25th August | 2019 | Sunday | 5:55:52 PM

तिब्बतबाट सिक्न सक्छ नेपालले ?

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : श्रावण २१, २०७६ (१०:३९ AM)

तिब्बतबाट सिक्न सक्छ नेपालले ?

सन् १९२१ अर्थात महान लेनिनले रसियन समाजवादी क्रान्ति सम्पन्न गरेको तीन वर्षपछि महान माओको अगुवाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । त्यसबेला गाउँले सहर घेर्ने दीर्घकालीन कृषि क्रान्तिको बाटो लिनुपर्ने प्रस्थापना माओले अघि सारेका थिए । सेना नभएको कम्युनिष्ट पार्टीसँग केही पनि हुँदैन भन्ने माओको मुख्य रणनीतिक अवधारणा थियो । क्रान्तिका विभिन्न आरोह–अवरोह पार गर्दै उनले विश्वलाई नै चकित पार्ने लम्बे सैनिक अभियान चलाए ।

माओ १ अक्टोबर १९४९ मा चीनलाई ‘जनवादी गणतन्त्र’ घोषणा गर्न सफल भए । हाल नेपाली राजनीतिक प्रवृत्ति अराजक भएझैँ चिनियाँ समाज अराजकतातिर प्रवृत्त भइरहेको त्यस कालखण्डमा कम्युनिष्ट पार्टी स्थापना गरेर अन्ततः चीन स्वर्णिम युगान्तरण भएको सबैलाई थाहै छ । 

नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार भन्छन् तर उपभोक्तालाई माफियाको सरकारजस्तो अनुभूति भएको छ । लोकल्याणकारी जनप्रेमी सरकार अनुभूत हुन सकेको छैन । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उक्ति चरितार्थ छ । पहिले बहुदल कालमै आँङ सिरिङ्ग हुने भ्रष्टाचार काण्डहरूलाई अधिकारप्राप्त शासकहरूले पकेटको रुमाल झिकेर पुछेजस्तै बनाएको अनुभूति अहिले भएको छ । दृष्टान्तको निम्ति सुन काण्ड, वाइडबडी काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड, ठाउँठाउँमा हजारांै बिगाहा जग्गा भ्रष्टाचार काण्ड आदि अनेक छन् । 

उहिले पाप धुरीबाट पनि कराउँछ भन्थे । अहिले जति पाप त्यति नै फलिफाप भएको छ । राजदण्ड नलागे देवदण्ड लाग्छ भन्थे आर्यावर्तमा हिन्दु भूमिमा । माधव नेपाल प्रधानमन्त्री भएको बेला उल्लेख्य काम केही नगरे पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिने विशेष निर्णय क्याबिनेटले गरेको रहेछ । चार करोड रुपैयाँको बलमा, बालुवाटार प्रधानमन्त्री निवास ११३ रोपनीको जग्गा प्रकरणमा (जसको मूल्य खर्बौं) हुन्छ भ्रष्टाचारीले बैंकमा राखेर लिइसके । यो पनि नेपालीको ढिकुटीबाटै तिर्नुपर्ने हुन्छ ।

क्याबिनेटको निर्णयमा अख्तियारले मुद्दा चलाउन नपाउने प्रावधानले बालुवाटार काण्डका अपराधीलाई उन्मुक्ति दिएको छर्लङ्गै छ । यो निर्णयले अन्यत्रकालाई पनि संरक्षण दिएको हुनसक्छ । भ्रष्टाचारमा सरकार स्वयम संलग्न भएको रहेछ । आरोपित एकजना तत्कालीन कर्मचारीले आठ तलामाथिबाट हाम्फालेको खबर आयो । क्विन्टल हाराहारीको मान्छेको टाउको फुटेको छैन, रगत देखिँदैन, लाश छ । 

यस्ता काण्डमा आत्महत्या गर्नेहरूको नाम सुनिँदैछ । यसरी इच्छामरण गर्नेहरूको सङ्ख्या बढ्दै जान्छ भन्छन् माथिल्लो स्तरकैहरू । शासनमा बस्नेहरू अपवादमा कोही इमानदार भेटिएलान् नत्र सबका सब भ्रष्ट देखिन्छन् । यस्तो परिदृश्यमा कम्पयमान भ्रष्टाचार काण्डले शासन प्रणाली नै समाप्त हुन बेर छैन । एउटाको रिसले अर्कोलाई जगाउने नेपाली परम्परा बनेको छ । 

नुनदेखि सुनसम्म आयात गर्ने देशले परधर्म, बुद्धि, विचार आयात गरेर पवित्र हिन्दुभूमि आर्यवर्तलाई अपवित्र बनाएको कहालीलाग्दो परिदृश्य हाम्रासामु छ । दुई खम्बे, दुई आस्थे राजनीति नेपालमा विगतमा पनि अफाप भएको हो । दुवै छिमेकीलाई एक अर्काले नेपाल आफ्नो प्रभावमा पार्ला कि भन्ने मनोविज्ञानले गाँजेको छ । एउटा छिमेकीलाई धर्म निरपेक्ष मन परेको छैन, अर्कोलाई सङघीयता । विश्वको सर्वशक्तिमान तथा उदीयमान महासम्पन्न चीनमा सुँड पसाएर कसरी हुँडल्ने भन्ने रणनीतिका निम्ति नेपालले सामरिक महŒव राख्छ । त्युैले साम्राज्यवादीलाई छटपटाहट छ । तदनुरूप विश्वमा दुई विपरीत प्रवृत्तिबीच खुला र नियन्त्रणमुखी टकराव जारी छ ।

नेपाल बहुधर्म, बहुजाति, बहुसंस्कृतिको मुलुक हो । एउटा धर्म सम्प्रदायकाले गाईको गोवरलाई स्वास्थ्य र धर्म दुवै दृष्टिले पवित्र मान्छ, अर्को सम्प्रदायले अपवित्र मानेर छुन पनि मान्दैन । उमेर २० वर्ष नपुगी बिहे गर्दा बालविवाहको कानुन लाग्छ । मधेसी र मुस्लिम महिलाले छोरी १६ वर्ष पुगेपछि बिहे गर्न पाउनुपर्ने माग राखेर आन्दोलन चलाइरहेको देख्दा जात र भूगोलका आधारमा कानुन चाहिने हो कि भन्ने पर्न थालेको छ । भाषा–भेष राष्ट्रियता, सभ्यतालाई सामन्ती देख्नेहरू नेपाल खण्डहर भएको हेर्न चाहन्छन र यसको नाम निशान मेटन उद्यत छन् । 

मानव चिन्तन र परिघटनाहरू आफैँमा विभाज्य छन् । यही विपरीत तŒवको सापेक्ष एकता र निरपेक्ष सङ्घर्षको अविरल प्रवाहले मानवीय चिन्तन सधैँ गतिशील छ । यो द्वन्द्वात्मक भौतिकवादको सारभूत कुरा हो । चीन र तिब्बतको प्रणाली मिल्छ नेपालसँग कम्युनिष्ट सरकार भएको परिदृश्यमा तर प्रवृत्ति मिल्दैन । नेपाल राष्ट्रको उत्थान हुँदा प्रत्येक नेपालीको उत्थान हुने हो तर जिम्मेवार व्यक्तिहरू आफ्नो र आफन्तको उत्थान गर्ने, पुस्तौ पुस्तालाई पुग्ने सम्पत्ति जम्मा गर्ने एकसूत्रीय अभियानमा संगठित छन् ।

‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न पनि दिन्नँ’ भनेर प्रत्येक अफिसमा टाँगिएका छन् । यो वाक्य व्यङ्ग्यमा परिणत भइरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्रधानमन्त्रीको उद्घोष छ तर भ्रष्टाचार उन्मुलन नहुँदासम्म न नेपाल समृद्ध बन्छ, न नेपाली सुखी बन्छन् । भ्रष्टाचार साधारण नागरिकबाट हुँदैन, निर्णायक तहमा आसीन पदाधिकारीबाट हुन्छ । जिम्मेवार पदाधिकारी मतियार नबन्दासम्म त्यस कार्यालय भ्रष्टाचार पूरै निषेध हुन्छ । बोटवृक्षको जरो तल जमिनमा हुन्छ, भ्रष्टाचारको जरो माथि हुन्छ । 

राजनीतिक पार्टी नै भ्रष्ट भएका कारण भ्रष्टाचार व्यापक भएको कुरामा कसैको विमति छैन । वाइडबडी काण्ड तथा बालुवाटार जग्गा प्रकरणमा राजनीतिक पार्टका मुखियाहरूको चरित्र त्रिताल आयोगले घाम जत्तिकै छर्लङ्ग पारिदिएको छ । विभिन्न देशका भ्रष्ट राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरू जेलमा छन् । राष्ट्रलाई क्षति पु¥याए बमोजिमको जरिवाना तिरेको श्रव्यदृश्य सञ्चार माध्यमबाट सबै सूचित छाँै ।

नेपालका त्यस्ता स्वनामधन्यहरू कोही पनि जेलमा छैनन् । जति अपराध गरे पनि मिनाहा छ । अहिलेसम्म कोही जेल परेका छैनन्, दुर्भाग्य यही हो । माथिल्लो तहमा पुगेका भ्रष्टहरूलाई कैद नगर्दासम्म भ्रष्टाचारको जरो हल्लिँदैन उखेलिँदैन, कोही डराउँदैन । साँच्चै भ्रष्टाचार नियन्त्रण गर्ने हो भने कसैकसैको सर्वस्व पनि हुनुपर्छ । 

माधव नेपाल प्रधानमन्त्री भएको बेला क्याबिनेटले निर्णय गरेको विषयमा अख्तियारले मुद्दा चलाउन नसक्ने निर्णयलाई केपी ओली नेतृत्वको क्याबिनेटले उल्टाएर मुद्दा चलाउन सक्ने आधार प्रदान गरोस् । नत्र तेलपानी एकै चरितार्थ हुन्छ । सुशासन कुराले होइन, कामले आउँछ भन्ने हेक्का होस् । 

अति भएपछि जनकारबाही प्रतीक्षा गर्नुपर्ने हुन्छ । यसमा सबैले साथ दिन्छन् । चीनले तिब्ब्तलाई अधिनमा लिएको दिन मार्च १० (सन् १९५९) लाई नेपाल लगायत विभिन्न देशमा रहेका तिब्बती शरणर्थीले प्रत्येक वर्ष ‘स्वतन्त्र तिब्बत’ को नारा घन्काउदै बलिदानीपूर्ण आन्दोलन गर्ने गरेको छ । तिब्बत चीनको अति विपन्न प्रान्त थियो तथापि नेपाली समाजमा ल्हासामा सुन छ कान मेरो बुच्चै उक्ति चरितार्थ छ । अब त्यही तिब्बतको लोभलाग्दो विकासको टिप्पणी यहाँ प्रासङ्गिक हुनसक्छ । प्रवृत्ति सच्चिए तिब्बतको लोभलाग्दो विकास नेपालमा प्रेरक बन्न सक्छ । तिब्बतसँ १४१४ किमि नेपालको जोडिएको छ । 

विगत २६ वर्षदेखि तिब्बतले दोहरो अङ्कमा आर्थिक वृद्धि गरिरहेको छ । चौँरीको गोठमा बस्ने तिब्बतीहरू अचेल लोभलाग्दो विकासका कारण अत्याधुनिक सुविधा सम्पन्न महलमा बस्छन् । उच्च आक्षांश, पठार मरुभूमि, कम जनसङ्ख्या, विकट भूगोल जस्ता प्राकृतिक प्रतिकूल अवस्थामा पनि तिब्बतमा भएको भौतिक पूर्वाधार विकास विश्वका लागि अनुकरणीय छ । तिब्बतमा सन् २०१५ सम्ममा ७८ हजार किलोमिटर पक्की सडक बनेको छ । 

सन् २०१८ सम्ममा तिब्बतमा दुईवटा फास्टट्र्याक सडक खुलिसकेका छन् भने तीनवटा निर्माणाधीनमा छन् । सुन्दर पठार मरुभूमि, पवित्र सांस्कृतिक स्थल, मिलनसार नागरिक, स्वच्छ वातावरण र उच्च आक्षांशमा भएको मानवबस्तीका कारण तिब्बत विश्वको छानो भनेर चिनिन्छ । सन् २००६ मा छङहाई तिब्बत रेलमार्ग खुलेपछि तिब्बतलाई स्वर्गीय बाटोको नयाँ पहिचान पनि बनाएको छ । चारहजार मिटरभन्दा बढी उचाइका पठार मरुभूमिका थुम्काहरूमा वनस्पति नभए पनि विद्युत पोलहरू गाडिएका छन् । सफा ऊर्जामा तिब्बतले छलाङ मारेको छ । 

चीनका अन्य प्रान्तमा विद्युत निर्यात गरेर राम्रो आम्दानी गर्दै आएको छ । बेरोजगार तिब्बती पाइँदैन । तिब्बतीहरू आफ्नै व्यवसाय सञ्चालन गर्न, होमस्टे चलाउन, पर्यटक गाइड गर्न व्यस्त भएकोले कडा श्रममा रुचि राख्दैनन् । चीनको मुख्य भूमिबाट आएका हान जातिका नागरिक श्रमिक भेटिन्छन् । निजी घर सरकारी अनुदानबाट निर्मित छन् । घर तिब्बती कला संस्कृतिले सिँगारिएका छन् । 

चौरीको घिउबाट बनाइने चिया, परम्परागत पोशाक, चौरीका चमार, काठका बुट्टामा तिब्बती कला, धार्मिक मन्त्र अङ्कित लुङदर, भेडा–च्याङ्ग्राका उनबाट बनेका पोशाक, याकको छालाबाट उत्पादित हस्तकलाका सामान, स्याउको सुकुटी, जौको सातु र जौबाटै बनाइएको छ्याङ र रक्सी जस्ता स्थानीय उत्पादनले तिब्बती परम्परा कायम छ ।

शङ्खरापुर काठमाडौंबाट विवाहित तत्कालीन नेपाली राजकुमारी भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिरका वरिपरि माला जप्तै लम्पसार गरेर प्रार्थना गर्ने तिब्बतीहरू ल्हासामा भरीभराउ हुन्छन् । तिब्बतको पोताला दरबार प्रसिद्ध छ । तिब्बतीको जनसङ्ख्या ३२ लाख छ । नेपालको चीनसँगको सम्बन्ध तिब्बतबाट निर्देशित रहन्छ ।


Views: 74