18th August | 2019 | Sunday | 2:33:45 AM

धानखेती र प्रविधि

सरोज दाहाल   POSTED ON : श्रावण ५, २०७६ (१२:५६ PM)

धानखेती र प्रविधि

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । यसको उत्पत्ति दक्षिणपूर्वी एशियामा भएको मानिन्छ । नेपालमा यसको खेती मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा भइरहेको छ । विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो भने धान उत्पादनका हिसाबले नेपाल विश्वको १६औं स्थानमा छ । विश्वको सबैभन्दा अग्लो स्थानमा धानखेती हुने ठाउँ जुम्लाको छुमरचौरमा पर्छ । 

धानमा कार्बोहाइडे«ट ७६ प्रतिशत, प्रोटिन ६ देखि ७ प्रतिशत, फ्याट २.५ प्रतिशत र मिनिरल १.१ प्रतिशत पाइन्छ । धानमा ट्रिप्टोफ्यान र मिथियोनाइन धेरै मात्रामा पाइन्छ भने थ्रियोनाइन र लाइसिन थोरै पाइन्छ ।

तराई, भित्री मधेस, तल्लो पहाडी बेंशीका सिञ्चित क्षेत्र ७ सय मिटरसम्म चैते २, चैते ४, चैते ५, चैते ६, हर्दिनाथ १ जातका चैते धानको खेती गरिन्छ । सिञ्चित क्षेत्रका वर्षे धानका जात तराई, भित्री मधेस, तल्लो पहाडी बेंशीका ७ सय मिटरसम्म बहुगुनी १, वहुगुनी २, राधा १४, सुगन्धित १, स्वर्ण सब १, सावा मन्सुली सब १, सावित्री, रामधान मकवानपुर १ आदि धानको खेती गरिन्छ । असिञ्चित क्षेत्रका वर्षे धानका जाततर्फ तराई, भित्री मधेस र तल्लो पहाडी बेंशीका ७ सय मिटरसम्म राधा १३, राधा ११, राधा ४, लोकतन्त्र, सुख्खाधान १, २, ३, ४, ५ र हर्दिनाथ २ रहेका छन् ।

मध्यपहाडी क्षेत्रका लागि खुमल ४, खुमल ७, खुमल १०, खुमल ११ रहेका छन् भने उच्च पहाडका लागि लेकाली धान १, लेकाली धान ३, चन्दननाथ १, चन्दननाथ ३, माछापुच्छ«्रे ३, छोमरो आदि छन्, । यी धान २ सय मिटरसम्मका लागि सिफारिश गरिएका हुन् । धानखेतीका लागि ब्याड राख्न पनि जान्नुपर्ने हुन्छ । नेपालका धानखेती गर्ने किसानले मुख्यतया दुई तरिकाबाट ब्याड राखेको पाइएको छ । हिलेब्याडतर्फ ५० केजी बिउ ५ सय वर्ग मिटरमा जमाउँदा यसले १ हेक्टरमा रोपाइँ गर्न पुग्छ । हिले ब्याड विशेष गरेर पानी धेरै भएको खेतमा गरिन्छ । हिले ब्याड भएको ठाउँमा डढुवा रोगको प्रकोपको सम्भावना धेरै हुन्छ । यो विशेष गरेर तराई क्षेत्रमा गरिन्छ । 

ब्याड राख्ने अर्को तरिका हो धुले ब्याड । धुले ब्याडतर्फ ५० केजी बिउ ५ सय वर्ग मिटरमा जमाउँदा यसले १ हेक्टरमा रोपाइँ गर्न पुग्छ । धुले ब्याड विशेष गरेर पानी कम भएको ठाउँमा गरिन्छ । धुले ब्याड भएको ठाउँमा मरुवा रोगको प्रकोपकोे सम्भावना धेरै हुन्छ । यो विशेष गरेर पहाडी क्षेत्रमा गरिन्छ । बिउ छनोट गर्दा ३ लिटर पानीमा ५ सयदेखि ६ सय ग्राम नुन घोलेर १ केजी धानको बिउ लगाउने । एकैछिन चलाउने र १ मिनेटजति बिउलाई तैरिन दिने । तैरिएको बिउलाई अलग अलग गरी झिकेर छुट्टै राख्ने र बाँकी बिउलाई त्यसरी नै सोही नुनपानीको घोल प्रयोग गर्दै छुट्याउने । थिग्रिएको बिउमा विभिन्न रोग जस्तै, ब्लास्ट, खैरो थोप्ले, फेद कुहिने, डढुवा दागीदाना आदिको सम्भावना ४० देखि ६० प्रतिशतले कम हुन्छ । 

धान तातो हावापानी र धेरै सापेक्षित आद्रता भएको ठाउँमा हुने बाली हो । धानखेतीका लागि २० देखि ३० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ भने ८० देखि ९० प्रतिशत सापेक्षित आद्रता आवश्यक पर्छ । धानबालीलाई चिम्टाइलो माटो उपयुक्त हुन्छ । यसका लागि पिएच ५ देखि ६.५ भएको माटो चाहिन्छ । रोपाइँ गरेको ४५ दिन र ६० दिनमा राख्नुपर्छ । नाइट्रेटयुक्त रासायनिक मल प्रयोग गर्दा नाइट्रेटको रूपमा चुहिएर नास हुने भएकोले धानबालीमा एमोनियमयुक्त एमोनियम सल्फेट फोस्फेट मल प्रयोग उपयुक्त हुन्छ । 

धानबालीको उत्पादनका लागि उपयुक्त आधारमा क्रमबद्धतामा राख्ने हो भने एमोनियम सल्फेट, एमोनियम क्लोराइड, एमोनियम सल्फेट नाइट्रेट, युरिया अनिक्यान आवश्यक पर्छ । धान पानी जमेको ठाउँमा बाँच्ने वनस्पति हो । धानमा एरेनकाइमा भन्ने तन्तु हुन्छ, जसले गर्दा यो पानी जमेको ठाउँमा बाँच्न सक्छ । धानबालीलाई सिँचाइ बेर्ना अवस्थामा र गाँज हाल्ने अवस्थामा अति नै आवश्यक पर्छ । त्यस्तै बालाको संरचना पैदा हुँदादेखि फूल फुल्ने अवस्थाका बालाहरूको एकैनास राम्रो वृद्धि गराउन दूध भराइ कडा हुने अवस्थामा उचित दाना भर्न सिँचाइ अति आवश्यक हुन्छ । बाला निस्केको २० दिन अगाडिदेखि बाला निस्केको १० दिनपछाडिसम्म बढी पानी आवश्यक पर्छ ।

धानबालीमा विभिन्न प्रकारका कीरा लाग्छन् । गभारो, पतेरो, पात बेरुवा एक किसिमको मोथको लार्भा अवस्था हो । यो कीराको केवल लार्भा अवस्था हानिकारक छ र यो पात कलिलो छँदामात्र लाग्छ । माउ पुतलीले पातमा फूल पारेपछि करिब १ हप्तापछि लार्भा निस्कन्छ र आफू लुकेर बस्ने वरिपरिका पात गुट्मुट्यायर सुरुङ बनाउँछ । यसलाई नियन्त्रण गर्न धानखेतमा पानी जमाएर कुनै काँडेदार वस्तु धानमाथि कोतर्ने, जसले गर्दा लुकेर बसेका लार्भा पानीमा खसी मर्दछन् । विषादी प्रयोग गर्नुपर्ने भएमा माथिका तरिकाले पात फुकाएर विषादी प्रयोग गर्न सकिन्छ । 

धानबालीमा विभिन्न खालका रोगहरू पनि लाग्छन् । यस्ता रोगमा ढुसीद्वारा लाग्ने मरुवा पनि एक हो । यो रोग पाइरेकुलेरिया ओ¥याजानामक ढुसीका कारण लाग्ने गर्छ । यो रोग बेर्ना अवस्था, गाँज हाल्ने अवस्था र बाला पसाउने अवस्थामा लाग्छ । यो रोगको प्रकोप पानी कम भएको धानखेतमा बढी भएको पाइएको छ । यो रोग पहाडी क्षेत्रमा गरिने धानखेतमा बढी पाइन्छ भने नाइट्रोजनको मात्रा धेरै तथा सिलिकाको मात्रा थोरै हुनाले पनि यो रोग लाग्ने गरेको छ । हिनोसानको प्रयोग गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ । सुख्खा ठाउँमा यो रोगको प्रकोप धेरै हुने भएकाले यो रोगको प्रकोप भएको ठाउँमा पानीको सतह कायम गर्नुपर्छ 

डढुवा रोग धानमा लाग्ने अर्को रोग हो । यो ब्यक्टेरियाद्वारा लाग्ने गर्छ । यो रोग ज्यान्थोमोनास ओ¥याजानामको ब्याक्टेरियाको कारणबाट लाग्दछ । यो रोगपानी धेर भएको विशेष गरेर तराईको खेतमा बढी लाग्दछ । यो रोगको सबैभन्दा खतरा अवस्था भनेको क्रिसेक अवस्था हो । एग्रिमाइसिन नामक विषादी प्रयोग गरेर यसलाई नियन्त्रणका गर्न सकिन्छ । यो रोग लागेको खेतबाट अर्को खेतमा पानी जान दिनु हँुदैन । धान काटिसकेपछि ठुटाठुटी राम्ररी जलाइदिनुपर्छ । 

 खैरो थोप्ले रोग हेल्मेन्थोस्पोरियम ओ¥याजाभन्ने ढुसीको कारणबाट लाग्दछ । यो रोगले सन १९४३ मा भारतमा धेरै नोक्सानी पु¥याएको थियो । जसका कारण भोकमरी भएर धेरैले ज्यान पनि गुमाउन परेको थियो । यो रोग लाग्दा पात वा धानको गेडामा ससाना गोलाकार वा लाम्चिला खैरा थोप्ला देखा पर्छन् । कार्बाडिजेम ५० जस्तै बेभिष्टिन वा डेरासल २ देखि ३ ग्राम प्रतिकेजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने, सिँचाइ उपलब्ध भएको ठाउँमा चैतको सुरुमै सिफारिश गरिएका उन्नत जातका धानहरू रोप्ने गर्नाले यस रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

सघन धानखेती प्रणालीलाई एसआरआई प्रविधि भनिन्छ । सन् १९८३ मा दक्षिण अफ्रिकाको मेडागास्कारा सहरमा हेनरी डी लाउलानेले पत्ता लगाएका हुन् । यस प्रविधिका मुख्य सिद्धान्तमा यो खेती प्रयोग गर्दा एक हेक्टरका लागि ५ देखि ७ केजी बिउ भए पुग्छ भने ८ देखि १५ दिनको कलिलो बेर्ना प्रयोग गर्न सकिन्छ । एक ठाउँमा एउटामात्रै बेर्ना रोप्नुपर्छ भने बेर्नालाई टाढा टाढा रोप्नुपर्छ । एउटा बेर्नादेखि अर्को बेर्नाको दुरी २५ सेन्टिमिटर हुनुपर्छ । धानमा कम पानी लगाउने र गोठको मल वा कम्पोस्टको बढी प्रयोग गर्ने गरे धानबाली राम्रो हुन्छ ।

एसआरआइ प्रविधिबाट धेरै फाइदा लिन सकिन्छ । थोरै पानी लगाउनाले मिथेन ग्यासको उत्सर्जन कम हुन्छ जसले गर्दा जलवायु परिवर्तनलाई पनि रोक्न मद्दत गर्छ । यस प्रविधिमा थोरैमात्र बिउ प्रयोग हुने भएकाले पनि बिउमा लाग्ने लागत कम हुन्छ । निश्चित हारमा टाढा टाढा र एउटामात्रै बेर्ना एकै ठाउँमा लगाउनाले गोडमेल गर्न सजिलो हुन्छ ।

छरुवा धानखती प्रविधि नेपालको लोकप्रिय प्रविधि हो । नेपालमा ९० प्रतिशत क्षेत्रमा धान रोपिन्छ भने १० प्रतिशत क्षेत्रमा छरुवा विधि अपनाइएको छ । छरुवा धानखेती प्रविधिमा जिरो टिल सिड ड्रिलको प्रयोग गरिन्छ । यदि झारपातको सही व्यवस्थापन, उन्नत जातको प्रयोग र उपयुक्त मलको प्रयोग गर्ने हो भने कम लागतमा नै धेरै उत्पादन लिन सकिन्छ । पर्याप्त मात्रामा चिस्यान भएको क्षेत्रमा जेठ महिनामा यसरी धान छर्न सकिन्छ । हलोको पछाडि अथवा सिड ड्रिलबाट छरेको धानमा गोडमेल गर्न सजिलो हुन्छ । 

बिउ २ देखि ३ सेन्टिमिटर गहिराइमा रोप्नुपर्दछ । छरुवाधान खेती प्रणालीका लागि पाहाडमा खुमल ४, खुमल ८ र खुमल १० र तराईमा सुख्खा धान १, सुख्खा धान २ र सुख्खा धान ३, तरहरा १, हर्दिनाथ २, राधा ४ उपयुक्त मानिन्छन् । छरुवा धानखेतीका केही फाइदाहरू पनि छन् । यो प्रणालीमा १५ देखि ३० प्रतिशत कम जनशक्ति लाग्छ । २० प्रतिशत पानी बचत हुन्छ । यसरी रोपेको धान रोपाइँ धानभन्दा ७ देखि १० दिन छिटो पाक्छ । 


Views: 129

सम्बन्धित सामग्री:

कथा : रगतको साँघु

राजेश अधिकारी : श्रावण ३२, २०७६ (६:३१ AM)