7th December | 2019 | Saturday | 1:49:34 PM

कथा : किचकन्या

राजेश अधिकारी   POSTED ON : श्रावण ४, २०७६ (१०:०५ AM)

कथा : किचकन्या

अत्यासलाग्दो शुक्लपक्षको कालरात्रिमा पनि मसानघाटको वातावरण शान्त र स्तब्धझैँ देखिन्थ्यो । मसानघाटको आँगनमा डढेका दाउराका ठुटा, लाश पोलेको खरानीको थुप्रो, लाश बोकेर ल्याएका बाँसका गिँडहरू मध्यरात्रिको सिमसिमे पानीमा भिजेर कहालीलाग्दा देखिन्थे । बौलाहा बाढीले पतपती धुँवाउने खोलाको पल्लो किनाराको चिहानघारीमा जंगली कुकुर कुइँकुइँ रोएको र ब्वाँसो कराएको सुनिन्थ्यो । लाटोकोसेराहरू रात्रिउन्मादका साथ मसानघाट र चिहानघारीको बीचमा बग्ने बाढी उन्मत्त खोलामाथि यताउता उडिरहन्थे । 

त्यो नश्वर शरीरहरू विश्राम लिने र अमर आत्माहरू भड्किने आँगनको बीचका ठुटा आकृतिजन्य मृतवृक्षहरू हुरी र वर्षाको ठक्करबाट नयनअभेद्य अन्धकारमा मृतात्मा नचिरहेका झैँ लाग्थे अनि कृष्णरंगी मसानहरू चिताको खरानीबाट बौरिएर एक आपसमा कपर्दी खेलेका झैँ लाग्थे । रातको मध्यप्रहर छिप्पिँदै गएपश्चात् एकहुल स्यालको बथान आएर मसानघाटबाट सवदहनबाट बचेखुचेका नरकंकाल र हाडखोडहरू लिएर नजिकैको वनतिर लागे । रातको अन्तिम प्रहारताका उषाको शिशु रोशनीमा चिहानघारी र मसानघाटको बीचमा बग्ने खोलामाथि उड्ने सेता छिचिमिरा र जुनकिरीहरू अतृप्त आत्माहरू हावामा तैरिएझैँ प्रतीत हुन्थे । 

मेरो पहिलो वैज्ञानिक अनुसन्धानमा केही हाँसिल भएन र दोस्रो मध्यरातमा पनि त्यही चिहानघारीमा बसिरहेँ । मानिसहरू भन्छन्, शरीर नाश भए पनि आत्मा जीवितै रहन्छ र तृप्त आत्मा शान्त भएर स्वर्गतिर जान्छ अनि अतृप्त आत्मा यही मत्र्यलोकमा भट्किरहन्छ । यसले मानवरूप धारण गरेर जीवित रहँदा पाएको अतृप्तता खोज्ने प्रयास गर्छ । त्यो अतृप्त आत्माको प्रयाशको मार्गमा बदला हुन्छ, प्राप्तिको चाहना हुन्छ अनि परपीडा हुन्छ । त्यस्तोे अतृप्त मृतात्मा भौतिक रूपमा पनि चलायमान हुन्छ । अदृश्य चलायमान आत्माको अनुभूति हुँदा जीवित मानिस तर्सिन्छन् र त्यही अदृश्य अनुभूतिलाई मानिसहरू भूतप्रेत, पिसाच भन्छन् । नारीस्वरूपको त्यस्तो आत्मालाई चुडेल, किचकन्या, डंकिनी आदि नामले पुकारिन्छ । 

म यही विषयमा अनुसन्धान गर्दै थिएँ । अघोरी र तान्त्रिक बाबाहरूले मध्यरातमा मसानघाटमा बसेर सिद्धि प्राप्त गर्छन् भन्छन् । मेरो अनुसन्धान किचकन्याको खाजमा केन्द्रित छ । म सात रात मध्यरातमा चिहानघारीमा र मसानघाटमा क्यामेरा, मोबाइल फोन, दूरविन, टर्चलाइट आदि लिएर बसेँ तर केही भेटिनँ ।

सात दिन भयो म यस्ता ठाउँमा एक्लै बसेको । मैले प्रेतात्माको अस्तित्वसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने अठोट गरेँ । आज आठौँदिन सदाझैँ म एक्लै रातको दस बजेतिर मसानघाटतिर हिँडेँ । आज म खोलाको बीचमा भएको एउटा सानो अग्लो र समतल ढुंगामा बसेँ । मैले ढुंगामाथि उभिएर चिहानघारीतिर नाइटभिजन दुरविन तेस्र्याएँ । चार÷पाँचवटा आगोका मुस्लाका आकृतिहरू आकाशमा ताराझैँ टिलपिलाउँदै बढ्दै थिए । मैले तिनको फोटो पनि लिएँ । 

मैले त्यो अग्निपुञ्जलाई भुताहा ग्यास डिफोस्फेन बुझ्यो । मैले मेरो नाइटभिजन दुरविन मसानघाटतिर पनि सोझ्याएँ । चार÷पाँचवटा सेतो रङका नरकंकालहरू नाच्दै थिए । म त रातको एक बजेतिर त्यही ढुंगामाथि अनायासै निदाएछु । उता, नश्वर मानवशरीरका अमर आत्माहरू अदृश्य शरीर धारण गरेर भट्किरहेका छन् । 

बिहानीको प्रथम प्रहरमा सूर्यका कलिला किरणहरूको प्रहारले मेरो निन्द्रा खुल्छ । म त्यो निर्जन स्थानमा कसैको अनौठो आभाष पाउँछु । म आँखा खोल्छु । म अनौठो गन्धको अनुभव गर्छु । म बिलखबन्दमा पर्छु । ‘कोही छ यहा ? साम्ने आउनुहोस् ।’ म चिच्याएर कराउन पुग्छु । कतै कसैलाई देख्दिनँ तर एउटा स्त्री आवाजमा खित्का छोडेर हाँसेको सुनिन्छ । 

म एक्लै छु तर कोही हिँडेजस्तो, कोही दौडेजस्तो लाग्छ । म पुनः चिच्याउँछु ‘कोही भए साम्ने आउनुहोस् ।’ फेरि स्त्री आवाजको खित्काको गुञ्जिन्छ । म स्तब्ध हुन्छु । मेरो मुटु डग्मगाउन थाल्छ, पसिना छुट्छन् । उज्यालो हुन्छ र म पनि आजको अन्वेषणमा केही सफलताको आभाष लिएर आप्mनो गुँडतिर जाने लाग्छु । 

अचानक मेरो मोबाइलमा प्रेषकको नाम खाली भएको एसएमएस आउँछ, ‘सर नमस्कार । मलाई सहयोग गर्नुहोला । मेरा पीडा, दर्द र आर्तनाद सुनिदिनु होला । म भोलि तपाईंलाई आजकै ठाउँमा रातको बाह्र बजे भेट्न आउनेछु । हजुर एक्लै आउनुहोला ।’ यो सन्देशले मेरो मथिंगल घुमायो । के यो कुनै आत्मा नै हो त ? म अनजान डर र अन्वेषणको सफलताले खुशी हुन्छु । 

म अनजान डर र अन्वेषणको सफलताको खुशीकासाथ भय र दह्रो मुटु लिएर अदृश्य आगन्तुकको निम्तो स्वीकार गर्न नवौं रात्रिमा हिजोकै खोलामा गएँ । ढुंगामाथि बसेर चारैतिर हेरेँ । निस्पट कालो रातमा आकाशमा ताराहरू टिलपिल गर्दै मलाई जिस्क्याइरहेका थिए । चिहानघारीमा डिफोस्फेन ग्यासरूपी राँकेभूतहरू, ब्वाँसा, स्याल र हुँडारहरूको हल्लीहल्ली नाचिरहेका थिए । रातको बाह्र बज्यो तर केही आएन । मसानघाटतिरबाट एउटा डल्लो स्वरूपको प्रकाशपुञ्ज म बसेको स्थानतिर बढ्दै आयो, खोलामाथि हावामा तैरिँदै तैरिँदै आयो । 

त्यो मानवाकृति म बसेको ढुंगाको छेउमा खोलामा बगेको पानीमाथि हावामा तैरिएर टक्क अडियो । हामी आम्नेसाम्ने भयौँ । त्यो आकृतिबाट विस्तारै विस्तारै रोशनी हराउँदै गयो र सेतो साडी लगाएको, भुत्लिएको केशराशि हावामा उडेको, खुट्टाको पैताला पछाडि फर्केको, पत्याउनै नसकिने लामो हात भएको र अनुहार केशराशीले छोपिएको नयाँ आकृतिमा परिणत भयो । म त्रासले बरफ जमेझैँ जम्न लागेँ तर आफ्नो वैज्ञानिक शोधकार्य पूरा गर्न भयलाई खुट्टाले कुल्चिएर प्रेतात्मासँग साक्ष्यात्कार गर्ने अठोट गरेँ । ‘सर, नमस्कार !’ आत्माकृतिले मलाई सम्बोधन ग¥यो । 

मैले नमस्कार फर्काएर परिचय मागेँ । हावामा तैरिएको मानवाकृतिजन्य प्रेतात्मा बोल्नथाल्यो, ‘सर, मलाई सत्र वर्षको खाऊँ खाऊँ लाऊ लाऊँ भन्ने उमेरमै दुई जिउकी बनाइयो र मलाई एक हप्ताअगाडि त्यो मसानघाटमा जलाइयो ।’ करिब एक मिटरको चोरऔंलाले मसानघाट देखाउँदै त्यो आत्माले भन्यो । ‘म जिउँदो छँदा मलाई घरमा लोग्ने, नन्द र सासु मिलेर झुण्ड्याएर हत्या गरियो । अहिले लोग्नेले कान्छी श्रीमती ल्याएर बसेको छ । सुनियोजित योजनामा दाइजोको लोभमा मेरो र मेरो पेटमा रहेको भ्रुणको ज्यान लिइयो । म अतृप्त भई किचकन्याको रूपमा यहीँ भट्किरहेकी छु । मलाई मोक्ष गराउनुहोस् ।’ 

म यो अकल्पनीय अनुभूतिले स्तब्ध भएँ । बिहानीपख उसले भनी, ‘सर, मेरो अब जानेबेला भयो । म भोलि तपाईंकै घरमा भेट्न आउँछु र बाँकी कुरा सुनाउँछु ।’ त्यति भनेर त्यो स्त्रीआत्मा खोलामाथिको आकाशमा पुतलीझैँ उड्दै मसानघाटतिर गई र म पनि झोलीतुम्बा बोकेर घरतिर लम्केँ । 

शोधकार्यका लागि मैले एकान्तवास रोजेकोले मेरो परिवारलाई शहरमै छोडेर म मेरो गाउँको घरमा एक्लै बस्थेँ । भोलिपल्ट रातको एघार बजे म मेरो कोठामा पल्टिएर मनमा केही सोचिरहेको थिएँ । किचकन्याको अस्तित्व साच्चै नै हुँदोरहेछ । त्यो स्त्रीआकृतिलाई किचकन्या भनिँदोरहेछ । किचकन्या आफ्नो पूर्वजन्मको कुण्ठा पूरा गर्न चलायमान रूपमा विचरण गर्दा रहेछन् । त्यो विचरणको पथमा परेका जिउँदा मानिसले भोगका र देखेका आभाशलाई तर्साउनु भनिँदो रहेछ । 

मलाई त्यो स्त्रीआत्मालाई मोक्ष दिलाइदिन इच्छा जाग्यो । रातको बाह्र बजेछ । मैले मेरो कोठामा कोही भएको आभाष पाएँ । कहाँबाट छिरेछ बन्द कोठामा त्यो स्त्री मानवाकृति ? म अचम्मित भएँ । हिजोकै स्त्री रूपी आत्मा मेरो कोठामा प्रवेश गरेर कोठाको बीचको हावामा तैरिँदै भन्न थाली ‘मेरो मोक्षका लागि तपाईंले मेरा हत्याराहरूलाई दण्ड दिलाउनुपर्छ नत्र मेरो आत्मा भट्किरहन्छ ।’ मैले स्वीकृति जनाएँ । त्यो आत्मा आकाशमार्गमा उडेर उत्तरतर्फ लाग्यो । 

मैले त्यसको पूर्वजन्मको घर खोजेँ । त्यो आत्माले जे जे भनको थियो ती सबै कुरा हुबहु मेल खान्थे । मैले गाउँलेहरू, बुद्धिजीवी र पुलिस प्रशाशनको सहयोगमा त्यो आत्माका पूर्वजन्मका हत्यारालाई सजाय दिलाएँ । त्यसपछि त्यो किचकन्यासँग मेरो भेट भएको छैन । मेरो प्रयोगात्मक वैज्ञानिक अनुसन्धान सफल भएकोमा र एउटी अमोक्ष भट्किरहेकी आत्मारूपी बहिनीलाई मोक्षोन्मुख गराउन पाएकोमा म गौरवान्तित छु । 


Views: 165

सम्बन्धित सामग्री: