छैन । फोहोरी छ । ध्वस्त पार्न सक्ने जति सबै ध्वस्त पारिसकेपछि अब निर्माणमा जुट्नुपर्नेहरू भाषणबाजी उड्कन र राजनीतिको सत्ता खेती गर्न व्यस्त छन् । चाहिएको नयाँ जाँगर, नयाँ हौसला र नयाँ नीति र देशप्रतिको प्रतिबद्धता हो, पाइयो उही नैतिकहीनता ।

परिवर्तन समुद्री छाल आए जसरी आयोे र फर्केर गएजस्तो अनुभूति हुन थालेको छ । लोकतन्त्र जति मीठो शब्द छ, यसका सञ्चालक नेताहरूले लोककल्याणकारी राज्य चलाउन सकेनन् । नेपालको लोकतन्त्र त अबेर नगरी बन्यो ।

संविधान आयो, चुनाव भयो, अब संविधान कार्यान्वयन हुन्छ, लोकतन्त्र बलियो हुन्छ भनेर जनताको आँखामा छारो हालियो । होला त नि भनेर जनताले चुनावमा सहभागिता देखाए । राष्ट्रवाद बलियो हुनुपर्छ, लोकको कल्याण हुनुपर्छ भन्ने नेकपालाई जनताले जिताइदिए । चुनाव सकियो, घोषणापत्र पनि सकियो, मतादेश र जनअपेक्षा जहिले खायो खिरैखिर घोडा गयो तीरैतीर हुनपुग्यो । जनप्रतिनिधिको चरित्र व्यापारीको जस्तो बन्यो, लोकको जीवनयापनमा संविधानको झल्को र विश्वास प्रतिविम्बित हुन सकेन । संविधान र निर्वाचित प्रतिनिधिप्रति जनताको कुनै अपनत्व कायम देखिँदैन ।

राष्ट्र र जनता अराजकता, अस्थिरता र भ्रष्टाचारको महामारीको भुँमरीको सिकार भइरहेकाछन् ।

लोकतन्त्रमा लोक, लोकसंस्थाहरू बलियो हुनुपर्ने हो । नेता पो बलियो बने । राष्ट्रको गरिमा र महिमा खण्डित र मण्डित पार्न थालियो । मानौँ जनप्रतिनिधि भनेका डामेर छाडेका साँढे हुन् ।

लोकतन्त्र सूर्यजस्तै उज्यालो हो । दुर्भाग्य भनौँ नेकपाको चुनाव चिहृन सूर्य हो र सूर्य चिहृनले चुनाव जितेर देश हाँकेको छ । तर, यो कस्तो सूर्य हो, जसले नेताका सन्तान, आफन्त, कार्यकर्तालाई मात्र उज्यालोको सुखानुभूति दिइरहेको छ ? जसले सूर्य चिहृनमा मतदान गरे, ती सर्वसाधारणहरू यिनको डेढ वर्षकै शासनकालमा सूर्यको राप र तापबाट छटपटिनु पर्ने दिन आयो ?

यतिबेला नेकपाको शासनमा जे चलिरहेको छ, त्यो लोकतन्त्र होइन । कम्युनिस्ट नामधारी भ्रष्टको कमाउनिस्ट शासन मात्र हो । नेकपाको शासनकालका निर्णयहरूले पुष्टि गरेको सत्य हो यो ।

नेपाललाई लोकतन्त्रमय बनाउने हो भने सबैभन्दा पहिले नैतिक आधार देखिनुपर्छ, अहंकारीपन फेरिनुपर्छ । आप्mना घोषणापत्रका कबुलहरूप्रति जिम्मेवार हुनुपर्छ । जवाफदेहिता त हुनैपर्छ । ती कुनै विशेषता नेकपाका शासकमा देखिँदैनन् । जसले राज्यका सबै सञ्जाललाई कर्तव्यच्युत र भ्रष्ट पार्दै गएको छ । यही नैतिकहीनताले देशको जोडनलाई खिया बनाइरहेको छ । विषालु सोच बढेर देश बिघटन र विभाजनको महारोगको पहिरोमा पर्दै गएको छ ।

राष्ट्रमा बोलकबोल चलिरहेको छ । पैसाले के किन्न पाइँदैन ? संवैधानिक पद, प्रतिष्ठा, सांसद, न्यायाधीश जे पनि किन्न पाइने भएकै कारण राष्ट्रियता कमजोर बन्दै गएको हो । व्यापारीहरू मुनाफाको खोजमा छन्, राष्ट्रको सीमा, सुरक्षा, व्यवस्थापन, एकता, गरिमाको चिन्ता कसैलाई छैन । व्यापारीको राष्ट्रियता हुँदैन । लोकतान्त्रिक नेताहरू व्यापारी बनेका छन् । राजनीति व्यापार बनेकै कारण राजनीतिमा लाग्नेहरू दिनरात चाँदी कटाइ गरेर कमाइरहेका देखिन्छन् । आमनागरिक र राष्ट्र लाञ्छित हुँदै, चुडिँदै र मानसिकरूपमा टुक्रिँदै गएको छ ।

इमानको खडेरी प¥यो । देशप्रतिको इमान, मतदाताप्रतिको इमान, संस्कृति र संस्कार तथा इतिहासप्रतिको इमान । स्यालको सिङ खोज्दा पाइएला, शासन प्रशासनमा बस्नेहरूमा इमान पाइँदैन ।

जो आफैँप्रति, आप्mनो मुलुक र अस्तित्वप्रति, आपूmलाई मत दिने जनताप्रति इमान राख्दैन, उसले नयाँ नेपाल बनाउँछ भनेर कसरी विश्वास राख्न सकिन्छ ?

लोकतन्त्रभन्दा पृथक मार्ग अर्को छैन । लोकतन्त्रलाई लोकमय, लोकलय बनाउन इमान चाहिन्छ । त्यही इमानले देशलाई चारैतिरबाट जोड्छ । तोड्नेहरूलाई फाल्छ ।

आजको आवश्यकता तोड्नेहरूको बहिष्करण हो । लोकतन्त्रलाई लोकलहरी बनाउने हो भने बेइमानहरूलाई दण्डित गर्नका लागि गर्वसाथ नेपाली हुँ भन्ने जो कसैमा यो इच्छाशक्ति देखिनुपर्छ । जनता जाग्नुपर्छ । जनजागरणको विकल्प छैन ।

Views: 69