7th December | 2019 | Saturday | 1:36:49 PM

पुस्तक : दाहालको आँखामा जापान

विनोद दाहाल   POSTED ON : श्रावण ४, २०७६ (१०:०३ AM)

पुस्तक : दाहालको आँखामा जापान

डाक्टर रामप्रसाद दाहाल प्रसिद्ध लेखक हुन् । दाहालको पछिल्लो कृति आँखामा जापान शीर्षकमा सार्वजनिक भएको छ । यो नियात्रा कृति हो । हाल नियात्रा लेखनको परम्पराले राम्ररी गति लिएको छ र धेरै लेखकले यतातिर कलम चलाएका छन् । नेपालीमा लेखिएका नियात्राहरूमा यो नै सम्भवतः पछिल्लो वा नवीनतम् कृति हो । 

डाक्टर दाहाल लगभग चालीस वर्षदेखि अध्यापनमा संलग्न छन् । हाल काठमाडौंको बत्तीसपुतलीमा स्वनिवासमा बस्दै आएका दाहाल पशुपति विकास कोषमा पनि आबद्ध थिए । काठमाडौंका विभिन्न कलेजमा अध्यापन गरेका दाहाल अहिले यही पेशामै संलग्न छन् । 

नेपाली र अंग्रेजीमा उनका साहित्य तथा पाठ्यपुस्तक गरी डेढ दर्जन जति पुस्तक प्रकाशित छन् । यसैगरी उनका बारेमा पनि ‘अक्षरहरूको अभिवादन’, ‘व्यक्ति एक आयाम अनेक’ र ‘तस्वीरमा दाहाल सर’ गरी तीनवटा पुस्तक प्रकाशित छन् । अक्षरको अभिनन्दन शेषराज शिवाकोटीले सम्पादन गरेका हुन् भने व्यक्ति एक आयाम अनेक विदुर बन्दीपुरेले लेखेका हुन् । यसैगरी तस्वीरमा दाहाल सर द आर्ट एण्ड डिजाइनबानट प्रकाशित भएको हो । 

लेखक दाहालले झण्डै दुई दर्जन जति पुरस्कार र मानसम्मानहरू पाएका छन् । यस्ता पुरस्कार र मानसम्मानहरूमा सुप्रबल गोरखा दक्षिण बाहु तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, शिक्षा पुरस्कार, दीर्घ सेवा पदकलगायत छन् ।

डाक्टर दाहालको ‘आँखामा जापान’ हालैमात्र प्रकाशित पुस्तक हो । यो कृति डाक्टर दाहालले आफ्नो जापान यात्रामा केन्द्रित गरेर लेखेका छन् । पुस्तकको आवरण र साजसज्जा निकै आकर्षक छ । डिएमआई साइजमा जम्मा २ सय २८ पृष्ठ भएको यो पुस्तकको कुनै प्रसिद्ध मन्दिर र लेखक दाहालको फोटो राखिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले प्रकाशन गरेको यो पुस्तकको मूल्य २ सय रुपैयाँ छ । पुस्तकको छपाइ स्तरीय छ र कागज पनि राम्रो प्रयोग गरिएको छ तर पुस्तकमा केही अशुद्धिहरू छुटेका छन् । 

पुस्तकमा प्रतिष्ठानका अध्यक्ष राप्रसाद पन्तले ‘जापान चिनाउने सुन्दर कृति’ शीर्षकमा प्रकाशकीय लेखेका छन् भने लेखक दाहालले ‘प्रसन्नताकै लागि आएजस्तो लाग्यो’ शीर्षकमा मेरो भन्नु लेखेका छन् । पुस्तकमा १७ वटा नियात्रा छन् । आवरण पृष्ठको भित्र लेखक जापान घुम्दाका केही आकर्षक तस्वीरहरू राखिएका छन् । लेखकले पुस्तकमा जापानको नक्सा पनि समावेश गरेका हुनाले जापानबारे बुझ्न थप सजिलो भएको छ । 

पछाडिको भित्री पृष्ठमा पनि लेखकले आफ्नो यात्रा सम्बद्ध केही तस्वीर समावेश गरेका छन् । प्रत्येक नियात्रामा पनि उनले त्यो नियात्रा सम्बद्ध तस्वीर समावेश गर्नाले उनका नियात्राहरू थप रमाइला बन्न पुगेका छन् । दाहालको यो पुस्तक छरितो छ र पुस्तकमा संलग्न नियात्राहरू छोटाछोटा आकारका छन् । जसले गर्दा पढ्दा झण्झट लाग्दैन र जिज्ञासा र कौतुहलतामै सकिन्छन् । दाहालको भाषा आकर्षक छ । आफूले भन्न चाहेको कुरा मितव्ययी भाषामा चटक्क भन्ने गरेका छन् नियात्राकारले । 

नियात्राका शीर्षक प्रायः मध्यम खालका छन् । चार शब्दका शीर्षकहरू धेरै छन् । ‘संसारमा नपाइने माछाहरूको एक्कोरियममा हाम्रो आँखा’ जस्ता केही लामा शीर्षक पनि रहेका छन् । सरदर छोटा नियात्राहरूको संग्रह हो यो कृति । यसमा एउटा नियात्रा तीन पृष्ठको छ भने अधिकांश नियात्रा चार पृष्ठका छन् । छ पृष्ठका, सात पृष्ठका, नौ वा दश पृष्ठका नियात्रा पनि छन् तर थोरै । दुईवटा नियात्रा अलिक लामा छन् १७ पृष्ठका । 

प्रायः नियात्रा एकै बसाइमा पढिसकेने खालका छन् । केही लामा भए पनि तिनले पाठकलाई कौतुहलतापूर्वक तानिरहने हुनाले यस संग्रहका सबै नियात्रा पठनीय छन् । केही शीर्षकलाई अलिक छोट्याउन सकेको भए अझै राम्रो हुनसक्थ्यो । ‘नागायोको बीच सडकमा राष्ट्रिय झण्डा’ शीर्षक हेरेर त्यहाँ राखिएको झण्डा जापानको हो कि नेपालको भन्ने प्रश्न उठ्छ । त्यसको जवाफका लागि त्यो नियात्राको पेटबोलीभित्र पस्नै पर्ने हुन्छ । हुन त पाठकले स्रष्टाका रचनाहरू पढ्नैपर्छ, ती पढ्नैका लागि हुन् तर नियात्रा पढ्नुपूर्व शीर्षकमात्र हेरेर पनि त्यहाँ भन्न खोजिएको कुराको पूर्वसंकेत पाउन सकेको भए पढ्न सजिलो हुन्थ्यो । 

जापान संसारका सभ्य मुलुकहरूमध्ये एक मानिन्छ । यहाँका मानिसहरूको सभ्यता र शिष्टता दाहालको नियात्रामा पटकपटक देखापरेका छन् । उनीहरूका शिष्टाचारका शब्द, बानी, व्यवहारहरू यो नियात्रामा आएका छन् । नियात्राकार दाहाल पनि जापानीहरूका यस्ता व्यवहारबाट प्रभावित छन् । जापानीहरूले एकआपसमा र अतिथिहरूलाई शिष्टाचारपूर्वक भन्ने गरेका गोजाइमास आरिगातो गोजाइमास, दोमो आरिगातो गोजाइमास, कोन्निचिवा, कोन्वाङ्वालगायत धेरै शब्द नियात्राकारले पनि सिकिसकेका छन् । जापान यही शिष्टाचारका कारण पनि विश्वप्रसिद्ध बन्नसकेको छ । 

जापानको अर्को पहिचान त्यहाँको विकास हो । दोस्रो विश्वयुद्धमा जापान ध्वस्त भएको थियो । त्यहाँका नागासाकी र हिरोसिमा जस्ता सुन्दर शहर लिटिल ब्वाई र फ्याटम्यान नामका अत्यन्त खतरनाक रासायनिक र जैविक बम विष्फोटबाट ध्वस्त गराइएको थिए । त्यहाँ त्यसको प्रभाव ७५ वर्ष बित्न लागिसक्दा पनि बाँकी नै छ तर जापानीहरूको लगनशीलता र निरन्तरको कर्मशीलताले तिनीहरू अहिले विश्वका प्रमुख विकसित राष्ट्रका नागरिकमा पर्न सकेका छन् । ‘आँखामा जापान’ नियात्रामा नियात्राकारले यी कुरालाई समेटेका छन् । आफू हिरोसिमा र नागासाकी पुग्न नपाएको भए पनि दाहालले यिनका बारेमा पनि लेख्न भ्याएका छन् । 

जापान भूकम्पको उच्च जोखिममा रहेको राष्ट्र हो । बेलाबेलामा भूकम्पले त्यहाँ क्षति पु¥याइरहन्छ । केही वर्ष पहिले त्यहाँको समुद्रमा आएको भूकम्पले त्यहाँ सुनामीको लहर उत्पन्न गरायो र धेरै धनजनको नास गरायो । धेरै उद्योग कलकारखाना ध्वस्त भए । विकिरण फैलियो तर जापान यस्ता कुराको सामना गर्दा गर्दै पनि संसारका विकसित मुलुकहरूको सूचीमा परिरहेकै छ । भूकम्पप्रतिरोधी गगनचुम्बी घर बनाइएकै छन् । नियात्रामा यस्ता कुराको वयान गरिएको छ ।

जापानको यात्रा अधिकांश नेपालीहरूका लागि सपनामात्र हो । केही नेपालीहरू त्यहाँ गएका छन् र व्यवसाय गरी धन कमाएका छन् । यो अपवादमात्र हो । त्यसैले जापान जान नसक्ने, जाने सपना नदेख्ने तर जापानका बारेमा जान्न चाहनेका लागि डाक्टर रामप्रसाद दाहालको यो पुस्तक धेरै उपयोगी सिद्ध हुनसक्छ । धेरै सूचना संपे्रषण गरेर र धेरै तथ्यहरू समेटेर मिहिनेतपूर्वक लेखिएको यो पुस्तक पढ्नैपर्ने पुस्तकमा पर्छ । जापान भन्ने देश सुनेको मात्र नदेखेकाका लागि यो पढ्नै पर्ने कृति हो । यो पठनीयमात्र छैन संग्रहणीय पनि छ । स्रष्टा दाहालबाट अरू यसस्तरका कृतिहरू अपेक्षित छन् । हार्दिकताका साथ शुभकामना । 

 

 


Views: 92

सम्बन्धित सामग्री: